काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ।
कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रूपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाई सेवासमेत जडान सुरु गरिएको छ।
महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छवटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाई जडानको काम गरिरहेको छ।
शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउँछन्।
'निःशुल्क वाइफाईका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमबीपीएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्', उनले भने।
अव्यवस्थित रत्नापार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब रु ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ।
Shares

प्रतिक्रिया