ब्लग


डोजरे विकासका दुई पाटा

डोजरे विकासका दुई पाटा

डा. महेश पन्त
असार ३१ , नर्विच (बेलायत)

डोजरे विकासले भूक्षय र वातावरणमा परेको असरबारे धेरै पढ्न पाइन्छ। हामी सहरियाहरू आफूलाई भने घरैसम्म मोटर जाने बाटो चाहिने, गाउँघरमा बस्नेका लागि यातायातको सुविधा चाहिँदैन भन्नु अलि सुहाउँदैन। 

यस लेखमा म डोजरे विकासका दुई पाटाबारे चर्चा गर्दै छु। जुन विषय काठमाडौं नजिकैको लप्सेफेदी क्षेत्रमा जारी डोजरे विकासमा केन्द्रित छ।

बाटोघाटोको सुविधा र काठमाडौंको जनसंख्यामा केही दशकयता भएको तीव्र वृद्धिले यस क्षेत्रको कृषि उपजको बजार पहुँच बढेको छ। यहाँबाट इस्कुस, चुचे करेला, रुख गोलभेंडा (टमाटर), सयपत्री फूल, साग, आलु इत्यादि काठमाडौंका बजारमा नियमित लगिन्छ। 

यसै क्षेत्रमा ३० वर्षअघि म काम गर्दाको अवस्था बिलकुल फरक थियो। स्थानीयको भनाइमा मानिसले डोकोमा तरकारी बोकेर बजार पुर्याउँदा उस्तो फाइदा हुँदैनथ्यो। अहिले तरकारी किन्न थोक व्यापारी घरमै आउँछन्। कच्ची डोजरे बाटाहरूले यहाँका जनताको जीवनस्तर उकास्न मद्दत पुर्याएका छन्।

विशेष गरेर भिरालो पाखाहरूमा लगाइने इस्कुसको खेतीले यस क्षेत्रका किसानको आम्दानी बढ्नुका साथै भूक्षय रोक्न पनि मद्दत पुर्याएको छ। इस्कुसको बीउ हिउँदमा सानो खाल्डो खनेर रोपिन्छ, बाँसको टाँडमा धेरै परसम्म यसको लहरा फैलिएर फल लाग्छ (हेर्नुहोस् तस्बिर)। 

हिउँदको समयमा इस्कुसको झ्यालमुनिको सम्म जग्गामा तरकारी खेती पनि लगाइन्छ। वर्षा याममा जमिन खनजोत गर्न नपर्ने र भिरालो पाखाहरूमा पनि लगाउन सकिने हुँदा नेपालको पहाडी भेगका लागि इस्कुसको खेती वातावरणीय दृष्टिले पनि साह्रै उपयुक्त  छ। इस्कुसको मुन्टा, फल र जरा (तरुल) सबै खान हुन्छ।   

अब डोजरे विकासको अर्को पाटोतर्फ जाऊँ।  

स्थानीय तहद्वारा निर्मित अधिकतर डोजरे बाटा प्राविधिक दृष्टिकोणले त्यति सुरक्षित छैनन्। त्यसमा पनि यी बाटा कच्ची छन्, कुलेसा तथा पुल पनि बनाइएका छैनन्। वर्षा याममा त यी बाटा निकै खतरापूर्ण हुन्छन्। त्यसै भएर होला– हामीकहाँ गाडी दुर्घटनाका खबर बारम्बार आइरहन्छन्।

डोजरे बाटोको सबभन्दा नकारात्मक पाटो भनेको जग्गा व्यापारीहरूले खेतीयोग्य जमिन किनेर सम्याउने र खण्डीकरण (प्लटिङ) गर्ने। मैले यसअघिको लेखमा भनेको– धान फल्ने खेत कंक्रिटका जंगलले भरिएका छन्, को प्रभाव अब काठमाडौं बाहिर पनि फैलिसकेको छ (हेर्नुहोस् तस्बिर)।

माथि उल्लिखित डोजरे विकासका नराम्रा पक्षको सम्पूर्ण दोष डोजरे बाटोलाई दिनुभन्दा यसको प्राविधिक पक्षमा सुधार गरेर कसरी सुरक्षित र भरपर्दो बनाउने भन्नेमा सबैको ध्यान जान आवश्यक छ। 

त्यस्तै गरेर खेतीयोग्य जमिनको सही उपयोग गर्ने नीति–नियम बनाएर प्रभावकारी कार्यान्वयन गरिएका खण्डमा खेतीयोग्य जमिनको प्लटिङ गर्ने क्रम केही हदसम्म भए पनि कम गर्न सकिन्छ। यसका लागि हामी सबैले सोच्ने बेला आएको छ। हैन भने नेपाल छिटै मरुभूमि बन्नेछ।    

पुस २०, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.