बागमती


खैराङमा बल्यो बिजुली, अनि बिजुलीजस्तै चम्किइन् ७० वर्षीया टुलकुमारी

खैराङमा बल्यो बिजुली, अनि बिजुलीजस्तै चम्किइन् ७० वर्षीया टुलकुमारी

सुनिता विष्ट
चैत ११, २०८१ सोमबार २०:११, हेटौँडा

मकवानपुरको राक्सिराङ गाउँपालिका–९, कार्लाङकी ७० वर्षकी टुलकुमारी प्रजाको अनुहार चमक्क चम्किलो देखिन्थ्यो। घरको मझेरीमाथिको निधालमा टलल बलिरहेको सीएफएल बल्बजस्तै उज्याली देखिएकी थिइन्, टुलकुमारी। 

कारण हो, उनको घरमा पहिलोपटक बलेको बत्ती। त्यो पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै हातबाट उनको घरको बत्तीको स्वीच अन गरिएको थियो।

सधैँ अँध्यारोमा घरधन्दा गर्दै आएकी टुलकुमारी बत्ती बलेपछि दंग देखिइन्।

घरै अगाडि रहेको फलामे खम्बाबाट तार जोडेर ल्याएर आफ्नो घरमा बिजुली बलेपछिको खुसी उनको अनुहारमा पोखिरहेको सजिलै देख्न सकिन्थ्यो। चाउरिएका गाला तन्काएर हाँस्दै उनले भनिन्, ‘जिन्दगीमै पहिलो पटक बिजुली बत्ती बाल्न पाइयो। बुढेसकालमा बिजुली बत्ती कस्तो हुन्छ भने देख्न पाइयो। मुइले त यस्तो दिन पानि आउला भन्ने मनचितामा लिएकै थिएन। काति खुसी लाग्याको छ नि। रात परेपछि केही गरुम्ला भन्न पाइन्नथ्यो। उज्यालैमा भात खायो, सुत्यो। अबु त सधैँ उज्यालो हुनी भयो।’

सानैमा विवाह गरेको टुलकुमारीले पहिला छोराछोरी हुर्काउन र घरधन्दा गर्नका लागि सल्लाको दियालो र सालको मुठा बालेरै गर्जो टार्ने गरेको सम्झँदै थपिन्, ‘मेरो त जिन्दगानी यसै बितिजाला जस्तो लाग्याको थियो। छोराबुहारीले सम्म पनि दुखै पाउने भया भन्ने चिन्ता थियो। अबु त गाउँमै बिजुली आयो। नातिनातिनाले राति पनि लेखपढ गर्न पाउने छन् भनेर खुसी लाग्या छ।’

टुलकुमारी मात्रै होइन, कार्लाङ र खैराङका स्थानीयहरू गाउँमा बिजुली पुगेपछि निकै खुसी देखिएका छन्। किन्न र जोड्न सक्नेका घरमा सोलारको सहारा थियो भने निमसराको घर टुकीकै भरमा उज्यालो पारिन्थ्यो। त्यो पनि मट्टितेल किन्न नसकेर वनका सल्लाको दियालोकै भर पर्नेको संख्या पनि उत्तिकै थियो।

गाउँपालिकाले हरेक वर्ष सोलार वितरण गरेर पनि स्थानीयलाई उज्यालोमा राख्ने प्रयास नगरेको भने होइन। तर सोलार र बिजुलीमा आकाश-पातालकै फरक हुने स्थानीयको अनुभव छ।

‘घाम लागेको दिन पो सोलार बल्छ। बादल लागे, पानी परेको दिन बल्दैनथ्यो’, सोही गाउँकी २१ वर्षीया सीता कुमारी प्रजाले भनिन्, ‘त्यस्तो बेला दाउरा बाहेक उज्यालो आउने केही हुन्नथ्यो। अब त गाउँमा बिजुली बत्ती आयो। बच्चाहरूको लागि पनि सजिलो हुन्छ भन्ने लागेको छ।’

त्यसोत, ९ वटा वडा रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा सबै वडामा विजुलीको पहुँच पुगेको हो। यसअघि पालिकाको ८ वटा वडामा विजुली पुगेको थियो। यस गाउँपालिकाको पनि सबैभन्दा विकट मानिने ९ नम्बर वडामा भने यसै वर्ष मात्रै बिजुली पुगेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। उनका अनुसार सबै वडामा बिजुली पुगेपनि सबै घरहरूमा बिजुलीको पहुँच पुर्याउन बाँकी छ। 

मकवानपुरको विकट मानिने राक्सिराङमा ५ हजार घरधुरी रहेकोमा अझै १५ सय भन्दा धेरै घरहरूमा बिजुली पुग्न बाँकी रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। उक्त स्थानमा बिजुलीको पहुँच पुर्याउन गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

अबको दुई वर्षभित्रमा राक्सिराङको सबै नागरिकको घर/घरमा बिजुली पुर्याउने लक्ष्य गाउँपालिकाले लिएको उनले बताए। भौगोलिक विकटता कारण बिजुलीको पोल विस्तार गर्नमै सकस भएका कारण विद्युतीकरणमा समस्या देखिएको अध्यक्ष मल्लको भनाइ छ।

उनका अनुसार सुरुवातमा गाउँपालिकाले १ करोड रुपैयाँ र प्रदेश सरकारको १ करोड रुपैयाँ बजेट गरी २ करोड रुपैयाँमा काम अघि बढाइएको थियो। सो बजेटमा काम सम्पन्न नहुनेभएपछि प्राधिकरणले विद्युत विस्तारका लागि ६ करोड रुपैयाँ सहयोग गरेको थियो। सोही ८ करोड रुपैयाँ लागतमा वडाहरूमा विद्युतको पोल गाड्ने तथा तार टाँग्ने काम गरिरहेको थियो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चेपाङलाई विद्युत कार्यक्रममार्फत् ३० करोड बजेटमा अभियानलाई अघि बढाएको अध्यक्ष मल्लले बताए।

गाउँपालिकाको सबै वडामा बिजुली पुगेपछि सोमबार (आज)  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राक्सिराङ गाउँपालिका विद्युतीकरण घोषणा गरेका हुन्। निर्देशक घिसिङले स्थानीय टुलकुमारीको घरमा जडान गरिएको बत्तिको स्वीच थिचेर कार्यक्रमको उद्घाटन गरेका हुन्। 

उद्घाटन समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले विकट क्षेत्रमा बिजुली विस्तारमा प्राधिकरण लागिरहेको बताए। देशका ७७ वटै जिल्लाको सबै विकट क्षेत्रहरुमा बिजुली विस्तार भैसकेको बताउँदै उनले बाँकी गाउँहरुमा पनि निशूल्क मिटर वितरण गरेर बिजुली जोडिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad