ad ad

ब्लग


त्यो स्वार्थी केटो

त्यो स्वार्थी केटो

राधिका अधिकारी
फागुन २, २०७८ सोमबार १४:२३, काठमाडौँ

एक दिन ऊ अचानक भेटियो र मिसियो मेरो यात्रामा। ऊ आएपछि आफैँ हिँड्ने जिन्दगीको लय फेरियो। जीवनबाट विलीन भइसकेका सपनाहरु फर्किए। सम्झनाहरु फर्किए, संवेदनाहरु फर्किए। केही समय यात्राको सुन्दर दुरी नाप्यौँ हामीले। सुन्दरता भन्नु पनि त भ्रम रहेछ आखिर, त्यो भ्रम टुट्न समय लागेन। 

एक दिन ऊ उसैगरी बोल्दाबोल्दै हरायो मेरो यात्राबाट। जाँदाजाँदै उसले सम्झाएर गयो, हिजो मैले हिँडिआएको जिन्दगीको अप्ठेरो बाटो। कहालीलाग्दो अतीत र मेरो अवस्था। ऊ गएपछि के के गयो मेरो जिन्दगीबाट मलाई थाहा छैन। तर मुस्कुराउन छाडे ओठ। भोक, प्यास र निद्रा हरायो एकै समय। उसले सम्झाएपछि मेरो अतीत अगाडि आएर चिच्याउन थाल्यो। ऐठन पर्न थाल्यो वर्तमान। 

भक्कानो फुट्थ्यो मुटुमा तर आँखाबाट आँसु आउँदैनथे। जसका आँखामा आँसु पनि छैनन् ऊ कति गरिब होला? चोकमा गएर फैलाएर दुवै हात चिच्याउन मन लाग्थ्यो उसैको नाम। निस्किँदैनथ्यो बोली। त्यो समय उसको तस्बिर छातीमा टाँसेर कति भक्कानिएँ, हिसाब छैन। धेरै तर्कनाहरु बटुलेर कति पुकारेँ हुँला उसलाई। कयौं छाक खाना खाइनँ। आफैँलाई खुब यातना दिएँ। 

आफ्नो जिन्दगीको सहज यात्रामा निस्किएको उसले त्यसपछि कहिल्यै सोधेन सन्चो बिसन्चोको खबर। बरु शब्दहरुमा बारुद पठायो। लाग्छ, उसका शब्द प्रहारले दुखेको मेरो मुटुमा आज पनि छिद्र भेटिन्छ। आगो पठायो शब्दैहरुमा। तीनै शब्दहरुको रापले दनदनी दन्कियो छातीमा ज्वाला। बेहिसाब सहिदिएँ। सहनुको विकल्प पनि त थिएन। 

हराउनु पर्ने कारण पनि थिएन। रिसाउनु पर्ने कारण पनि थिएन। तर हरायो। हराएपछि उसको ठेगाना बोकेर हिँड्न मन लागेन मलाई। बेलाबेला कीर्तिपुरको डाँडोमा पुग्थेँ र टोलाइरहन्थेँ। यो उही हिँडेको बाटो हो भनेर। ऊ सर्वोच्च अदालतको जागिरे। हिँड्दै गर्दा माइतीघर काटेपछि पाइतालाले, देखिन्छ कि कतै भन्ने आशामा बाटोभरि दौडिन्थे आँखा। भारी हुन्थे पैताला। यो समय मैले मेरा बा–आमालाई पनि बिर्सिएँ। र, बिर्सिदिएँ आफ्नै जिन्दगीको गन्तव्य। लयमा फर्काउन मनको गति मैले कुन ओखती खाइँन होला? 
***

घडीको सुईले बिहानको ११ बजाइ सकेको छ। अफिस भन्दाअघि अस्पताल जानु थियो। निस्कनै लाग्दा मोबाइल भाइब्रेट भयो। हेरेँ, स्क्रिनमा उसैको नाम। तिरमिराए आँखा। अँध्यारो भयो बत्ती बलिरहेको कोठा। फोन उठाउनु हुन्छ कि हुँदैन, निर्णय गर्नै सकेन चेतनाले। कम्पन आयो शरीरमा। टिलपिल भए आँखा। उठाउन खोजेँ, उठाउन सकेन हातले। हेरिरहे आँसु भरिएका आँखाले। हेर्दाहेर्दै फोन काटियो। 

फोन कटेपछि केहीबेर सन्नाटा छायो। केही नसुने जस्तो, आवाज नआएजस्तो, शरीर नचले जस्तो, यस्तै यस्तै तरंग दौडिरहे। यो बेहोसीपनबाट होसमा आउन पनि समय लाग्यो। त्यसपछि म्यासेज लेखेँ, ‘केही थियो र?’ त्यो दिन दिनभरि म्यासेज आदानप्रदान भए। तर हामीले एक–अर्काको सन्चोबिसन्चोको खबर सोधेनौँ। मात्र ऊ भेटौँ भन्थ्यो, म मलाई भेट्न मन छैन भन्थेँ।

रात छिप्पिनै लाग्दा आएको फोन चेतनाले नमान्दा नमान्दै मनले उठायो। भोलि भेट्ने सर्तमा उसले फोन राखेपछि बिथोलियो मेरो रात। आँखा जोडिएनन्। मन हुँडलियो। कहिले छतमा निस्किएँ र नियालेँ आकास। लम्पसार सुतिरहेको बाटो हेरेँ, मस्त निदाइरहेको सहरसँग साउती मारेँ। ऊ निदायो कि निदाएन होला त्यो रात। उसको मनमा आयो कि आएन होला सम्झनाको आँधीबेहरी। रसाए कि रसाएनन् होला आँखा। मैले सम्झिरहेँ उसको एउटै वाक्य, ‘तिमी पागल हौ।’ रातभरि सोचेँ एउटी पागल केटीलाई भेट्न किन फर्कियो उसको मन। 
***

म यतिबेला काठमाडौँको कुनै एउटा चोकमा बनेको आकाशे पुलमा छु। सडकमा आफ्नै गतिमा दौडिरहेछन् सवारी साधन। पुलबाट सपना सहित ओहोरदोहोर गरिरहेछन् मानिसहरु। पुलमै बसेर कोही बेचिरहेछन् मोबाइलका खोल र इयरफोन, कोही मागिरहेछन् ५/१० रुपैयाँ। यी सबै दृश्य आँखामा आउँछन् र आँखैबाट टाढा जान्छन्। पस्दैनन् मस्तिष्कमा। 

यही बाटो हो हिजो उसैले दिएका खुसी बोकेर मुस्कुराउँदै हिँडेको। यही बाटोमा उसले दिएका घाउ बोकेर आँसु बगाउँदै हिँडेँ कुनैदिन। र, आज त्यही बाटोमा बसेर म उसैको प्रतीक्षा गरिरहेछु। थाहा छैन यो भेट केका लागि हो? भेट्नु ठिक थियो कि थिएन? भेटेर खुसी मिल्छ कि अझै दुःख?यसपटक न आँसु बगाउन सकेँ न मुस्कुराउन। भिनाजुको विदाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको ऊ आइपुग्न समय लाग्यो। 

ऊ आउँदै गरेको दृश्य नियालिरहेँ रेष्टुराँको दैलोबाट। नजिकै आएपछि उसले हात जोड्यो, मैले हात दिएँ। हात मिलाएर भित्र पस्यौँ। भित्र पस्दै गर्दा उसले भन्यो ‘दुब्लाउनु भएछ नि।’

‘मोटाउनु पर्ने कारण के छोडेर गएका थियौ?’ औपचारिकताबिनै जवाफ फर्काएँ।

त्यसपछि हामी निकैबेर बोल्न सकेनौँ। मलाई सुन्नु थियो उसले वर्षौँपछि सम्झनुको कारण। सोध्नुथियो, ‘आमालाई सोधेर सँगै बस्नेगरी आउँछु है’ भनेर निस्किएको ऊ एकाएक हराउनुको कारण। तर बोल्न निक्कै ठूलो सामथ्र्य चाहिने रहेछ। म मौन बसेको देखेर हामीबीचको सन्नाटा तोड्दै उसले भन्यो– ‘कति शान्त हुनुभएछ?’

‘म अशान्त कहिले थिएँ र?’

‘पहिला त यसरी नबोली बस्न सक्ने मान्छे होइन।’

‘उबेला सपना थिए। रहर थिए। आफ्नो हौँ भन्ने भ्रम थियो। अहिले त्यो सबै सकियो।’ 

मसँग त उसका प्रति न गुनासो थियो, न आशा र भरोसा। मात्रै जान्नु थियो फूल बनेर आएको ऊ कसरी सक्यो काँडा बनेर बिझ्न यो मुटुमा। फेरि पनि उसलाई ठूलो बोली गरेर प्रश्न गर्ने हिम्मत थिएन ममा। अझै पनि मेरो बोलीले नबिझाओस् उसलाई भन्ने कुरामा सचेत थिएँ म। 

हामीले झण्डै दुई घण्टा साथमा बितायौं। नसोधेरै उसले सुनायो एकाकार हुँदाहुँदै जीवनबाट विलय हुनुको कहानी। त्यसपछि उसको जीवनमा आएका उकालीओराली। उसले गाँस छोड्दाको कथा। आँसु बहाउँदाको उदासीनता। तर उसले सोधेन ऊ गएपछि के भयो मेरो जीवनमा। मैले पनि भनिरहनु जरुरी ठानिनँ। मात्रै कहीँ रोएँ, कहीँ मुस्किलले आँसु लुकाएँ। ऊ बोल्दै गर्दा आँसु लुकाउन कति मुस्किल भएथ्यो मलाई। उसले न हेक्का राख्यो, न प्रश्न गर्यो। प्रश्न गरेको भए भन्दी हुँ। उसलाई त केवल आफ्नो अप्ठेरो समयमा पोखिनु थियो। एक हिसाबले भाग्यमानी पनि लाग्यो, दुख्दै गर्दा जिन्दगी, जिन्दगीकै लागि लत्याइएकी म पोखिन यादमा आएँ। सुन्दै गर्दा ऊ टुटेको खबर ममा आँसुको महासागर उर्लिएको थियो। भेटिनु र छुट्टिनु​का किस्सासँग आक्रोश थियो। तर केही देखाउन चाहिनँ र देखाइनँ। 

छुट्नेबेला उसलाई भनेँ, ‘म तिम्रो जिन्दगीका लागि काममा नआउँला। तिम्रो संवेदनाका लागि हर समय काम लाग्ने मान्छे हुँ। सुखमा आफैँ रमाउनू, आफ्नासँग रमाउनू। जिन्दगीमा कुनै दिन आफ्नोपन र मायाको अभाव भयो भने सम्झना गर्नू।’ 

रात छिप्पिसकेको थियो। मुस्किलले छुट्टिएर ऊ कीर्तिपुर गयो। म मेरै गन्तव्यमा। त्यसपछि थुप्रैदिन पुनः भत्कियो जीवनको लय।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .