बागमती


रुसको उलान उदे शहरका नगर प्रमुख इगोर सुतेनकोभ ललितपुर महानगरमा

इगोर भन्छन् : ललितपुरका मन्दिर मास्टर पिस छन्
रुसको उलान उदे शहरका नगर प्रमुख इगोर सुतेनकोभ ललितपुर महानगरमा

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १४:२९, ललितपुर

ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम भएको रुसको उलान उदे सहरका नगर प्रमुख इगोर सुतेनकोभ ललितपुर आएका छन्। 
आफ्नो प्रतिनिधिमण्डलसहित नेपाल आएका उनलाई मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरे। 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध कायम गर्न झण्डै डेढ महिना अघि उलान उदे सहर पुगेको स्मरण गर्दै दुई सहरले एक अर्कासँग प्रसस्तै असल अभ्यासहरु आदान प्रदान गर्न सक्ने बताए। 

उनले भने, ‘कला संस्कृति र सम्पदाको क्षेत्रमा हाम्रो असल अभ्यास उलान उदेले सिक्न सक्छ। हामीले प्रविधि शिक्षालगायतका क्षेत्रमा थुप्रै कुरा सिक्न सक्छौँ।’ डेढ महिनाअघि ललितपुर महानगर प्रमुख महर्जन आफ्नो प्रतिनिधिमण्डलसहित रसिया गएका थिए।
 
उलान उदे सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्ध महत्वपूर्ण उपलब्धि भएको बताउँदै दुई सहर बीचका जनताको समृद्धि र उन्नतिका लागि यो सम्बन्ध ऐतिहासिक भएको प्रष्ट पारे।


 
महर्जनले नेपाल एक पटक मात्रै आएर नपुग्ने बताउँदै नेपाल पटक पटक आउन अनुरोध गरे। ललितपुर महानगर प्रमुख महर्जनले सम्पूर्ण ललितपुर महानगरबासीको प्रतिनिधित्व गर्दै रुसको उदान उदे शहरका नगर प्रमुख र उनको प्रतिनिधिमण्डललाई ललितपुरमा स्वागत गर्न पाउँदा औधी खुशी लागेको बताए। 

उलान उदे सहरमा नगर प्रमुख इगोर सुतेनकोभले रुस र नेपालबीचको सम्बन्ध धेरै पुरानो भएको बताउँदै ललितपुर र उलान उदे सहरबीचको भगिनी सम्बन्धले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउन सहयोग गर्ने बताए। 

विभिन्न विषयमा अध्ययनका लागि विद्यार्थी आदान प्रदान कार्यक्रम निकै प्रभावकारी हुने उनले प्रष्ट पारे। उनले भने, ‘चिकित्सा शिक्षा, कृषि विज्ञान लगायतका क्षेत्रमा हामी काम गर्न सक्छौँ।’ 

उनले अन्य असल अभ्यास पनि आदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। ललितपुरको सुन्दरताबाट आफू प्रभावित भएको बताउँदै ललितपुरमा रहेका ऐतिहासिक मन्दिर आफूलाई एकदमै राम्रो लागेको बताए। उनले भने, ‘यहाँका मन्दिर मास्टर पिस छन्, सहर एकदमै सुन्दर छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad