ad ad

ब्लग


बाले ‘सुकुलगुन्डा’ बन्न नदिएका ती दसैँ

बाले ‘सुकुलगुन्डा’ बन्न नदिएका ती दसैँ

जनार्दन पोखरेल
कात्तिक ५, २०८० आइतबार १३:४९, काठमाडौँ

‘बा यो दसैँमा त स्कुल ड्रेसले हुँदैन है, आउट ड्रेस किन्दिनुपर्छ, दसैँमा पनि स्कुल ड्रेस त कसैले पनि लाउँदैनन्,’ दसैँ आउन एक महिना यतै म बासँग नयाँ कपडाको ‘बार्गेनिङ’ सुरु गर्थेँ।

बा रिसाउँदै भन्नुहुन्थ्यो, ‘सुकुलगुन्डा बन्नु पर्दैन, दसैँ आवस् कि तिहार, थपक्क त्यही स्कुल ड्रेस लगा, अरू लुगा किन्न तैँले पैसा राख्न देको छस्?’

बासँग धेरै सवालजवाफ गर्ने हिम्मत हुँदैनथ्यो। बाले जस्ता लुगा किन्दिनुहुन्थ्यो, त्यसमै चित्त बुझाउनुको विकल्प थिएन।

हरेक वर्षका दसैँ स्कुल ड्रेस (सेतो  रंगको सर्ट र निलो हाफ पाइन्ट) मै टर्थे। स्कुल ड्रेसबाहेकका कपडा प्रायः लगाउन पाइँदैनथ्यो भन्दा पनि हुन्छ। दसैँअघि स्कुल ड्रेस किनेपछि अर्को वर्षको दसैँ नआउन्जेल अरू कपडा किन्ने कुरै थिएन। अर्को वर्षको दसैँ आएपछि फेरि त्यही स्कुल ड्रेस पाइन्थ्यो।

दसैँअघि सिलाएका स्कुल ड्रेस दसैँ-तिहार र विद्यालय जाँदा मात्र होइन, कसैका बिहेमा जन्त जानुपर्ने अवसर आएछ भने पनि काम लाग्थे।

स्कुल ड्रेसबाहेकका लुगा किन्दिनु न भन्दा बा प्रायः एउटै वाक्य दोहोर्‍याउनुहुन्थ्यो, ‘सुकुलगुन्डा बन्नु पर्दैन।’

दसैँ नजिकिँदै गर्दा बा दसैँ खर्चको जोहोमा लाग्नुहुन्थ्यो। बाले ग्वाली (गाईवस्तु बाँध्ने गरेको घरको तलो) बाट पाँच/सात डोका मकै आँगनमा थुपारेपछि हाम्रो काम हुन्थ्यो, त्यसलाई नंग्याउने र छोडाउने।

हामी दाजुभाइ, दिदीबहिनी (चारजना) मकै वरिपरी घेरो लगाएर बस्थ्यौँ। बा मकै नंग्याउन र छोडाउन हामीलाई हौस्याउँदै भन्नुहुन्थ्यो, ‘जति छिटो यो मकै बेच्न पाइन्छ, त्यति छिटो तिमेरुले दसैँको लुगा पाउँछौ।’

सन्तानकी सबैभन्दा ठूली दिदीलाई बाले स्कुल भर्ना गर्नु भएको थिएन। स्कुल जाने हामी तीन जना थियौँ। दाइ, म र बहिनी। त्यसैले दिदीलाई स्कुल ड्रेस किन्दिनुपर्ने झन्झट पनि बालाई थिएन।

हामीलाई मकै नंग्याउन र छोडाउन लगाएर बा हलो जुवा काँधमा हालेर हल गोरु अघि लगाउँदै तिलबारीतिर लाग्नुहुन्थ्यो।

बा-आमाले ऊबेला (२०३५ सालतिर) एकजना तामाङसँग चार धार्नी जतिको पाठोसँग साट्नु भएको रे त्यो जमिन। झण्डै एक बिघाजतिको त्यो पाखो बारीको नाम बाले तिलबारी राख्नुभएको रहेछ। बाका पालामा त्यो तिलबारी थियो, पछि खरबारी भयो। अहिले हाम्रा पालामा बाँसघारी भएको छ। तर, नाम अहिले पनि तिलबारी नै छ।

दसैँअघि मधेसी मूलका व्यापारी हाम्रो गाउँमा घरघरमै मकै खोज्दै आइपुग्थे। सिँचाइको व्यवस्था नहुँदा त्यतिबेला हाम्रो गाउँमा धानभन्दा मकैकै उत्पादन बढी हुन्थ्यो।

मकैको भाउमा केहीबेर बा र ती व्यापारीबीच बार्गेनिङ चल्थ्यो। उनीहरू मकैका धोक्रा साइकलमा लोड गर्नुअघि बाको हातमा केही रुपैयाँ थमाइदिन्थे। मकै बेचेको दिन बा मलाई बिजुली चुरोट किन्न पसल पठाउनुहुन्थ्यो। नत्र अरू दिन सखुवाको पत्तामा सुर्ती बेरेर धुँवा उडाउनु बाको दिनचर्या थियो।

बाले घण्टैपिच्छे सुर्ती बेरेको आमालाई फिटिक्कै मन नपर्ने। आमा भन्नुहुन्थ्यो, ‘त्यो थुतुनो एकैछिन खाली राख्न नहुने, कति लाउन सकेको हो त्यो धुनी?’

आमाका यस्ता असन्तुष्टि हाम्रा बा एक कानले सुनेर अर्का कानले उडाउनुहुन्थ्यो।

बाले बिँडी खाएको आमाले मन नपराउने भएकैले होला- हामी दाजुभाइले कहिल्यै चुरोट-खैनी खाएनौँ। आमा भन्नुहुन्थ्यो- तिमीहरू यो चुरोट, खैनी खान नसिक है।

हामी ‘हुन्छ’ भन्थ्यौँ। 

बा अलि खुसी भएको मौका छोपेर म फेरि माग प्रस्तुत गर्थें- ‘यो दसैँमा जुत्ता किन्दिनु न क्या बा!’

बा पुरानै शैलीमा भन्नुहुन्थ्यो, ‘किन चाहियो जुत्ता? सुकुलगुन्डा बन्नलाई?’

बिहान घरमा जमरा राखेर बा दिउँसो बजार जानुभयो। साँझ घर फर्किंदा हामी तीन जनालाई स्कुल ड्रेसका कपडा किनेर ल्याउनु भएछ, दिदीलाई सारी। त्यतिबेला विवाह नगरेका छोरी-चेली पनि सारी नै लाउँथे।

कपडा छेक्न बाबुराम नेपाली साँझ घरमै आइपुगे। हामी उनलाई बाबुराम दाइ भन्थ्यौँ। हाम्रो शरीरको नाप लिएपछि ‘फूलपातीभन्दा अघि नै सिलाइसक्छु’ भन्दै उनी कपडा लिएर घरतिर लागे।

मलाईचाहिँ उनले भनेको बेलामा कपडा नसिलाउने हुन् कि भन्ने डर थियो। भनेको बेलामा कपडा सिलाएनन् भने टीकाको दिन नयाँ लुगा लगाउन नपाइने डर थियो।

भोलिपल्ट बिहानै ‘फूलपातीअघि नै हाम्रो कपडा सिलाइदिनु है दाइ’ भन्दै फकाउन म उनको घरमै गएँ।

‘हिजो लुगा ल्याएको छ, यी बाउन् त अहिल्यै आइसकेछन्,’ बाबुराम दाइले रिसाएजस्तो गरे।

‘लुगा लिन आएको होइन, चाँडै सिलाइदिनु है भन्न मात्रै आएको हो,’ डराउँदै मैले स्पष्टीकरण दिएँ। उनी ‘जिब्रोले नाकको डाँडी छोए चाँडै कपडा सिलाइदिन्छु, नत्र तिहारपछि मात्रै तयार हुन्छ तिम्रो लुगा’ भन्न थाले।

मैले तुरुन्तै जिब्रो तन्काएर नाकको डाँडीसम्मै पुर्‍याएँ। उनी हाँसे। त्यसपछि म घर फर्किएँ।

उनले भनेकै दिन कपडा सिलाएर हाम्रो घरमा ल्याइदिएछन्। गाईवस्तु चराएर साँझ घरमा फर्किंदा आमाले हातमा कपडा राखिदिनुभयो। मेरो खुसीको सीमा रहेन!

सानैदेखि बाले सुकुलगुन्डा भनेको सुनिरहे पनि त्यसको अर्थ बुझेको थिइनँ। एकदिन बा अलि खुसी भएको मौका छोपेर सोधेँ- ‘बा तपाईं खाली हामीलाई सुकुलगुन्डा, सुकुलगुन्डा भन्नुहुन्छ, यो सुकुलगुन्डा भनेको चाहिँ के हो?’

‘जसको घरमा ओढ्ने, ओछ्याउने केही छैन। सुकुल र गुन्द्रीमा सुतेर रात बिताउँछ। भरपेट खानसमेत पाउँदैन, तर दिउँसो त्यो मान्छे जुत्ता र सर्ट-पाइन्टमा ठाँटिएर जुल्फी हल्लाउँदै हिँड्छ भने त्यो सुकुलगुन्डा हो,’ बाले सुकुलगुन्डाको अर्थ यसरी लगाउनुभयो।

त्यो दिन बा अलिक खुसी देखिनुभएको थियो। त्यही मौका छोपेर मैले फेरि भनेँ, ‘हाम्रो घरमा थोत्रे नै भए पनि सिरक, डसना छन् नि! यो दसैँमा किन्दिनु न बा मलाई जुत्ता, कस्तो लगाउन मन लागेको छ।’

बाले भन्नुभयो, ‘त्यो सिरक डसना तेरो बाउले मुटुमा रगत जमाएर जोडेको हो, नत्र तैँले पाउँथिस् डसनामाथि सुत्न?’ बा आफूले अलि बढी नै शारीरिक श्रम गरेको विषयलाई ‘मुटुमा रगत जमाएको’ अर्थमा लिनुहुन्थ्यो।

परिवारका ६ जनाको हातमुख जोड्न बा कडा परिश्रम गर्नुहुन्थ्यो। खेती आकाशे पानीको भरमा गर्नुपर्थ्यो।

त्यस्तो खेतबारीमा सिजनअनुसार धान, मकै, गहुँ, कोदो लगाउनु, त्यसलाई गोडमेल, खनजोत गर्नु, फलेपछि बटुलेर भकारीमा थन्क्याउनु बाका नियमित कर्म थिए। झण्डै डेढ बिघा जग्गामा बा-आमा बाह्रै महिना हाड घोट्नुहुन्थ्यो हामीलाई पाल्न।

खेतबारीको उब्जनीले जेनतेन भुँडी भरिन्थ्यो। तर, दसैँ-तिहारजस्ता पर्व मान्न र भैपरी आउने खर्च धान्न बा सयकडा पाँचका दरले साहुसँग ऋण लिनुहुन्थ्यो।

दसैँ मान्न लिएको ऋण तिर्न फेरि बालाई अर्को ६ महिना लाथ्यो। गाईभैँसीको दूध, बाख्रो पाठोजस्ता जिनिस बेचेर बा अर्को दसैँअघि आफूलाई अघिल्लो दसैँ मान्दा लागेको ऋणबाट मुक्त गर्नुहुन्थ्यो।

मकै बेचेको पैसाले दसैँ मान्न पुग्दैनथ्यो। अनि बा खसि-बाख्रा बेच्नु हुन्थ्यो। हरेक वर्ष दसैँ अघि बेच्न हाम्रो घरमा तयार हुन्थे- दुई/ चारवटा खसी-बाख्रा। दसैँ आउनु भन्दा २–४ महिना अघिदेखि नै घरमा दसैँमा खाने र बजार लगेर बेच्ने खसीबोकाको मोटामोटी हिसाब बा-आमा निकालिसक्नुहुन्थ्यो।

हामीलाई नयाँ कपडा किन्न त्यति मन नगरे पनि बा दसैँमा हाम्रा लागि चिउरा र मासुको व्यवस्था भने प्रशस्तै गर्नुहुन्थ्यो। दसैँको अष्टमीका दिन घरमै पालेको सबैभन्दा ठूलो खसी ढालिन्थ्यो। 

ठूलो खसीको मासुले दसैँ मान्ने कि सानोले टार्ने भन्ने विषयमा आमा-बाको ठाकठुक चल्थ्यो। बा दसैँमा ५/७ धार्नीकै खसी ढाल्न खोज्ने, आमा ३/४ धार्नीको पाठोले टार्न खोज्ने।

बा-आमा

‘त्यो ठूलो खसी बेचेर बरु दसैँमा छोराछोरीलाई राम्रा लुगा किन्दिनु क्या, कस्तो लाउन मन गरेका छन्,’ आमा बाको मन पगाल्ने प्रयास गर्नुहुन्थ्यो। बा को बानी उही हो, आमाका कुरालाई एक कानले सुनेर अर्को कानले उडाइदिने।

‘तैँले जानेकी छेस्, हेर न जान्ने पल्टेकी, पोथी बासेको सुहाउँदैन,’ आमालाई ठेगान लाउन बा प्रायः यस्तै बोल्नुहुन्थ्यो।

बा हरेक दिन बिहान गाईभैँसी दुहुनुहुथ्यो। होटलमा दूध पुर्‍याउन भने प्रायः मै जान्थेँ।

‘दूध बेचेको पैसा दसैँका लागि जोगाउनुपर्छ’ बा हामीलाई भन्नुहुथ्यो। दूध लिएर होटल जाँदा सित्तैमा चिया-पाउरोटी खान पाइने भएपछि म सधैँ दूध पुर्‍याउन अघि सर्थें। घरमा सितिमिती चिया पाक्दैनथ्यो। पाउरोटी त झन् परको कुरा। 

भैँसीले तीन लिटरजति दूध दिन्थ्यो। बा त्यसमा जल चढाएर साढे तीन लिटर बनाउनु हुन्थ्यो। होटलवालाले दूध पातलो भयो भनेर गाली गर्ने हो कि भनेर मलाई डर लाग्थ्यो।

म भन्थेँ, ‘होटलवालाले दूध पातलो भयो भनेर गाली गर्छन्, पानी नहाल्नु न बा!’

‘त्यसले दूध पातलो भयो भन्यो भने तँ पनि भन्देन, बाक्लो दूध खान मन भए पाडो भएर जन्मनुपर्छ भनेर।’

म ८ कक्षामा पुगेको थिएँ। दाजु र बहिनीले पढाइ छाडिसेकेका थिए। दाइले पढ्न मन गर्नु भएन। बहिनीलाई बाले ५ कक्षादेखि माथि नपढाउने निर्णय गर्नुभएछ। त्यो वर्ष बाले मलाई मात्रै स्कुल ड्रेस किन्दिनुभएको थियो।

दसैँ आउन चार/पाँच दिन बाँकी थियो। भुटुन, मसला, चामल, चिउराको बन्दोबस्त गरेपछि बाले केराको जोहो गर्ने विचार गर्नुभयो। त्यो वर्ष आफ्नो बारीमा दसैँलाई हुनेगरी केरा पसाएन। पसाएका केराका घरी पनि कलिलै थिए।

खसीको मासु, दूधदही भए पनि दसैँमा केरा नभई नहुने मान्यता बाको थियो। प्रायः सप्तमीको दिन दही, चिउरा र केरा खाने चलन थियो। ‘भोलिदेखि मासु खानुपर्छ, आज दही-दिउरा खाओ,’ आमा-बा भन्नुहुन्थ्यो।

बिहानको खाना खाएपछि बा केरा खोज्न भनेर चुरेतिर लाग्नुभयो। हाम्रो गाउँभन्दा पारिपट्टि सिन्धुलीसँग सीमा जोडिएको केराबारी नै नाम गरेको गाउँ छ। बा केरा खोज्न केराबारीतिरै जान्छु भन्दै दिउँसोतिर घरबाट निस्कनुभयो।

हामी बा केरा लिएर कतिबेला फर्कनुहोला भनेर बाटो हेर्न थाल्यौँ। तर, झमक्कै साँझ पर्दा पनि बा फर्किनुभएन। बा नहुँदा गाईभैँसी दुहुने हुत्ती हाम्रो थिएन।

झम्के साँझ टर्‍यो, रात पर्‍यो। तर, अहँ! केरा खोज्न जानुभएका बा फर्केर आउनुभएन। समयमै माउको दूध खान नपाएपछि पाडा, बाछा कराउन थाले। पाडा, बाछालाई दूध खुवाउन छाडेर हामी बालाई खोज्न लाग्यौँ। हामी दाजुभाइ, छरछिमेकीसमेत टर्च लाइट बाल्दै बालाई खोज्न घरबाट निस्कियौँ।

मध्य रातिसम्म सम्भावित ठाउँमा बालाई खोज्यौँ। राति ‘हाम्रा बालाई देख्नुभयो कि’ भन्दै घरघरमा सोध्दै हिँड्यौँ। तर, बा फेला पर्नुभएन। हामी त्यसै घर फर्कियौँ।

बालाई केही भयो कि? बा नभए यो घर कसरी चल्ला? अत्यास लाग्यो। त्यो रात बा हराएको पीरले आँखा झिमिक्कै नपारी उज्यालो भयो।

भोलिपल्ट बिहानै फेरि हामी दाजुभाइ बालाई खोज्न केराबारीतिर लाग्यौँ। फट्टी खोलामा पुग्दा नपुग्दै बा ठूलो धोक्रोमा मालभोग केराको घरी काँधमा बोकेर आउँदै गरेको भेट्यौँ। हाम्रो खुसीको सीमा रहेन।

मैले सोधेँ, ‘किन हिजै घर नफर्किनुभएको?’

हाँस्नुभयो। बा खुसी हुँदा हाँस्नुहुन्थ्यो। बा खुसी भएको देख्नै मुस्किल पर्थ्याे।

केराको धोक्रो काँसघारीको डिलमा बिसाएर ढुंगामाथि थचक्क बस्दै बाले भन्नुभयो, ‘तिमेरले मलाई कत्तिको माया गर्छौ, म कतै हराएँ भने खोज्छौ कि, ए हराए हराओस् त्यो बुढो भनेर छाड्छौ भनेर जाँच्ने उद्देश्यले हिजो म घर नआएको केटा हो!’

हामी दाजुभाइले, ‘तपाईंलाई केही भयो कि भनेर हामीलाई आत्तेस लागेको थियो, आमा र बहिनी पनि घरमा रोइरहेका छन्, हामीलाई पनि रातभरि निद्रा लागेन,’ भन्यौँ।

पछि बाले केरा खोज्दाखोज्दै रात परेकाले घर नफर्की उतै एकजना चिनेजानेका हितैसीको घरमा बास बसेको स्पष्टीकरण दिनुभयो। अहिले भएको भए बासँग मोबाइल हुन्थ्यो, हामी बालाई फोन गरेर किन घर नआउनु भएको भनेर सोध्थ्याैँ, त्यतिबेला मोबाइल त कल्पनाभन्दा पनि बाहिरको विषय थियो।

फूलपातीभन्दा अघिल्लै दिन बाले आँगनमा दुईवटा खाँबो ठड्याउनुभयो। बलो बाँध्नुभयो र फुर्सदमा बाटेर थन्क्याएको बाबियाको डोरी निकालेर हामीलाई पिङ हाल्दिनुभयो। हाम्रो खुसीको सीमा रहेन।

घरअगाडिको डगर (सार्वजनिक बाटो) मा पिङ तयार हुनुअघि नै हाम्रो घरमा पिङ झुन्डियो। सार्वजनिक ठाउँमा पिङमा खेल्न पालो पाउनै मुस्किल, आफ्नो घरमा जतिबेला खेले पनि भयाे। 

दसैँका लागि चामल, चिउरा, तेल, मसलासहित दसैँ मान्न आवश्यक सबै चिजको बन्दोबस्त भइसकेको थियो। आँगनमा पिङसमेत तयार भयो। मासुका लागि खोरमा खसी छँदै थियो। स्कुलको ड्रेस नै भए पनि नयाँ लुगा पनि बाक्सामा थिए। तर, जुत्ता थिएन। हात्तीछाप चप्पल त थियो, त्यो पनि पुरानो।

मैले जुत्ताका लागि बासँग अन्तिम प्रयत्न गर्ने विचार गरेँ।

‘बा साँच्ची भनेको योपटक मलाई जुत्ता किन्दिनु न, म तपाईंले भनेको सबै मान्छु, राम्ररी पढ्छु नि!’

मैले त्यसो भनेपछि बा अलि भावुक बन्नुभयो। मलाई आफूनजिकै तानेर बाले भन्नुभयो, ‘हेर कान्छा, तँलाई मात्रै जुत्ता किन्देर हुँदैन। तँलाई जुत्ता किन्देपछि तेरा दाइ, दिदी र बहिनीलाई पनि किन्दिनुपर्छ। धेरै पैसा लाग्छ। अर्को वर्ष जुत्ता किन्दिउँला, यो पटक रेडियो किन्ने हो। तँ जुत्ता-जुत्ता भनेर धेरै हल्ला नगर!’

बाले रेडियो किन्ने भनेको सुन्दा सुरुमा त मैले पत्याइनँ। ‘होइन होला’ भनेँ। बाले हो भनेर मलाई विश्वास दिलाउन खोज्नुभयो।

‘आमालाई नभन् है फेरि, तेरी आमाले गाली गर्छे, रेडियो किन्ने भनेको सुनी भने बसिखान दिन्न’ भन्नुभयो।

खुसीले फुरुंग भएको मैले हत्त न पत्त आमालाई बाले रेडियो किन्न लागेको खबर सुनाएँ। रेडियो किन्ने बाको तयारी देखेर आमा आगो बन्नुभयो। ‘रेडियो त चाहिन्छ आमा, तपाईं बालाई केही नभन्नु’ मैले आमालाई सम्झाएँ। मैले सम्झाएपछि भने आमा केही मत्थर हुनुभयो।

‘रेडियो किनेर मात्रै हुँदैन, त्यसमा महिनैपिच्छे कसरी ब्याट्री हाल्नु, कहाँबाट ल्याउने पैसा?’ आमाको चिन्ता थियो।

बाले भन्नुभएको साँच्चै रहेछ। दसैँमा माइली दिदी (फुपू) काठमाडौंँबाट टीका लगाउन आउँदा हामीलाई रेडियो ल्याइदिनुभयो। त्यतिबेला गाउँमा फाट्टफुट्ट मात्रै रेडियो थियो। टीभी त कसैका घरमा पनि थिएनन्। रेडियो भएका घरलाई त्यतिबेला ठूलै सम्झने चलन थियो। घरमा रेडियो भित्रिएपछि त्यो दसैँमा हाम्रो घरमा खुसीको नयाँ बाहार नै आयो।

रेडियो भएपछि अब तिहारमा देउसी सुन्न पाइने भयो भनेर मन त्यसै त्यसै फुरुंग भयो। साथीहरूले तिहारमा देउसी भट्याउन मलाई नै लाउँथे। देउसी भट्याएबापत २/३ रुपैयाँ बढी पाइन्थ्यो। यस वर्ष रेडियोले भनेको भाका सुनेर नयाँ ढंगले देउसी भट्याउने योजना मैले बनाएँ।

साँझ-बिहान बा समाचार सुन्न रेडियो भएका छिमेकीको घरतिर धाउन छाड्नुभयो। आफ्नै घरमा रेडियो बज्न थालेपछि हाम्रो घरको माहोल नै फरक बन्यो।

दसैँ रमाइलै ढंगले सकिन्थ्यो। मावली टाढा (झापा र खोटाङ) भएकाले दसैँमा कहिल्यै टीका लगाउन मामा घर जान पाइएन। गाउँका अरू साथी मामा घरमा टीका लगाएर यति र उति पैसा दिए भन्दै सुनाउँदा मन खिन्न हुन्थ्यो। ‘हाम्रो मावला पनि नजिकै भैदिएको भए कति रमाइलो हुन्थ्यो होला,’ म  कल्पना गर्थें। 

दसैँमा हामीलाई टीका लगाइदिँदा बा ‘आयुद्रोणसुते...’ आशीर्वाद पूरै वाचन गर्नुहुन्थ्यो। हजुरआमा (बाकी आमा) भने टीका लगाइदिँदा ‘सन्तानले डाँडाकाँडा ढाकून्, आमा-बालाई दुःख नदिनू, भनेको मान्नू, राम्ररी पढ्नू, सुब्बा हुनू, धेरै पैसा कमाउनू,’ भन्नुहुन्थ्यो। हजुरआमा आशिष दिने क्रममा कहिलेकाहीँ चित्त नबुझेको विषयमा गाली पनि गर्नुहुन्थ्यो। 

अरूले दसैँमा निधारमा टुपुक्क परेको सानो टीका लगाउँथे। हाम्री हजुरआमाले भने निधारभरि (कानमासमेत छुनेगरी) हामीलाई टीका लगाइदिनुहुन्थ्यो। 

हजुरआमाले हाम्रा बालाई १५ वर्षको उमेरमा पाउनुभएको रे। हाम्रा बापछि उहाँले अरू ९ सन्तानलाई जन्म दिनुभएछ।

‘विवाह हुँदा म ७ वर्षकी थिएँ, तेरो हजुरबा ३० वर्षका थिए,’ उहाँ हामीसँग गफ गर्दा भन्नुहुन्थ्यो, ‘हाम्रा आमा-बाका पनि आँखै फुटेका, ७ वर्षकी नानीलाई के ३० वर्षको बूढोसँग बिहे गरिदेका हुन्!’

मैले हजुरबालाई देख्न पाइनँ। म जन्मिनुभन्दा एक दशकअघि नै उहाँ बित्नुभएछ। उहाँ कस्तो हुनुहुन्थ्यो, फोटो पनि छैन। हजुरबा बितेपछि पनि हजुरआमा ४२ वर्ष बाँच्नुभयो।

दसैँ सकिएपछि बा प्रायः दसैँ मान्दा लागेको ऋणको विषयमा चिन्ता गर्नुहुन्थ्यो। ‘अब तिहार कसरी मान्ने हो’ भन्दै आमासँग गनगन गर्नुहुन्थ्यो।

खेती किसानी भन्दा अर्थोक आम्दानीको स्रोत नहुँदा घरमा सधैँ आर्थिक अभाव थियो। हाम्रो गाउँ नजिकै चिनी मिल (इन्दुशंकर चिनी उद्योग) छ। हाम्रो गाउँका धेरैले त्यही चिनी मिलमा काम गरेर पनि जीविका चलाए/चलाइरहेका छन्। कतिपय रोजगारीको लागि भारत जान्थे। कोही हरिवन बजारतिर गएर मजदुरी गर्थे। 

त्यतिबेला मलाई लाग्थ्यो– बरु हाम्रा बाले पनि चिनी मिलमा काम गरेको भए पैसाको यस्तो दुःख त हुँदैनथ्यो होला नि। कमसेकम दसैँमा जुत्ता त लगाउन पाइन्थ्यो।

एकदिन मैले बालाई ‘तपाईंले किन चिनी मिलमा काम नगर्नुभएको, चिनी मिलमा काम गरेको भए पैसाको यस्तो दुःख त हुँदैनथ्यो होला नि’ भनेँ। मेरो कुरा सुनेपछि बाले ‘नोकर बन्न को जान्छ चिनी मिल’ भन्ने जवाफ दिनुभयो।

वि.सं. २०४३/०४४ तिर हरिवनमा चिनी उद्योग स्थापना भएपछि कामदार खोज्दै ठेकेदारहरू हाम्रो गाउँतिर पनि आएका थिए रे। त्यतिबेला हाम्रा बालाई पनि ‘चिनी मिलमा काम गर्ने भए हिँड्नुस् बाजे’ भनेका रहेछन्। तर, बाले ‘मलाई अर्काको नोकर बनेर पेट पाल्नुछैन’ भन्ने जवाफ दिएर पठाउनुभएछ।

चिनी मिलको कामलाई बाले उपेक्षा गरे पनि १५ वर्ष पुग्दा नपुग्दै हामी काम खोज्दै त्यही चिनी मिल जान थाल्यौँ। एसएलसी दिएपछि प्रायः गाउँका सबै युवा चिनी मिलका मजदुर बन्थे। चिनी मिलमा काम गर्न मन नलाग्नेहरू दिल्लीतिर लाग्थे। एसएलसी सकिँदा नसकिँदै काम खोज्दै दिल्ली र कलकत्ता जाने लहर नै चलेको थियो।

त्यतिबेला रोजागारीका लागि कि चिनी मिल कि भारत जानुपर्छ भन्ने मान्यताजस्तै थियो। दिल्ली जानेहरू दसैँमा ‘एक्सन’ कम्पनीका सेता जुत्ता टल्काउँदै घर फर्किन्थे। उनीहरू जंगलमा गाईवस्तु चराउन जाँदा पनि त्यही जुत्ता लगाएर जान्थे। जुत्ता हुनेका फुर्ती नै बेग्लै।

चिनी मिलमा ८ घण्टा काम गरेको ३२ रुपैयाँ ज्याला पाइन्थ्यो। सँगै पढेका धेरैजसो साथी एसएलसीपछि रोजगारी खोज्दै दिल्लीतिर लागे पनि मेरो जीवनको रोजगारीको पहिलो गन्तव्य भने त्यही चिनी मिल भयो। रोजागरीको लागि दिल्ली नजाने गाउँमा सायद म मात्रै थिएँ।

एक सयमै पाइन्थ्यो, गोल्डेन स्टार जुत्ता। दसैँ आउन १५ दिनजति बाँकी थियो। बिहान चिनी मिलमा ड्युटी गर्न गएको म साँझ जुत्ता लगाएर घर फर्किएँ।

घर पुग्नासाथ बाको हातमा मैले एउटा झोलाको पोको थमाइदिएँ, जसमा थियो- बाका लागि अर्को जोर जुत्ता अनि रेडियोमा हाल्ने एकजोर ब्याट्री। मैले लगाएको जुत्ता त बाले पहिल्यै देखिसक्नुभएको थियो। झोलामा अर्को जोर जुत्ता पनि देखेपछि बाले भन्नुभयो– ‘केटाले गर्छ क्यारे!’

२१ असोज ०६९। दसैँ आउन केही दिन मात्रै बाँकी थियो। बाले हामीलाई सधैँका लागि छाडेर जानुभयो। १० असोज २०७७। आठ वर्षअघि जस्तै भयो- दसैँ आउन केही दिन मात्रै बाँकी थियो, आमाले पनि छाडेर जानुभयो!

अब उहाँहरू कहिल्यै फर्केर आउनु हुनेछैन। तर, दसैँ बर्सेनि आइरहन्छ। जसले बा-आमाको सम्झना अझ गाढा बनाइदिन्छ। हार्दिक श्रद्धाञ्जली आमा-बा!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .