आफ्नै पार्टी नेपाली कांग्रेस प्रदेश संसदीय दलका तत्कालीन नेता बहादुरसिंह लामालाई विस्थापित गर्दै बागमती प्रदेशको मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँलाई मंगलबार अपराह्न ४ बजेअघिसम्म पनि विश्वासको मत पाउने हो कि होइन भन्ने त्रास थियो।
किनभने निवर्तमान मुख्यमन्त्री लामा पक्षका १३ सांसदले आफ्ना ३ जनालाई मन्त्री नबनाएसम्म विश्वासको मत नदिने अडान राखिरहेका थिए।
आफ्नै पार्टीका ती १३ सांसदले मत नदिएका भए बानियाँका पक्षमा बहुमत नपुग्ने निश्चित थियो र साउन २० गते मात्र मुख्यमन्त्रीको शपथ खाएका उनको पद एक हप्ता नपुग्दै जानेवाला थियो। किनकि ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५६ सांसद उनका पक्षमा उभिनुपर्ने थियो। तर कांग्रेसका ३६ सांसदमध्ये १३ जनाले साथ नदिनासाथ एमालेका २७ समेत गरी मुख्यमन्त्री बानियाँलाई ५० मत मात्र पर्थ्यो र बहुमत पुग्थेन।
यही विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफलका लागि लामासहित उनी पक्षका १३ सांसद केही दिनदेखि काठमाडौँमै थिए।
मुख्यमन्त्री बानियाँले प्रदेशसभामा विश्वासको मत लिने दिन मंगलबार दिउँसोसम्म पनि उनीहरू पहिले मन्त्री नियुक्ति गर्नुपर्यो अनि मात्र मत दिन हेटौँडा झर्छौँ भनेर घुर्क्याउँदै थिए। तर सभापति देउवाले मन्त्री नियुक्ति जिम्मा आफूले लिने बताउँदै उनीहरूलाई अहिले हेटौँडा गएर विश्वासको मत दिन निर्देशन दिए।
यसपछि गलेका लामापक्षीय सांसद अन्तत: हेटौँडा प्रस्थान गरे। काठमाडौँमै छौँ भनेर घुर्की लगाइरहेका लामा पक्षका सांसद बीचबाटोमा आइपुगेको सुइँको मुख्यमन्त्री बानियाँले पाइसकेका थिए।
उनीहरू सवार गाडी दिउँसो १ः३० बजेतिर दक्षिणकालीबाट हेटौँडातर्फ लागेको जानकारी पाएका बानियाँ विश्वासको मत पाउनेमा ढुक्क देखिए र प्रदेशसभा बैठकको समय सारेनन्।
यसपछि हेटौँडा र काठमाडौँबीचको क्षेत्र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२, देउरालीस्थित होटल हिलटपमा मुख्यमन्त्री बानियाँ र लामा पक्षका सांसदबीच केही बेर मन्त्री नियुक्तीको बार्गेनिङ पनि चल्यो।
बीचबाटोमा आएर मन्त्री नियुक्तिको बार्गेनिङ गरेर बसेका उनीहरूलाई पार्टी सभापति शेरबहादुर देउवा, महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतले फोन गरेर विश्वासको मत दिन दबाब दिए। त्यसपछि बाध्य भएर हेटौँडा झरेको लामानिकट एक सांसदले नेपालखबरलाई बताए।
‘बहादुरसिंह दाइलाई पार्टी सभापतिज्यूले नै फोन गर्नुभयो। त्यसको केही बेरमा हामीहरूलाई पनि गगन दाइ, विश्वप्रकाश दाइ, डिना दिदीलगायतले पालैपालो फोन गरेर आफ्नै दलभित्र विद्रोह गरेर नजान आग्रह गर्नुभयो’, ती सांसदले नेपालखबरलाई सुनाए, ‘मन्त्री नियुक्ति गर्ने कुरामा उहाँले जिम्मा लिनुभएपछि हामी हेटौँडा हिड्यौँ। यहाँ आएपछि मुख्यमन्त्रीज्यूलाई विश्वासको मत दियौँ।’
लामा समूहका सांसद मंगलबार अपराह्न ४:५० तिर प्रदेशसभा परिसरमा प्रवेश गरे। १० मिनेट कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसे, अनि प्रदेशसभा बैठक सुरु भयो। त्यतिबेलासम्म पनि मुख्यमन्त्री बानियाँलाई लामा समूहका १३ सांसदले विश्वासको मत देलान् किन नदेलान् भन्ने शंका थियो।
तर अन्तत: उनीहरूले विश्वासको मत दिए। र, मुख्यमन्त्री बानिायाँले पार्टीका सबै ३६ र सत्ता साझेदार एमालेका २७ सांसद गरी ६३ मत पाए। अर्थात् उनले संसद्बाट विश्वासको मत पाए।
बागमती प्रदेशसभामा कांग्रेसको कुल सांसद ३७ भए पनि रामकृष्ण चित्रकार हाल अमेरिका भ्रमणमा रहेकाले सत्ता गठबन्धनमा रहेका ६४ सांसदमध्ये ६३ जनाले मात्र विश्वासको मत हालेका हुन्।
जसोतसो विश्वासको मत पाएसँगै मुख्यमन्त्री बानियाँ सत्ता जोगिएकामा ढुक्क भएका छन् भने अब चिन्ता लामा समूहलाई भएको छ- वाचाअनुसार आफ्ना मान्छे मन्त्री बनाइएला कि नबनाइएला?
आफ्ना तीन सांसद गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई प्रदेश सरकारमा मन्त्री बनाइनुपर्ने माग लामा पक्षको छ।
तर लामा समूह केन्द्रीय नेताको दबाब र आश्वासनमा आफ्नो हातबाट विश्वासको मत फुत्केकामा पछुतोजस्तो मानिरहेको छ।
लामानिकट सांसद गोविन्द लम्साल सहमतिअनुसारकै मन्त्री पद पाउनेमा नेताहरूले विश्वस्त बनाएको बताउँछन्।
तर पनि नियुक्ति नपाउँदासम्म लामा समूह त्रासमै छ- कतै मुख्यमन्त्रीले कुरा फेर्ने हुन् कि?
यद्यपि मुख्यमन्त्री बानियाँले केन्द्रको निर्देशनअनुसार नै काम गर्ने बताएका छन्।
उनका अनुसार साउनभित्रै कांग्रेसका तर्फबाट बाँकी ५ मन्त्री नियुक्ति गर्ने र यसअघि बिनाविभागीय मन्त्री शिवराज अधिकारीलाई मन्त्रालय तोक्ने तयारी छ।
उनले मंगलबार विश्वासको मत पाएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफ्नो दलभित्र बाहिर चर्चा भएजस्तो विवाद हुँदै नभएको जिकिर गरे।
‘बाहिर प्रचारबाजी भएजस्तो हाम्रो दलभित्र कुनै असमझदारी छैन’, उनले भने, ‘मन्त्री नियुक्ति गर्दा र दलको अन्य निर्णय गर्दा उहाँहरूले सम्मानजनक स्थान माग्नुभएको छ। त्यसमा म केन्द्रका नेताहरूसँग समेत सल्लाह गरेरै निर्णय लिन्छु।’
Shares

प्रतिक्रिया