ad ad

ब्लग


स्मृतिमा पूर्वमन्त्री पदमसुन्दर लावती

स्मृतिमा पूर्वमन्त्री पदमसुन्दर लावती

उत्तम थाम्सुहाङ
जेठ २७, २०७९ शुक्रबार १४:४७, काठमाडौँ

काठमाडौं सहर । २०४० साल जाडो महिनाको दिन । गाउँमा बुढापाकाहरुले भन्ने गरेको नेपालको पहिलो भ्रमण यतिबेला सम्झना भएर आइरहेछ । भर्खर ‘टिन एज’मा प्रवेश गर्दै गरेको किशोरका पाइतालाले जब सहर टेक्यो, मनमा एकसाथ अनेकौं अनुभूतिहरु सल्बलाएर आए ।
शान्त तलाउझैं गाउँमा बस्ने म, सहर त नदीझैं लाग्यो । सोचेँ, अब म यो सहरसँग अभ्यस्त हुनु छ । सहरकै रफ्तारमा आफूलाई ढाल्नुछ । वरिपरि पहाडहरु, तल विशाल फाँट, चिल्लो सडक, ठूला घरहरु । माथि निलो स्निग्ध आकाश । सहर मलाई सुन्दर लाग्यो ।

सहरमा पढ्न आएको म । मैले मामासँग बसेर पढ्नु थियो । नौ कक्षामा पाटनको स्कुलमा भर्ना भएँ ।
त्यतिबेला स्कुलको सम्झना, सहरको कथाभन्दा मामाको स्मृतिले मेरो हृदय उद्वेलित बनाइरहेछ । लामो अवधि मामासँगको सार्थक उठबस, संगतले ममा सकारात्मक प्रभाव पारेको थियो । राष्ट्र, समाज र जीवनलाई हेर्ने दृष्टिकोण निर्माणमा मामाले देखाउनुभएको बाटो पछ्याएर नै ममा स्पष्टता आएको हुनुपर्छ । यतिबेला म मेरा मामा स्व. पदमसुन्दर लावतीलाई सम्झिरहेछु ।
म पुलचोक, मन्त्री क्वार्टरमा बुवाको पछि लागेर पुगेको हुँ । मामा त्योबेला गृहमन्त्री हुनुहुन्थ्यो । म मन्त्री क्वार्टरबाटै स्कुल धाउँथे । 
छोटो अवधिमै म प्रायःको ‘भान्जाबाबु’ र ‘भान्जाराजा’ मा रुपान्तरित भइसकेको थिएँ । गृहमन्त्रीको क्वार्टर भइसकेपछि मानिसहरुको आवात–जावत बाक्लै हुन्थ्यो ।


मामाको दैनिकी अनुशासित थियो । बिहान ६ बजेअगावै उठेर नुहाएर साढे ६ देखि कार्यकर्ता भेटघाट र मन्त्रालयको कामको सन्दर्भमा भेटघाट शुरु भइसक्थ्यो । स्कुल जानुअघि र आएपछि टेलिफोन उठाउने मेरो काम थियो । म अघोषित रुपमा पीए नै भएको थिएँ ।
नम्बर घुमाउँदै डायल गर्नुपर्ने फोन सेटले पहिलो दिनदेखि नै आकर्षित गरेको थियो । त्यसकारण म अरुभन्दा छिटो–छरितो गएर फोन उठाउँथे । उताबाट प्रश्न आउँथ्यो– छोरी हो ? सायद मेरो आवाज उस बखत मसिनो सुन्थे होला ।
नयाँ ज्ञान प्रविधिसँग मानिस परिचित हुनुपर्छ भन्नेमा मामाको सदैव जोड हुन्थ्यो । मलाई पनि नयाँ कुरा सिक्नमा सदैव उत्प्रेरित गर्नुहुन्थ्यो । जस्तो कि– एकपटक मलाई साइकल दिएर सिक्नु भन्नुभयो । सुरेखा पालुङवा र म भएर साइकल सिक्न थाल्यौं ।
एकदिनको कुरा– साइकलमाथि मेरो पूरा नियन्त्रण आइसकेको थिएन । म जसोतसो लड्खडाउँदै खुट्टा टेक्दै चलाउनेसम्म भएको थिएँ । सुरेखा मेरो पछि–पछि थिइन् । मैले पाइडल मारेँ र साइकल केही अघि बढाएँ । मन्त्री हिरालाल विश्वकर्माको क्वार्टर अघि के पुगेका थियौं, साइकलमाथिको नियन्त्रण गुमाएँ ।
नतिजा– नालीमा दुर्घटित भएँ । तत्कालै ओठ सुन्निएर आयो । धन्न दाँत केही भएन । तर, ओठ सुन्नाएर क्वार्टर पुग्दा माइजूको नमिठो गाली पाएँ । यो घटनाले मलाई एउटा पाठ भने सिकायो ।
सिकाइमा असफलता ब्रग्रेल्ती आउँछन्, हौसला मार्नुहुन्न । कालान्तरमा साइकल हुँदै, मोटरसाइकल र गाडी पनि चलाउन जान्ने भएँ । गाडी सिक्नु भन्ने पनि मामाकै आग्रह थियो । 
वि.सं. २०४१ साल मामा उद्योग तथा सञ्चार मन्त्री हुनुभयो । मामाको क्वार्टरको उत्तरतर्फ तात्कालीन कृषिमन्त्री हेमबहादुर मल्लको क्वार्टर थियो । दक्षिणतर्फ निर्माण तथा यातायात सहायक मन्त्री नरबहादुर हिराचनको क्वार्टर थियो । वीचमा हामी बस्थ्यौं ।
हेमबहादुर मल्ल मधेशबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो । उहाँको क्वार्टरमा मधेशी मूलका कार्यकर्ताको जमात सदैव हुन्थ्यो । उहाँ बस र ट्रकबाट कार्यकर्तालाई काठमाडौं घुमाउन ल्याउने गर्नुहुथ्यो । क्वार्टर नजिकै सानो मैदान थियो । त्यहीँ पाल टाँगेर कार्यकर्तालाई खान बस्न व्यवस्था मिलाउनुहुन्थ्यो। त्यो भीड, खैला–बैला हेर्न मलाई रोचक लाग्थ्यो ।
समय आफ्नै रफ्तारमा बगिरहेथ्यो । मैले एसएलसीपनि गरिसकेको थिएँ । त्यो अवधिमा म सहरसँग अभ्यस्त भइसकेको थिएँ । सत्ता, शक्ति, राजनीति थोरबहुत बुुझ्ने भइसकेको थिएँ । 
विदेशी पाहुनासँग पदमसुन्दर लावती

पूर्वको एउटा लिम्बु गाउँबाट देशको नीति निर्माण गर्ने तहमा पुग्नु चानचुने कुरा थिएन । मामाको राजनैतिक जीवन त जगजाहेर नै छ । उहाँको कार्यशैलीमाथि त देशमा किस्सा नै बनेको छ । म भने उहाँको व्यक्तित्वबाट प्रभावित थिएँ । उहाँ मेरो आदर्शपुरुष हुनुहुन्थ्यो ।
०४६ साल अघि र पछि पनि जनताले उहाँलाई विश्वास गरे । राज्य सत्ताले उहाँलाई विश्वास गर्यो । ०४८ सालमा उहाँ चुनाव लड्दै हुनुहुन्थ्यो । बहुदलीय प्रतिष्पर्धामा त्यो चुनाव उहाँको पहिलो थियो । 
मैले सूचना आदान–प्रदानदेखि लिएर मिडिया हेर्थेँ । गाउँबाट बिरामी भएर कार्यकर्ताहरु काठमाडौं आउँथे । सम्भवतः हजारौं पटक ती बिरामीहरुलाई अस्पताल लाने ल्याउने काम मैले गरेँ ।
मामाको कार्यकर्तासँगको लगाव तिब्र थियो । जिम्मेवारीबाट पछि हट्ने नेता उहाँ हुनुहुन्थेन । ०४८ सालको चुनाव हारेपनि वहाँले ०५१ सालको मध्यावधि जित्नु भयो । राजनैतिक विपक्षीहरुले सोचे होलान्– निर्दलमा पनि रजगज, बहुदलमा पनि रजगज ?
२०४६ साल पछि पनि उहाँले चुनाव जित्नुमा आम कार्यकर्तासँग उहाँको नियमित सम्पर्क थियो । उहाँ महिनाको दुईपटक जिल्ला जानुहुन्थ्यो । जिल्लाका समस्याहरु बुझ्नुहुन्थ्यो ।
उहाँ कृषिमन्त्री हुँदा मैले स्वकीय सचिव भएर काम गरेँ । उहाँमा स्पष्टवादिता थियो । गर्न सक्ने काम, ऐन कानुनसम्मत काम प्रायः सबैलाई गरिदिनु हुन्थ्यो । ‘नहुने काम’ हुन्छ भन्दै आश्वासन दिने उहाँमा बानी थिएन ।
सत्ता सञ्चालनको लामो अनुभवले हुन सक्छ, कर्मचारीतन्त्र पनि उहाँसमक्ष नतमस्तक हुन्थे । अनावश्यक अरुलाई दुःखदिने बानी उहाँमा थिएन, त्यसकारण कर्मचारीहरु पनि खुशी थिए । 
झट्ट हेर्दा कठोर देखिए पनि मामाको मन कोमल थियो । शुरुवात ताका छोरा मान्छेले लामो कपाल पाल्नु हुन्न भने पनि समयक्रममा बदलाव र फेसनलाई उहाँले स्वीकार्नु भयो । कला, सिनेमा, संगीत उहाँका रुचिका विषय थिए । प्रत्येक बिहान नित्यकर्मपछि चियाको चुस्कीसँगै न्युजपेपर पढ्नु उहाँको दैनिकी थियो ।
प्रायः दुःखले अवसर जुर्ने फुर्सदको समयमा उहाँलाई सिनेमा हेर्न मनपथ्र्यो । हिन्दी सिनेमा, सिरियल हुँदै पाकिस्तानी सिरियल पनि उहाँले हेर्नुहुन्थ्यो । हामी घरमै डेकबाट सिनेमा हेरथ्यौँ । सिनेमाको चोटिला संवादहरु उहाँलाई खुबै मन पर्दथ्यो । विशेषगरी सामाजिक मुद्दामा बनेका सिनेमा, जहाँ अन्त्यमा नायकको जित हुन्छ । त्यस्ता प्रकारका सिनेमाहरु हेर्न रुचाउनुहुन्थ्यो । प्रेमकथामा आधारित सिनेमा पनि उहाँलाई रुचि थियो ।

साहित्यकार बैरागी काइँलासँग पदमसुन्दर लावती

राष्ट्रको चौथो अङ्ग पत्रकारिताप्रति सम्मान साथै पत्रकारिताले समाजलाई पार्ने प्रभावसँग मामा परिचित हुनुहुन्थ्यो । फलस्वरुप उहाँले छोरा सगुनसुन्दर लावतीलाई प्रकाशक र कुमार यात्रुलाई सम्पादक बनाएर ‘श्री रुपरेखा’ साप्ताहिक प्रकाशन गर्न दिशानिर्देश दिनुभयो । ‘श्री रुपरेखा’ साप्ताहिकमा लामो समय प्रबन्ध सम्पादक भएर मैले पनि काम गरेँ । पत्रिका विशेषगरी काठमाण्डौं र नेपालको पूर्वी भेगमा लोकप्रिय थियो ।
राजनीतिमा आफ्नो एकल प्रयास र मेहनतले फक्ताङलुङ आरोहण गर्नुभएका स्व. पदमसुन्दर लावतीले कसैको निगाहबाट राजनैतिक विरासत प्राप्त गर्नु भएको थिएन । राजनीतिमा उहाँको सफलता आफ्नै सुझबुझ र जनताको माया थियो ।
जहाँसम्म मलाई लाग्छ, उहाँको सक्रिय राजनीति जीवनमा राष्ट्र, समाज र आमनागरिक भन्दा अरुतिर सोच्न भ्याउनुभएन । यो मेरो निजी विचार भन्दा पनि देश र जिल्लाबासीको प्रतिनिधि विचार थियो । मेरा लागि मामा अभिभावक हुनुहुन्थ्यो । किशोरबयबाटै म उहाँको आदर्श, विचार, कार्यशैलीबाट प्रभावित भएको थिएँ । आफ्नो परिवारप्रति देखाउनुहुने वफादारिता र रेखदेखले म नतमस्तक थिएँ ।
जीवनमा अनुशासनको महत्व मैले उहाँबाटै बुझेको छु । छोरा मान्छे ६ बजे अगावै उठ्नुपर्छ, उहाँको सकारात्मक बानी थियो । जीवन होस् या देश, अनुशासनमा चल्यो भने प्रगतिको शिखर चुम्छ, उहाँको मान्यता थियो । 
साठीको दशकको मध्यताका म हङकङ आएँ । हङकङबाट म उहाँको स्वास्थ्य, दैनिकी बुझिरहन्थेँ । छुट्टीमा नेपाल जाँदा शुरुमा उहाँलाई भेट्न जान्थेँ ।
एक साँझ, विदाका कारण म कोठामै थिएँ । मोबाइलको घण्टी बज्यो । हत्तपत्त उठाएँ । म फोन प्रायः छिटो–छरितो उठाउँछु । यो उहिले मन्त्रि क्वार्टरको अभ्यासले पनि हुन सक्छ । फोन उठाएँ । उताबाट गम्भीर आवाज आयो । मामा पदमसुन्दर लावती यो दुनियाँमा रहनुभएन । 
म अवाक भएँ । केही प्रतिक्रिया जनाउनै सकिनँ । सधैं रङ्गीन देख्ने हङकङको सडक, बजार, मानिसहरु फिक्का, सादा देखें । मेरा औंलाले मोबाइलको स्क्रिनमा ट्राभल एजेन्सीको नम्बर डायल गर्दै थियो । किनकि, भोलि जानु छ नेपाल र मामाको भौतिक शरीरलाई अलविदा भन्नु छ ।
स्व.लावतीको सातौं वार्षिकीमा श्रद्धासुमन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .