बागमती


लामाले आज राजीनामा दिने, बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुल्ने

लामाले आज राजीनामा दिने, बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुल्ने

दायाँ-बायाँ मुख्यमन्त्री बहादुरसिंह लामा र कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र बीचमा केन्द्रीय पर्यवेक्षक राजेन्द्रकुमार केसी


सुनिता विष्ट
साउन १८, २०८२ आइतबार ९:३१, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (साउन १८ गते) पदबाट राजीनामा दिने भएका छन्।

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित मुख्यमन्त्री लामा आज पदबाट हट्ने भएका हुन्। 

संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि दलभित्र र बाहिर दुवैतर्फको दबाबबीच पार्टीका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेका हुन्। 

बिहीबार बेलुका सभापति देउवाले आफ्नै निवास बोलाएपछि छलफलका लागि बुढानीलकण्ठ पुगेका मुख्यमन्त्री लामा र अब मुख्यमन्त्री बन्ने बानियाँबीच शनिबार बिहान छलफल भएको थियो। 

त्यस क्रममा लामाले राखेका २ सर्त मान्न देउवाले बानियाँलाई पनि निर्देशन दिएको र उनी त्यसमा सहमत भएको छलफलमा सहभागी कांग्रेस प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए। 

लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने र नयाँ सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहकार्य गर्नुपर्ने सर्त राखेका छन्। त्यसमा बानियाँ राजी भएपछि लामा राजीनामा दिन तयार भएको चित्रकारको भनाइ छ। 

बिबादका बीच मुख्यमन्त्री लामाले साउन १४ गते प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री पदमा नियुक्ति दिएका छन्। 

तर सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टि र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेर उपचार गर्न काठमाडौँ हिँडेपछि ती मन्त्रीको शपथ रोकिएको थियो। 

काठमाडौँमा उपचाररत प्रदेश प्रमुख देवकोटा आज हेटौँडा फर्किएमा लामाले प्रत्यक्ष उनलाई राजीनामा बुझाउने अन्यथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत दिने बताइएको छ। 

लामाले राजीनामा दिएसँगै कांग्रेस संसदीय दलका नव निर्वाचित नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ।

उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुनेछन्।

यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मकट्टेल र बहादुरसिंह लामाले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad