बागमती


ऋणको भारले थिचिएको परिवारमाथि ठूलो बज्रपात, साउदी पुगेको तीन महिनामै अस्ताए सन्तोष

ऋणको भारले थिचिएको परिवारमाथि ठूलो बज्रपात, साउदी पुगेको तीन महिनामै अस्ताए सन्तोष

सुनिता विष्ट
जेठ २१, २०८२ बुधबार २१:४, हेटौँडा

रामेछापको रामेछाप नगरपालिका–८ सल्लेका ३४ वर्षीय सन्तोष कुमार तामाङको साउदी अरबमा दुर्घटनामा परेर ज्यान गएको छ। तीन महिना अघिमात्रै रोजगारीका लागि साउदी गएका उनको गत आइतबार मृत्यु भएको हो। 

सन्तोष गत फागुन १६ गते साउदी अरब गएका थिए। यसअघि दुवई गएका उनी घरमा आमाको मृत्यु भएपछि ११ असार २०८१ मा घर फर्किएका थिए। असार ९ गते आमा बिन्दुमाया तामाङको ब्रेन क्यान्सरका कारण मृत्यु भएपछि सन्तोष आमाको काज किरिया गर्न नेपाल आएका थिए।

दुवई गएको वर्षदिन नहुँदै बाध्यताबस् घर फर्किएका उनी ७ महिना नेपालमै बसे। सवारी चालक रहेका उनले रामेछापमै चालकको काम गरे। तर, घर बनाउँदा लागको ऋण तिर्न यहाँको कमाइले सम्भव हुने उनले देखेनन्।

उता, विदेशमा बसेर राम्रो पैसा कमाउने बानी लागेका सन्तोषको मन रामेछापमा अडिन सकेन। उनका जेठा र माइला दाजु पनि पहिल्यैदेखि साउदी अरबमै चालकको रुपमा काम गर्दै आएका थिए।

आमा बितेपछि घर आएका दाजुहरूले सन्तोषलाई दुवई नगएर साउदी जान सल्लाह दिन्छन्। सोही अनुरुप दुवई जाने निर्णय उल्टाएर सन्तोषले दाजुहरूसँगै साउदी जाने योजना बनाउँछन्। 

काठमाडौँमा रहेको अलसासा मेनपावरबाट साउदी जानका लागि प्रोसेस गरेका सन्तोषको हवाइ टिकट फागुन १६ गतेका लागि फिक्स हुन्छ। उनका कान्छा भाइ तीर्थ तामाङले दिएको जानकारी अनुसार सन्तोषले साउदी पुगेको डेढ महिनामै घर फर्कन मन गर्छन्।

‘कम्पनीले तलब दिएन भनेर गुनासो गर्नुहुन्थ्यो। मोबाइल पनि बेलाबेलामा खोसिदिन्छ भन्नुहुन्थ्यो,’ उनले नेपालखबरसँग भने।

सन्तोषले यही जेठ १८ गते आइतबार बिहान ११ बजेसम्म श्रीमती सबिना तामाङसँग फोनमा कुराकानी गरिरहेका थिए। डिउटीमा छु, रुममा पुगेपछि फोन गरौँला भन्दै फोन राखेका सन्तोषले त्यो दिन घरमा फोन नै गरेनन्। यताबाट सबिनाले फोन गर्दा पनि लागेन। त्यसको भोलिपल्ट अर्थात् सोमबार दिउँसो १ बजेतिर सबिनाको मोबाइलमा घण्टी बज्यो। उनले बोल्न नभ्याउँदै उताबाट सन्तोषको सवारी  दुर्घटनामा परेर ज्यान गएको खबर सुनियो।  

१८ गते राति १ बजे उक्त घटना घटेको भन्ने खबर प्राप्त भएको सन्तोषका भाइ तीर्थले बताए। साउदीमा टेलर गाडी चलाउँदै आएका सन्तोषले आफूले चलाउने गाडी बनाउनपर्ने बेला भएको कम्पनीलाई बताएका थिए।

‘कम्पनीका मालिकले अहिले बनाउन पर्दैन, जसरी हुन्छ गाडी कम्पनीसम्म ल्याउनु भनेका रहेछन्, मृतक सन्तोषका भाइ तीर्थले भने, ‘साहुको आदेश अनुसार गाडी लानका लागि अर्को गाडीमा तारको डोरी बाँधेर गाडी तानिएको रहेछ। सोही तार चुँडिएर दाइ बस्नुभएको गाडीको अगाडि भागमा लागेछ। त्यही तारको डोरीले टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भयो भन्ने खबर आयो।’

यतिबेला सन्तोषको शव साउदीमै छ। शव पठाउनका लागि कम्पनीले कुनै चासो नदेखाएपछि मेनपावर र साउदीमै रहेका दुई दाइहरूको सहयोगमा शवलाई नेपाल ल्याउने प्रयास भैरहेको उनले बताए।

सन्तोषको श्रीमती र तीन छोरीहरू छन्। १५ वर्ष, १० वर्ष र ७ वर्षका तीन छोरीहरू र श्रीमती सहित सिंगो सल्ले गाउँ नै यतिबेला शोकमा छ। घर बनाएको ३३ लाख रुपैयाँ ऋण तिर्नु छ भन्दै साउदी हानिएका सन्तोषको शव काठको बाकसमा आउँछ भन्ने खबरले सबिना बेहोस बनेको तीर्थ बताउँछन्। 

‘शव त जसरी पनि नेपाल ल्याउँला। त्यसको लागि मेनपावर कम्पनी र दाईहरु लाग्नुभएको छ,’ लामो श्वास फाल्दै उनले थपे, ‘जे नहुनु पर्ने भैसक्यो। अब घर बनाएको त्यत्रो ३२/३३ लाख ऋण कसरी तिर्नु भन्ने चिन्ता छ। छोरीहरू पनि साना छन्। भाउजूलाई सम्हाल्नै गाह्रो भैरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad