बागमती


चार वर्षको हुँदा बुवाले अलपत्र पारेकी स्वस्तिका भन्छिन्: किन छोडेर जानुभयो सोध्न मन छ

१४ वर्षपछि आमा भेटिन्, अब बुवाको खोजिमा
चार वर्षको हुँदा बुवाले अलपत्र पारेकी स्वस्तिका भन्छिन्: किन छोडेर जानुभयो सोध्न मन छ

१४ वर्षपछि आमासँग पुनर्मिलन भएकी स्वस्तिका र उनको बाल्यकालको तस्बिर।


सुनिता विष्ट
साउन ७, २०८२ बुधबार १८:३२, हेटौँडा

४ वर्षको उमेरमा आफ्नै बाबुले सडकमा छोडेर हिँडेका स्वस्तिका केसीले १४ वर्षपछि आमालाई भेटेकी छिन्।

काभ्रे घर भएकी उनलाई उनका आफ्नै बाबु विष्णु केसीले काभ्रेको धुलिखेलस्थित सडकमा छोडेर भागेका थिए। दुईवटी श्रीमती भएका विष्णुलाई दुवै श्रीमतीले छोडेपछि स्वस्तिकालाई उनले सडकमा अलपत्र पारेर हिँडेका हुन्। 

घुमाउन लाने भन्दै विष्णुले स्वस्तिकालाई बस चढाएर धुलिखेल आइपुगेका थिए। एकैछिन यताउती घुमेपछि स्वस्तिकालाई एकैछिन बस्दै गर्न भने।

ती दिनको स्मरण गर्दै स्वस्तिका भन्छिन्, ‘छोरी तिमीलाई भोक लाग्यो होला। तिमी एकैछिन यहीँ बस। म बिस्कुटहरु किनेर ल्याउँछु भनेर जानुभएको थियो। दिनभरी नै कुरेँ। अबेरसम्म नआइपुगेपछि रोएर बसिरहेको थिएँ। यत्तिकैमा एकजना राधा माकजु श्रेष्ठ भन्ने दिदीले मलाई लानुभयो।’

उक्त रात राधाकै घर बसेकी स्वस्तिकाले रोइकराइ गरेर आफ्नो बुबालाई ल्याइदिन भनिन्। राधाले स्वस्तिकासँगै लिएर धुलिखेल, बनेपा आसपासमा विष्णुको खोजी गरिन्। तर नभेटिएपछि राधाले स्वस्तिकालाई आफूसँगै बसालिन्। धुलिखेल–७ स्थित न्यु म्यानुअल स्कुलको अगाडि १७ वैशाख २०६८ मा राधाले स्वस्तिकालाई उद्धार गरेर घर लगेकी थिइन्।

स्वस्तिकाका बाबुको खोजीको लागि प्रहरीमा निवेदन समेत दिइयो। दुईहप्तासम्म प्रहरीले पनि विष्णुको खोजी गर्न सकेन। प्रहरीले भेटिएकी बालिकालाई प्रहरी कार्यालयमै राख्न भने। तर राधा र उनका परिवारले रोइरहेकी सानी बालिकालाई प्रहरी कार्यालयमा छोडर जान नसक्ने बताएपछि विष्णु नभेटेसम्म राधाले नै स्वस्तिकालाई हेर्ने सहमती गरेर घर ल्याइन्।

४ वर्षको उमेरमा सडकमा अलपत्र परेकी स्वस्तिका राधासँगै बस्न थालिन्। वैशाखको महिना विद्यालयहरूको भर्ना अभियान चलिरहेको थियो। कखरा अलिअलि जानेको थाहा पाएपछि राधाका छोरा सुवास श्रेष्ठले पढाउँदै आएको धुलिखेल इंग्लिस बोर्डिङ स्कुलमा स्वस्तिकालाई एलकेजीमा भर्ना गरिदिए। सुवासले सँगै विद्यालय लाने र ल्याउने काम गरे। 

राधाले करिब १ वर्ष उनको हेरचाह गरिन्। वर्षदिन पछि राधाको अमेरिकाको भिसा आयो। टोलका मानिसहरूले यसरी अरुको बच्चालाई घरमा राख्नु गैरकानुनी हुने भन्दै बालगृहमा पठाइदिन अथवा प्रहरीलाई बुझाइदिन सुझाव दिँदै आएका थिए।

यत्तिकैमा सिद्धार्थ बालगृहकी सञ्चालक सर्मिला श्रेष्ठसँग बालगृहमा राख्ने विषयमा सल्लाह भयो। जसअनुसार २०६९ सालदेखि स्वस्तिका सोही बालगृहमा बसेर पढ्दै आइन्। राधा पनि अमेरिका जानपर्ने भएपछि उनले धुलिखेलमै रहेको सिद्धार्थ बालगृहमा राखेर हिडेँकी थिइन्। 

बालगृहमा बस्न थालेपनि उनको पढाइले निरन्तरता पायो। राधाका छोरा सुवासका अनुसार उनीहरूले स्वस्तिकालाई परिवारकै सदस्यको रुपमा लाने ल्याउने गर्दै आएका थिए।

‘अरुको बच्चालाई घरमा राख्न मिल्दैन भन्ने दबाब आएपछि बालगृहमा पठाएका थियौँ’ उनले भने, ‘मेरो आमाले छोरीको दर्जामा माया गर्नुहुन्थ्यो। हामी पनि दाजुबहिनी बनेर बस्यौँ। आमा विदेश हुनुभएपनि हामीले पारिवारिक ग्यादरिङमा सधैँ ल्याउने गरेका छौँ। बसाइ उता भए पनि उसको आउजाउ गर्ने घर हाम्रै हो।’ 

सुवासका अनुसार दसैँ, तिहार लगाएतको चाडपर्वहरुमा स्वस्तिका राधाकै घर जाने गरेकी छिन्।

त्यसोत, स्वस्तिका अहिले १८ वर्ष पुगेकी छिन् भने आश्रममै बसेर उनले अहिले कक्षा १२ मा अध्ययनरत छिन्। उमेर बढ्दै गएपछि उनलाई नागरिकताको खाँचो छ। जसका लागि आश्रमकी सञ्चालक सर्मिलाले धेरै प्रयास गरिन्।

तर परिवारको टुंगो लाग्न सकेन। सामाजिक सञ्जालहरूमा समेत स्वस्तिकाको फोटोहरू पोस्ट गरिन्। तर कसैले विष्णुको बारेमा जानकारी भएको प्रतिक्रिया दिएनन्। 

आफूले नसकेपछि श्रेष्ठले यो जिम्मेवारी सामाजिक अभियन्ता अर्जुन भुसाललाई सुम्पिइन्। भुसाल धुलिखेल नै आएर सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरे। उक्त भिडिओ हेरेपछि स्वस्तिकाकी आमा मञ्जु केसी चितवनबाट सम्पर्कमा आइन्।

सानैमा स्वस्तिकालाई छोडेर दोस्रो विवाह गरेकी मञ्जुले १४ वर्षपछि आफ्नो छोरीलाई अँगालिन्। विष्णुसँगको सम्बन्ध राम्रो नभएको र घरमा सौता समेत रहेको कारण मञ्जुले २०६७ को मंसिर महिनाबाट घर छोडेर हिँडेको बताउँछिन्। 

१४ वर्षपछि आफ्नी जन्मदिने आमालाई भेटेकी स्वस्तिकालाई अब बाबु भेट्ने मन छ। उनको बाबुको खोजीका लागि चिनजानका आफन्तहरूसँग बुझ्ने प्रयास भैरहेको अर्जुनु भुषाल बताउँछन्।

विष्णु र मञ्जु पहिला वीरगञ्जमा भाडामा बस्ने गरेको खुलेको छ भने केही समय अघिसम्म अमलेखगञ्जको पेट्रोलियम पदार्थ बोक्ने ट्रकमा टोकन लगाउने काम गर्दै गरेको भन्ने खबर पाएपछि उनको खोजी भैरहेको बताइएको छ। 

यता, आमा भेटिएपछि बुबाको खोजीमा लागेकी स्वस्तिका बुबाको अनुहार हेर्न आतुर छिन्। बाल्यकालमा छोडेका कारण आमाको अनुहारको याद नै थिएन।

तर बाबुको अनुहार भने अहिले पनि अलिअलि याद आइरहेको बताउँदै उनले भनिन्, ‘बुबा भेट्ने बित्तिकै एउटै प्रश्न सोध्न मन छ। मलाई किन त्यसरी बाटोमै अलपत्र छोडेर जानुभयो? मैले के बिगारेको थिएँ? मलाई तपाईंसँगै राख्नुभएको भए के बिग्रन्थ्यो?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad