बागमती


लामालाई देउवाको निर्देशन: मन्त्री नियुक्ति गर्न म भन्छु, अहिले तपाईंहरू विश्वासको मत दिनूस्

आज मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
लामालाई देउवाको निर्देशन: मन्त्री नियुक्ति गर्न म भन्छु, अहिले तपाईंहरू विश्वासको मत दिनूस्

निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा, कांग्रेस सभापति शेरबहादुर देउवा र बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ


सुनिता विष्ट
साउन २७, २०८२ मंगलबार ८:३, हेटौँडा

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार (आज) प्रदेशसभामा विश्वासको मत लिँदै छन्।

यस प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्दै छ। 

आफ्नो पार्टी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमालेको गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम आज विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री बनेको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री बानियाँले त्यसअघि नै आज विश्वासको मत लिने भएका हुन्। 

११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बानियाँले बहुमत पाउन ५६ सांसदले उनलाई विश्वासको मत दिनुपर्छ। त्यसो त सत्तारुढ कांग्रेसका ३७ र एमालेका २७ गरी उनका पक्षमा ६४ सांसद हुनुपर्ने हो तर आफ्नै पार्टीका सांसद निर्वतमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहका १४ जनाले धोका दिने हो कि भन्ने चिन्ता उनलाई छ। 

किनकि लामाले आफ्नो कार्यकालमा मन्त्री बनाएका आफूपक्षीय ३ सांसदलाई सहमतिअनुसार अहिलेको सरकारमा पनि निरन्तरता नदिएको भनी लामा पक्ष बानियाँसँग रुष्ट छ। यस विषयमा लामा समूह काठमाडौँमा पार्टी सभापति शेरबहादुर देउवासँग निरन्तर छलफलमा छ। यसबीच लामा समूहका १४ सांसदले आफूपक्षीय ३ जनालाई मुख्यमन्त्री बानियाँले मन्त्री नबनाए विश्वासको मत नदिने तथा उस्तै परे प्रदेशसभा सदस्यबाटै सामूहिक राजीनामा दिने चेतावनी पनि दिए।

तर सोमबार सभापति देउवाले लामा समूहका सांसदहरूलाई बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका छन्। 

लामानिकट प्रदेश सांसद गोविन्द लम्सालका अनुसार छलफलका क्रममा पार्टी सभापति देउवाले जालझेल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका हुन्।

पार्टी सभापति देउवाको भनाइ उद्धृत गर्दै लम्सालले नेपालखबरसँग भने, ‘मन्त्री नियुक्ति गराउन म मुख्यमन्त्रीलाई भन्छु। तपाईंहरू अहिले विवाद नगरी मुख्यमन्त्रीलाई विश्वासको मत दिनुहोस्। एउटै कुरामा सधैँ विवाद गर्दा तपाईंहरूलाई पनि राम्रो हुन्न। पार्टीलाई पनि राम्रो हुन्न।’

कांग्रेस बागमती संसदीय दलको नेता चुन्न भएको चुनावका दिन अर्थात् साउन १४ गते मन्त्रीमा नियुक्त लम्साललगायत तीन जनाले शपथ खान नभ्याउँदै बानियाँको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। सोही तीन जनालाई अहिलेको सरकारमा पनि निरन्तरता दिनुपर्ने अडान लामा समूहको छ।

पहिला उनीहरूलाई मन्त्री नियुक्ति गरेपछि मात्रै विश्वासको मत दिने लम्सालको दाबी छ। 

‘सभापतिज्यूले त विश्वासको मत दिनु भन्नुभएको छ,’ लम्सालले भने, ‘त्यो भन्दा पहिला मुख्यमन्त्रीले हामीसँग भएको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुपर्‍यो नि! यसो गर्नुभएन भने विश्वासको मत नदिन पनि सक्छौँ।’

तर देउवाको निर्देशनविपरीत जान सक्ने अवस्था नरहेको लामा निकटका एक सांसदले नेपालखबरलाई बताए।

उता मुख्यमन्त्री बानियाँनिकट सांसद तथा कांग्रेसको प्रदेश संसदीय दलको कार्यालयका प्रवक्ता सुरजचन्द्र लामिछाने संसदीय दलको ह्विप जारी गरिसकेको अवस्थामा कुनै सांसदलाई दायाँबायाँ गर्ने छुट नरहेको बताउँछन्। 

२०७९ पुस १३ को कांग्रेस संसदीय दलको नेता चुन्न भएको निर्वाचनको उदाहरण दिँदै लामिछाने थप्छन्, ‘उतिबेला पनि बानियाँ र लामाबीचमै चुनाव भएको थियो। लामाजीले जित्नुभयो। बानियाँले हार्नुभयो। पछि बहादुरसिंह लामा मुख्यमन्त्री बन्नुहुँदा बानियाँ समूहका सबैले विश्वासको मत दिएकै हुन्। अहिले पनि सोही परिस्थिती उल्टिएको मात्रै हो। यस्तो अवस्थामा विश्वासको मत दिन्नौँ, राजीनामा दिन्छौँ भनेर घुर्काउनु भनेको उहाँहरू संसदीय मर्यादा मिचेर जान खोज्नु हुँदै छ। तर जहाँसम्म लाग्छ विश्वासको मत दिन्नँ भनेर बस्नुहुन्न।’

आफूविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराउँदै दलको नेता र मुख्यमन्त्री पदबाट विस्थापित गरेपछि निर्वतमान मुख्यमन्त्री लामा वर्तमान मुख्यमन्त्री बानियाँसँग रुष्ट छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad