ad ad

ब्लग


खाजा के खाने? मैदा?

खाजा के खाने? मैदा?

सुरज पराजुली
माघ १७, २०८० बुधबार १३:१, काठमाडौँ

घडीको सुई दिउँसोको १ बजेबाट उता नाघेपछि भोकले सताउन थाल्छ। यो भोकको निवारण गर्न अधिकांश कार्यालयहरूले समय नै छुट्याएका हुन्छन्। भोक लाग्नासाथ हरकोहीको मनमा एउटा प्रश्न खेलिहाल्छ ‘आज खाजा के खाने?’

र, यसको तयारी जवाफ हो ‘मैदा।’

‘भोक त अरूबेला पनि लाग्छ नि’ भन्ने तपाईँलाई लाग्न सक्छ। दिउँसोको भोक र त्यसको निवारण खोज्ने क्रममा मैदाको आधिपत्यबारे झल्याँस्स भएको हुनाले समय नै तोकेको हुँ। कार्यालयले छुट्याएको समयमा टाढा-टाढासम्म फरक खाजा खोज्दा पनि मैदा नै भेटिएको या रोज्न बाध्य भएको यथार्थले मलाई निकै समयदेखि चिमोटिरहेको थियो।

हामीलाई याद नभएको हुनसक्छ अथवा याद नगरेजस्तो गरेका हुन सक्छौँ। विडम्बना के छ भने बिहान उठ्नासाथ हाम्रो दिन मैदाबाट सुरु भइदिन्छ। थरीथरीका बिस्कुट, पाउरोटी, दुनोट या समोसा समाउन चाहन्छौँ। मौका पाउनासाथ अरूलाई स्वास्थ्यको सल्लाह दिन तम्तयार हामी आफ्नै खान्कीमा भने उति ध्यान दिँदैनौँ। विभिन्न किसिमका अस्वस्थ खाद्य पदार्थलाई सजिलै हाम्रो भान्सामा प्रवेश गराउँछौँ।     

गाउँघरका मौलिक खाजाहरूमाथि मैदाजन्य खाद्य पदार्थले अतिक्रमण गरिसकेका छन्। ‘जति मेन्यु हेरे पनि आखिर रोज्ने म:म र चाउमिन नै हो।’ यो भनाइ निकै चर्चित छ। मैदाले कसरी हाम्रो रोजाइमा समेत सीमितता ल्याइदिएको छ, यसले सजिलोगरी बुझाउँछ। हुन त बजारमा फलफूल, मकै, चना, अण्डा, सुख्खा रोटी, नेवारी खाजा जस्ता खानेकुरा पनि उपलब्ध छन्। तर मैदाको स्वादमा लिप्त भएको जिब्रो अन्त्यमा त्यही रोज्न बाध्य हुन्छ। यही कुरालाई बुझेर होला देशकै ठूला उद्योगपतिले यसलाई मुख्य व्यापार बनाए।  

कुनै पनि किसिम या स्तरको खाजा घरमा गएर अथवा नगएर पनि हामी मैदाको सिकार भइदिन्छौँ। सामान्य खाजा घरमा गएर खाएको म:म, चाउमिन होस् या ठूला रेस्टुराँमा गएर खाने पिज्जा, बर्गर सबै मैदाकै परिकार हुन्। समोसा, निम्की होस् या लाफिङ।

‘आज त नान खाऊँ’ भन्दा पनि मैदा, ‘होइन बिस्कुट नै टोकम’ भन्दा पनि मैदा। पानीपुरी, दुनोट, केक सबै मैदाकै परिकार हुन्। यति मात्र होइन मैदाबाट सेलरोटीसम्म बन्न थालेका छन्। यता क्षणिक स्वादले उता दीर्घ असर पुर्‍याउन सक्छ। कसरी... ?       

मैदा गहुँको माथिल्लो पत्र उप्काएर बनाइन्छ। जसमा कुनै फाइबर हुँदैन। क्याल्सियम पेरोअक्साइड, क्लोरिन, क्लोरिन डाइअक्साइड जस्ता रसायन प्रयोग गरेर मैदालाई सेतो बनाउने काम गरिन्छ। जसले शरीरलाई हानि पुर्‍याउँछ। मैदाजन्य परिकार मानव पाचन प्रणालीलाई पचाउन गाह्रो हुन्छ। यसले पेटको रोग निम्त्याउनुका साथै कब्जियतको समस्या समेत हुन्छ।

यो कोलेस्ट्रोल र रगतमा ट्राइग्लिसराइडको स्तर बढाउने र सुगर लेभल तथा मधुमेहको कारक पनि बन्न सक्छ। यसमा प्रयोग हुने बेन्जोइल पेरोअक्साइड नामक रसायनले क्यान्सर समेत निम्त्याउन सक्ने जानकारहरू बताउँछन्।

घुम्दै फिर्दै रुम्जाटार भने झैँ खाजा खोज्दै जाँदा हामी अन्ततः मैदाकै शरण पर्नुपर्ने अवस्था छ। मानव इतिहासमा पिठो बनाउने प्रक्रिया ३२ हजार वर्ष पहिला सुरु भएको हो। मैदाको प्रयोग भने करिब ५ हजार वर्षबाट भएको देखिन्छ। यद्यपि यसको बृहत् प्रयोग हुन थालेको भने केही वर्ष अघिबाट मात्र हो। छोटो समयमा नै यसले धेरै देशका मानिसहरूलाई आफ्नो दास बनाएको छ भन्दा फरक पर्दैन।

केही वर्ष अघिसम्म खाजाको रूपमा मैदाको प्रयोग कम हुने गरेको सम्झना मलाई छ। मौसम अनुसारका फलफूल, तरुल, इस्कुस, सखरखण्ड, आलु, चना, मकै, पुवा, खिर, भुटी भात खाएको याद छ। तर बिस्तारै पसलहरूमा बिस्कुट, चाउचाउ, सिन्के थुक्पा लगायतका परिकारहरू भेटिन थाले। यी तयारी खाजाले मैदाको बानी मात्र बसाएनन्, स्वस्थ खाजा बनाउने जाँगर समेत मेटाए। जिब्रोलाई स्वादे मात्र होइन, तिघ्रोलाई अल्छी पनि बनायो।

इन्स्ट्यान्ट नुडल्स र फास्ट फुडको बढ्दो बजार मैदाले नै फैलाएको साम्राज्य हो। अहिले देखिएका विभिन्न रोगका मुख्य कारक पनि यस्तै अस्वस्थ खानेकुरा हुन्। यस्ता खानेकुराले विभिन्न समुदायका परम्परागत खानेकुरालाई समेत लोप बनाउँदै लागेको छ। टुँडिखेलमा आयोजना हुने विभिन्न सांस्कृतिक महोत्सवमा लागेका स्टलहरू हेर्दा पनि परम्परागत खानेकुरा लोप हुँदै गएको देख्न सकिन्छ। यस्तै सांस्कृतिक महोत्सव घुम्न जाने क्रममा मैले उपस्थित धेरै मानिसहरूलाई उनीहरूको रैथाने खानेकुराको बारेमा सोधेको थिएँ। जसको उत्तर उनीहरूसँग थिएन। अधिकांश स्टलका मालिकहरूले पनि यिनै हुन् भनी तारेको/पोलेको मासु, चाउमिन, म:म बाहेक केही बताउन सकेनन्।

यसरी पसल हुँदै घरको भान्सासम्म आइपुगेका मैदाजन्य परिकारले हामीलाई चपाउँदै गएका छन्। जिब्रो हुँदै मस्तिष्कमा पुगेर राज गरिरहेका छन्। यथाशीघ्र यसको विकल्पमा ध्यान नदिए मानव सभ्यताको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुग्ने कुरामा कुनै दुईमत छैन। आफ्नो स्वास्थ्यको चिन्ताले होला केही दिनबाट म चाहिँ फलफूल, चना आलु, अण्डा, मकै, बारातिर लागेको छु।

तपाईँहरू आज खाजामा के लिँदै हुनुहुन्छ? त्यही मैदा?!             

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .