बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सोमबार दिउँसो काठमाडौँको कालिमाटीस्थित साथीको कोठामा विष सेवन गरेर अचेत अवस्थामा फेला परेका थापाको सोही साँझ कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भयो।
मृत्युको कारण पत्ता लगाउन त्यति गाह्रो भने भएन। किनकि, उनले सोही कोठामा ३ पृष्ठको सुसाइड नोट लेखेर छाडेको फेला पर्यो। जसमा लेखिएका शब्दहरूले उनी सुमेरु सेभिङ एन्ड को–अपरेटिभ लिमिटेडका पूर्वसचिव विनोद आचार्यसँगको फोनवार्ता बाहिरिएपछि तनावमा थिए भन्नेमा देखाउँछन्।
गत आइतबार सुमेरु सहकारीको विषयमा तीन जनाबीच कुराकानी भएको अडिओ रेकर्ड सामाजिक सञ्जालमा आयो। कुराकानीको सुरुवातमा थापा र सहकारीका पूर्वसचिव आचार्यबीच कुराकानी भएको सुन्न सकिन्छ।
सोही अडिओ रेकर्डलाई आधार मान्ने हो भने समस्याग्रस्त घोषित भएको सुमेरुको फाइल मिलाइदिने आइडिया आचार्यले माग्छन्। त्यसपछि धादिङका कांग्रेस नेता राजु बर्तौला र सहकारीका पूर्वसचिव आचार्यबीच करिब १० मिनेट कुराकानी भएको उक्त रेकर्डमा सुन्न सकिन्छ।
यता, आफ्नो मन्त्रालयको नाम जोडेर ठगी गर्न खोजेको भन्दै सहकारीमन्त्री मदुकुमार श्रेष्ठले राजु बर्तौलालाई नियन्त्रणमा लिन धादिङ प्रहरीलाई भन्छन्। प्रहरीले राजुलाई आफ्नो नियन्त्रणमा लिएपछि राजुसँगै बसेर सहकारीका आचार्यसँग कुराकानी गरेका मन्त्रीका स्वकीय सचिव थापा डराउँछन्।
थापा आफ्नो छोरीको जन्मदिन रहेको भन्दै २/३ दिनका लागि मन्त्रीसँग बिदा मागेर घर बसेका थिए। धादिङको धुनिबेँसी नगरपालिका–९, टायलघरमा घर भएका थापा छोरीको जन्मदिनकै राति १० बजे अर्जेन्ट काम पर्यो भन्दै निस्किएको पारिवारिक स्रोत बताउँछ।
उनी २ वर्षकी छोरीको जन्मदिनको केक काटेर काठमाडौँ जाने भन्दै घरबाट निस्किएका थिए। तर, उनले उक्त अडिओ रेकर्ड बाहिरिएको विषयमा कोहीसँग पनि कुरा नगरेको निकटस्थहरू बताउँछन्।
काठमाडौँ गएका थापा आइतबार राति शिव कुँवर भन्ने साथीको कोठामा बसेका थिए। विष भने उनले सोमबार बिहान मात्रै खाएक प्रारम्भिक परीक्षणले देखाएको प्रहरीको भनाइ छ।
त्यसो त उनले ३ पृष्ठको सुसाइड नोटमा समेत सहकारीका मान्छेले आफूलाई फसाएकै कारण मृत्युको बाटो रोज्नुपरेको उल्लेख गरेका छन्।
के लेखिएको छ सुसाइड नोटमा?
‘मिडियाबाजी गरेर म लगायत मन्त्रीज्यूलाई फसाउनका लागि एउटा सहकारीको गिरोह लागेर मेरो भ्वाइस राखेर प्रचारबाजी गरियो, जुन कुरा असत्य छ’, सुसाइड नोटमा लखिएको छ, ‘मलाई त्यस भ्वाइसको बारेमा केही पनि थाहा छैन तर पनि गिरोहले मेरो भ्वाइस सार्वजनिक गरेको छ। जुन कुराले सहकारीहरू एक भई हाम्रो मन्त्रालयमा मन्त्रीज्यूले गरेको कामको रिस र उनीहरूमा नैराश्य आएको हो। यदि त्यो सत्य थियो भने म जे सजाय भोग्न पनि तयार थिएँ।’
उनले आफ्नो सानो छोरीको रेखदेखमा सहयोग गरिदिन भन्दै मन्त्री श्रेष्ठलाई सम्बोधन गरेर लेखेका छन्, ‘मदु दाइ, मैले त्यस्तो केही कार्य गरेको छैन। जसले तपाईंको इज्जत, मान, प्रतिष्ठामा आँच आओस्। मैले काम गर्ने सिलसिलामा जानेर या नजानेर केही गल्ती गरेँ होला तर पदीय दायित्वको अवमूल्यन कहिल्यै गरिनँ। आशा छ, मेरो छोरी सानी छे, उसको रेखदेख गर्ने क्रममा असल व्यक्ति बनाउन हजुरले पनि सहयोग गरिदिनुहुन्छ।’
उक्त भ्वाइस रेकर्ड आफ्नो होइन भन्दा पनि त्यसलाई नियोजित ढंगबाट फसाउन खोजिएको उनले लेखेको सुसाइड नोटमा उल्लेख छ।
‘आज सहकारी गिरोहको जित भएको छ। उनीहरूले बलियो कदम ज्यादै राम्रो चाले, जसमा उनीहरू सफल भए,’ उनको साथमा फेला परेको सुसाइड नोटमा लेखिएको छ।
उनले आफ्नी श्रीमती सुनितासँग पनि माफी मागेका छन्। गलत निर्णय लिएको भन्दै छोरी र परिवारको जिम्मेवारी छोडेर जानुपरेको उल्लेख गरेका छन्।
के भन्छन् मन्त्री?
सहकारी मन्त्री मदुकुमार श्रेष्ठ सहकारीको गिरोहले आफूलाई फसाउन खोजेको तर नसकेपछि सोझा स्वकीय सचिवलाई आफ्नो फन्दामा पारेर मन्त्रालयको बदनामी गराउन खोज्दा दुखद् घटना हुन पुगेको बताउँछन्।
मन्त्री श्रेष्ठले भने, ‘अडिओ त सुमेरु सहकारीको पूर्वसचिव सोही विनोद आचार्य भन्ने व्यक्तिले नै मिडियाबाजीमा प्रयोग गर्यो। यो त उसको बोलीले नै बुझ्न सकिने कुरा भयो।’
सुमेरुलाई समस्याग्रस्त घोषणा गरेपछि पटकपटक फाइल मिलाउनका लागि कांग्रेस नेताहरूको नाम लिएर मन्त्रालय आउने गरेको मन्त्री श्रेष्ठ बताउँछन्।
‘कहिले यसो गारौं न मन्त्रीज्यू, कहिले उसो गरौं न मन्त्रीज्यू भनेर मन्त्रालय धाउने, फोन गर्ने गरिरहन्थे,’ उनले आचार्यबारे भने, ‘मैले खासै रेस्पोन्स गरिनँ। नेताहरूको नाम लिएर नआउनुहोला। जसको नाम लिएर आए पनि म पीडितलाई न्याय दिन लाग्छु भनेर पठाएँ। त्यसपछि मन्त्रालयको बदनाम गर्न भाइहरूलाई फसाइदिएछन्। वास्तविक कुरा त छानबिनपछि बाहिर आउला।’
धादिङकै मन्त्री श्रेष्ठसँग थापा पहिलेदेखिकै चिनजानका व्यक्ति हुन्।
कहाँ पुग्यो अनुसन्धान?
थापाको आत्महत्या प्रकरणमा जोडिएका कसैलाई पनि प्रहरीले हालसम्म नियन्त्रणमा लिएको छैन। सो प्रकरणमा मुछिएका कांग्रेस नेता राजु बर्तौलालाई सामान्य सोधपुछ गरेर आफूहरूकै निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाल बताउँछन्।
बर्तौलाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धादिङबाट प्रकाउ पुर्जी जारी नभएको बताउँदै हमालले नेपालखबरसँग भने, ‘अडिओ कसको हो? कहिलेको हो? वास्तविक हो कि होइन? यो सबै बुझ्नका लागि भेरिफाइ गर्ने चरणमा छौँ। अन्य विषयमा भने जिल्ला प्रहरी परिसर काठमाडौँबाट पनि अनुसन्धान अगाडि बढेको जानकारी पाएका छौँ। पीडित पक्षले उजुरी पनि उतै (काठमाडौँ) दिनुभएको भन्ने सुन्न आएको छ।’
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) अपिलराज बोहोराले शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै अन्य अनुसन्धानको प्रक्रिया अघि बढ्ने बताए।
‘पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै छ,’ प्रवक्ता बोहोराले भने, ‘पीडित पक्षले जाहेरी दिनुभएपछि न हामीले अनुसन्धानको प्रक्रिया अघि बढाउने हो। अहिले जाहेरीकै प्रक्रिया चलिरहेको छ। यस विषयमा थप अनुसन्धान हुने नै छ।’
के हो सुमेरुको लफडा?
ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई बागमती प्रदेशको सहकारी महाशाखाले समस्याग्रस्त घोषणा गरेको छ। गत पुस २८ गते उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्दै सहकारीको दुईवटा शाखा सिल गरिएको छ।
सहकारी समस्याग्रस्त घोषणा भएपछि सहकारीमा रहेको बचत चलाउन नपाएको भन्दै सञ्चालकहरू पटकपटक मन्त्रालय धाउने गरेको सहकारी मन्त्री श्रेष्ठको दाबी छ।
सो सहकारीका पूर्वअध्यक्ष भरत महर्जन बचतकर्ताको रकम अपचलन गरेर बेलायत भास्सिएका छन्।
यता, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३ अर्ब ९३ करोड रुपैयाँ मागदाबी गर्दै ललितपुर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको अवस्था छ। उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको छ।
Shares

प्रतिक्रिया