ad ad

ब्लग


समीक्षाको संवेदनासँग खेल्ने अधिकार तपाईंलाई कसले दियो?

समीक्षाको संवेदनासँग खेल्ने अधिकार तपाईंलाई कसले दियो?

राधिका अधिकारी
फागुन ११, २०७८ बुधबार १५:७, काठमाडौँ

न कसैको समर्थन। न कसैको विरोध। साक्षी किनारामा बसेर घटिरहेका घटनाक्रमलाई नियालिरहे। उदाङ्गो हुँदै गर्दा समाजमा नियतिको एउटा पर्दा कतै घोचिरह्यो। कतै पोलिरह्यो। बारम्बार मन नलागेको होइन, कसैको पक्ष र कसैको विपक्षमा बोल्न। तर केही पढेकै भरमा, केही सुनेकै भरमा कसैप्रति धारणा बनाउनु सानो कुरा होइन। म सानै कुरामा हराइरहने मान्छे त्यति ठूलो हिम्मत गरिहाल्न सकिनँ।

मैले हेर्दाहेर्दै यो समाजले गिजोलिरह्यो एउटी किशोरीको मन। खेलिरह्यो उसको संवेदनासँग। पत्रकारिता गरेर केस पकाएका अग्रले पनि छोडेनन् उसले भुल्न खोजिरहेको घाउमा लागेको खाटो कोट्याउन। तर उसलाई कसैले सोधेन कति कोक्यायो तिम्रो मुटुमा। हामीले बोलिरहेका शब्दले पोल्यो कि पोलेन तिम्रो छातीमा। हामीले गरिरहेका प्रश्नले आँच आयो कि आएन तिम्रो स्वाभिमानमा। खास हामीलाई उसको संवेदना, स्वाभिमान र मनसँग सरोकार नै थिएन। मात्रै सरोकार थियो उसले बोल्ने कन्टेन्टसँग।

त्यसैले त कार्यक्रममा यो कि त्यो? भनेर पटक पटक रोज्न, बोल्न र सम्झन लगाइरह्यौँ उसको मुटुमा खिल बनेर बसेको एउटा नाम। म मेरो संघर्षको कथा भन्न आएको, म मेरो सफलताको खुसी बाँड्न चाहन्छु भन्दा पनि फलानोसँगको सम्बन्ध के हो भनेर गरेका प्रश्न र उनको पीडामिश्रित हाँसो बेचेर कति कमाए होलान् प्रश्नकर्ताले। उनीहरुले नै गरेका प्रश्न, त्यही प्रश्नबाटै गिजोलिएर आएका उत्तरमा एउटी किशोरीको पीडा निचोरिएर आएको देखे कि देखेनन् होला उनीहरुले? मलाई हिजोआज समीक्षा अधिकारीको नाम पल शाहसँग गाँसेर सार्वजनिक भैरहेका विभिन्न स्क्यानडलले नराम्रोसँग बिथोलिरहेको छ।

थुप्रै भिडिओ अन्तर्वार्तामा बोल्दै गर्दा शब्दमा सफाइ र अनुहारमा देखिने पीडाको रेखा राम्रोसँग पढेको छु उसको मुहारमा। सामाजिक सञ्जालमा हेर्छु उनको नाम जोडेर बनाएका ट्रोल। दिएका प्रतिक्रिया। लगाएका लाञ्छना। न्यायाधीश भनेर गरिदिएका फैसला। म हेर्ने, पढ्ने र सुन्ने मान्छेका जिउमा त काँडा उम्रिन्छन्, कति गाह्रो हुँदा हो कलिलो चेतनाले यी सबै कुरा स्वीकार गर्न?

तपाईं हामीले सोधेका प्रश्नको भारीले थिचिएर, तपाईं हामीले दिएका प्रतिक्रियाको क्षणिक असरमा अल्झिएर, तपाईं हामीले लगाएका लाञ्छनालाई सहन नसकेर उनले समातिन् भने जिन्दगीको गलत बाटो त्यसको जिम्मेवारी कसले उठाउने? समीक्षालाई कन्टेन्ट बनाएर मार्केटमा फलिरहेका हामीमध्ये कतिले उनलाई सुझाव दियौँ तिमीले कानुनी लडाइँ लड्नु पर्छ भनेर। प्रहरीमा उजुरी गर्न गएकी छोरीलाई ‘तिम्रो करिअर सकिन्छ भयो छोडिदेऊ’ भनेर चिन्ता व्यक्त गर्ने उनका बाबुआमालाई हामी मध्ये कतिले आत्मबल दियौँ, ‘एउटी छोरीको करिअर र इज्जत योनीमा सीमित हुँदैन’ भनेर। आफ्नी छोरीका बारेमा आएका अनेकन समाचार पढेर कतिपटक मुर्छा परे होलान् बाबुआमा हामीले हेक्का राखेका छौँ? कसले अधिकार दियो एउटी नाबालिगको अनेकन गोपनीयता सार्वजनिक गर्न? एक नाबालिकालाई मिडियाको कठघरामा उभ्याएर आफ्नो दुनो सोझ्याउने नाउँमा आफूअनुकूल धारणा ओकल्न लगाउनु उमाथिको हिंसा हो कि होइन? कानुनले त नाबालिकाको निर्णय क्षमतालाई आधिकारिक मान्दैन। देशको कानुनले नदिएको अधिकार तपाईंलाई कसले दियो? त्यसैले आज लेख्दै गर्दा विचार गरौँ, कतै यही शब्दले दिएको मानसिक टर्चरले कसैको जीवन क्षतिमा अर्को शब्द खर्चिनु पर्यो भने! कसैको पक्ष वा विपक्षमा बहस गरिरहँदा सोचौँ, मेरो भनाइले पीडितलाई झन पीडित त बनाइरहेको छैन! बरु सबैले कानुनी लडाइँका लागि सुझाव दिऊ, पीडितले न्यायबाट बञ्चित हुन नपरोस् भन्ने कित्ताबाट कानुनी कठघरामा सहयोग गरौं।

केही गलत भएको छ। कोही अन्यायमा परेको छ। समीक्षाले बारम्बार फेरिरहने प्रतिक्रियाले उनी पलबाट ‘होस्टाइल’ भइरहेकी छिन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ। हामी उनको पीडालाई मिडियामा, सामाजिक सञ्जालमा प्रचारबाजी गर्दै त्यहाँ आएका सेयर, कमेन्ट र उनले बोलेका कन्टेन्टले कमाएको पैसामा रमाइरहेका छौँ। न कतै रिपोर्ट गर्न सहयोग गरेका छौँ, न सुझाव दिएका छौँ।

अब त समीक्षाको यो विषय उजुरी नपरे पनि प्रशासन र राज्यको जिम्मेवारी भित्र पर्नु पर्ने हो जस्तो लाग्छ। यो घटनामा प्रवेश गरी राज्य प्रशासनले सत्यतथ्य पत्ता लगाई अन्याय भएको भए न्याय दिनु पर्छ। अब त मिडियामा प्रचारबाजी मात्रै होइन, केही अडियो पनि सार्वजनिक भैसकेका छन्। नाबालिक समीक्षामाथि गलत काम भएको हो भने पल सजायको भागीदार हुनु पर्छ। उनले पनि यो अथवा त्यो बहानामा जोगिने बाटो बनाउनुभन्दा इमान्दार भएर आफ्नो गल्ती स्वीकार गरेर सजायको भागीदार भएको खण्डमा आफूलाई जित्नेछन्। प्रेम गरेर होस् या ललाएर फकाएर होस् नाबालिकसँग सम्बन्ध कायम गर्नु अपराध नै हो। अपराध जति नै ठूलो या लोकप्रिय व्यक्तिबाट भएको भए पनि उन्मुक्ति दिनु हुँदैन।

यदि पलले भनेझैं उनको चरित्रहत्या गर्ने काम मात्रै भैरहेको हो भने पलले पनि न्याय पाउनु पर्छ। यसरी कसैको चरित्रहत्या हुनु हुँदैन। हामीले दुवै पात्रहरुप्रति असभ्य भएर खनिनु आवश्यक छैन। समाजमा सभ्यताको निर्माण यसरी नै हुन्छ। यो मामिला अब पल र समीक्षाको मात्र रहेन। समाजको भैसकेको छ। यसले समाजमा हुने गलत र कानुन विपरीतका कामहरूलाई दर्शाइरहेको छ। तसर्थ राज्य र प्रशासनले स्वस्फूर्त यो मामिलामा हस्तक्षेप गर्दै सत्य तथ्य पत्ता लगाएर सबै पक्षलाई न्याय दिनु पर्छ।

अन्तमा, प्रिय समीक्षा बहिनी यो समाज साह्रै गतिलो समाज होइन। तिमीले जति फराकिलो सोचेकी छौ, त्यत्ति फराकिलो छैन हाम्रो समाज छोरीहरुका लागि। यो वा त्यो बहानामा विभिन्न प्रमाण सार्वजनिक गर्न लाउनेहरुले तिमीबाट केवल मसला खोजिरहेका छन्। आज मसला खोजी गर्दै तिम्रा भावनासँग नजिक हुनेहरुले भोलि तिमी हुर्कंदै गर्दा त्यसैको मूल्य माग्नेछन्। तिमीलाई प्रश्न गर्ने छन्। तिमी माथि नै औँला उठाउने छन्। त्यतिबेला उनीहरुलाई दुरुस्साहनको मुद्दा लाग्ने छैन। त्यसैले तिमीलाई कसैले पीडित बनाएका प्रमाणहरु तिम्रा सम्पत्ति हुन्। तिम्रा शक्ति हुन्। तिम्रो शक्ति र सम्पत्ति सही ठाउँमा प्रयोग गर। त्यो ठाउँ हो अदालत। जहाँ गोप्य इजलास हुन्छ, जहाँ तिम्रो गोपनीयताको सम्मान हुन्छ, जहाँ तिमीले जुटाएका प्रमाणमा डलर होइन तिम्रो न्याय खोजिन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .