बागमती


छोराको हत्या आरोप लागेका भ्लोन दम्पतीलाई आज मकवानपुर प्रहरी कार्यालय ल्याइँदै

छोराको हत्या आरोप लागेका भ्लोन दम्पतीलाई आज मकवानपुर प्रहरी कार्यालय ल्याइँदै

उपचारका बेला भ्लोन दम्पती।


सुनिता विष्ट
फागुन २१, २०८१ बुधबार १३:४५, हेटौँडा

छोरा हत्या गरेको आरोप लागेका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी अदुवाबारी निवासी ६४ वर्षका मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई बुधबार (आज) जिल्ला प्रहरी कार्यालय मकवानपुर उपस्थित गराइने भएको छ।

३१ वर्षका जेठो छोरो भरतलाई कुटपिट गरी मारेको आरोपमा उनीहरूलाई आज जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ल्याउन लागिएको हो। 

गत शुक्रबार (फागुन १६) साँझ भ्लोन दम्पती र छोरा भरतकुमारबीच कुटाकुट भएको थियो। त्यस क्रममा गम्भीर घाइते भएका भरतकुमारको उपचारका क्रममा शनिबार चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको थियो।

झगडाका क्रममा मीनबहादुर र देवीकुमारी पनि घाइते भएका थिए। मीनबहादुरको ढाडको करङ तथा देवीकुमारीको हात भाँचिएका छन्।

हेटौँडा अस्पतालमा सामान्य उपचारपश्चात् उनीहरूलाई थप उपचारका लागि काठमाडौँ लगिएको थियो।

४ दिनको उपचारपछि मंगलबार डिस्चार्ज भएका भ्लोन दम्पतीलाई घर ल्याइसकिएको र आज प्रहरी कार्यालयमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

भक्तपुर प्रहरीको नियन्त्रणमा रहेर उपचार गराएका उनीहरूलाई प्रहरीकै नियन्त्रणमा हेटौँडा ल्याउन लागिएको डीएसपी अर्यालले बताए।

‘घटना शंकास्पद छ, जसको अनुसन्धान गर्न पनि उहाँहरू (भ्लोन दम्पती) लाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउनैपर्छ’, डीएसपी अर्यालले नेपालखबरसँग भने, ‘पहिला हामी उहाँहरूको स्वाथ्य स्थिति हेर्छौं। त्यसपछि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढ्छ। घटनाको छानबिन गरेर ज्यानसम्बन्धी कसुरमा मुद्दा चल्छ।’

भरतकुमार र बाबुआमाबीच सम्पत्तिका विषयमा प्रायः झगडा भइरहन्थ्यो। त्यस दिन पनि उनीहरूबीच सम्पत्तिकै विषयमा विवाद हुँदा कुटाकुट भएको थियो।

मीनबहादुर र देवीकुमारीले छोरा भरतकुमारलाई थाममा बाँधेर कुटपिट गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो। झगडा भएको थाहा पाएपछि छिमेकीले इलाका प्रहरी कार्यालय, सिस्नेरीलाई खबर गरेका थिए।

प्रहरी पुग्दा भरतकुमार अचेत अवस्थामा थिए भने भ्लोन दम्पती पनि घाइते अवस्थामा भेटिएपछि प्रहरीकै गाडीमा राखेर तीनैजनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो।

सुरुमा भ्लोन दम्पतीले घरमा चोर्न आएको व्यक्ति भन्ठानेर कुटपिट गरेको र आफूहरूको आँखामा खुर्सानीको धुलो छर्किएको भनी झुटो बयान दिएका थिए। 

पछि भरतकुमारका भाइले कुटपिटबाट घाइते व्यक्ति आफ्नै दाइ रहेको प्रहरीलाई बताएपछि वास्तविकता खुलेको थियो। 

बाबुआमाले भारतकुमारलाई लोहोरो, दाउरा र भाँडाले अन्धाधुन्द हानेका थिए।

भरत चार/पाँच वर्षदेखि काठमाडौँमा बस्ने गरेका थिए। काठमाडौँ बस्दा पनि बाबुआमालाई फोन गरेर धम्क्याउने तथा घर जाँदा झगडा गर्ने गरेको परिवारका सदस्यले बताएका छन्।

उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका भरतकुमारको शव उनका माइलो भाइ नवराज भ्लोनले शनिबारै बुझेको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी अर्यालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad