बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्।
बिहीबार (हिजो) साँझ काठमाडौँमा आफ्नो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटपछि उनी राजीनामा दिने निर्णयमा पुगेका हुन्।
शुक्रबार (आज) आफू निकट सांसदहरूको सल्लाहमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय गरेको सांसद तीर्थ लामाले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बालुवाटार बोलाएर कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित लामालाई बहुमतमा सरकार चलाउन पर्ने भन्दै मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए।
पार्टीको शीर्ष तहको निर्देशन मान्नुको विकल्प नभएको भन्दै मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेको सांसद तीर्थ लामाले बताए।
‘संसदीय दलको नेतामा पराजित भएपछि र त्यसमा पनि पार्टी सभापतिले नै राजीनामा दिन निर्देशन दिँदादिँदै आफ्नै सुरमा लाग्नुहुन्न भन्ने सल्लाह भयो’, सांसद लामाले नेपालखबरसँग भने, ‘मुख्यमन्त्रीज्यूले भ्याए आजै, आज नभ्याए भोलि हेटौँडा पुगेर पत्रकार सम्मेलन गर्ने र राजीनामा दिने तयारीमा जुट्नुभएको छ। मार्गप्रशस्त गर्न उहाँ तयार हुनुहुन्छ।’
हाल मुख्यमन्त्री लामा प्रदेश सांसदहरूसहित काठमाडौँमा छन्।
बागमती प्रदेश सभामा ३७ सिट रहेको कांग्रेसको संसदीय दलमा गत शुक्रबार त्यसबेला दल नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
त्यसपछि नयाँ दल नेता चयनका लागि बुधबार भएको चुनावमा लामालाई हराउँदै इन्द्रबहादुर बानियाँ विजयी भए।
यसपछि मकवानपुरका बानियाँले नुवाकोटका लामालाई मुख्यमन्त्री पद छाड्न दबाब दिइरहेका थिए। तर उनले राजीनमा नदिने अडान लिइरहेका थिए।
यहीबीच पार्टी सभापति देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा राजीनामा दिने निर्णयमा पुगेका हुन्।
Shares

प्रतिक्रिया