ad ad

ब्लग


किन चाहिन्छ महिला फिल्म निर्माता?

किन चाहिन्छ महिला फिल्म निर्माता?

श्रीजु सरल
असोज २७, २०८० शनिबार ७:१२, काठमाडौँ

तपाईंको अगाडि हाम्रो सिनेमा जगतको ‘मिनिएचर दुनियाँ’ छ। यी ससाना खेलौना जत्रा मानिस हाम्रा फिल्म निर्माता हुन्। यतापट्टि एक अँजुली पारेर उठाउँदा पनि अँजुली साँघुरो लाग्न सक्छ। उहाँहरु पुरूष फिल्म निर्माता। अब यता हेर्नुस्, उहाँहरु भने महिला फिल्म निर्माताहरु। जो हातमा गन्दागन्दै सकिने गरी थोरै हुनुहुन्छ। उफ् यो अस्वाभाविक असन्तुलन! 

सन् १९६४ मा पहिलो पटक ‘आमा’ फिल्मबाट नेपाली उत्पादनको सिने यात्रा सुरू भएको हो। ‘आमा’, पहिलो फिल्मको नामैमा महिला छ। नेपालमा निजी प्रोडक्सन हाउसको सङ्ख्या बढ्दै गएपछि बिस्तारै नेपाली फिल्म निर्माताको सूचीमा शम्भु प्रधान, सुमित्रा प्रधान, श्रवण घिमिरे, भगवानदास श्रेष्ठ, मालती राई, विनोद चौधरीजस्ता नाम थपिन थालेका हुन्। त्यस बेलादेखि नै नेपाली सिनेमाहरुमा अभिनय, नाचगानलगायतमा महिला कलाकारले प्रभावशाली भूमिका निर्वाह गरेका छन्। तर निर्माता–निर्देशकको भूमिकामा महिलाको नाम–काम जति धेरै सङ्ख्यामा थपिनुपर्ने हो, थपिएको छैन। 

यसरी महिलाको नाम प्लस काम नथपिँदा हाम्रा फिल्म पुरूषद्वारा पुरूषकै मनोरञ्जनका लागि मात्र बनेको जस्तो पनि भइरहेको छ कि? आउनुस्, यो प्रश्न महिला निर्माताहरुलाई नै सोधिहेरौँ। 

रेखा थापा सन् २००८ मा ‘अजम्बरी नाता’सँगै ‘फिल्म निर्माण यात्रा’मा होमिएकी चर्चित अभिनेत्री हुन्। उनकै भनाइमा नेपाली फिल्म उद्योगमा त्यसअघिसम्म असलमै महिला फिल्म निर्माताको सशक्त उपस्थिति थिएन। उनी भन्छिन्, ‘त्यसअघि पनि महिला प्रोड्युसरको नाम नआएको होइन। तर कति लगानीकर्ता मात्र थिए भने कतिको नाम, नाम राख्नकै लागि मात्र राखिएको थियो।’ 

अभिनेत्री रेखालाई नेपाली दर्शकले ‘हिम्मतवाली निर्माता’ भनेर चिन्छन्। फिल्म निर्माणमा उनको सक्रिय सहभागितापछि नेपाली फिल्मको कथानकमा महिला पात्रको चरित्रले फरक मोड लिन थालेको हो। पुरूष निर्माताका लागि अभिनय गर्दा आफैं पनि ग्ल्यामरमा सीमित भएर पर्दामा देखिएकी रेखाले जब फिल्म निर्माणमा आफ्ना आँखा उघारिन्, त्यसपछि ‘हिम्मतवाली’, ‘रूद्रप्रिया’, ‘रामप्यारी’हरु जन्माइन्। निर्माता रेखाका यी फिल्मले महिलाको चित्रण र भूमिकामा धेरथोर बदलाव ल्याउने काम गरे। या त खलनायकको डरले नायकको पछाडि रूँदै लुक्ने या त नायकको वरिपरि नाच्ने भूमिकामा सीमित महिला पात्र अब खलनायकसँग आफैं भिड्न थाले, आफ्नो वरिपरि पुरूष पात्रहरुलाई नचाउन पनि थाले। ‘हिरो’ फिल्मबाट अभिनय यात्रा सुरू गरेकी रेखाले निर्माता भएर काम गर्न थालेपछि ‘हिरो’ राजेश हमाल मात्र होइन, रेखा थापा पनि त हुन सक्छन् भन्ने सन्देश दिन सफल भइन्। 

भलै रेखा सूत्रबद्ध सिनेमा निर्माणमै अल्झिएकी थिइन्। तर अभिनयमा मात्र खुम्चने महिला कलाकारको भीडमा उनी नेतृत्वदायी भूमिकामा बोल्ड रुपमा प्रस्तुत भइन्। सिनेमा निर्माणमा पनि महिला उत्रिए भने पर्दामा पनि महिला छवि बलियो बनाउन सकिन्छ है भन्ने सन्देश दिन सफल निर्माता हुन् उनी। जेहोस्, महिला निर्माताले व्यावसायिक रुपमै सफल सिनेमा बनाउन सक्छन् भन्ने बलियो उदाहरण हुन् रेखा। 
रेखा थापापछि फिल्म निर्माणमा धेरै महिला नाम थपिइसकेका छन्। रोजिना सिटौला, शर्मिला पाण्डे, सम्पदा मल्ल, कृषा चौलागाईं, आभा नेपाल, केकी अधिकारी, ऋचा शर्मा आदि तिनैमध्येका केही सक्रिय नाम हुन्। 

फिल्म निर्माता सम्पदा मल्ल नेपाली सिनेमा उद्योगमा वर्तमान समयकी हिम्मतवाली फिल्म निर्माताको ट्याग शर्मिला पाण्डेलाई दिन रूचाउँछिन्। सम्पदा भन्छिन्, ‘शर्मिला दिदीलाई म वर्तमान समयकी हिम्मतिली फिल्म निर्माता मान्छु। जसरी उहाँले ‘आमा’, ‘चिसो मान्छे’, ‘परस्त्री’ जस्ता फिल्म बनाउने जोखिम मोल्नुभयो, त्यस्तो जोखिम हाम्रो फिल्म उद्योगमा कमैले मात्र लिएका छन्।’

दुई ‘हिम्मतवाली’ निर्माता रेखा थापा र शर्मिला पाण्डेका कामलाई तुलना गरेर हेर्ने हो भने उनीहरुले आ–आफ्नो समयमा निर्माण गरेका फिल्महरुमा केही समानता त केही भिन्नता दुवै देखिन्छन्। दुवैका फिल्ममा लिड–रोलमा महिला छन् र दुवैका महिला पात्र साहसी अनि आफ्ना लागि आफैं निर्णय गर्न सक्ने देखिन्छन्। तर भिन्नताका कुरा गर्नुपर्दा रेखाका फिल्ममा महिलालाई सुपरहिरोका रुपमा उभ्याइएको भेटिन्छ भने शर्मिलाका फिल्ममा महिला पात्र सुपर हुँदिन। तर हिरो भने हुन्छे। 

त्यसो त २००८ देखि २०२३ सम्म आइपुग्दा कथा भन्ने शैलीमा निकै परिवर्तन आइसकेको छ। स्वाभाविक एवम् आमचरित्रलाई यथार्थवादी चित्रण गरेर पनि एउटा बलियो पात्र र एउटा सुन्दर सिनेमा निर्माण गर्न सकिन्छ भन्ने पुष्टि भइरहेको छ। पछिल्लो समय शर्मिला पाण्डेका फिल्मले पनि यसलाई पुष्टि गरेका छन्। 

सम्पदाले भनेजस्तै शर्मिलाले जोखिम मोलेर फिल्म निर्माण गरिरहेकी छन्। उनको सबैभन्दा पछिल्लो फिल्म ‘परस्त्री’ले समीक्षकहरुबाट सराहना पाउँदापाउँदै पनि व्यापारिक सफलता हात पार्न सकेन। यसरी आर्थिक जोखिम मोलेर फिल्म निर्माण गर्नु पक्कै सहज हुँदैन। त्यसमाथि समाजले घर–परिवारको रेखदेखको जिम्मेवारी पनि महिलामाथि नै सुम्पिएको हुन्छ। घर–परिवारलाई समय दिँदादिँदै फिल्म निर्माणमा लगानी गर्न आम्दानीको स्रोत पक्कै उदार राख्नुपर्ने हुँदो हो। 

‘ऐंचोपैंचो’ निर्माता कृषा चौलागाईं पनि फिल्म निर्माण रिस्की बिजनेस भएको बताउँछिन्। उनी भन्छिन्, ‘फिल्म निर्माण गर्छु र त्यसैबाट कमाउँछु भन्ने सोच्नुहुन्छ भने गल्ती गर्दै हुनुहुन्छ। म आफैं पनि फिल्ममा लगानी गर्न फिल्मकै भर पर्दिनँ। हाउजिङ, कस्मेटिक्सजस्ता आम्दानीका अन्य स्रोतमा मैले सँगसँगै लगानी गरेकी छु।’ 

बजारबाट लगानी खोजेर ल्याउनु र सम्पूर्ण टिमको व्यवस्थापन गर्नु, निर्देशकदेखि सम्पूर्ण कास्टको चयन गर्नु र पात्रहरुको चरित्र चित्रण गर्नु पनि निर्माताकै टेबलमा हुने कामहरु भएको उनी बताउँछिन्। यद्यपि उनी बजारबाट लगानी खोजेर ल्याउनु मात्रैलाई पनि निर्माताको कला मान्छिन्।

अचेल नेपाली फिल्म क्षेत्रमा पनि निर्माताको परिभाषा फेरिँदै, फराकिलो हुँदै गएको छ। पहिला आर्थिक लगानी गर्नेलाई फिल्म निर्माता भन्ने गरिन्थ्यो। तर आजको दिनमा फिल्म निर्माताले फिल्मका लागि पटकथा छान्नेदेखि लिएर त्यसलाई कसरी प्रस्तुत गर्नेलगायत कलात्मक पाटोमा समेत निर्णायक भूमिका खेल्ने गर्छन्। आजको दिनमा आर्थिक लगानी मात्र गर्नेलाई इन्भेस्टर वा फाइनान्सर भन्न थालिएको छ। फेरि पनि, फाइनान्सर भेटिनु सजिलो कुरा होइन। निर्माता हुन आम्दानीको स्रोतलाई उदार राख्नैपर्ने कुरामा हाम्रा महिला निर्माता एकमुख छन्। एक त जोखिमपूर्ण क्षेत्र त्यसमाथि पनि निर्माताको भूमिका नै खर्चिलो। यही कारण पनि महिला निर्माताको सङ्ख्या औँलाभरि नै सीमित रहेको हो कि?

कृषा भन्छिन्, ‘आत्मनिर्भर महिलालाई पनि समाजले रिस्क लिनबाट रोक्नै खोज्छ। छोरा मान्छेले लगानी फसायो भने के भो त फेरि कमाइहाल्छ नि भन्ने अनि छोरी मान्छेले लगानी डुबाए, सर्वस्व सकियो। अब फेरि कहिले कमाउनु भन्ने मानसिकताबाट समाज माथि उठ्न सके मात्र फिल्म निर्माणमा महिला सहभागिता बढ्न सक्छ। त्यसैले यो राइट अफ रिस्कका लागि महिलाले आफैं पनि फाइट गर्न सक्नुपर्छ।’

साँच्चै, रोजिना, शर्मिला, सम्पदा, कृषाजस्ता जोखिम लिएर पनि फिल्म निर्माण गरिरहेका महिला कति छन् होला? अनि महिला निर्मातालाई चुनौती अर्थको मात्रै हो कि अन्य समस्या पनि होलान्? बलिउडका पनि केही फिल्ममा कला निर्माता रहेर काम गरेकी ‘कठपुतली’ लेखक एवम् निर्माता सम्पदा भने महिला भएकै कारण चुनौतीहरुको सामना गर्नुपरेको अनुभव आफूसँग नरहेको बताउँछिन्।

तर ‘पानीफोटो’ निर्माता रोजिना सिटौला भने महिला र पुरूषको योग्यतामा भेद नहुने भए पनि विभेद भने भोग्नुपरेको गुनासो गर्छिन्। भन्छिन्, ‘महिला र पुरूषलाई हेर्ने नजर समाजमा फरक छ नै। एउटी महिलाले फिल्म निर्माता भएर कुनै पनि काम टुङ्गोमा पुर्‍याउन सक्छिन् भन्नेमा आज पनि हाम्रो समाज विश्वस्त हुन सकिरहेको छैन। म महिला निर्माताका रुपमा कतिपय मिटिङ एटेन्ड गर्न पुग्दा ‘तपाईं मात्र हो कि अरू कोही पनि हुनुहुन्छ?’ वा ‘खगेन्द्रजी आउनुभएन?’ जस्ता प्रश्न सोध्नुहुन्छ। महिला र पुरूषलाई बराबरीको आँखाबाट आज पनि हेरिँदैन। तर करिब एक दशकयता निर्मातामा नाम राख्न मात्र नभएर महिला निर्माताहरुले सक्रिय भएर ठोस काम गरिरहेका छन्। पुरूष र महिलाको योग्यतामा कुनै भेद छैन।’

कतिपयले सिनेमासम्बन्धित पारिवारिक पृष्ठभूमिबाट आएका कारण मात्र निर्मातामा रोजिना सिटौलाको नाम आएको हो कि भन्ने आशङ्का गर्ने गरेको बताउँदै उनले भनिन्, ‘म फिल्मी पृष्ठभूमिबाट आएकी होइन। न त खगेन्द्रजी नै फिल्मी पृष्ठभूमिबाट आउनुभएको हो। थिएटरमा म सन् २००७ देखि नै लागेको मान्छे। हाम्रो फिल्मी करिअर पनि सँगसँगै जस्तो सुरू भएको हो। मैले रवीन्द्रसिंह बानियाँ र रामकुमार बानियाँसँग मिलेर ‘टलकजङ्ग भर्सेस टुल्के’को सहनिर्माण गर्ने बेला खगेन्द्रजी आफैं पनि नयाँ कलाकार हुनुहुन्थ्यो। त्यसअघि उहाँले मात्र एउटा फिल्ममा मात्र काम गर्नुभएको थियो। भन्ने नै हो भने उहाँलाई चिनाएको ‘टलकजङ्ग भर्सेस टुल्के’ले नै हो।’ 

लामिछानेलाई नयाँ उचाइ दिन सफल ‘टलकजङ्ग भर्सेस टुल्के’का तीन निर्मातामध्ये रोजिनाले नै उनको तेस्रो तथा आजसम्मकै ब्लकबस्टर ‘पशुपतिप्रसाद’मा पनि निर्माताको जिम्मेवारी उठाएकी हुन्। एकपछि अर्को फिल्मको सफलतापछि ‘धनपति’ र ‘पानीफोटो’ मा पनि सिटौलाले निर्माण र लामिछानेले पटकथा र निर्देशनमा सहकार्य गरे। 

निर्देशक र कलाकारहरुसँगसँगै सेटमै पुगेर निर्माणको पक्ष हेरेको अनुभव आफूसँग हुँदाहुँदै पनि महिला भएकै कारण प्रतिष्ठासहित काम गर्ने वातावरण नरहेकोप्रति रोजिना गुनासो गर्छिन्। निर्माता बन्न योग्यता आवश्यक पर्ने उनको भनाइ छ। भन्छिन्, ‘पैसा मात्र लगानी गर्नेलाई म व्यक्तिगत रुपमा निर्माता मान्दिनँ। चाहे महिला होस् वा पुरूष, कार्यकारी रुपमै निर्माता हुन पैसाले पुग्दैन। पेजबाट स्क्रिनसम्म एउटा कथालाई ल्याइपुर्‍याउँदा अनेक काममा निर्माताको सक्रिय सहभागिता चाहिन्छ। त्यसैले योग्य मानिस निर्माता बन्ने हो, निर्माताको अघि महिला भन्ने शब्द लगाउन पनि आवश्यक छ जस्तो मलाई लाग्दैन।’  

वास्तवमै महिलाका लागि सम्मानसहित काम गर्ने वातावरण सिर्जना गर्न सबैभन्दा पहिला उसलाई मानिसका रुपमा स्वीकार गर्न सक्नुपर्छ र उसमा पनि योग्यता हुन्छ है भन्ने बुझ्नुपर्ने हुन्छ। तर महिलालाई केन्द्रमा राखेर फिल्म बनाउने महिला निर्मातालाई विश्वास गर्नेको सङ्ख्या जति बाक्लो देखिन्छ, अन्य विषयवस्तुमाथि वा पुरूषकेन्द्रित कथामाथि फिल्म बनाउने महिला निर्मातामाथि विश्वास गर्नेको सङ्ख्या उल्लेख्य देखिँदैन। के हाम्रो समाजले महिला निर्माताले बनाउने फिल्म महिलामुखी नै हुनुपर्छ भन्ने पूर्वाग्रह राखेको त होइन? अथवा पुरूषलाई केन्द्रमा राखेर महिला निर्माताले फिल्म बनाउन सक्दैनन् भन्ने अन्धविश्वास त छैन नेपाली दर्शकमा? यो बेग्लै बहसको विषय हुन सक्छ। 

खैर, महिला निर्माताहरुले कस्ता सिनेमा बनाइरहेका छन्, कस्ता बनाउनुपर्छ भन्ने प्रश्नमा सम्पदा र रोजिनाको मत एकाकार सुनिन्छ। रोजिना भन्छिन्, ‘महिला निर्माता भएकै कारण खास किसिमका चलचित्र मात्र बनाउनुपर्छ भन्ने मलाई लाग्दैन। महिलाले जस्ता खालका सिनेमा पनि निर्माण गर्न सक्छन्, गरेका पनि छन्। सिर्जनशील क्षेत्रमा काम गर्ने मान्छेले कुनै एउटा खास किसिमको विषयवस्तु वा क्षेत्रमा चासो राखेर काम गर्नुहुँदैन। अहिलेसम्म नेपालमा जति पनि महिला निर्माताले निर्माण गरेका फिल्म छन्, ती सबै फरक–फरक स्वादका छन् र हुनुपर्छ पनि।’ 

त्यसो त महिलाकेन्द्रित फिल्म नै बनाउँदै आएकी निर्माता रेखालाई पनि महिला भएकै कारण महिलाकै कथा मात्रै भन्नुपर्छ भन्ने लाग्दैन। आफ्नो समयमा महिला पनि नायक हुन सक्छन् भन्ने सन्देश दिन आवश्यक भएका कारण आफूले महिलालाई लिड रोलमा राखेर फिल्म निर्माण गरेको भए पनि अब त्यो अनिवार्य सर्त नरहेको उनको भनाइ छ। रेखालाई आज पनि अझै धेरै सङ्ख्यामा महिलाहरु निर्माणमा आउनुपर्छ भन्ने लाग्छ। यद्यपि उनी भन्छिन्, ‘महिलाहरु महिला मात्रै भएर चाहिँ आउनुभएन। महिलाको वकालत महिलाले गर्नुपर्छ। यो अवश्य हो। तर अब त्यहाँ मात्र अड्किनुभएन। महिलाले जस्तो पनि कथा भन्न सक्नुपर्छ।’ 

त्यसो त महिलाको सङ्ख्या निर्देशनमै पनि कम नै छ। निर्देशकसमेत रहेकी निर्माता कृषालाई पनि फिल्म निर्माणमा महिला सहभागिता अझै बढ्नुपर्छ भन्ने लाग्छ। महिलाहरु ज्यादा संवेदनशील हुने हुँदा उनीहरुले आफूलाई र अरुलाई पनि पुरूषले भन्दा बढी पहिल्याएको हुने हुँदा निर्मातामा हुनुपर्ने गुणहरु महिलामा स्वाभाविक रुपमै बढी हुने उनको भनाइ छ। 

समग्र निर्माताकै परिभाषा फेरिइरहँदा महिला निर्माताकै काम गर्ने सोच–शैली पनि सँगसँगै फेरिँदै गएको छ। हिजोका महिला निर्माताले फिल्म बनाउँदै गर्दा बलिया महिला पात्रलाई केन्द्रमा उभ्याउँदा उभ्याउँदै पनि कथावाचन शैली उस्तै थियो। आजका निर्माताहरु सूत्रबद्ध कथावाचनबाट बाहिर निस्किएका छन्। समग्रमा आएका परिवर्तनबाट महिलाहरु पनि अछुतो रहँदैनन्। 

यसलाई यसरी बुझौं, पर्दामा जे हुन्छ, त्यसलाई पर्दापछाडिको दृश्यले पनि फरक पारिरहेको हुन्छ। हिजो पहिलो फिल्मका रुपमा ‘आमा’ बनिरहँदा त्यसले राष्ट्रप्रेमको विषय उठाएको थियो। किनभने पर्दापछाडि अर्थात् त्यसको निर्माणमा तत्कालीन नेपाल सरकार उभिएको थियो। पछिल्लो समय एउटी स्वावलम्बी, आत्मनिर्भर महिलाले ‘आमा’ निर्माण गरिन् र त्यसले महिलाले आत्मनिर्भर हुनु किन आवश्यक छ भन्नेबारे नै वकालत गर्‍यो। अब भोलिका महिलाले ‘आमा’ नै निर्माण गरिन् भने त्यो ‘आमा’ले उठाउने विषय आजको ‘आमा’ले उठाएको भन्दा अझ प्रगतिशील हुन सक्छ। 

हाम्रो फिल्म उद्योग ६०औं वर्षमा हिँडिरहेछ। हलिउड र बलिउडको तुलनामा हामी उति पाको भइसकेका छैनौं। हामी अझै बैंसमै छौं। हामीले अझै फुल्न, फक्रिन बाँकी नै छ। स्लो मोसनमै सही, फिल्म निर्माणमा यसरी महिला आउनु भनेकै हाम्रो फिल्म उद्योग फल्नु, फक्रिनु हो। 

हुन त हिजो हलिउडको अस्तित्व नरहँदै पनि कोही मान्छेले फिल्ममार्फत दुनियाँलाई कथा भन्न सिकाइरहेको थियो। त्यो मान्छे महिला नै थियो- अलिस गी ब्लासे। त्यसअघि अन्टसन्ट दृश्य खिच्न क्यामेरा प्रयोग त हुन्थ्यो। तर अलिसले विश्वमै पहिलो पटक न्यारेटिभ–फिक्सन फिल्मको अवधारणा भित्र्याइदिइन्। धेरै टाढा पनि नपुगौं, छिमेकी भारतमै पनि फातिमा बेगमले पहिलो पटक फेन्टासी जनरा भित्र्याइन्। उनले निर्माण–निर्देशन गरेको ‘बुलबुल–ए–सितारा’ भारतको पहिलो फेन्टासी फिल्म मात्र होइन, पहिलो बिग–बजेट मुभी पनि हो। 

चीनमा आजभन्दा ८७ वर्षअघि इस्थर इङले मात्र १९ वर्षको उमेरमा फिल्म निर्माण र निर्देशनमा कदम राखिन्। ३६ जना महिला कलाकारलाई एउटै स्क्रिनमा राखेर फिल्म बनाउने इङ अमेरिकामा बसेर चिनियाँ फिल्म बनाउने आफ्नो समयकी एक्ली फेमिनिस्ट फिल्ममेकरसमेत थिइन्।

नेपाली सिनेमामा भइरहेका थुप्रै काम अन्तर्राष्ट्रिय विश्व सिनेमाको एउटा अंश न हो। यतिबेला बाहिर भइरहेका बहसको प्रभाव हाम्रो सिनेमा क्षेत्रमा पनि ढिलोचाँडो पर्छ नै, परिरहेकै पनि छ। बाहिर, महिलाले जे–जति काम गरेर स्थापित भए उनीहरुले महिला मुद्दा, महिला दृष्टिकोण नभित्र्याएको भए र त्यसलाई अभियान नबनाएको भए आज विश्व सिने मञ्चमा महिलाको उपस्थिति यति बलियो हुने थिएन। टाढाको कुरा के गर्नु, यो छिमेकी देश चीन होस् वा भारत दुवैमा लागू भएको कुरा हो। 

संयुक्त राज्य अमेरिकामा अनेनबर्ग फाउन्डेसन नामक गैरनाफामुखी संस्थाले १२०० प्रतिनिधि फिल्ममाथि गरेको सर्वेक्षणअनुसार सन् २०१८ मा १०० मा मात्र ३३.१ प्रतिशत महिला कलाकारले फिल्ममा बोल्ने पात्रका रुपमा काम गरेका छन्। ती १२०० फिल्ममध्ये मुख्य वा सहायक पात्रमा महिला रहेका फिल्मको सङ्ख्या २०१६ मा ३४, २०१७ मा ३३ र २०१८ सम्म आइपुग्दा ३९ छ। 

एडभेन्चर, एनिमेसन र कमेडीमा पुरूषको तुलनामा महिला कलाकारको उपस्थिति क्रमशः २९, ३१.३ र ३७.५ प्रतिशत छ। यो असमानता किन रह्यो त? किनभने अघि पनि भनियो, पर्दामा देखिने दृश्यलाई पर्दापछाडिको दृश्यले असर गरिरहेको हुन्छ। अध्ययनकै विवरणका आधारमा भन्ने हो भने, सन् २०१८ मा महिला कथाकारको उपस्थिति मात्र १४.४ प्रतिशत देखिएको छ भने महिला निर्माताको उपस्थिति पनि १०० मा जम्मा २१.१ प्रतिशत देखिएको छ।

नेपालमै पनि प्लान इन्टरनेसनल र डकस्कुलले सन् २०२० मा गरेको अध्ययन रिप्रेजेन्टेसन अफ विमन एन्ड गल्र्स इन नेपाल’ सिनेमाअनुसार नेपाली फिल्म क्षेत्रमा संलग्न महिला फिल्मकर्मीहरुमध्ये स्वावलम्बी निर्णय लिनेको उपस्थिति मात्र २.५ प्रतिशत छ। यसको मतलब १०० मा ९७.५ प्रतिशत महिला फिल्मकर्मीहरुले आफू आइटम गीतमा नाच्ने–ननाच्ने, फिल्ममा कस्तो कपडा लगाउने–नलगाउने, शरीरको हिस्सा कतिसम्म देखाउने–नदेखाउने जस्ता निर्णय पूर्णतया आफ्नो हातमा नरहेको बताउने गरेका छन्। 

विशेषगरी पुरूषले निर्माण–निर्देशन गरेका सिनेमामा महिलालाई छोटा कपडामा देखाइने गरेको र पुरूषबाट उनीहरु घरेलु हिंसामा परेको, बलात्कृत भएर पीडामा छटपटाएको र पुरूषसम्मै पुगेर आफ्नो संरक्षण खोजेको दृश्यहरु देखिने गरेको प्लान इन्टरनेसनलले गरेको अध्ययनले बताएको छ। अध्ययनअनुसार नेपाली फिल्म उद्योगमा मात्र १७ जना महिला पटकथाकार र १५ महिला निर्माता छन्। र समग्रमा नेपाली फिल्म उद्योगमा महिला फिल्ममेकरको उपस्थिति १०० मा २ प्रतिशत मात्र छ।  

कथा कसले भनाइरहेको छ र कसले भनिरहेको छ भन्ने कुराले कथा कस्तो सुनिन्छ भन्ने तय हुन्छ। महिलाको दृष्टिकोणबाट कथा तबसम्म आउनेछैनन्, जबसम्म महिला फिल्म निर्माताहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदैन। 

अमेरिकामा २१.१ प्रतिशत महिला निर्माता भइरहँदा पनि महिलाको दृष्टिकोणबाट पर्याप्त कथा आइसकेको मानिँदैन भने हामीकहाँ त महिला निर्माताको उपस्थिति २ प्रतिशत मात्रै देखिएको छ। खैर, नेपाली महिला निर्माताले जे गरे, गरिरहेका छन्, सराहनीय छ। तर अपूरै छ। भन्ने नै हो भने २ प्रतिशत उपस्थितिलाई अपूरो मात्र होइन नगण्य मान्न पनि सकिन्छ।

यद्यपि सङ्ख्यात्मक उपस्थिति अति न्यून रहँदारहँदै पनि आज नेपाली सिनेमामा महिला निर्माताको गुणात्मक हस्तक्षेप जसरी देखिएको छ, त्यो भने वास्तवमै शक्तिशाली छ। त्यसैले नेपाली सिनेमा निर्माणमा अझै धेरै सङ्ख्यामा महिलाहरु आउनुपर्छ। बाहिर जसरी महिला निर्माताले सिनेमामा नयाँ आयाम भित्र्याउँदै पृथक् र फराकिलो दृष्टिकोणबाट कथा भन्दै दुनियाँलाई चकित तुल्याउँदै आएका छन्, नेपाली सिनेमा उद्योगमा पनि महिला निर्माताहरुको दरिलो उपस्थिति, परिवर्तनकारी काम र उदाहरणीय हस्तक्षेपको खाँचो छ। निर्धक्क भन्न सकिन्छ, फिल्म निर्माणमा महिलाको उपस्थिति बढे नेपाली सिनेमाको दायरा र गुणस्तर पनि बढ्नेछ।

(प्रभाकर गौतमको सम्पादनमा नेपाल चलचित्र निर्माता संघद्वारा प्रकाशित ‘सिनेमा विशेषांक’ स्मारिकाबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .