बागमती


प्रचण्डको दाबी: हाम्रो पार्टीप्रति जनताको आकर्षण ह्वात्तै बढेको छ

‘हामीले राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिन बाध्य पारे’
प्रचण्डको दाबी: हाम्रो पार्टीप्रति जनताको आकर्षण ह्वात्तै बढेको छ

सुनिता विष्ट
फागुन ३, २०८१ शनिबार १४:५०, हेटौँडा

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमाले दल मिलेको नभएर दलाल मिलेको आरोप लगाएका छन्।

शनिबार (आज) मकवानपुरको बागमती गाउँपालिकामा आयोजित सातौँ राष्ट्रिय बागमती गोल्डकपको उद्घाटनका लागि यहाँ आइपुगेका प्रचण्डले कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दुई ठूला दल आफैँ मिलेको नभएर दलालहरूले मिलाइदिएको दाबी गरेका हुन्।

‘कांग्रेस र एमालेलाई मिलाउने दलाल पुँजीपतिहरू, बिचौलियाहरु र भ्रष्ट तत्त्वहरुले माओवादी सरकारमा रहिरह्यो भने हाम्रो खत्तम पार्ने भए भन्ने डरले रातारात अप्राकृतिक गठनबन्धन गरेर सरकार गठन गरे,’ उनले भने, ‘त्यसका विरुद्ध हामीले जनतालाई अपिल गर्‍यौँ। जाली फटाहाहरुले हामीले राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिन बाध्य पारे। अब हामीले फेरि एकपटक जनताको तागत देखाउन पर्ने हुन्छ भनेर सबैलाई आआफ्ना ठाउँबाट उठ्न अपिल गर्‍यौँ। त्यसको परिमाण त उपनिर्वाचनले देखायो।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पछिल्लो समय नेकपा माओवादी केन्द्र पार्टीमा जनताको आकर्षण बढेको दाबीसमेत गरे। 

‘आफ्नो दल सरकारमा हुँदा र सरकारबाट हटेपछि प्रतिपक्षमा रहेर गरिँदै आएको अभियानहरुबाट जनताहरु आकर्षित भएका छन्,’ उनले भने, ‘पछिल्लो समय विभिन्न कार्यक्रमको सिलसिलामा कहिले कञ्चनपुर, कहिले झापा जाँदा पनि म देख्छु। हाम्रो पार्टीप्रति जनताको आकर्षण ह्वात्तै बढेको छ। जनताको काम गर्ने पार्टी त माओवादी नै रहेछ भन्ने पर्न थालेको छ। अलिअलि होइन धेरै नै बढेको छ।’

उनले आफ्नो पार्टी सरकारमा रहेका बेला सुशासन र भ्रष्टाचार  विरुद्धको अभियान नै चलाएको जिकिर पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad