राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नै शीर्ष नेताको पद संकटमा पर्ने गरी निर्णय गरेको छ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’मा जोडिएका नेताहरूलाई इंगित गर्दै नेताहरूलाई पार्टीको नीति स्मरण गराएको हो।
राप्रपाले यसरी विचार मिल्ने दल, अभियान तथा समूहको कार्यक्रममा सहभागी नहुन भनेर भनेको यसअघिको निर्णय स्मरण गराउँदै बिहीबार पुन: निर्णय गरेको छ।
बैठकको निर्णयसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणाको पद संकटमा परेको हो। उनीहरू दुवै अहिले काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन्।
'यहाँ पार्टीको जिम्मेवारीमा बस्ने अनि राजनीतिकै लागि खुलेका संगठन, अभियानमा गएर सहभागी भएपछि बसिरहन मिल्छ त?,' बैठकमा सहभागी एक पदाधिकारीले नेपालखबरसँग भने।
आफैँले हस्ताक्षर गरेको निर्णयले संकट
मिश्र र राणा आफैँ सहभागी भएको कार्यसम्पादन समितिको बैठकले गरेकै निर्णयले अहिले उनीहरू संकटमा परेका हुन्।
गत पुस ५ र ६ गते बसेको कार्यसम्पादन समितिको बैठकले समान विचारधारा भए पनि पार्टीभन्दा बाहिरका समूह वा अभियानको कार्यसमितिमा रहेर नेताहरूले कार्य गरेको पाइए स्वतः पदमा नरहने निर्णय गरेको थियो।
उक्त निर्णयलाई गत माघमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरिसकेको थियो। बिहीबारको बैठकले भने स्मरण गराएपछि उनीहरूको पद थप धरापमा परेको हो।
कसकसको जोगिन्छ?
निर्णयअनुसार, राप्रपाको जिम्मेवारीमा पनि रहेको र फरक संगठनमा पनि जिम्मेवारी लिनेहरूको पद धरापमा परेको हो।
तर, फरक समूह तथा संगठनमा जिम्मेवारी लिएर सहभागी भए पनि पशुपतिशमशेर जबरा र डा प्रकाशशरण लोहनीको पद भने नजाने गरी राप्रपाले निर्णय गरेको छ।
'पशुपति शमशेर र डाक्टर लोहनीको पद जाँदैन। उहाँहरूको पद हटाएर हट्ने पद होइन। उहाँहरू त पदेन हो नि पार्टीमा,' ती पदाधिकारीले भने, 'पशुपतिशमशेर त बैठकमा आउनै छोडिसक्नुभयो, लोहनीचाहिँ आउनुहुन्छ। राणा र मिश्रको पद धरापमा परेको हो। केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय भनेपछि बुझ्नुस् न, के भन्नुपर्यो अरु?'
राप्रपाकै अर्का पदाधिकारी पनि पार्टीको जिम्मेवारीमा बसेको व्यक्ति उक्त जिम्मेवारीमा रहेकै अवस्थामा अर्को फरक संगठनको जिम्मा बोक्न जान्छ भने पद छोड्नुपर्ने बताउँछन्।
'यहाँ पार्टीमा बस्ने अनि अर्को संगठनमा पनि बस्ने भएपछि स्वत: पद जान्छ नि। पार्टीले निर्णय नै पास गरेको छ,' उनले भने, 'पदीय जिम्मेवारीमा बसेको मान्छे अन्त विचार, सिद्धान्त र मुद्दा मिल्ने संगठनको कार्यक्रमलाई मद्दत गर्न जान पाइयो तर त्यो संगठनको पदीय जिम्मेवारी नै लिन पाइँदैन। मर्यादामा बस्नुपर्यो।'
पद जाने अवस्था कसरी आयो?
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति मातहतको आन्दोलन परिचालन समितिको संयोजक धवलशमशेर थिए भने मिश्र भने सदस्य सचिव बने।
तर, सुवेदीले पछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा 'संयुक्त जनआन्दोलन समिति' ले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने निर्णय गर्यो। त्यसपछि संयोजक सुवेदीले प्रसाईं समूहले चैत १५ गते प्रदर्शनलाई समितिले समर्थन गर्दै प्रसाईंलाई जनकमान्डर घोषणा गरेका थिए।
प्रसाईंलाई जनकमान्डर घोषणा गर्न आयोजित चैत १४ को कार्यक्रममा राप्रपाका नेता लोहनी, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री राणा उपस्थित सहभागी भए। लोहनी र राणा मञ्चमा सुवेदीसँगै बसे भने पाण्डे तल।
पार्टीले चैत ५ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था पुनर्स्थापना गर्ने निर्णय गरिसकेको अवस्थामा उनीहरू सुवेदी र प्रसाईँसँग मिल्न गएका हुन्।
चैत १२ गतेको राप्रपा आन्दोलन परिचालन मूल समितिको बैठकमा नेता प्रकाशचन्द्र लोहनीले सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिसँग पनि सहकार्य गर्ने निर्णय गर्नुपर्ने प्रस्ताव राखेका थिए।
तर राप्रपाले समान उद्देश्य र विचार भएका राजनीतिक दल, संयुक्त जनआन्दोलन समिति, विभिन्न संघ संगठनहरूसँग सहकार्य, कार्यगत एकता वा मोर्चा गठन गरी आन्दोलनका कार्यअघि बढाउने निर्णय गर्यो।
मिश्र र राणाको पद जानेबारे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि पुन: प्रष्ट पारेको छ।
‘राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नरहने केन्द्रीय कार्यसम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्यसमितिलाई जानकारी गराउने’, बिहीबारको बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चैत १५ को प्रदर्शनमा सहभागी
चैत १५ को राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी भएर प्रदर्शनकारीलाई उचालेको आरोप मिश्र र राणामाथि छ। उक्त ध्वंसात्मक प्रदर्शनमा काठमाडौँको तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो।
उग्र राजावादी प्रदर्शनकारीले तीनकुने क्षेत्रका निजी तथा सरकारी संरचनामा तोडफोड र आगजनी गरेका थिए। प्रदर्शनमा एक पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए। केही प्रदर्शनकारी घाइते भएका थिए।
चैत १५ गते मिश्र र राणा प्रदर्शनकारीलाई उचाल्ने व्यक्ति रहेको दाबीसहित प्रहरीले घाइते भेट्न बी एन्ड बी अस्पतालमा पुगेको बेला पक्राउ गरेको थियो। यस्तै नवराज सुवेदीलाई घरमै नजरबन्द राखिएको थियो।
Shares

प्रतिक्रिया