बागमती


काठमाडौँ जोड्ने फाखेल–हुमाने सडकमा धमाधम कालोपत्रे, बर्खाअघि नै सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ जोड्ने फाखेल–हुमाने सडकमा धमाधम कालोपत्रे, बर्खाअघि नै सञ्चालनमा ल्याउने तयारी

सुनिता विष्ट
जेठ ३, २०८२ शनिबार १७:३१, हेटौंडा

गत असोजको दोस्रो साता परेको अविरल बर्षाका कारण क्षति पुगेकोबागमती प्रदेशको राजधानी र संघीय राजधानी जोड्ने छोटो दुरीको हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौं सडक खण्डको निर्माण कार्यले तीव्रता पाएको छ। 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा पर्ने कुलेखानीदेखि फाखेल–हुमानेसम्मको सडकमा बाढीले क्षति पुर्‍याएको थियो। बागमती प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेको सोही सडकको मर्मतमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय, हेटौंडाको बजेटमा सडक निर्माणको कामलाई तीव्रता दिइएको हो।

२०८० वैशाख १७ गते पिएन इन्फ्रा इन्सट्रक्चर प्रा.लि ले कुल ४० करोड ७२ लाख ४५ हजार रुपैँयामा निर्माण सम्झौता गरेको यस सडकको निर्माण कार्यको अन्तिम मिति आउँदो असार मसान्तसम्म छ। सडक चौडा गर्ने, टेवा पर्खाल, नाली निर्माण, कल्भर्ट निर्माण, कालोपत्रे तथा ढलान गर्ने कार्यको जिम्मेवारी पाएको यस निर्माण कम्पनीले हालसम्म ८० प्रतिशत भन्दा बढी काम सम्पन्न गरिसकेको बताइएको छ।

काठमाडौँबाट हेटौंडा हुँदै तराईका जिल्लाहरु पुग्न छोटो दुरीको सडकको रुपमा यस सडकखण्ड आगामी बर्खाअघि नै सञ्चालनमा आउने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको दाबी छ। 

निर्माण कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरुले समन्वय गर्दै आएका छन्। जसका कारण आउँदो सनसुन अघि नै सडक सञ्चालनमा आउने तयारीमा रहेको इन्द्रसरोवर गाउँपालिका–४ का वडाअध्यक्ष चन्द्र बलले बताए। 

आउँदो बर्खाअघि नै फाखेल हुमाने हुँदै हेटौंडा–काठमाडौँ आउजाउ गराउने उदेश्यले यस सडक खण्डमा कालोपत्रे गर्नका लागि १९ दिन सवारी आवागमन समेत बन्द गरिएको छ। 

पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्र अनुसार यही जेठ २ गतेदेखि २० गतेसम्मका लागि इन्द्रसरोवर २ स्थित कंलकी देखि इन्द्रसरोवर–४ मा पर्ने हुमानेभञ्याङसम्मको सडक बन्द गरेर कालोपत्रेको काम थालिएको हो। 

कंलकीदेखि हुमानेसम्मको १२.६ किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य अबको १५ दिनभित्रै पूरा हुने पूर्वाधार विकास कार्यालयका प्रमुख सुजन भण्डारीको भनाइ छ।  

हालसम्म कुल ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भैसकेको उनले बताए। महालक्ष्मी खोला देखि हुमाने भञ्याङसम्मको सडक मर्मतको काम आउँदो असार मसान्तसम्म सम्पन्न भैसक्ने उनको भनाइ छ। 

यता, बाढीका कारण जीर्ण बनेको सडक निर्माण भैरहेको स्थानमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले नियमित रुपमा अनुगमन गर्ने तथा गुणस्तरीय कामका लागि निर्माण कम्पनीलाई निर्देशन दिने कार्यका तदारुकता देखाउँदै आएका छन्। 

विपद्का बेला फिल्डमै खटेर अवरुद्ध सडक खुलाउन महत्वपूर्ण भूमिमा उत्रिएका मन्त्री मास्के अहिले पनि मन्त्रालयको कुर्सीमा भन्दा बढी पूर्वाधार निर्माण कार्यस्थलमा भेटिने गरेका छन्। अघिल्लो बर्खामा परेको जस्तो विपद् यस बर्ष यात्रुहरुले खेप्न नपरोस् भन्ने उदेश्यले मन्त्री मास्केले यस सडकको कालोपत्रे छिटो सक्नमा जोड दिएको दाबी गर्छन्। 

‘हामीले आउँदो बर्खाअघि निरन्तर रुपमा सवारी सञ्चालन गर्नका लागि नै मन्त्रालयको सिंगो टीम नै फिल्डमा खटिएका छौं,’ मन्त्री मास्केले भने, ‘आउँदो असारअघि नै सडक पूर्णरुपमा सञ्चालन ल्याउन पर्छ भनेर निर्माण कम्पनीसँग निरन्तर छलफल र सहकार्यमै लागिरहेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad