बागमती


नेसनल नमोबुद्ध सहकारीको रिट सुमेरुसँगै सुनुवाइ हुने, लम्बियो अल्पकालीन आदेश

नेसनल नमोबुद्ध सहकारीको रिट सुमेरुसँगै सुनुवाइ हुने, लम्बियो अल्पकालीन आदेश

सुनिता विष्ट
फागुन १०, २०८१ शनिबार ८:३२, हेटौँडा (मकवानपुर)

समस्याग्रस्त घोषणा गरिएको नेसनल नमोबुद्ध सहकारीको रिट सुमेरु सहकारीसँगै राखेर हेरिने भएको छ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र अर्का न्यायाधीश सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा अन्तरिम आदेश जारी हुने कि नहुने भनेर बोलाइएको दुवै पक्षको छलफलका क्रममा त्यस्तै अर्को रिट सुमेरु सहकारीका सन्दर्भमा पनि परेको देखिएकोले सँगै राखेर हेर्ने आदेश भएको हो। 

ललितपुरमा रहेको सुमेरु सेभिङ एन्ड कोअपरेटिभ लिमिटेड र काठमाडौँको सामाखुसीमा रहेको नेसनल नमोबुद्ध सहकारीको सँगै सुनुवाइ हुने गरी आउँदो सोमबारको लागि पेसी तोकिएको सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेशका कानुन अधिकृत मनोज गुप्ताले नेपालखबरलाई जानकारी दिए।

यसअघि माघ ४ मा न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले नेसनल नमोबुद्धका पक्षमा अल्पकालीन आन्तरिम आदेश जारी गरेको थियो। शुक्रबार अन्तरिम आदेशबारे टुंगो नलागेपछि अल्पकालीन आदेश नै लम्बिएको छ।

सञ्चालनमै रहेको सहकारीलाई समस्याग्रस्त घोषणा गरेर ताला लगाएको भन्दै सहकारी सञ्चालकहरू सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए।

गत पुस २८ गते प्रदेश मन्त्रालयको निर्णयले नेसनल नमोबुद्ध सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो। त्यसको भोलिपल्ट अर्थात् २९ गते सहकारी रजिस्ट्रारको कार्यालय, काठमाडौंका प्रतिनिधिहरूले उक्त सहकारी सिल गरेका थिए।

यस सहकारीबाट बचतकर्ताको रकम डुबाउनेमा एमालेका प्रदेश सांसद ज्ञानबहादुर तामाङको पनि नाम मुछिएको छ। 

हालका अध्यक्ष राजकुमार लामाका अनुसार सहकारीले बचतकर्ताहरूको १ अर्ब १९ करोड रुपैयाँ रकम फिर्ता गर्न बाँकी छ।

२०८० भदौदेखि चैत महिनाको बीचमा पीडित बचतकर्ताले रकम फिर्ता माग्दै उजुरी दिएको सहकारी महाशाखाको तथ्यांक छ। २०८० भदौ २९ गते ९ जना बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि सहजीकरण गरिदिन निवेदन दिएका थिए। यस्तै, २०८० असोज १५ गते ३२ जना बचतकर्ताले आफ्नो २ करोड ३३ लाख ३९ हजार रुपैयाँ बचत फिर्ताका लागि सामूहिक उजुरी दर्ता गराएका थिए।

बागमती प्रदेश सभा सांसद तामाङ सहकारीको अध्यक्ष रहेका बेला रकम अपचलन गरेर बचतकर्ताको रकम फिर्ता दिन नसकेको आरोप खेपिरहेका छन्। २०७२ सालदेखि २०७८ सालसम्म सो सहकारीको अध्यक्ष पद सम्हालेका तामाङ बाहिरिएपछि सहकारी घोटालाको विवरण सतहमा आएको थियो।

२०७९ पुस २९ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट राजकुमार लामालाई अध्यक्ष चयन गर्दै तामाङ बिदा भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad