ad ad

ब्लग


भ्यालेन्टाइन्स डेबाट सुरु भएको त्यो प्रेम यात्रा

भ्यालेन्टाइन्स डेबाट सुरु भएको त्यो प्रेम यात्रा

लक्ष्मी जि.सी
फागुन २, २०७८ सोमबार १४:४, काठमाडौँ

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे (प्रणय दिवस)। यसको इतिहासको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ वा कतिको रुचि पनि नहोला। तर हाम्रो समाजमा पनि केही वर्षयता भ्यालेन्टाइन्स डेको जर्बजस्त चर्चा भने हुने गरेको पाइन्छ। यो दिन प्रेमीहरुको दिन हो भन्ने चाहिँ अब धेरैलाई थाहा भइसकेको छ। नयाँ पुस्तामा यसको प्रभाव बढ्दो छ। 

कतिले यो दिनलाई प्रेमको प्रस्थान विन्दुका रुपमा पनि लिन्छन्। सामान्यतः आफूलाई मन परेको वा माया लाग्नेलाई केटा वा केटीले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिइने आम बुझाइ छ। म पनि यसलाई त्यसरी नै बुझ्छु। भ्यालेन्टाइन्स डेलाई विशेष बनाउनका लागि होला अब त यसले साताव्यापी उत्सवको रुप लिइसकेको छ। कतिले यसलाई पश्चिमा संस्कृतिको नक्कल पनि भन्छन्। अंग्रेजी वर्षको नयाँ वर्ष मनाउने वा मनाउनु पर्दैन भन्नेमा समाज जसरी बाँडिएको छ, भ्यालेन्टाइन्स डेका बारेमा पनि त्यसरी नै फरक धारणा व्यक्त हुने गरेका छन्।

भ्यालेन्टाइन्स डेलाई म आफैँले विशेष रुपमा लिएर सेलिब्रेट गरेको त छैन। तर, जब जब यो दिन नजिकिँदै जान्छ, मेरो दिमागमा मिल्ने साथीले साटेका उनका ती सुखद् पलको याद ताजा भएर आउँछ। समय मिलाएरै एक दिन उनले मलाई भ्यालेन्टाइन्स डे उनका लागि किन विशेष छ भन्ने सुनाएकी थिइन्। त्यसपछि साथीकै कारण पनि म भ्यालेन्टाइन्स डेलाई विशेष रुपमा स्मरण गर्छु।

एउटा कार्यक्रममा उनीहरुको भेट भएको थियो। त्यसअघि उनीहरुका बीचमा परिचय त परको कुरा एकअर्कालाई देखेका पनि थिएनन्। खाना खाने समयमा सँगै लाइनमा परे। साथी अगाडि, केटा पछाडि। केटाले जिस्काउने शैलीमा भनेछ– ‘थोरै खाना लिएर हामीलाई प्रेसरमा नपार्नुस् है। हाम्रो त अलि धेरै खाने बानी छ। तपाईंहरुले कम लिँदा हामीलाई गाह्रो हुन्छ।’

साथीले जवाफ त फर्काइनन्, खाली हाँसिन् मात्रै। कार्यक्रममा देख्दा नै साथी केटोको व्यक्तित्वबाट भने कताकता प्रभावित भइसकेकी थिइन्। उनीहरु निकट हुनुको सुरुवात त्यही क्षणबाट भएको साथी ठान्छिन्। त्यसपछि कार्यक्रमभर दुवैले एकअर्कालाई नोटिस गर्छन्। दुवैको आँखाले मात्र कुरा गर्छन्। 

अर्को दिन संयोगले बसपार्कमा उनीहरुको भेट हुन्छ। दुवैले एकअर्कालाई अचानक भेट्दा आश्चर्यमा पर्छन्। खुसी पनि हुन्छन्। कार्यक्रममा धेरै बोल्ने अवसर नमिलेका उनीहरुका लागि त्यो भेट विशेष लाग्छ। सामान्य औपचारिक कुराकानीपछि सन्चोबिसन्चो सोध्छन्। केटाले साथीको नाम सोधे। साथीले नसोधी केटोले आफ्नो नाम भन्यो। नेपालमा फेसबुक लोकप्रिय हुने क्रममा थियो। केटोले फेसबुक अकाउन्ट छ कि छैन सोध्यो। साथीले छ भनेपछि उनले नाम खोजेर रिक्वेस्ट पठायो। त्यसको साँझमा साथीले रिक्वेस्ट स्वीकार गरिछन्। स्वभाविक थियो, फेसबुकको नयाँ साथीसँग सामान्य औपचारिक कुराकानी सुरु भयो। साथीलाई पनि उनको म्यासेज आउँदा खुसी नै लाग्न थालेछ। विस्तारै उनीहरुको फेसबुकमा लामै कुराकानी हुन थाल्यो। एकअर्काका बारेमा कुरा हुन थाल्यो। विस्तारै आफ्नो दैनिकी के कस्तो चल्छ, सेयर हुन थाल्यो। स्वभाविक थियो, अहिलेको समयमा सामाजिक सञ्जाल सम्बन्ध विस्तारका लागि एउटा बलियो माध्यम बनेको छ। उनीहरु पनि विस्तारै नजिक हुँदै गए। कतिपयको फेसबुककै माध्यमबाट चिनजान भएर विवाहसम्म भएको उदाहरण थुप्रै छन्। 

त्यही क्रममा उनीहरुबीच भेट्ने सल्लाह भयो। त्यो भेटमा दुवै बोल्न केही सहज भए। केटोले आफ्ना बारेमा सुनाउँदा साथी धेरै बोलिनन्, सुनी मात्र राखिन्। केटोको कुरा सुन्दा उनलाई समय बितेको पत्तै भएन अरे। अझै सुनम् लाग्ने। साथीले आफ्नो बारेमा भने धेरै बताउन चाहिनन्, सकिनन्। उनलाई त्यो भेट भने विशेष लागेछ। त्यसअघि कुनै पनि केटासँग त्यति लामो समय कुरा भएको थिएन। फेसबुकमा कुराकानी सधैँ जस्तो हुन्थ्यो नै। समय बित्दै जाँदा फेसबुक कुराकानी औपचारिकतामा मात्र सीमित रह्यो। खास भेट पनि भएन। 

तर, एक दिन फेरि अर्को कार्यक्रममा उनीहरुबीच भेट भयो। बसपार्कमा भेट्दाजस्तै सामान्य औपचारिकता भयो। कार्यक्रम सकेपछि खाजा खाने समयमा दुवै अलग अलग समूहमा थिए। दुवैले एकअर्कालाई भेट्न चाहिरहेको आँखाबाट बुझे पनि सँगै बस्ने माहौल बनेन। आँटै गरेर साथीले यता पनि आउन मिल्छ नि भनिछन्। सायद केटो पनि त्यही चाहिरहेको थियो। ऊ साथी नजिक गयो। त्यो दिन साथीलाई किन अलि जिस्किन मन लागेछ। आफूले पिइरहेको स्प्राइट उनको अगाडि राख्दिइन्। उसले पनि पिएछ। कार्यक्रम सकेर फर्किए। 

साँझ फेसबुकमा म्यासेज आयो, ‘आज किन मलाई जुठो स्प्राइट दिएको?’ 

‘जुठो खायो भने माया बढ्छ भन्ने सुनेको थिएँ, तपाईंलाई मेरो माया लाग्छ कि लाग्दैन भनेर जाँचेको,’ साथीले जवाफ फर्काइछन्। 

‘माया नै नलागी त किन जुठो खानु?’ उसको जवाफ सुनेर साथी मख्ख परिछन्। 

त्यस दिनपछि भने उनीहरु फेरि खुलेर बोल्न थाले। आ-आफ्नो कुरा साट्न थाले। 

साथीका मनमा अनेक तर्कना आउन थालेछन्। कताकता केटाप्रति एकखालको लगाव हुन थालेछ। उसलाई पनि त्यस्तै होला भन्ने अनुमान साथीलाई थियो। फेसबुकमा कुरा नभएको दिन नमज्जा लाग्न थालेछ। उसले आफ्नो बारेमा के सोच्छ प्रष्ट थिइनन्। साथीलाई आफ्नो पुरानो असफल प्रेमका बारेमा भन्नुपर्छ भन्ने लागेछ। तर त्यसका लागि उनी सही दिन पर्खिरहेकी थिइन्। नजिकिँदै गरेको भ्यालेन्टाइन्स डेमा आफ्नो बारेमा बताउने निधो गरिन्। 

‘आज तपाईंलाई केही कुरा भन्नुछ। समय मिलाउनुस् है’ भन्दा ऊ तयार भयो। कुराकानीकै क्रममा दुवै एकअर्काप्रति आकर्षित छन् भन्ने आभाष हुन थालिसकेको थियो। 

म्यासेन्जरमा साथीले आफ्नो पुरानो प्रेम र त्यो असफल भएको कुरा सबै सुनाइछन्। साथी उसको प्रतिक्रिया कस्तो होला भन्ने जान्नमा उत्सुक थिइन्। उसले नराम्रो मान्न पनि सक्ला भन्नेमा कताकता थियो। सायद त्यसलाई केटाले सहज लिँदैन भन्ने थियो। तर उनले सोचेभन्दा फरक केटाले त्यसलाई सहज लियो। साथी त्यसपछि उबाट बढी नै प्रभावित भइछन्। आफ्नो प्रेम असफल भएर मसँग नजिक भएको भन्ने केटाले बुझ्न पनि सक्छ भन्ने साथीको सोचाइ उसको प्रतिक्रियाबाट गलत साबित भयो। दुवैले एकअर्कालाई प्रेम प्रस्ताव त राखेनन्। दुवैलाई एकअर्काको माया लाग्न थालेको भने त्यही दिन उनले कुराकानीबाट महसुस गरिन्। 

साथीलाई त्यसैले भ्यालेन्टाइन्स डे विशेष लाग्छ। उनले मनको बोझ हल्का भएको ठानिन्। झन् उसले सहज लिएपछि खुसीको सीमा नै रहेन। भ्यालेन्टाइन्स डेलाई आफ्नो लागि हो होइन भनेर भने उनी जाँच्न चाहन्थिन्। त्यसपछि हरेक भ्यालेन्टाइन्स डेलाई उनी विशेष लिन्छिन्। उनीहरु प्रेममा परे। एकअर्काका सुखदुःखका साथी बन्दै गए। राम्रो वा नराम्रो दुवैले आफ्ना बारेमा सेयर गर्दै गए। धेरै नजिक भए। 

साथी भन्छिन्, ‘उसले अनुहार हेरेरै थाहा पाउँथ्यो म खुसी वा दुःखी छु भन्ने। मुड हेरेर नै केही भन्न खोजेको थाहा पाउँथ्यो। आफ्नो कुरा सेयर गर्न अनेक उपाय खोज्थ्यो र म ढाँट्न सक्दिनथेँ। नभन्न खोजेको कुरा पनि भन्न लगाइछाड्थ्यो। अचम्म लाग्थ्यो, लुकाउनै सक्थिनँ। उसलाई आफ्ना कुरा सुनाएको दिन आनन्द लग्थ्यो। मैले उसलाई जसरी आफ्नो कुरा कसैलाई भन्न सकिनँ, चाहिनँ। पछि त यस्तो भयो, उसलाई नै भन्नुपर्छ भन्ने भयो। सजिलो अप्ठेरो जस्तो परिस्थितिमा पनि ऊ मेरो साथमै हुन्थ्यो। गाली पनि गथ्र्यो, त्यो भन्दा बढी माया गथ्र्यो।’  

सानातिना असहमति हुन्थे। त्योभन्दा बढी उनीहरुका बीचमा माया थियो भन्ने साथीको भनाइबाट प्रष्ट हुन्थ्यो। प्रेमले एउटा गन्तव्य त खोज्छ नै भन्ने साथीलाई लाग्थ्यो। केही वर्ष त्यसरी नै बित्यो। दुवै एकअर्काका लागि बनेका हुन् भन्नेमा थिए। तर उनीहरुको प्रेमले विवाहको रुप लिन भने सकेन। 

परिस्थिति सोचेजस्तो भएन। पारिवारिक कारणले केटोले अर्कैसँग विवाह गरे। दुःख त कति लाग्यो लाग्यो, त्यसको कुनै सीमा नभए पनि साथी त्यो परिस्थितिलाई स्वीकार्न बाध्य भइन्। माया गरेको मान्छेलाई अप्ठेरोमा पार्न उनी चाहन्नथिन्। दुवैले सहमतिमै अलग हुने निर्णय गरे। अर्को वर्ष साथीले पनि विवाह गरिन्। तर, उसलार्ई भने भुल्न चाहन्नन्। भ्यालेन्टाइन्स डेबाट सुरु भएको उनको प्रेम यात्रा जीवनको सबैभन्दा सुखद् क्षण लाग्छ अरे। 

साथी भन्छिन्, ‘प्रेमको कुनै सीमा हुँदैन। न त निश्चित गन्तव्य नै। केही पाउनका लागि प्रेम गरिँदैन र मायाको अन्तिम विन्दु भनेको विवाह पनि होइन। प्रेम गर्छु भनेर गरिँदैन, यो त आफैँ हुन्छ। ऊ मेरो लागि पहिला जस्तै आज पनि खास छ। हाम्रो विवाह हुन लेखेको नभएर के भयो। एकअर्काको शुभचिन्तक त हुन सक्छौं। माया गरिरहन सक्छौं। ऊ मेरो लागि सधैको भ्यालेन्टाइन हो।’

साथीको यो अनुभव सुन्दा मलाई पनि लाग्छ भ्यालेन्टाइन्स डे कतिपयका लागि विशेष छ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .