बागमती


बागमती कांग्रेसमा फेरि मन्त्री भागबन्डामा विवाद, शपथलगत्तै देउवा निवास जाँदै बानियाँ

सात मन्त्रीमध्ये यी दुईको नाम मात्र टुंगो लाग्यो
बागमती कांग्रेसमा फेरि मन्त्री भागबन्डामा विवाद, शपथलगत्तै देउवा निवास जाँदै बानियाँ

कांग्रेसबाट बागमती सरकारमा मन्त्री बन्न लागेका दुई उम्मेदवार


सुनिता विष्ट
साउन २०, २०८२ मंगलबार १२:५९, हेटौँडा

आज (साउन २०, मंगलबार) बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति गरिँदै छ। 

सोमबार नै रीतपूर्वक दाबी पेस गरेका कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्ति गर्दै छन्। 

योसँगै दुईदलीय सत्ता गठबन्धन रहेको बागमतीमा एमालेले आफ्नो भागमा परेका ६ मन्त्रालयका लागि मन्त्रीको नाम टुंग्याइसकेको छ भने कांग्रेस अझै अलमलमा देखिएको छ। 

हालसम्म कांग्रेसले मुख्यमन्त्रीमा बानियाँबाहेक दुई मन्त्रीको मात्र टुंगो लगाएको छ। 

कांग्रेस स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार अहिलेसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रीमा धादिङका शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ पठाउने निश्चित भएको हो। 

 कांग्रेसको प्रदेश संसदीय दल दुई समूहमा विभाजन भएको अवस्थामा निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा गुट र बानियाँ पक्षका ककसलाई मन्त्री बनाउने भन्ने विवादले बाँकी मन्त्री चयन गर्न नसकिएको हो। उल्लिखित दुई मन्त्री बानियाँ समूहका हुन्। 

उनीहरू नाम र मन्त्रालय पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले नै टुंग्याइदिएको समेत स्रोतको दाबी छ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा सरकार नेतृत्वकर्ता कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ मन्त्री छन्।

अब बाँकी ५ मन्त्रीको नाम टुंग्याउन आगामी मुख्यमन्त्री बानियाँलाई सकस परिरहेको छ। 

यता लामा समूहले हालै मात्र नियुक्त आफ्ना तीन मन्त्रीलाई अब बन्ने सरकारमा सहभागी गराउनुपर्ने माग गरिरहेको छ। 

गत शनिबार पार्टी देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा लामा समूहबाट तीन जनालाई मन्त्रिमण्डलमा लानुपर्ने सहमति भएको छ।

तत्कालीन मुख्यमन्त्री लामाले संसदीय दलको नेता चुन्ने निर्वाचनका दिन अर्थात् साउन १४ गते बिहान नियुक्ति गरेका तीन मन्त्रीको शपथ रोकिएको थियो। मन्त्रीत्रय गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई बानियाँ नेतृत्वको क्याबिनेटमा अटाउन पर्ने लामाको सर्त छ।

त्यसमा बानियाँले सहमति जनाएपछि नै लामा मुख्यमन्त्रीबाट राजीनामा दिन सहमत भएका थिए।

आफूहरूले नवनियुक्त मुख्यमन्त्रीसँगै आफ्ना तीन मन्त्रीको समेत शपथ हुनुपर्ने माग गरेको लामानिकट प्रदेश सांसद रामकृष्ण चित्रकार बताउँछन्। 

‘हामीले आजै हाम्रा तीन मन्त्री नियुक्त गरेर शपथ गराउन भनेका छौँ, तर उहाँले टार्न खोज्दै हुनुहुन्छ भन्ने सुन्नमा आएको छ,’ चित्रकारले नेपालखबरसँग भने, ‘मुख्यमन्त्रीसहित एमालेका ६ मन्त्री र कांग्रेसका दुई मन्त्रीले शपथ खाने भन्ने सुनेका छौँ। त्यसमा हाम्रो समूहका पर्नुभएन भन्ने हल्ला पनि छ।’

यसैबीच कांग्रेसबाट मन्त्री बन्नसक्ने सम्भावित सूचीमा सुना परियार, रमेश कुमार महत, विनु रायमाझी पौडेल, सुरेश श्रेष्ठ, मीना पराजुली, दीपेन्द्र श्रेष्ठलगायतको नाम चर्चामा छ।

आफ्ना दलबाट मन्त्री बनाउनेहरूको नाम चयन गर्न सकसमा देखिएका बानियाँ मुख्यमन्त्री पदको शपथ खानासाथ आजै पार्टी शीर्षस्थ नेता भेट्न काठमाडौँ जाने तयारी रहेको बानियाँको सचिवालयले जनाएको छ।

यसअघि बागमती संसदीय दलको नेतामा बानियाँ चयन भइसक्दा पनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिन नमान्दा दुवै पक्षलाई पार्टी सभापति देउवाले आफ्नै निवासमा बोलाएर सहमति गराएका थिए। यो मन्त्री भागबन्डाको विवाद पनि अब त्यहीँबाट ट‌ुंगिने अपेक्षा गरिएको स्रोतले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad