रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहा घर भएका १९ वर्षीय जितेन्द्र माझी केही वर्षदेखि हेटौँडामा डेरा गरी बस्छन्। दैनिक ज्यालाजारी गरेर पेट पाल्दै आएका जितेन्द्र हेटौँडा बजार आसपासमा श्रमिकको रुपमा काम गर्थे।
मंसिर २० गते शनिबार बिहानैबाट हेटौँडामा डोजर चल्यो। सडक डिभिजन कार्यालय, हेटौँडाले सडक विस्तार कार्य थालेपछि हेटौँडा बजार भत्कियो। अरु समयमा काम पाउन मुस्किल हुने जितेन्द्रलाई त्यसको भोलिपल्ट अर्थात् आइतबारबाटै धेरै ठेकेदारहरुले बोलाउन थाले।
डोजरले अधकल्चो बनाएको घर भत्काउने काममा जितेन्द्र व्यस्त भए। दिनको ११ सय सय रुपैयाँ पाउने कबोलमा भग्नावशेष बनेको घर भत्काउन पुगेका जितेन्द्रको आफ्नै ज्यान भग्नावशेषमा पुग्यो। गत बुधबार बिहान ९ बजेतिरको समयमा घनले ढलान फुटाउँदै गर्दा ढलान भत्कयो। हातको घनसँगै उनी तल्लो तलामा बजारिए। अनि उनको ज्यानमाथि आएर ढलान बजारियो।
यतिबेला उनी हेटौँडा–१ स्थित सञ्चो अस्पतालको आईसीयूमा उपचारत छन्। टाउकोदेखि ओठसम्म टाँका लगाइएको छ। देब्रे हातको हड्डीहरू फुटेका छन्। बिरामी हात बेडको डण्डीमा अड्याएर जीवनसँग संषर्घ गरिरहेका छन् उनी। घटना घटेको क्षणको मुस्किलले स्मरण गर्दै उनी भन्छन्, ‘काम गरिरहेका थियौँ। म सँगै अर्को एकजना साथी थियो। एक्कासी भत्किएर म तल आइपुगेँ। त्यसपछि के के भयो थाहा छैन।’
सोही दिन जितेन्द्रसँगै दुर्घटनामा परेका वीरगञ्जको पोखरिया निवासी लोरित यादव पनि उपचाररत छन्। एउटै घरमा सँगै काम गरिरहेका बेला भवन भत्किँदा दुवैजना तल खसेका थिए। लोरितको ढाडको हड्डी फुत्किएको छ। एकपटक शल्यक्रिया गरिसके पनि उनको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सुधार भएको छैन।
दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका लोरित अस्पतालको बेडमा थलिनुपरेपछि उनका परिवारजन यतिबेला चिन्तामा परेका छन्। एकातिर कमाउने मान्छे नै बिरामी, अनि अर्कातिर बिरामीको उपचार खर्च कहाँबाट जुटाउने भन्ने पीरलोमा उनका परिवार अस्पतालको ढोका कुरिरहेका छन्।
भग्नावशेष भत्काउने क्रममा दुईजना गम्भीर भएको केहीदिन पछि अर्थात् आइतबार (आज) दिउँसो फेरि यस्तै घटना दोहोरिएको छ। हेटौँडा–१ पिपलबोट चोक नजिकै रहेको विकी जैसवालको घर भत्काउने क्रममा तीनजना श्रमिक घाइते भए। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ रानीसेराका २२ वर्षका सन्तोष भ्लोन, उदयपुरको गाईघाट नगरपालिका–९ का २६ वर्षका दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ पुरन्दाका ३० वर्षका अरुण चौधरी घाइते भएका हुन्।
डोजरको प्रहारले कमजोर बनेको घर भत्काएर सफा गर्ने क्रममा माथिल्लो तलाको ढलान एक्कासी तल झर्यो। सोही ढलानसँगै तीनजना तल्लो तलामा बज्रन पुगे। दिनेश र सन्तोषलाई ढलानले थिच्न भ्याएन। तर अरुणको आधा ज्यान ढलानको एउटा ठूलो टुक्राले पुर्यो। स्थानीयहरूले अरुणलाई बचाउन ढलान पल्टाउन खोजे। तर सकेनन्।

हातले उठाउन नसकेपछि सवारी मर्मतमा प्रयोग गरिने जगको सहायताले उक्त ढलान पन्छ्याएर उपचारको लागि हेटौँडा अस्पताल पठाइयो। टाउको र छातिमा चोट लागेको उनको अहिले उपचार भैरहको छ। हात र शरीरको अन्य भागमा चोट लागेका सन्तोष र दिनेशको भने मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।
यसरी सडक डिभिजन कार्यालय, हेटौँडाले एकैदिनमा फिल्मी शैलीमा घर भत्काउँदा हेटौँडा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दो छ। सडकसँगै जोडिएका भग्नावशेष संरचना हटाउने क्रममा एक सातामै ५ जना श्रमिक घाइते भएका छन्। घाइते भएकाहरूको उपचारमा न ठेकेदारले खर्च व्यहोरेका छन्, न घरभेटीले समन्वय गरेका छन्। नत सरकारले नै वास्ता गरेको छ।
५ दिनदेखि सञ्चो अस्पतालमा उपचार गराइरहेका लोरितका आफन्त पवन शाह भन्छन्, ‘अपरेसन गर्न १ लाख रुपैँया लागिसक्यो। डिस्चार्ज हुनेबेलासम्ममा २ लाख खर्च लाग्छ भनेको छ। घरपरिवारसँग एक रुपैयाँ छैन। हेटौँडा अस्पतालमै १५/२० हजार रुपैयाँ तिर्न बाँकी छ। ठेकेदारसँगै हुनुहुन्छ। तर घरबेटीले फोन स्वीच अफ गरेको छ।’ अस्पताल खर्चमा काम गरेको घरबेटीले सहयोग गर्नुपर्ने माग उनीहरूको छ।
लोरित र जितेन्द्रलाई काममा लगाउने ठेकेदार प्रकाश चौरासिया दिनहुँ अस्पतालमै घुमिरहेका छन्। हेटौँडाको बुद्धचोकमै रहेको एक घरमा ठेक्का लिएर कामदार लगेका उनी पनि चिन्तामा देखिन्छन्। दुर्घटना भएको भोलिपल्टसम्म घरबेटीले उपचार खर्च व्यहोर्ने बताउँदै आएकोमा केही दिनदेखि मोबाइल स्वीच अफ गरेको उनको गुनासो छ।
‘मलाई लिखित सम्झौता गरेर दिएको थिएन, भनिरहेको थियो कि ७ जना काम गर्ने मान्छे लेराउ, काम गराउ,’ उनले भने, ‘त्यो भएपछि मैले मान्छे बोलाएर लिएर गएको। काम गर्ने बेलामा यस्तो घटना घट्यो। अहिले साहु सम्पर्कमै छैन।’
यता, एकदिन घर भत्काएपछि सडक डिभिजन कार्यालय यस स्थानमा सफा गर्न फर्केको छैन। सांकेतिक रुपमा संरचना हटाउन थालेको बताउँदै आएको सडक डिभिजनले गत मंगलबारबाट सबै संरचना व्यवस्थित रुपमा हटाउने दाबी गरेको थियो। तर आइतबार सर्वोच्च अदालतबाट स्टे अर्डर आएपछि सडक डिभिजनको डोजर पुनः गुड्न पाएन। सर्वोच्चको आदेशले काम रोकिएका कारण भग्नावशेष संरचना सफा गर्न नपाएको सडक डिभिजन हेटौंडाका प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारी बताउँछन्।
त्यसोत, हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा गत शुक्रबार भएको बहस तथा छलफलमा सडक विस्तार सम्बन्धी मुद्दाका मिसिल झिकाउने आदेश भएको हो।
सडक डिभिजन कार्यालय हेटौँडाको निर्णयविरुद्ध रास्वपाकी निवर्तमान सांसद विन्दवासिनी कंसाकारले १६ मङ्सिरमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्चले सुनुवाइ गर्दै उक्त मुद्दासम्बन्धी विगतमा भएका अदालतको निर्णय र विचाराधीन मुद्दाको मिसिल झिकाउने आदेश भएको हो।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा आगामी पुस २ गते पेसी तोक्दै अन्य आदेश गरेका हुन्। उक्त आदेशअनुसार आगामी पेसीमा सो मुद्दाका विगतका निर्णयहरू हरेर छलफल हुनेछ।
कंसाकार सहित ६ जनाले सडक डिभिजन कार्यालय हेटौँडा, सहितका निकायलाई विपक्षी बनाएर दायर गरेको उक्त मुद्दामा मङ्सिर १९ मा उत्प्रेषण आदेश गरेको थियो। सामाजिक सञ्जालहरुमा उक्त आदेश सार्वजनिक भए पनि आधिकारिक पत्र नआएको भन्दै २० मंसिरमा संरचना भत्काइएको थियो। २१ मंसिर (आइतबार) दिउँसो १२ बजे उत्प्रेषण आदेश सडक डिभिजन कार्यालय हेटौँडामा दर्ता भएपछि सडक विस्तार कार्य अन्यौल बनेको थियो।
Shares

प्रतिक्रिया