ad ad

ब्लग


खान युनिसमा खसेको इजरायली बम, नेपालमा परेको ऐँठन

खान युनिसमा खसेको इजरायली बम, नेपालमा परेको ऐँठन

छोरा हमजाको अन्तिम संस्कारमा आफ्ना अन्य सन्तानका साथ हमजा अल दाहदुह


सीताराम बराल
पुस २४, २०८० मंगलबार २१:८, काठमाडौँ

चार वर्षअघि मेरो बुबाको निधन भयो। हृदयाघातका कारण आकस्मिक निधन भएपछि म यति धेरै विचलित भएँ– ६ महिना त मानसिक रुपले सामान्य अवस्थामा समेत फर्किन सकिनँ। 

जब म केही लेख्न खोज्थेँ, बुबालाई सम्झन्थेँ। उहाँको सम्झना र उहाँको जीवन बचाउन नसकेको पीडाले मेरो मुटु नराम्रोसँग थर्थरिन्थ्यो। 

इजरायलद्वारा प्यालेस्टिनीहरूको नरसंहार भइरहेको युद्धग्रस्त गाजाको आइतबार (२२ पुस) को एउटा घटना त्यसैगरी मेरो मुटु थर्थराउने समाचार बन्यो।  

त्यसदिन इजरायलले गाजापट्टीको खान युनिसस्थित शरणार्थी शिविरमा ड्रोन हमला गरेको थियो। हमलामा परी अलजजिराका क्यामरापर्सन हमजा अल–दाहदुहले ज्यान गुमाए। 

आफ्ना अन्य तीन सहकर्मीहरुको साथमा रहेका हमजा सवार गाडी खान युनिस र रफाहबीचको सडकमा थियो। 

गुडिरहेको कारमाथि इजरायलले हवाई हमला गर्यो। घटनास्थलमै हमजाको दुखद मृत्यु भयो। 

हमासको नामोनिसान मेटाउने नाममा गाजामा भइरहेको इजरायली  नरसंहारमा झण्डै २३ हजार प्यालेस्टिनीहरुले ज्यान गुमाइसकेका छन्। युद्धस्थलमा रिपोर्टिङ गरिरहँदा इजरायली आक्रमणमा परी मारिने पत्रकारहरुको संख्या समेत बढिरहेको छ। 

आइतबारकै कुरा गरौँ, आइतबारको हवाई हमलामा ज्यान गुमाउने हमजा अल–दाहदुह एक्ला थिएनन्, त्यो आक्रमणमा स्वतन्त्र पत्रकार मुस्तफा थुरायाको पनि मृत्यु भयो। बाँकी दुई पत्रकार सख्त घाइते छन्।  

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’– कवि दुर्गालालद्वारा रचित आनी छोइङले गाएको गीतले भनेझैँ यतिबेला इजरायलका अपराधी आँखाले गाजापट्टीमा रहने सबैलाई काँडा मात्रै देखिरहेको छ र उसले अन्धाधुन्ध हमलामार्फत् त्यो स्थललाई चिहानघारीमा परिणत गर्न खोजिरहेको छ। 

युद्धको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई पनि इजरायलले ‘हमास आतंकवादी’ ठान्ने गरेको छ। र, उनीहरुमाथि मिसाइल प्रहार गरिरहेको छ।   

हमजा अल–दाहदुह सहकर्मी स्वतन्त्र पत्रकार मुस्तफा थुरायासँगै प्यालेस्टाइनको माटोमा विलीन भइसकेका छन्। 

तर हमजा अल–दाहदुहका पिता वायल अल–दाहदुहले तीन महिनायता भोग्नु परेको एकपछि अर्काे पारिवारिक पीडा र वेदना जब मैले सुनेँ, सोमबार दिउँसोको एकक्षण मैले आँखाबाट आँसु रोक्न सकिनँ। 

यो घटना यति पीडादायी लाग्यो कि, बितेको रात म राम्रोसँग निदाउन पनि सकिनँ। 

स्व. हमजाका पिता वायल अल–दाहदुह पनि पत्रकार हुन्। उनी प्यालेस्टाइनस्थित अलजजिरा ब्युरोका संवाददाता हुन्। 

इजरायली आक्रमणमा पत्रकार वायल अल–दाहदुहले प्रियजन गुमाएको यो पहिलो घटना थिएन। तीन महिनाअघि (अक्टोबरमा) इजरायलको यस्तै आक्रमणमा वायलले ८ जना पारिवारिक सदस्य गुमाएका थिए।  

हमासले २० असोज (७ अक्टोबर) मा इजरायलमाथि हमला गरी करिब १२ सयको ज्यान लिएको बदलास्वरुप त्यही शैलीमा इजरायलले पनि हमास नियन्त्रित प्यालेस्टिनी बस्ती गाजापट्टीमा आक्रमण थाल्यो। 

आक्रमण गाजापट्टीको उत्तरी भेगबाट सुरु भयो। पत्रकार वायल अल–दाहदुह पनि उत्तरी भेगको बासिन्दा थिए। 

हमलाअघि इजरायलले उत्तरी गाजाको बस्ती खाली गर्न उर्दी जारी गर्यो।

यो उर्दीसँगै वायल अल–दाहदुहको परिवार त्यहाँबाट विस्थापित भयो। उनीहरु दक्षिणतर्फको नुसरत शरणार्थी शिविरमा सरे। 

तर आफ्नै उर्दीपछि उत्तरी गाजाबाट विस्थापित प्यालेस्टिनीहरुले शरण लिइरहेको नुसरत शरणार्थी शिविरलाई पनि इजरायलले बाँकी राखेन। गत अक्टोबरमा इजरायलले त्यहाँ हवाई हमला गर्यो। 

नुसरत शरणार्थी शिविरमाथि इजरायलको हवाई हमलाका बेला वायल अल–दाहदुह गाजाकै अर्काे भागमा रिपोर्टिङमा व्यस्त थिए। 
 
शरणार्थी क्याम्पमा गरिएको त्यसदिनको इजरायली हमलामा मारिने २१ निर्दाेष प्यालेस्टिनीमध्ये वायल अल–दाहदुह पत्नी नमजा पनि थिइन्। 

वायलपत्नी नमजाले मात्र होइन, इजरायलको त्यो आपराधिक हमलामा यो परिवारका अन्य सदस्यले पनि ज्यान गुमाए। 

वायलका १५ वर्षका छोरा मोहमद, ७ वर्षीया छोरी शाम र नाति एडमपनि त्यसदिनको इजरायली आक्रमणमा मारिए। 

क्याम्पमै रहेका वायलका अर्का छोरा येहिया गम्भीर घाइते भए। 

यो दुखद घटनाबारेको समाचारमा अलजजिराले भनेको थियो, ‘नुसरत शरणार्थी शिविरमा इजरायलले गरेको हवाई हमलामा हाम्रा प्यालेस्टाइन संवाददाता वायल अल–दाहदुहका परिवारका ४ जना मारिएका छन्। सबैजना गरी यो घटनामा वायलको परिवारका ८ जनाले ज्यान गुमाएका छन्।’

निर्दाेषहरुको अकाल मृत्यु प्यालेस्टिनी नागरिकहरुको नियति बनेको छ। बर्बर इजरायली हमलाका कारण गाजा चिहानमा परिणत भइरहेको छ। 

यति भन्न कुनै अप्ठेरो मान्नु पर्दैन, ‘हमास–आतंकवाद’ को जग इजरायलको यस्तै आपराधिक व्यवहारमा निहित छ। 

अक्टोबरमा वायलले भोगेजस्तै नियति हजारौँ प्यालेस्टिनीहरुले वर्षौँदेखि भोगिरहेका छन्। पत्रकार वायलले यस्ता सयौँ घटना आफ्नै आँखाले देखेका छन्।  

पत्नी र लालाबाला गुमाएका यी ५५ वर्षे पत्रकारले पनि युद्ध, मृत्यु, पारिवारिक वियोग र पीडालाई आफ्नो जीवनको स्वाभाविक नियति स्वीकार गरिसकेका छन्। 

यस्तो नियति– जसलाई स्वीकार्दै, पीडाहरुलाई मनमा दबाउँदै आफ्नो पेसा र कर्तव्यमा फर्कनुबाहेक अर्काे विकल्प छैन। 

तीन महिनाअघि पत्नीसहित लालाबाला गुमाएका उनी १५ डिसेम्बर २०२३ (२९ मंसिर) आफैँ मृत्युको साक्षी बने।  

हमजा अल दाहदुह र वायल अल दाहदुह

त्यसदिन खान युनिस शरणार्थी शिविर (जहाँ इजरायलले आइतबार हवाई हमला गर्यो र उनको छोरा हमजा मारिए) स्थित हाइफा स्कुलमा इजरायलले हवाई हमला गरेको थियो। 

इजरायली हमला हुनासाथ वायल रिपोर्टिङका लागि त्यतै दौडिए। साथमा अलजजिराका भिडिओ पत्रकार सामेर अबु दाक्वा थिए। दुवैजना रिपोर्टिङमा व्यस्त थिए। प्यालेस्टिनी मूलका भए पनि पत्रकार सामेर बेल्जियन नागरिक थिए। 

उनीहरु जहाँ बसेर समाचार कभर गरिरहेका थिए, इजरायलले प्रहार गरेको मिसाइल त्यहीँ खस्यो। वायल र सामेर दुवै गम्भीर घाइते भए। 

सामेरको तुलनामा वायल अलिक कम घाइते थिए। उनी जसोतसो सुरक्षित स्थानमा लगिए। सामेर भनेर उठ्न सक्ने स्थितिमा थिएनन्। उनको शरीरबाट तीव्ररुपमा रक्तश्राव भइरहेको थियो। 

मुस्लिम मुलुक भए पनि इजरायल–अमेरिकासँग सुमधुर सम्बन्ध भएको अरब मुलुक कतारद्वारा सञ्चालित टेलिभिजन च्यानल हो, अलजजिरा। 

यसैआधारमा अलजजिराले सामेरको उद्धारका लागि एम्बुलेन्स पठाइदिन इजरायली पक्षसँग पटक–पटक अनुरोध गर्यो।

तर, इजरायलले यो अनुरोध सुनेन। सामेरको उद्धारका लागि न इजरायली सेनाले एम्बुलेन्स पठायो, न त अरुले उद्धार गर्न सक्ने गरी घटनास्थलमा जाने बाटो खुला गर्यो।   

सामेरले मृत्युसँग पाँच घण्टा संघर्ष गरे। जीवन–मृत्युबीचको पाँचघण्टे संघर्षमा सामेर पराजित भए। इजरायली आक्रमण र उपचार सम्भव हुँदाहुँदै पनि पत्रकार सामेरको चोला घटनास्थलमै उड्यो। 

अक्टोबरमा लालाबालासहित जीवन–धर्मिणी गुमाएका वायलले दुई महिनापछि २९ मंसिरका दिन यसरी आफूसँगै रिपोर्टिङमा रहेका सहकर्मी सामेरलाई गुमाए। 

प्यालेस्टिनीमाथि यति ठूलो ज्यादती भइरहँदा पनि हामी बोल्न सक्ने स्थितिमा छैनौँ। 

‘हमासले ७ अक्टोबर (२० असोज) देखि बन्धक बनाएका विपिन जोशी लगायतलाई छुटाउन यो कारबाही गरिएको हो,’ भनिदिएको छ, हामीलाई कसैले। 

हामी चुप छौँ। 

त्यसो त, हामीले बोल्दा पनि हुने केही छैन। इजरायलबाट निर्दाेष प्यालेस्टिनीहरुको नरसंहार भइरहँदा अरब मुलुकहरु नबोलेका छैनन्। सबै अरब मुलुकहरु मिलेर इजरायलविरुद्ध अघि बढे भने इजरायलको पनि केही जोर चल्दैन। 

तर, इजरायली आक्रमण रोक्न अरब मुलुकहरु एकजुट भएर अघि बढे भने अमेरिका ढाल बनेर उभिन्छ। तोप बनेर अरब मुलुकहरुमाथि जाइलाग्न अघि सर्छ।  

हमासलाई निर्मूल पार्ने नाममा वायल अल–दाहदुह र हजारौँ प्यालेस्टिनीहरुको परिवार नै उजाडिने गरी इजरायलले अहिले गाजामा जुन नरसंहार मच्चाइरहेको छ, यो नरसंहारको जरोमा यही ‘भूराजनीति’ जिम्मेवार छ।  

यस्तो स्थितिमा हामीजस्ता पत्रकार, हाम्रो जस्तो मुलुकले उठाउने आवाज कति निम्छरो बन्न पुग्छ, आर्मेनियाली पत्रकार नेली मार्गारयानले गत कात्तिकमा मलाई बताएकी थिइन्। 

चिनियाँ सहर माओथाईको भ्रमण टोलीमा आर्मेनियाली सरकारी समाचार संस्था ‘आर्मेनप्रेस’ की डेपुटी एडिटर इन–चिफ नेली पनि थिइन्। 

नेली अंग्रेजी बुझ्दैनथिन्। उनले बोल्ने रुसी र आर्मेनियाली भाषा मलाई आउँदैनथ्यो। 

उनीसँग परिचय हुनासाथ नागोर्नाे–काराबाखको विषयमा भएको आर्मेनिया–अजरबैजान युद्धबारे मैले उनीसँग जिज्ञासा राखेको थिएँ।   

गाजामा अहिले इजरायलले जसरी प्यालेस्टिनीहरुको नरसंहार गरिरहेको छ, केही वर्षअघि नागोर्नाे–काराबाखमा अजरबैजानले पनि त्यही गरेको थियो। आर्मेनियाली भाषा बोल्नेहरु त्यहाँबाट सोत्तर बनाइएका थिए।  

नेलीका पति पनि पत्रकार छन्। कुराकानीका क्रममा उनले बताइन् कि, राजधानी एरेभानमा उनीहरु मात्र बस्छन्। उनीहरुका कुनै सन्तान छैनन्।  

यति कुरा बताउँदै गर्दा उनको अनुहार एकाएक उदास देखिन थालेको थियो।  

तर, मैले उनको फेसबुकमा मैले उनको एउटा पुरानो तस्बिर देखेँ। त्यो तस्बिरमा नेलीको काखमा एउटा सुन्दर बच्चा थियो। नेलीले काखमा लिएको बच्चाको हात उनका पति रायरले चुमिरहेका छन्। 

काठमाडौँ फर्केपछि पनि बेला–बेला म्यासेन्जरमा उनीसँग कुराकानी भइरहन्छ। कुराकानीको विषय अक्सर आर्मेनिया–अजरबैजान युद्ध र नागार्नो–काराबाख बन्छ। 

उनले नागोर्नाे–काराबाखका आर्मेनियाली भाषा बोल्नेहरुमाथि अजरबैजानले गरेका ज्यादतीबारेका समाचार आफ्नो फेसबुक पेजमा सेयर गरिरहेकी हुन्छिन्। 

‘त्यो युद्धबारे केही लेख्न सकिएला?’ केही हप्ताअघि मैले उनीसँग जिज्ञासा राखेको थिएँ।  

‘मलाई सबैभन्दा धेरै डर युद्धबाट लाग्छ, मैले सबैभन्दा धेरै घृणा गर्ने विषय युद्ध नै हो,’ उनले भनिन्, ‘किनकि, युद्धबाट सबैभन्दा धेरै पीडित बालबालिका हुन्छन्, त्यसपछि वृद्ध–वृद्धाहरु!’ 

(केही वर्षअघि उनको काखमा रहेको बच्चाको हातमा रायरले चुम्बन गरिरहेको त्यो तस्बिर, तर अहिले आफूहरु निसन्तान रहेको उनको जवाफ र त्यसपछि सुरु भएको उदासी, अनि युद्धबाट बालबालिकाहरु सबैभन्दा बढी प्रभावित हुन्छन् भन्ने उनको यो भनाइ सम्झँदा लाग्छ– कतै उनको परिवार पनि युद्धबाट पीडित पो हो कि! यो कुरा सोध्ने आँट मैले उनीसँग गरेको छैन।) 

उनले थपिन्, ‘युद्धबाट पीडित आर्मेनियालीहरुको सोलिडारिटी (ऐक्यबद्दता) का लागि लेख्न त तिमीले सक्छौ। तर, त्यो ‘सोलिडारिटी’ को तुलनामा हजारौँ गुणा बढी शक्तिशाली छ– भूराजनीति। त्यही भूराजनीतिका कारण नागोर्नाे–काराबाखवासीमाथिको अत्याचार तत्काल अन्त्य हुने सम्भावना देखिँदैन।’  

गाजामा भइरहेको इजरायली नरसंहारको सन्दर्भमा पनि यही भूराजनीति लागू हुन्छ।  

मैले लेखेर निन्दा गर्दैमा गाजामा भइरहेको प्यालेस्टिनीहरुको नरसंहार इजरायलले रोक्ने छैन। यो अपराध अमेरिकी धापका कारण सम्भव भएको हो। मैले धिक्कार्दैमा इजरायलको काँधमा लगाइरहेको धाप पनि अमेरिकाले हटाउने छैन।  

सहानुभूतिस्वरुप मैले लेखेको यो ‘ब्लग’ युद्धपीडित प्यालेस्टिनी  नागरिकहरुले पनि पढ्न सक्ने छैनन्। कसैले अनुवाद गरेर सुनाइदिएछ नै भने पनि यसले उनीहरुलाई मल्हमको काम गर्ने छैन। 

इजरायलको बर्बर आक्रमणका कारण गाजा आम प्यालेस्टिनी र पत्रकारहरुको चिहान बनिरहेको छ। वायल अल–दाहदुह र उनको परिवारमाथि पटक–पटक निसाना साँध्ने काम इजरायलबाट भइरहेको छ। 

त्यसैले, यो कुरा पनि राम्रोसँग थाहा छ, मैले चाहेर पनि वायल अल–दाहदुहसँग यो धरतीमा भेट हुने सम्भावना क्षीण छ। उनको जीवन खतरामा छ। 

तर पनि यो ब्लगमार्फत् उनलाई एउटा छोटो आभार–सन्देश पठाउन चाहन्छु। 

प्रिय वायल अल–दाहदुह! 

यति ठूलो पारिवारिक वियोग र शोक, अनि जीवन असुरक्षित छ भन्ने जान्दाजान्दै जसरी युद्धस्थलबाट तपाईंले पत्रकारितालाई अघि बढाइरहनु भएको छ, पत्रकारिताप्रतिको तपाईंको यो लगाव समकालीन पत्रकारितामा अनुपम नमुना हो र हाम्रो पुस्ताका लागि मार्गदर्शन! पेसाप्रतिको तपाईंको यो लगाव सधैँ स्तुत्य र स्मरणीय रहनेछ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .