गत साउन अन्तिम सातादेखि बागमती प्रदेशसभा ठप्प छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएका तोडफोड र आगजनीले क्षतिग्रस्त भवन उस्तै छ। जलेका सवारीसाधन, डढेका कागजपत्र र कालो भवन।
जेनजी प्रदर्शन चर्किंदै गएपछि बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले हतपत राजीनामा घोषणा गरे।
तर उनको राजीनामा प्रदेशसभाबाट स्वीकृत हुन बाँकी छ। यसका लागि प्रदेशसभाको बैठकमा उपसभामुख अप्सरा चापागाईंले राजीनामा पत्र पढेर सुनाउनुपर्ने हुन्छ। अनि बल्ल नयाँ सभामुख चयन गर्न बाटो खुल्छ।
तर त्यसअघि नै सभामुख पद आफ्नो पोल्टामा पार्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच लुछाचुँडी सुरु भइसकेको छ।
उपसभामुख चापागाईं एमाले कोटाकी हुन्। तर एमाले आफूले कांग्रेसभन्दा ३ मन्त्रालय कम लिएकाले शक्ति सन्तुलन कायम गर्न सभामुख पद पनि आफ्नै भाग पर्नुपर्ने अडानमा छ।
उता कांग्रेस भने एमालेको भागमा उपसभामुख परिसकेकाले सभामुख पदचाहिँ आफूले पाउनुपर्ने जिकिर गरिरहेको छ।
मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ भन्छन्, ‘एमालेको भागमा उपसभामुख छँदै छ अब सभामुख त हामीले पाउनुपर्यो नि!’
सभामुख पदका लागि दुई दलबीचको अडानले प्रदेशसभा बैठक राख्ने कुरा नै अन्योलमा परिरहेको छ।
यद्यपि एमालेका प्रमुख सचेतक एकलाल श्रेष्ठ शक्ति सन्तुलनका हिसाबले सभामुख पद आफ्नो पार्टीले लिने र उपसभामुख पदचाहिँ सत्ता साझेदार कांग्रेसलाई दिने गरी छलफल भइरहेको दाबी गर्छन्।
यो कुरा एक साताभित्रै टुंग्याएर प्रदेशसभा बैठक बोलाउने तयारी भइरहेको उनको भनाइ छ।
‘वर्तमान उपसभामुख चापागाईंले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पदका लागि नयाँ प्रक्रिया सुरु हुनेछ’, उनले नेपालखबरसँग भने, ‘एमालेले उपसभामुखलाई राजीनामा गराएर सभामुख पद लिने र त्यसपछि उपसभामुख पद कांग्रेसलाई दिने प्रस्तावअनुसार प्रक्रिया अघि बढ्नेछ।’
त्यसो त सभामुख पद प्रदेश सरकारमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि दाबी गर्ने भएको छ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका माओवादी प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सभामुख पदमा आफ्नो दलको पनि दाबी रहने बताए।
उनले भने, ‘सरकारसँग मिलेर अघि बढ्न माओवादीलाई सभामुख पद दिनु उचित हुन्छ।’
११० सदस्यीय बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व छ।
जसमा सत्ताधारी दुई दल एमालेका २७ र कांग्रेसका ३७ सांसद छन्।
यस्तै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टी (हानेपा) का २ प्रदेशसभा सदस्य छन्।
कुल ११० सदस्य रहेको बागमती प्रदेशसभामा सभामुख चुनिन बहुमत ५६ सांसदको मत आवश्यक पर्छ।
यस हिसाबले सत्तारुढ दुई दल मिलेका खण्डमा सहजै बहुमत (६४) पुग्छ।
यी दुई दलबीच सहमति हुनासाथ प्रदेशसभा बैठक राख्ने तयारी छ।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रदेशसभाका दुवै भवनमा आगजनी गरिएकाले संसद् बैठकका लागि तत्काललाई हेटौँडा उपमहानगरपालिकाको सभाहल प्रयोग गर्ने सहमति भइसकेको छ।
त्यसो त जेनजी आन्दोलनका बेला उक्त भवनमा पनि तोडफोड र आगजनी नभएको होइन।
तर मर्मत-सम्भारपछि प्रयोग गर्न सकिने अवस्थामा रहेकाले मर्मत गरिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।
उनले भने, ‘अहिले त्यहाँ टेबल, कुर्सी राखेर बैठक बस्न सकिने गरी काम भइरहेको छ।’
जेनजी आन्दोलन हुनुअघि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि गत साउन २७ गते बागमती प्रदेशसभाको बैठक बसेको थियो। त्यसयता अहिलेसम्म बस्न सकेको छैन।
Shares

प्रतिक्रिया