बागमती


डेलिभरी गराउन भरतपुर जाँदै थिइन् रेनुका, दुर्घटनामा श्रीमान् र सासुसहित मृत्यु

डेलिभरी गराउन भरतपुर जाँदै थिइन् रेनुका, दुर्घटनामा श्रीमान् र सासुसहित मृत्यु

दुर्घटनामा ज्यान गुमाउने गर्भवती रेनुका र उनका पति सरोज पहाडी।


सुनिता विष्ट
असार ७, २०८२ शनिबार १९:११, हेटौँडा

चितवनको राप्ती नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाए। 

हेटौंडाबाट नारायणगढका लागि छुटेको ०३-००१ ज २९९ नम्बरको इभी भ्यान र धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस आपसमा ठक्कर खाँदा इभी भ्यानमा सवार ७ जनाको मृत्यु भयो। 

जसमध्ये हालसम्मको अवस्थामा ६ जनाको मात्रै शनाखत भएको छ।

चितवन प्रहरीका अनुसार सनाखत हुनेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा-४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी, इभी भ्यान चालक हेटौंडा -१० का राजु थिङ रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ४ जना मकवानपुरका रहेका छन्। जसमध्ये पनि तीन जना एउटै परिवारको रहेको पाइएको छ। मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल तीनै जनाको मृत्यु भएको डीएसपी खनालले बताए। 

यता, हेटौंडा उपमहानगरपालिका-५ का वडाध्यक्ष शुशिल घिमिरेका अनुसार उनीहरु रेनुकाको प्रसुती गराउन भरतपुर अस्पताल जाँदै थिए। आइतबारको डेलिभरी (बच्चा पाउन)  रहेकी रेनुकालाई उनको श्रीमान् र सासुआमाले अस्पताल लैजाने क्रममा दुर्घटनामा परेको वडाध्यक्ष घिमिरेले बताए।
 
महोत्तरीको बर्दिबास माइत भएकी रेनुकाका चार वर्षकी एक छोरी छन्। रेनुकाले आइतबार तेस्रो सन्तानलाई जन्म दिनका लागि अस्पताल जाँदै थिइन्। अस्पताल पुग्नु अगावै दुर्घटनामा परेर उनीसहित पेटमा रहेको शिशु, श्रीमान् र सासुआमा समेतको मृत्यु भएको हो।

उनीहरुको शव यतिबेला पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एउटा शवको भने पहिचना हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad