बागमती


हेटौँडा सिमेन्टका महाप्रबन्धक पाण्डे एक अर्ब घाटा लगाएर बिदा भए

भन्छन्–फाइल बोकेर मन्त्रालय धाउँदैमा कार्यकाल सकियो
हेटौँडा सिमेन्टका महाप्रबन्धक पाण्डे एक अर्ब घाटा लगाएर बिदा भए

सुनिता विष्ट
बैशाख ५, २०८२ शुक्रबार २०:७, हेटौँडा

पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धक वसन्तकुमार पाण्डे गत चैत अन्तिम साताबाट बिदा भएका छन्। 

२८ चैत २०७८ मा उद्योगको महाप्रबन्धक नियुक्त भएर आएको उनको तीनवर्षे कार्यकाल गत चैत २८ गते पूरा भएसँगै उनी बिदा भएका हुन्। उनको यो कार्यकाल न उनैले सोचेजस्तो बन्यो, न त घाटामा गएको उद्योगलाई नाफामा लैजाने व्यक्ति सोचेर पठाएको सरकारले चित्तबुझ्दो रिजल्ट नै पायो।

उनी महाप्रबन्धक भएर उद्योगमा पाइला राख्दा हेटौँडा सिमेन्ट उद्योगको घाटा करिब ८० करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०७८/७९ को चैतमा नियुक्त हुँदा ८० करोड आसपासको घाटामा चलेको थियो। महाप्रबन्धक पाण्डेको इन्ट्रीले उद्योगको घाटामा कमी आउला भन्ने अपेक्षा नियुक्त गर्ने राजनीतिक दलको थियो। 

उनी नियुक्त भएको तीन महिना अर्थात सोही आर्थिक वर्षको वैशाख, जेष्ठ र असारमा मात्रै ९ करोड रुपैँया घाटा थपियो। यस अंक गणित अनुसार मासिक ३ करोडको दरले घाटा थपिएको पाइन्छ। आर्थिक वर्ष २०७८/७९ मा कुल घाटा ८९ करोड पुगेको लेखा परीक्षणको रिर्पोटका उल्लेख रहेको उद्योगका प्रशासन प्रमुख तथा सूचना अधिकारी हरेराम आचार्य बताउँछन्।

यस्तै, उनी नियुक्त भएको दोस्रो आर्थिक वर्ष अर्थात् २०७९/८० मा सिमेन्ट उद्योगको घाटा अझै थपियो। एक वर्षको समयमा उद्योगले थप २६ करोड रुपैयाँ घाटा व्यहोर्न पर्यो। सिमेन्द उत्पादन कम, उद्योग बढी बन्द हुने समस्यालाई पाण्डेले न्यूनीकरण नै गर्न सकेनन्।

उद्योग घाटामा जाने ग्राफ कम हुनुको सट्टा थप मजबुत बन्यो। महाप्रबन्ध भएर आएको दोस्रो वर्षबाटै कर्मचारी संगठनहरूबाट आलोचित बन्न पुगेका पाण्डेले आर्थिक वर्ष २०८०/८१ मा पनि नाफा त गर्न सकेनन् नै। घाटाको अंक अझै थपियो। 

सूचना अधिकारी आचार्यका अनुसार उक्त आर्थिक वर्षमा हेटौँडा सिमेन्ट उद्योगको कुल घाटा ३४ करोड पुग्यो। अघिल्लो आर्थिक वर्षको तुलनामा ८ करोड रुपैयाँ घाटाको ग्राफ बढ्दा पाण्डेले घाटा घटाउने उपाय सोच्नै सकेनन् कि? उनले त्यतातिर ध्यान दिनै चाहेनन्? उद्योग प्रशासनसँग यसको कुनै जवाफ छैन।

हुनत, उनले हेटौँडा सिमेन्ट उद्योगलाई चलायमान बनाएर नाफामा लानको लागि अनेक प्रयास नगरेका भने होइनन्। हेटौँडा उपमहानगरपालिका–९ नम्बर वडामा रहेको उद्योगको जग्गा बिक्री नेपाल राष्ट्र बैंकलाई गर्ने देखि संघ सरकारसँग बजेट माग्नेसम्मको काम गर्न भ्याए। तर न सरकारले उक्त जीर्ण बनेको उद्योग चलाउन बजेट हाल्न चासो देखायो, न त राष्ट्र बैंकले जग्गा लिन रहर गर्‍यो।

उनले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनासम्म आफ्नो कार्यकाल सम्हाले। जाँदाजाँदै के उनले उद्योगको घाटाको ग्राफ घटाउने कुनै लक्षण छोडेर गए त? जनमानसको प्रश्न उठेको छ। तर उनी बिदा भएर गएको चालु आर्थिक वर्षमा हेटौँडा सिमेन्ट उद्योगको घाटाको ग्राफ अझै उकालो लाग्ने अनुमान उद्योग प्रशासनको छ। आर्थिक वर्षको अन्त्यपछि मात्रै आय/व्ययको हिसाब आउने प्रशासन प्रमुख तथा सूचना अधिकारी आचार्यले बताए।

‘ठ्याक्कै कति नाफा, कति घाटा भन्ने तथ्यांकचाहिँ लेखा परिक्षणको रिर्पोट प्राप्त नभएसम्म भन्न सकिन्न,’ आचार्यले भने, ‘तर हालसम्मको अनुमानित आय र व्यय हेर्दा चालु आर्थिक वर्षमा उद्योगको घाटा अझै बढ्छ। यो वर्ष धेरै सिमेन्ट उत्पादन हुनै पाएको छैन। खर्च बढी छ।’ 

यो वर्ष उद्योगको घाटा ४० करोडमाथि पुग्ने अनुमान आचार्यको छ। चालु आर्थिक वर्षको हालसम्म पनि करिब ३० करोड रुपैयाँ घाटामा रहेको अनुमान छ। यद्यपि, लेखा परिक्षण रिर्पोट नआएसम्म यसलाई आधिकारिक मान्न नसकिने उनको भनाइ छ।

चालु आर्थिक वर्ष बाहेक पनि तत्कालिन महाप्रबन्धक पाण्डेको कार्यकालमा सिमेन्ट उद्योगले झण्डै १ अर्ब रुपैयाँ घाटा थपेको छ। उनले बिताएको तीन वर्षे कार्यकालमा सिमेन्ट उद्योगमा १ अर्ब बराबरको घाटा थपिएको तथ्यांकले देखाउँछ। 

चालु आर्थिक वर्षको तीन महिना अर्थात् वैशाख, जेष्ठ र असार बाहेक बितेका ९ महिनाको घाटा करिब ३० करोड बराबरको देखिएसँगै पाण्डेको तीनवर्षे कार्यकालमा ९९ करोड भन्दा बढी घाटा बढेको तथ्यांकले देखाउँछ। यो सँगै सरकारी स्वामित्वको सिमेन्ट उद्योगको घाटा हालसम्मको अवधिका १ अर्ब ८० लाख माथि पुगेको पाइन्छ।

दाङ स्थायी ठेगना भएका पाण्डे नेपाली कांग्रेस निकट हुन्। २७ चैत २०७८ मा बसेको तत्कालिन मन्त्रीपरिषद्को निर्णयले पाण्डेलाई हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो। हाल निमित्त महाप्रबन्धकको जिम्मेवारीमा नवीन कर्ण छन्।

फाइल बोकेर मन्त्रालय धाउँदैमा कार्यकाल सकियो : पाण्डे
त्यसोत, उद्योगको घाटा कम गराएर दीगो सञ्चालन गर्ने उदेश्यका लागि फाइल बोकेर मन्त्रालय धाउँदैमा आफ्नो ३ वर्षे कार्यकाल बितेको निर्वमान महाप्रबन्धक पाण्डे बताउँछन्। उद्योगमा दीगोपन दिनका लागि के के आवश्यक छ? घाटा शून्य बनाएर नाफामा जान कति बजेट आवश्यकता पर्छ? भन्ने बिषयको अध्ययन गरेर प्रतिवेदन तयार पारेर मन्त्रालय धाएको पाण्डे बताउँछन्।

‘म जाँदा नै उद्योग ८०/८५ करोड रुपैयाँ घाटामै थियो, नाफामा ल्याउन सक्छु भन्ने आँटले नै महाप्रबन्धक बन्न आँट गरेको थिएँ,’ उनले भने, ‘तर उद्योग चलाउन सरकारले आवश्यक ठानेन कि बजेट भएन? पत्ता लगाउन नसक्दै कार्यकाल सकियो। फाइल बोकेर कहिले, उद्योग मन्त्रालय, कहिले अर्थ मन्त्रालय गर्दागर्दै न नाफामा लान सकियो। न भएको घाटा प्रतिशत घटाउन सकियो।’

उनका अनुसार उद्योगलाई चलायमान बनाउन १ अर्ब ६० करोड रुपैयाँ बजेट आवश्यक पर्ने उनको प्रतिवेदनमा उल्लेख थियो। सरकारले त्यती रकम लगानी गरे ४ वर्षमा उक्त रकम फिर्ता गर्नेगरी काम गर्न सकिने योजनाको प्रतिवेदन प्रस्तुत गर्दा पनि सरकारले उद्योग चलाउन मन नलगाएको उनी बताउँछन्।

पुरानो मेसिनरी प्लान्ट, आवश्यक दक्ष जनशक्तिको अभाव तथा आर्थिक अभावका कारण उद्योगको घाटा बढ्दो ग्राफमा पुगेको पाण्डे बताउँछन्।

सधैँ घाटामा उद्योग
आर्थिक वर्ष २०६६/६७ देखि २०६७/६८ दुई वर्ष नाफामा रहेको उद्योग आर्थिक वर्ष २०६८/६९ देखि २०७०/७१ सम्म तीन वर्ष पुनः घाटामा गएको तथ्यांकले देखाउँछ। यस्तै उद्योगले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७४/७५ को ४ वर्षे अवधिमा पुनः नाफा गरे पनि त्यसयता निरन्तर घाटामा उद्योग सञ्चालन हुँदै आएको छ।

त्यसोत, उद्योगमा स्वीकृत दरबन्दी ६५५ जनाको थियो। हाल १६६ जनाले काम गरिरहेका छन्। उनीहरूको लागि मासिक ७६ लाख बढी खर्च हुने गरेको प्रशासन प्रमुख हरेराम आचार्यले जानकारी दिए। उनका अनुसार त्यसबाहेक दैनिक ज्यालादारीमा ९० जनाले उद्योगमा काम गर्दै आएका छन्। उनीहरूको दैनिक ज्यालादारी तलब वापत् २२ लाख रुपैयाँ भन्दा बढी खर्च हुने गरेको छ भने सुरक्षा गार्ड ५३ जना कार्यरत छन्। उनीहरूको मासिक तलबमा १४ लाख बढी खर्च हुने गरेको छ।

कुल ३०९ जना कर्मचारी रहेको यस सिमेन्ट उद्योगमा मासिक १ करोड १२ लाख भन्दा बढी रकम तलबमै खर्च हुने गरेको छ। त्यस बाहेक इन्धन, भत्ता लगाएतको शीर्षकमा पनि उद्योगले कर्मचारीको खातामा रकम उपलब्ध गराउँदै आएको छ।

एकातर्फ निजी क्षेत्रको लगानी रहेको उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता, अर्कोतर्फ पुरानो उत्पादन उपकरण। सिमेन्ट उत्पादकका लागि आवश्यक कच्चा पदार्थको निरन्तर मूल्य वृद्धि, उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री वितरण गर्नुपर्ने बाध्यताबीच उद्योग दिन प्रतिदिन टाट पल्टने स्थितिमा पुगेको तथ्यांकले देखाउँछ। उद्योगको तथ्यांक हेर्दा हरेक वर्ष यो उद्योगको बृद्धि भैरहेको छ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको यस उद्योगको मेसिनहरू पुरानो हुँदा उत्पादनमा समस्या हुने गरेको प्राविधिकहरू बताउँछन्। निजी सिमेन्ट उद्योग सरह नै सिमेन्ट उत्पादन गर्नका लागि प्लान्ट नयाँ प्रविधिको भित्र्याउन आवश्यक रहेको उनीहरू बताउँछन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad