ad ad

ब्लग


‘मार्छु भन्दा डर लागेन, बलात्कार गर्छु भन्दा क्षतविक्षत भएँ’

‘मार्छु भन्दा डर लागेन, बलात्कार गर्छु भन्दा क्षतविक्षत भएँ’

फाइल तस्बिर


राधिका अधिकारी
चैत २९, २०७८ मंगलबार १८:२३, काठमाडौँ

सपना प्रधान मल्ल सर्वोच्च अदालतकी न्यायाधीश हुन्। लामो संघर्षपछि सपनाले हासिल गरेको सफलताका पछाडि थुप्रै कथा गाँसिएर आएका छन्।

विभिन्न ठाउँमा आफूलाई प्रमाणित गर्दै सर्वोच्च न्यायालयसम्म पुगेकी उनको क्षमतामाथि प्रश्न उठ्ने क्रम अहिले पनि रोकिएको छैन।

उनी माथिको प्रश्नले मात्रै होइन, समग्र छोरीमाथि उठेको क्षमताको प्रश्नले सपनालाई बिझाइरहन्छ।

उनी महिलाहरुलाई आग्रह गर्छिन्, ‘अहिले पनि छोरीहरुको क्षमतामाथि प्रत्येक दिन प्रश्न उठ्छन्। त्यसैले हरेक छोरीले हरेक दिन आफ्नो क्षमतामा धार लगाऊन्।’ 

सोमबार राजधानीमा आयोजित ‘निर्भीक नारी’ शीर्षकको कार्यक्रमा मल्लले आफूले जन्मिँदैदेखि भोग्दै र देख्दै आएको विभेदपूर्ण समाजबारे बोलिन्।

सपनाको जन्म नै समाजमा छोरीमाथिको विभेदका कारण भएको हो। उनका बुवाआमाले छोराको सपनामा उनलाई जन्माएका हुन्। उनको जन्मले पनि छोराको सपना पूरा गर्न नपाएकाले बुवाआमाले छोरीको नाम नै सपना राखिदिएका थिए।

सपना जन्मिएको ६ वर्षपछि उनका बुवाआमाको सपना पनि पूरा भयो। उनी भाइ बोलाउने छोरी भइन्। परिवारमा एक हिसाबले भाग्यमानी भइन्। 

सपना हुर्कँदाको समाज निक्कै विभेदपूर्ण थियो। जातका आधारमा मानिसहरु बहिष्करणमा थिए। गरिबमाथिको शोषण हेर्दै हुर्किएकी सपना अन्धविश्वास र विभेदलाई सानैबाट चुनौती दिन्थिन्।

उनले आफ्नो बाल्यकालको घटना सम्झँदै भनिन्, ‘हाम्रो घरमा एक हरिजन महिला काम गर्न आउँथिन्। उनको काम चल्थ्यो तर उनले छोएको पानी चल्दैनथ्यो। म उनले छोएको पानी भान्छामा लगेर छरि दिन्थेँ।’

महिलालाई न्याय दिन कानून नै बाधक 
समाजका विविध विभेद हेर्दै हुर्किएकी सपनाले न्याय प्राप्तीको माध्यम कानुन बनाउँछु भन्ने सोचिन् र कानून पढ्न थालिन्। तर, कानुन पनि सपनाले सोचेको जस्तो न्यायपूर्ण थिएन। उनी जब महिलालाई न्याय प्राप्तिको लडाइँमा साथ दिन खोज्थिन्, तब कानुन नै बाधक देख्थिन्। 

भन्छिन् ‘कानुन बहिष्करण, प्रतिबन्ध र फरक व्यवहारको आधार रहेछ। किनकी कानुन विभेदपूर्ण थियो।’ 

उनले २००९ सालको नागरिकता ऐन सम्झँदै भनिन् ‘नेपालीले तिब्बती महिलासँग बिहे गरी छोरा जन्मे नेपाली हुने, छोरी जन्मे भोटिनी हुने।’ 

त्यसपछि उनले अनुभूत गरिन् कानून महत्वपूर्ण त छ। तर कानुन छ भनेर पुग्दैन रहेछ। कानुनको सुक्ष्म विश्लेषणको आवश्यकता महसुस गरिन्। त्यतिबेला कानुन निर्माणमा महिलाको जीवनचक्रको फरक अनुभूति र फरक आवश्यकतालाई सम्बोधन गरिएको थिएन।

‘महिलाको लागि कानुन पुरुषले, त्यो पनि पितृसत्तात्मक मापदण्डमा बनाएका थिए। छोरीहरू बाहिर निस्कने, आफ्नो अधिकारका बारेमा बोल्न सक्ने भएकै थिएनन्। यस्तो अवस्थामा महिला अधिकारका कुरा गर्नु र कानून निर्माण गर्नु फलामको च्युरा चपाउनु जस्तै थियो।’

सपना लगायत केही महिलाले यो अप्ठ्यारो बाटो हिँड्ने चुनौती मोले। 

‘महिला हरेक अधिकारबाट वञ्चित थिए’ सपनाले सुनाइन्, ‘आजका छोरी, बहिनी, महिलालाई लाग्ला हामीले हाम्रो अधिकार सजिलै पाएका थियौँ, वास्तवमा थिएनौँ। न छोरीलाई सम्पत्तिमा समान अधिकार, न त हिंसाविरुद्धको अधिकार, न त प्रजनन स्वायत्तताको अधिकार थियो।’

छोरीहरुको आफ्नो पहिचान थिएन। छोरी कमजोर हुन्छन् त्यसैले संरक्षण गर्नु भन्ने अवधारणामा बनेका कानूनले यौनिकताको अधिकार पुरुषलाई मात्रै प्रदान गरेको थियो। जन्म दिने आमालाई पहिचानको अधिकार थिएन।

पहिचान बाबु वा लोग्नेबाट पाउनुपर्ने अवस्था विद्यमान रहेको समयमा त्यही कानूनलाई चुनौती दिनु सानो कुरा थिएन। महिला अधिकारको लडाइँमा राज्य, धर्म, प्रथा, परम्परा, संस्कृति जस्ता शक्तिहरू नै बाधक थिए।

सपनाहरु यी सबै कुराको विश्लेषण गरेर अधिकार प्राप्तीको लडाईं लड्नु अघि पनि थुप्रै महिला नेतृहरुले परिवर्तनको लडाईं नलडेका भने होइनन्। तथापि सपना लगायतका महिला अधिकारकर्मीहरूले विभेदपूर्ण कानुनको संकलन मात्र गरेनन् त्यसले महिलामा पारेको असरको विश्लेषण गरे। प्रमाणसहित वकालत गरे। 

छोरीलाई सम्पत्तिमा समानताको लागि मीरा ढुंगाना र मीरा खनालले मुद्दा हाले। लैंगिक विभेद विरुद्ध यो लडाइँमा सपनाले पनि बहस गरिन्।

त्यो क्षण सम्झँदै सपना भन्छिन्, ‘हाम्रो लडाईं पुरुषविरुद्ध थिएन। पितृसत्तात्मक सोचमा आधारित विभेदपूर्ण कानुन विरुद्ध थियो। त्यसैले केही पुरुषको पनि साथ थियो।’

त्यो मुद्दापछि पहिलो पटक नेपालको सर्वोच्च अदालतले सर्तसहित छोरीलाई सम्पत्तिमा अधिकार दियो। छोराले जन्मनासाथ सम्पत्ति माथिको अधिकार प्राप्त गर्ने समाजमा छोरीले भने सम्पत्तिका लागी ३५ वर्षसम्म अविवाहित हुनुपर्ने सर्त राख्यो। त्यही फैसलामा सामाजिक संरचना भत्किएला र महिलाले दोहोरो सम्पत्ति पाउलान् भन्ने डर समेत अभिव्यक्त भएको थियो। 

सपना आफ्ना पुराना दिन सम्झँदै थिइन्। महिला अधिकारको लडाइँमा आफूले भोगेका अप्ठ्याराहरू सुनाउँदै थिइन्। कठिन दिनको सम्झना गर्ने क्रममा उनले अगाडि भनिन् ‘वैवाहिक बलात्कारको मुद्दामा सर्वोच्च अदालतले बलात्कार हुने नहुने ऐतिहासिक फैसला गर्यो।’

यो फैसलापछि सपना लगायतका अधिकारकर्मी निक्कै खुशी थिए। यो फैसलाको सुरुवाती दिनमा सकारात्मक रुपमा समाचार सम्प्रेषण पनि भए। तर त्यो सकारात्मकता लामो समय टिक्न सकेन। केही दिनमै उनीहरु माथि विभिन्न आरोप प्रत्यारोप लाग्न सुरु भए। 

भन्छिन् ‘हामीलाई समाज बिगार्ने, घर बिगार्ने, बैबाहिक संरचना भत्काउने आरोप मात्र लागेन, तिमीहरू जस्तो महिलालाई मार्नुपर्छ भन्ने धम्की आयो। डर लागेन। फेरि तिमीहरु जस्ता महिलालाई बलात्कार गर्नुपर्छ भने।’

त्यसपछि सपनालाई लाग्यो बलात्कार शारीरिक रुपमा मात्रै गरिँदैन रहेछ। समाजले लाएको लाञ्छनाले क्षतविक्षत भएकी सपना र उनको टिम त्यसपछि पनि चुप लागेर भने बसेन। 

समय क्रमसँगै अधिकार प्राप्तिको लडाइँमा महिला सहभागिता पनि बढ्दै गयो। पुरुषहरु पनि चेतनशील बन्दै गए।

त्यसयता कयौं विभेदपूर्ण कानून परिवर्तन भए। राजनीतिक परिवर्तनसँगै कानून पनि संशोधन हुँदै गए। सपनाहरुले कानून परिवर्तनका लागि सामुहिक प्रयत्न गरे।

परिवर्तनका कयौं उभारपछि अहिले फर्किएर हेर्दा सपनालाई लाग्छ ‘हामी शब्द अत्यन्त शक्तिशाली रहेछ। हामी सधैं ‘हामी’ भएरै अगाडि बढौँ।’

आज छोरीलाई सम्पत्तिमा समानताको अधिकारको कानुन बनेको छ। 

अझै पनि सपनालाई लाग्छ ‘कानून बन्नु मात्रै पर्याप्त नहुने रहेछ। कानूनलाई ठिक ठाउँमा राख्नुपर्ने रहेछ।’ 

उनको मनमा प्रश्न उठिरहन्छ ‘हाम्रो समाजका सम्पत्तिको अधिकार प्राप्त गर्ने कति छोरी होलान्?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .