बागमती


बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

सुनिता विष्ट
साउन १८, २०८२ आइतबार १८:२९, हेटौंडा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामाको घोषणा गरेका छन्। 

आइतबार  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  राजीनाको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री लामाले आफू इमानदार भएको कारण यस्तो परिस्थिति आइपरेको बताए। 

मुख्यमन्त्री लामा ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त हुँदै त्यसको भोलिपल्ट अर्थात् ९ गते पद तथा गोपनियताको शपथ खाएर कार्यभार सम्हालेका थिए। 

नेपाली कांग्रेस संसदीय दलभित्रकै आन्तरिक द्वन्द्वका कारण मुख्यमन्त्री लामाले राजीनामा दिनुपर्ने स्थिति सिर्जना भएको थियो। तत्कालीन कांग्रेस संसदीय दलका नेता रहेका लामाविरुद्ध २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो। 

सो प्रस्तावमाथि मतविभाजन गर्दा २२ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेपछि संसदीय दलको नेताका लागि निर्वाचन भएको थियो।

साउन १४ गते बुधबार दिउँसो बागमती प्रदेश सभा परिसरमा भएको संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँ २२ मतसहित निर्वाचित हुँदा लामा  ८ मतान्तरले पराजित हुनुपरेको थियो। 

संसदीय दलका नेताबाट पदमुक्त भएपछि उनले नैतिकताको आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेको थियो।

संवैधानिक व्यवस्था पल्टाउँदै लामाले राजीनामा नदिने अटेर भने नगरेका होइनन्। तर कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि लामा राजीनामा दिन तयार भएका थिए। 

लामाले राजीनामा दिएसँगै बागमतीमा अब नयाँ नेतृत्वको सरकार गठन हुनेछ। कांग्रेस संसदीय दलका नव निर्वाचित नेता बानियाँलाई मुख्यमन्त्री बनाउन प्रक्रिया अघि बढ्नेछ। 

उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुनेछन्। नेकपा एमाले र नेपाली कांग्रेस बीच २०/२० महिना बागमती प्रदेशको मुख्यमन्त्री  बन्ने सहमतिअनुसार बहादुरसिंह लामाले १२ महिना प्रदेश सरकारको नेतृत्व गरिसकेका छन्। 

अब नियुक्त हुने बानियाँले ८ महिना बागमती प्रदेशको मुख्यमन्त्री पद सम्हाल्ने छन्। सो पश्चात् नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति छ।

केन्द्रमा प्रधानमन्त्री परिवर्तन हुँदा बागमती प्रदेश सरकारमा एमालेले मुख्यमन्त्री पद लिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad