ब्लग


महिनावारी पीडाः हरेक महिना जिन्दगीदेखि हार खान्छु

महिनावारी पीडाः हरेक महिना जिन्दगीदेखि हार खान्छु

राधिका अधिकारी
चैत १ , काठमाडौँ

आँखामा पावरवाला चस्मा लगाउँछु। तैपनि धमिलो देखिन्छ नजिकैको दृश्य। छेउमा रहेको साथी बोलेन भने बेवास्ता गरेको जस्तो महसुस हुन्छ र दुख्छ छाती। उसले बोलाउँदा पनि झिँजो लाग्छ, पसिना निस्किन्छ। 

बाटो हिँड्दाहिँड्दै थचक्क बस्न मन लाग्छ कहिले बाटोमै। हरेक महिना उच्च ज्वरो आउँछ, उठाउनै सक्दिन शिर। खान मन लाग्दैन, बल्ल खायो तातो पानी, त्यो पनि घाँटी चिराचिरा बनाएर निस्किन्छ बाहिर। कहिलेकाहीँ लाग्छ, तल्लो पेटमा आगो बलिरहेको छ। कहिले लाग्छ घोचिरहेछ काँडाले। स्तन सुनिन्छ, भित्रभित्रै सोला हान्छ। एक्कासि शरीरको तौल बढेको जस्तो महसुस हुन्छ, आफैंलाई गह्रौं लाग्छ। कहिले शरीरको तल्लो भाग छुट्टिएर झर्यो जस्तो भान हुन्छ र आत्तिएर छाम्छु हातले। 

लाग्छ अब मेरो टाउको फुट्नेवाला छ। ढाड यसरी दुख्छ, मानौँ अब भाँच्चिनेवाला छ। अहो! ओछयान र बाथरुमको दुरी नै निकै लामो लाग्छ। यहीबेला अफिस पनि त हुन्छ। सधैँ दौडिरहेको किबोर्डमा दौडन मान्दैनन् औँला। मष्तिष्कले काम गर्दैन। रक्तश्राव, प्याडको बिझाइ, हिँड्न हुने असजिलो, मनमा आउने अनेकन तर्कना, सहरको एक्लो बसाइ, त्यहीबेला साथीभाइले लगाउने नमिठा वचन, एक्लै बसेर धुमधुम्ती रोइरहन मन लाग्छ। 

प्रत्येक महिनाका केही दिन निकै नराम्रा हुन्छन्। यो नराम्रो समयसँग गुज्रँदै गर्दा निकै कमजोर हुन्छ मन। सानै कुराले दुखिहाल्ने, बिझिहाल्ने खै के हुन्छ यस्तो! यही बेला मनले नजिक ठानेका आफन्त देख्न मन लाग्छ। अत्यास लाग्छ र एक्लोपन महसुस हुन्छ। त्यही बेला उनीहरु ‘भेट्नु पर्दैन’ भन्ने सन्देश छाड्छन्। महिनामा एकपटक जिन्दगीदेखि हार खान्छु। मरौँ भन्ने भावनाको विकास हुन्छ। खै कसरी जोगिइरहेछु थाहा छैन।
 
यी सबै हरेक महिना महिनावारीको समयमा मैले झेल्दै आएका समस्या हुन्। समस्या त कति छन् कति! बाटो हिँड्दै गर्दा प्याड छिचोलेर कपडामा लाग्छ रगत। आपत पर्दा प्याड चेन्ज गर्ने अवस्था हुँदैन। कयौँ पटक महिनावारीमा बगेको रगतको पाइला छोडेर हिँडेकी छु। काम गर्ने क्रममा कयौँ अफिस त महिला मैत्री थिएनन्। बाथरुममा पानी हुँदैन। प्याड चेन्ज गरेर फाल्ने बिन हुँदैन। तारन्तार बाथरुम गइरहन मन लाग्छ। पानी नभएको बाथरुममा कसरी जानु? यही पिरले कयौँ पटक रोएको छु। कान्तिपुरमा हुँदाताका मेरो पीडा देखेर उपासना दिदी भन्नु हुन्थ्यो, ‘तँ बच्चा कसरी जन्माउँछेस् बहिनी?’ 

बाटो हिँड्दाहिँड्दै कतिपटक बेहोस भएर लडेँ, कतिवटा चस्मा भाँचिए, नाकका फुली हराए हिसाब राख्नै छोडिदिएँ। केही वर्षअघि काठमाडौंको राइजिङ मलअगाडि बेहोस भएर लडेकी म ब्यूँझँदा प्रहरीसँग थिए। तर, थिएन आफैँले बोकेको ब्याग, ब्यागमा भएका सामान। त्यसपछि भने हरेक महिना भन्नेहरुले कमजोर नै भनून्, अफिसबाट बिदा बस्न थालेँ। 

यही क्रममा अफिसका मालिकहरुले ‘तँ हरेक महिना बिरामी हुन्छेस्’ भनेर लगाएका वचनका चाङ छन् मसँग। कयौँ अफिसमा तलब काटियो। पछिल्लो समय कम्तीमा यो खालको समस्या भोग्नु परेको छैन। हरेक महिना ‘म मिन्स भएँ, मलाई गाह्रो हुन्छ’ भनेर अफिसमा भए चाँडो निस्कन्छु। घरमा भए बिदा बस्छु। अनेकन प्रतिक्रिया सुन्नु परेको छैन। यतिले पनि अलिक हिम्मत दिने रहेछ जीवनमा। पुरुष सहकर्मी साथीले दिएका प्रतिक्रियाको त के कुरा गर्नु। उनीहरुलाई कहिल्यै भोग्नै पर्दैन यो पीडा। धेरै पटक काम गर्नु पर्छ भनेर बहाना बनाएको भन्ने वचनले घोचेको मन कुन ओखतीले निको होला र?

महिनावारीको सुरुवाती दिनबाटै भोग्न थालेको यो कठिनाइ अझै कतिञ्जेल झेल्नु पर्छ थाहा छैन। मलाई याद छ, पहिलोपटक रजस्वला हुँदा म सात कक्षामा पढ्दै थिएँ। त्यो बेला अहिले जस्तो बहस र छलफलको विषय बन्दैनथ्यो रजस्वला। वातावरण तथा स्वास्थ्य शिक्षामा शारीरिक परिवर्तनका विषयमा पढाउँदै एउटा सामान्य परिवर्तनका बारेमा पढाइन्थ्यो। रजस्वला लाजको विषय थियो। अझ कहाली लाग्दो कुरा त रजस्वलाका बेला अरुकै घरमा गएर बस्नु पथ्र्यो। म पनि बसेकी हुँ। 

स्कुल बिदा थियो। बिहानीपख महिनावारी भएको थियो। त्यस्तो बेला आमाले पुराना सारीका टुक्रा लगाएको र धोएर सुकाएको थाहा थियो। मैले पनि दिनभरमा आमाको एउटा पुरानो सारी टुक्रा बनाउँदै निखारे। त्यो बेला गाउँमा गोबर ग्यास थियो। दिनभरि लगाएका सबै सारीका टुक्रा ग्यासको लेदो बग्ने खाल्डोमा गाडिदिए। मेरो छट्पटाहट देखेर आमा भन्नु हुन्थ्यो, ‘के भयो आज यसलाई?’ त्यो बेला विनिता दिदी बित्नु भएको दुईदिन भएको थियो। दिदी र म एउटै स्कुलमा पढ्ने। दिदी मेरो मितबुबाकी छोरी। हामी सँगै स्कुल जान्थ्यौँ। स्कुल पनि दिदी बित्नु भएकाले बिदा भएको थियो। बुबालाई लागेछ दिदी बित्नु भएकाले छोरीले खाना खान सकिन, ऊ रोइरहेकी छ। मेरो भने पीडा र छटपटी अर्कै थियो। 

दिन बित्दै जाँदा पेट दुखाइ सहन झन् धेरै गाह्रो भयो। आमाको सारी पनि सकियो। डराइ डराइ आमालाई भनेथेँ ‘म त पर सरिछु।’ उहाँले जिब्रो टोकेर भन्नु भयो ‘लौ न नि बित्यास भयो, तँ यहीँ बस्दै गर म आउँछु।’ म डराउँदै घर पछाडि लुगलुग कामेर बसिरहेँ। आमाले एकछिनमा आएर खेतैखेतको बाटो ध्रुव मामाको घर लिएर जानु भयो। २२ दिन म त्यहीँ बसेँ। दिनभरि रुन्थेँ। केही दिनमा पेटको दुखाइ बन्द भयो। रगत रोकियो। मन भने निक्कै अमिलो भइरह्यो। आमा बेलाबेला आउनुहुन्थ्यो। गाउँ एउटै भएकाले बुबाको बोली त सुनिन्थ्यो तर उहाँलाई देख्न पाइन। बुबाको न्यास्रो लागेर साह्रै भएपछि काठे घरको चेपबाट चिहाएर बाटोमा बुबालाई हेर्थेँ। कुना पसेर म घर फर्किदा दसैँ सुरु भएको थियो। 

त्यो पछि बोलिरहने मेरो बोली रोकियो। दौडिरहने हलुङ्गा पैताला गह्रुङ्गा हुन थाले। आमा–बुबाले पनि भन्नुहुन्थ्यो, ‘छोरी अब तिमी ठूली भयौ, हिँड्दा विचार गरेर हिँड्नु पर्छ है।’ मलाई थाहै थिएन त्यो विचार गर्नु पर्ने के हो? २२ दिन अघिसम्म सानी छोरी एकाएक कसरी ठूली भएँ? म स्कुलमा पनि पहिला जस्तो खुलेर बोल्न नसक्ने भए। कम बोल्ने, एक्लै घोत्लिरहने, एकसुरमा आफ्नो काम गर्ने मेरो बानीलाई घरदेखि स्कुलसम्म ज्ञानको संज्ञा दिइयो। तर मलाई कहिल्यै कसैले सोधेन, ‘तिमी किन बोल्न छाड्यौ?’ 

अब त हरेक महिना यो खालको पीडाबाट गुज्रिन पर्यो। त्यो बेला गाउँमा प्याड थिएन। प्याड भनेकै आमाको पुरानो सारी हो। महिनाको ७÷८ दिन सारीका टुक्रा लगाएर १ घण्टाको बाटो हिँडेर स्कुल जानु पथ्र्यो। दुवैपट्टि तिघ्रामा टालाले पाछेर घाउ हुन्थ्यो। निको हुन १५ दिन लाग्थ्यो। महिनावारी सुरु भएपछि नै महिनाको १५ दिन बिरामी र १५ दिन सञ्चो हुन थालेँ। मलाई गाह्रो हुन्छ भनेर साथीसँग पनि भन्न सक्दिनथेँ। 

नौ कक्षा पढ्दाताका हो, हिम्मत गरेर बुबालाई भनेँ ‘मलाई पर सरेको बेला धेरै गाह्रो हुन्छ।’ बुबाले हेटौँडा अस्पताल लिएर जानु भयो। मेरो समस्या सुनेपछि डाक्टरले भने, ‘बिहे गरेपछि ठिक हुन्छ।’ बुबाले के सोच्नु भयो थाहा छैन, मलाई भने डाक्टरलाई चिथोर्न मन थियो। रुँदै भनेँ, ‘बिहे गर्ने बेलासम्म चाहिँ बाँच्नु पर्दैन? म भर्खर ९ कक्षा पढ्ने बच्ची हुँ।’ बुबाले हात समाएर बाहिर तान्नु भयो। बुबालाई भनेपछि भने म हरेक महिना महिनावारीको समयमा गाह्रो हुँदा धक फुकाएर रुन थालेँ। त्यसपछि थाहा भयो, ‘रुन सक्दा पनि आधा पीडा कम हुँदो रहेछ।’ म रोएको देखेर बुबा पनि सँगै रुनुहुन्थ्यो। 

काठमाडौँ आएपछि डा. भोला रिजालदेखि डा. अचला वैद्यसम्म महिनावारीका बेला आउने समस्या लिएर पुगेकी छु। उनीहरुले दिने जवाफ अलि परिवर्तन भयो। उनीहरुले भने, ‘बच्चा भएपछि निको हुन्छ।’ समय अलि फेरियो। अहिले दुखाइ कम गर्ने औषधि पाइन्छ। डाक्टरकै सल्लाहमा हरेक महिनाका ६ दिन, दिनको ३ पटक  मेफ्टाल खाने गरेकी छु। औषधिले झन लाटो बनाउँछ शरीर। लठ्ठ भइरहन्छन् आँखा। अशान्त हुन्छ मन। डिप्रेस्ड जस्तै हुन्छु म। यही बेला सम्झना आउँछ, रङ भर्दा भर्दै छुटेको जिन्दगी। कहाली लाग्छ आफैँसँग। 

चैत १, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad