ad ad

ब्लग


दसैँको सुदूर सम्झना र गाउँको बुढो घर

दसैँको सुदूर सम्झना र गाउँको बुढो घर

विपेन्द्र घिमिरे
कात्तिक ६, २०८० सोमबार ७:४१, काठमाडौँ

‘दसैँमा घर जान ४८ दिन बाँकी।’ 

दसैँ आउन डेढ महिनाभन्दा बढी बाँकी छँदै एक मित्रले फेसबुकमा राखेको स्टाटस हो यो। स्टाटस पढेपछि दिमागमा विगतका दसैँ रिल बनेर आए।

चाडबाडको मौसम सुरु हुनासाथ दसैँमा घर जाने दिन गन्ने मेरो पनि आदत हो। ज्यान काठमाडौंमै भए पनि मन भने गाउँ पुगिसकेको हुन्थ्यो।

साथीभाइसँग डाँडापाखा घुमेको, खाएको, रमाएको यादगार क्षणले मन यसै फुरुङ्ग हुन्थ्यो।

समयअनुसार घर जाने तौरतरिका पनि निकै फरक–फरक रहे।

भर्खर काठमाडौं आउँदाताका गाउँसम्मै गाडीमा जाने व्यवस्था थिएन। गाडीबाट झरेर डेढ/दुई घण्टाको पैदल यात्रापछि घर पुगिन्थ्यो।

गाउँसम्म जाने एउटा मात्र बस। एक/डेढ हप्ताअगाडि खुल्ने अग्रिम बुकिङका कारण नियमित रुटअन्तर्गत पर्ने गाडीका सिट पहिल्यै बुक भइसकेका हुन्थे। आफू परियो अन्तिम समयमा जाने दिनको निधो गर्ने।

फूलपातीपछि भने ‘रुट परमिट फ्री’ हुने हुँदा अर्को गाडी पनि थपिने सम्भावना हुन्थ्यो। तर थपिने/नथपिने निर्क्यौल कि अघिल्लो दिन बेलुका कि त्यसै दिन बिहान मात्र हुन्थ्यो।

यसकारण सबैभन्दा सजिलो उपाय आफू जाने दिन सबेरै बसपार्कमा गएर बुझ्नु हुन्थ्यो।

आफू सिटमा बसेर गाउँ जाने त यत्तिकै हो, गाडीभित्रै मुढामा बसेर जाने सुविधा पनि हामी ‘युवा’हरूलाई हुँदैनथ्यो।

बसपार्कबाट गाडी छुट्ने तरखर हुँदानहुँदै ‘केटा जति हुटमा है’ कन्डक्टरको आदेश भइहाल्थ्यो।

छत पनि खचाखच नै हुन्थ्यो। त्यसैले बेलैमा नगए रोजेको ठाउँमा बस्न पाइँदैनथ्यो। यसै ‘हुट’ उसै ‘हुट’ भन्दै कन्डक्टरको आदेशअघि नै छतमा अड्डा जमाइसकेका हुन्थ्यौँ।

छतमा बसेर यात्रा गर्न ‘पूर्ण छूट’ चाहिँ थिएन। मलाई याद छ, ठाउँठाउँमा हुने चेक पोइन्ट आइपुग्नुअगाडि गाडी रोकिन्थ्यो र छतका सबैलाई भित्र कोचिन्थ्यो। चेक पोइन्ट कटेपछि फेरि उही।

त्यतिबेला यस्तो यात्रा रमाइलै लाग्थ्यो। अहिले चाहिँ सम्झिँदा पनि आङ जिरिंग हुन्छ।

पम्पबाट हावा भर्दै मोटरसाइकललाई डाँडा उकाल्दै
भयंकर तिर्खाएको व्यक्ति कुवामा पुग्दा सासै नफेरी र कुवामै मुख गाडेर पानी पिएझैं द्वन्द्वकालको अन्त्यसँगै देशका अधिकांश पहाडी गाउँमा डोजर राज चल्यो। धेरै गाउँठाउँ कच्ची नै सही, बाटाघाटाले राष्ट्रिय सञ्जालमा जोडिँदै गए।

नेपालीको आयस्तर बढेर हो वा समयको माग हो, निजी सवारी चढ्नेको ग्राफ पनि उक्लिँदै गयो। मोटरसाइकल चढ्नेहरू कार चढ्ने भए, साइकल चढ्ने, पैदल हिँड्नेहरूले मोटरसाइकल किने।

मेरो स्तर पनि उक्लिएकै भन्नुपर्छ– पैदलयात्रीबाट मोटरसाइकल यात्री बनेँ।

बसको छतमा हावा खानुभन्दा आफ्नै बाइकमा हावा खाँदै गाउँ जान थालियो।

मोटरसाइकलमा यात्रा गर्नुका भिन्दै फाइदा–बेफाइदा छन्। 

एक त राजमार्गमा दुईपांग्रे यसै असुरक्षित हुँदै हो। त्यसमाथि राजमार्ग छाडेर गाउँतिर लागेपछि आउने कच्ची सडकको सास्तीको कथा कसले सुन्न सकोस्? कहीँ टायर चिप्लिने, कतै पानी जमेको ठाउँमा फसिने के–के, के–के।

संविधान जारी भएपछि नाकाबन्दीका बेला घर जाँदा त डाँडा चढ्दै गर्दा टायर नै पञ्चर भइदियो।

अरू बेला त्यस्तो समस्या भइहाले पनि वर्कसपबाट सेवा पाइन्थ्यो। तर पेट्रोलको हाहाकार भएको त्यो समयमा ५/७ किलोमिटर तल भएको वर्कसपवाला पनि माथि उक्लन सकेन। उसैको सुझाव बमोजिम साइकलको टायरमा हावा भर्ने पम्प किनेर बीच–बीचमा हावा हाल्दै बाँकी ६/७ किलोमिटर यात्रा गर्नुपरेको थियो।

बालबाल बाँचियो
२०६८/६९ तिरको कुरा हो। फूलपातीको अघिल्लो दिन काठमाडौंबाट सबेरै बाटो तताइयो। यहाँबाट लमजुङको जितास्थित घरसम्म पुग्ने दुरी त्यस्तै १८० किलोमिटर हो।

त्यतिबेला सुन्दरबजारसम्म पिच सडक र त्यसपछि कच्ची बाटोमा यात्रा गर्नुपर्थ्यो। सुन्दरबजारबाट १२/१५ किलोमिटर जतिमा गाउँ पुगिन्छ।

सुन्दरबजारपछि खत्रीठाँटी आउँछ। यसपछि उकालो सुरु हुन्छ। उकालोभन्दा अगाडि पाउँदी खोला तर्नुपर्छ।

सानोमा गाउँमा छँदा पाउँदी खोलाले मान्छे बगाएको खबर सुनिन्थ्यो।

मलाई काठमाडौंबाट निस्कनुअघि सबैभन्दा पहिले यही खोलाको पीर लाग्थ्यो।

त्यो वर्ष पीर अत्यासमा परिणत भइदियो। खोला तर्दै थिएँ। आधासम्म पुगेपछि पानीको बहावले हुत्याउन थाल्यो। खोलाको समथर भाग सकिएर भिरालो आउन एक मिटर वरै बाइकको टायर ढुंगामा अल्झेछ। अनि त्यहीँ लडेँ। तत्कालै किनारामा भएको कसैले आएर उद्धार गरी पारि पुर्‍याइदियो।

दुर्घटनाबाट बचेको ज्यान त्यसै थरथर कामेकै थियो। त्यसमाथि पानीमा चुर्लुम्म डुबेको बाइक स्टार्ट भए पो! निकैबेरको कसरतपछि बल्ल उकालो लाग्न सफल भइयो।

त्यस घटनापछि कि त बाइक तारिदिन सक्ने कसैलाई कुरेर सहयोग मागेँ। कि त त्यो बाटो नै हिँडिनँ। अहिले भने पक्की पुल बनिसकेको छ।

जे होस्, गाउँ पुगेपछिका एक हप्ता निकै उल्लासमय रहन्थे। खासमा दसैँको रौनक नै गाउँ पुग्नु, डुल्नु, घरपरिवार, साथीभाइबीच रहनु हुन्थ्यो। पत्तै नपाई हप्ता बितिदिन्थ्यो।

खासमा दसैँको रौनक त्यही नै रहेछ– दसैँ आउन यति दिन बाँकी भन्नुभन्दा पनि दसैँमा घर जान यति दिन बाँकी।

पछिल्ला केही दसैँमा भने त्यो गाउँ जाने रौनक हराएको छ। दसैँ आउँछ–जान्छ, जसरी अरू चाड आउँछन्–जान्छन्।

गाउँ त्यहीँ छ, दसैँ उही समयमा आउँछ–जान्छ तर दसैँको ‘खास रौनक’ चाहिँ निलम्बित छ।

नेपालमा दसैँ कहिलेदेखि मनाउन थालियो भन्ने ठ्याक्कै मिति तोक्न गाह्रो छ। यद्यपि कतिपय इतिहासवेत्ता यो पर्व ६ हजार वर्षअघिबाट मनाउन सुरु भएको अनुमान लगाउँछन्। प्राचीन पूर्वीय सभ्यता सिन्धुघाटीको सभ्यतासँगै यो क्रम चलेको उनीहरूको विश्वास छ।

यति पुरानो इतिहास बोकेको यो चाडको ऐतिहासिक महत्त्व त छँदै छ। साथै विभिन्न मिथक सुन्न पाइन्छ।

राक्षससँग पराजय भोगेका देवताहरूले रुपवती नारीलाई अघि सारी छलकपट गरेर महिषासुरको वध गरेपछि यसैको खुसियालीमा दसैँ मनाइएको मार्कण्डेय पुराणमा वर्णित छ।

यस्तै अर्को कथामा रावणले सीतालाई हरण गरेर लगेपछि रामचन्द्रले नौ दिनसम्म भगवतीको पूजाआराधना गरी दसौँ दिनमा टीका लगाई प्रस्थान गरेर विजय हासिल गरेको किंवदन्ती पनि सुन्न पाइन्छ।

जे–जस्ता मिथक र किंवदन्ती भए पनि दसैँले विभिन्न कारणले परिवारबाट टाढा रहेका सदस्यलाई घर बोलाउँछ। एकै ठाउँमा भेला भएर खुसी साट्ने बहाना दिन्छ। सामाजिक मिलन पनि गराउँछ।

किसान परिवारमा खेतीपाती भित्र्याइसकेर फुर्सदको समयमा सबै परिवार एकै ठाउँमा जम्मा भई रमाइलो गर्ने अवसर पनि हो दसैँ।

वर्षभरि जे–जस्तो भए पनि मिठो खाने, नयाँ लुगा लगाउने बहाना पनि दसैँ नै हुन्थ्यो कुनै बेला। यी कुराले आज त्यति अर्थ नराख्लान् तर हाम्रै अघिल्लो पुस्तासम्मलाई यसले निकै ‘अर्थ’ राख्थ्यो।

‘बुढो घर’को दुःखेसो
दसैँमा गाउँ जानुको रमाइलै बेग्लै। कर्मथलोको कामको चटारोलाई चटक्कै बिर्सेर वल्लो घर, पल्लो घर डुल्नुको आनन्दै अर्कै। दाँवलीसँगको भेटघाटले मनलाई बाल्यकालमा पुर्‍याइदिन्छ। पाइला–पाइलामा स्पर्श गर्ने ढुंगामाटोले अतीतमा पुर्‍याइदिन्छ।

स्वच्छ वातावरण, हराभरा डाँडाकाँडा, अनि उस्तै प्रफुल्लित मन।

उल्लिखित फेसबुके मित्रले दिनगन्ती पोस्ट्याएँझैँ गाउँ जाने दिन गन्ने समय अब सायदै आउला। यद्यपि, ज्यान जहाँ रहेर दसैँ मनाए पनि मन त्यही गाउँमा पुग्नेछ। जहाँ ‘बुढो’ घर कुरेर बसिरहेको हुनेछ।

त्यो बुढो घर, जसले वर्षभरि वृद्ध बाआमालाई रेखदेख गरिरहेको हुन्थ्यो। जब दसैँ आउँथ्यो, परिवारका अन्य सदस्यलाई स्वागत गर्न आतुर हुन्थ्यो।

आफ्ना वरपर झाँगिएको झाडी सफा गरिदिने आसमा मुस्कुराउँथ्यो। वर्षदिनभरि खाटको एउटा कुनामा गुँडुल्किएर बसेका सिरक–डसनालाई फिँजिने आदेश दिन्थ्यो।

हप्ता दिन नै किन नहोस्, मुस्कुराउँथ्यो, बसाउँथ्यो, गुनगुनाउँथ्यो। रित्तिँदो गाउँलाई चुनौती दिन आएका बुट्यान र झाडीलाई हप्काउँथ्यो, दबाउँथ्यो, लखेट्थ्यो।

अब त्यो बुढो घर न मुस्कुराउनेछ, न बसाउनेछ, न त गुनगुनाउने नै छ। फगत कसैले बोलाउला कि भनेर आँखा तन्काउनेछ, कान ठाडा पार्नेछ र आजित भएर आफ्नै नाकमा झुन्डिएको ताल्चासँग दुःखेसो पोख्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .