ad ad

ब्लग


‘पीर’ हेर्दाहेर्दै सम्झिएँ युद्ध लडेकी ती समता दिदी

‘पीर’ हेर्दाहेर्दै सम्झिएँ युद्ध लडेकी ती समता दिदी

मीना खड्का
फागुन २९, २०७८ आइतबार १८:२१, काठमाडौँ

सत्य हो, माओवादी आन्दोलनको गन्तव्य यहीँसम्म मात्रै थिएन। माओवादीले आफ्नो आधार क्षेत्र बनाएको रुकुमको खारानजिकै छु। यहीँबाट सम्बोधन गरिरहेछु, तिमीलाई।

प्रिय प्रकाश दाइ! यो क्षेत्र तत्कालीन माओवादी र सरकारबीचको रणभूमि थियो। तिमीलाई पनि थाहा होला, त्यतिबेला धेरैले ज्यान गुमाएका थिए। मेरो गाउँकै दिदी समता खड्का (सृजना) जसरी कयौँ अंगभंग भए। 

माओवादीले उठाएका जनजीविकाका मुद्दाहरु कति पुरा भए? वास्तविक जनताले अनुभूत गर्नेगरी काम भयो कि भएन? त्यो सबैलाई थाहा छ। जनमुक्ति सेनाको रगत/पसिना बेचिएको सत्य हो। समता दिदीजस्तै युद्धमा होमिएका साइँला दाइ दुबईमा छन्। रहरले पराइ भूमि कोही जाँदैन। लामो समय उनी जान चाहेका थिएनन्। तर, बालबच्चाको भविष्य निर्माण गर्ने जिम्मेवारी उनको काँधमा आयो। विकल्प केही भेटिएन। वैदेशिक रोजगारीलाई जीविकोपार्जनको माध्यम बनाए। सबैका सपना सजिलै साकार हुँदैनन्। धेरै युवा बाकसमा फर्किन्छन्। 

सबथोक यहीँ छोडेर केही पुरा त केही अधुरा रहरसहित मरुभूमिमा पसिनासँग पैसा साट्ने उनीजस्ता कयौँ छन्। आँसु नझारी, पसिना नबगाई, विरक्तिसँग नजुधी रगत, तागत लगानी नगरी कसरी कमाउनु पैसा? कहिलेकाहीँ सुनाउँछन्, ‘देशको लागि लडेको योद्धा सपना खोज्दै परदेश हिँडेको, देशलाई थाहा होला त?’ 

त्यो बेला विदेश जानेलाई टीका लाएर बिदा गर्ने चलन थियो गाँउमा। दुःखका भञ्ज्याङहरुमा संघर्षका पाइला चाल्दै सुखको मैदान भेटाउने आशमा हिँडेका साइँला दाइलाई हामीले टीका र फूलको मालासहित विदाई गरेका थियौँ।

‘गाउँमै रगत, पसिना बगाएर वैभव फलाउन सकिँदैन र दाइ?’ त्यतिबेला सोधेकी भए दाइले भन्ने थिए, ‘गाउँमा बसेर गर्ने कृषि हो। तर सिँचाइ छैन, उब्जनी हुँदैन। उब्जनी भएको वस्तुले पनि बजार पाउँदैन।’

स्वदेशमै बस भनेर रोक्ने हिम्मत कसले गर्ने! 

कहिलेकाहीँ भिडिओ कलमा सकुशल रहेको खबर दिन्छन् उनी। कहिलेकाहीँ निराश हुँदै भन्छन्, ‘हाम्रा वेदनाका सन्देशहरु कसैले लेख्दैन।’ 

अन्यायको विरुद्धमा बन्दुक बोकेर हिँडेका हाम्रै गाउँका हिरालाल अंकल गतवर्ष फर्किए नेपाल। उनी पनि तीन वर्ष खाडी बसेर आएका हुन्।

‘अब त केही होला भनेर फर्कियौँ। संघीयता आएको छ,’ उनी भन्छन्, ‘अवस्था केही त बदलिएको छ तर हामीलाई उस्तै त हो नानी।’ 

धेरै योद्धा अपमानजनक जीवन बाँच्न अभिशप्त छन्। उनीहरुसँगै लड्दा सहिद भएकाहरुलाई सहिद घोषणा गरिएको छैन। 

म सात कक्षा पढ्दै थिएँ। एक साँझ आँखाभरि आँसु पार्दै समता दिदीले सुनाएकी थिइन्, उनको युद्ध यात्राको कथा। 

समता दिदी उतिबेला बाआमा, श्रीमान्, सानी छोरी छाडेर युद्धमा हिँडेकी थिइन् रे। परिवर्तनका लागि। 

‘कमान्डरको आदेशमा भोकभोकै कति हिँडियो, कति लडियो। गोली लागेर भाँचिएको हात लिएर पनि मैले बन्दुक चलाउन छाडेकी थिइनँ,’ उनले सुनाएकी थिइन्।

घाइते शरीर बोकेर उनीहरुले कसरी बन्दुक चलाइरहेका थिए होलान्? ज्यानको बेवास्ता गरेर लडेका उनीहरुको सम्मान कहिल्यै भएन। नेतृत्वप्रति गुनासो हुनु स्वाभाविक हो। 

युद्धबाट फर्केपछि उनी चुपचाप जीवन बिताइरहेकी छन्। आफ्नै आमाले बाँचेको जीवन बाँचिरहेकी छन् उनी, खेती गरेर। 

प्रकाश दाइ!

तिमीले भर्खरै एउटा ‘पीर’ नामक गीत बजारमा ल्यायौ। शुक्रबार गीत रिलिज भएपछि सामाजिक सञ्जालमा चर्चा छायो। तिम्रो गीत मैले पनि हेरेँ। त्यसपछि तिनै समता दिदीको याद आयो। गाउँमा उनको जस्तो कष्टकर जीवन विरलैले बाँचेका छन्। 

हो, तिम्रो ‘पीर’ मा समेटिएको जस्तो नेपालमा रोजगारीको अभाव, परदेशमा बन्धक बन्नुपर्ने नेपालीको बाध्यता झुट होइन। यसलाई तिम्रो गीतले सहजै व्याख्या गरिदियो। 

राजनीतिले जनमानसमा एक प्रकारको विरक्ति निम्त्याएको छ। निराशा छाएको छ। देशमा ल्याएको क्रान्तिले आम मानिसमा परेको प्रभावतर्फ ध्यान गएको छैन। नेतृत्वको बदलिएको जीवनशैली देख्दा त्यो लडाइँ र संघर्ष व्यर्थ थियोजस्तो लाग्छ।

तर, तिमीजस्तो स्रस्टाले महिलाहरु केही सीप नलागेपछि देहव्यापार गर्छन् भन्ने भ्रम पाल्यौ। 

तिमीले ती मानिसहरुको कथा लेख्यौ, जो उत्पीडित र पिछडिएका वर्गका अधिकारका लागि ज्यान हत्केलामा राखेर लडेका थिए। तिनैले सशस्त्र संघर्ष गरेपछि गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता आयो। तर, तिमीले लेखेको कथा अधकल्चो र भ्रष्ट छ। 

नेताहरु सत्तामा पुगे। तर, हिजो संघर्षमा होमिएका लडाकुको हालत आज के छ? कहाँ छन्? के गरिरहेका छन्? आर्थिक अवस्था के छ? हिजो लडाउने माओवादीसँग यसको तथ्यांक छैन। 

यो गीत युट्युबबाट हटाइनुपर्छ पनि म भन्दिनँ। तर, यो भ्रममा नपर्नू, समता दिदीहरु कमजोर छैनन्। 

तिम्रो गीतले उनीजस्ताको अपमान गरेको महसुस भएको छ। आफ्नो हक, अधिकारको लागि ज्यानको आहुति दिने समताजस्ता महिला देह बेच्दैनन्। बरु भोक र कष्टकर जीवन सहिरहेका छन्।

मलाई लाग्छ, तिम्रो गीतले उनीजस्ता मानिसमाथि भद्दा मजाक गर्यो। मेरो मन त्यहीँनेर दुख्यो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .