मोटरसाइकलमा नारायणगढबाट काठमाडौँ जाँदै गर्दा शुक्रबार बिहान दुर्घटनामा परी त्रिशूली नदीमा खसेर बेपत्ता रोहित राना अझै भेटिएका छैनन्।
शुक्रबार साँझसम्म गोताखोरको टोलीले खोजी गरे पनि नभेटिएपछि आज पुनः उनको खोजी थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए।
डीएसपी महतोका अनुसार रोहितको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर टोली त्रिशूलीमा खटिएका हुन्।
घटनास्थल वरपर तथा नदीको बेगले बगाएर लग्यो कि भन्ने आशंकामा त्रिशूली नदीको नारायणगढ क्षेत्रसम्म खोजी गरिने महतोले बताए।
उनका अनुसार खोजीका लागि इलाका प्रहरी कार्यालय, मुग्लिनकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीको कमान्डमा टोली खटाइएको छ।
शुक्रबार बिहान ११:३० बजेतिर लमजुङको सुन्दबजार नगरपालिका-३, चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षीय रोहित राना नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ चट्टानेभीरमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा खसेका थिए।
नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा राना सवार बागमती प्रदेश ०६-०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइकमा सडकको छेउको डिभाइडरमा ठोकिँदा उछिट्टिएर उनी त्रिशूली नदीमा खसेको दुर्घटनास्थलनजिकै माछा मार्दै गरेका प्रत्यक्षदर्शीले बताएका छन्।
राना भारतीय सेनामा कार्यरत गोर्खाली राइफल म्यान रहेको पुष्टि भएको छ।
Shares

प्रतिक्रिया