ad ad

ब्लग


हिमालयन जाभामा सुनिएको स्मृति‍-दंशको कथा

हिमालयन जाभामा सुनिएको स्मृति‍-दंशको कथा

इन्द्रबहादुर देवकोटा
माघ २७, २०८० शनिबार १७:२४, काठमाडौँ

हिमालयन जाभा, कफीको प्रख्यात ब्रान्ड बनेको छ। इथियोपियाबाट सुरूवात भएको कफी पिउने चलन पन्ध्रौँ शताब्दीमा यमन हुँदै अहिले विश्वव्यापी भएको छ। कफी पिउने संस्कार हाम्रो देशमा पनि लोकप्रिय भएको छ। हाम्रोमा कफी संस्कार विस्तारमा हिमालयन जाभा अग्र स्थानमै आउँछ सायद।

भूमण्डलीकरण र वैश्विक युगको प्रभावले गर्दा यो सम्भव भएको हो। आजभोलि काठमाडौँ लगायत सहरी क्षेत्रमा कफीको लोकप्रियता बढ्दो छ। तरूण, युवा, वयस्क र पाको उमेरका सबैमा कफी संस्कार बढ्दो छ। यसलाई अम्मल, सान वा मानको रूपमा लिने गरिएको छ। कफी विचारविमर्शको माध्यम पनि बनेको छ। भेटघाटको मेलो पनि कफी नै छ।

अझ, कफीको चुस्कीसँगै ज्ञान आदानप्रदान गर्ने थलो नि क्याफे नै बनेका छन्। जे होस्, सम्बन्ध विस्तारको थलो नि कफी क्याफे, आराम गर्ने स्थान नि कफी क्याफे, मित्र मिलन स्थान पनि कफी क्याफे र विचारविमर्श गर्न जमघटको थलो पनि क्याफे नै बनेका छन्।

यति मात्र नभएर व्यापार व्यवसायका योजना बनाउने, उद्यम विस्तार गर्ने, सर्जकहरूले भेटघाट तथा सिर्जना सार्वजनिकीकरण गर्नेसम्मका लागि उपयुक्त थलो पनि कफी क्याफे नै बन्न पुगेका छन्। सहज पहुँच, सफा र स्वस्थ वातावरण, आकर्षक सजावट, आनन्दमय सेवा, सौहार्दपूर्ण व्यवहार, मगमग कफीको बास्ना आदिका कारण कफी क्याफे लोकप्रिय भएका छन्।

लामो समयको अन्तरालपछि भेट भएका साथीको अनुरोधमा म पनि साथीसँग हिमालयन जाभा छिरेँ। एक छेउको टेबल हाम्रो भलाकुसारीको स्थल बन्यो भने अर्कोतिरको टेबल हामीसँगसँगै क्याफे छिरेका अरू दुईजना युवकको थलो बन्न पुग्यो। अर्को टेबलका ती दुई युवक हामीसँग अपरिचित थिए।

हामी हाम्रै कुरामा व्यस्त थियौँ। उनीहरूले पनि कुराकानी सुरू गरे। अर्को टेबलका ती युवक पनि लामो समयको अन्तरालमा भेटेका रहेछन् भन्ने उनीहरूका कुराकानीबाट स्पष्ट हुन्थ्यो। उनीहरू कलेज जीवनको संस्मरण गरिरहेका थिए। ती युवकहरू कलेज जीवनका स्मृतिमा डुबुल्की मार्न पुगे। उनीहरूका साथीसँग टाढा भएका, कलेज जीवनमा भएका माया प्रेम छुटेका गफ थिए।

गफ रसिला थिए। उनीहरूले हामीले सुन्ने गरी गफ गरिरहेका थिए। अझ भनौँ, उनीहरू विगतको संस्मरणमा मस्त थिए, व्यस्त थिए। आफ्नो वरिपरि कसले के गरिरहेको छ, आफ्ना कुरा अरूले सुने कि, अझ आफ्ना कुराले अरूलाई केही बाधा पुर्‍यायो कि भन्ने खासै हेक्का, प्रवाह थिएन उनीहरूलाई।

विगतका स्मृति पनि रमणीय हुन्छन्। राम्रो कामका स्मृति सकारात्मक रहन्छन्। जीवनलाई ऊर्जा दिन्छन् भने नराम्रो घटनाका कारण सिर्जित स्मृति नकारात्मक हुन्छन्। स्मृति सकारात्मक हुन् वा नकारात्मक हुन्, स्मृति भनेका स्मृति नै हुन्। सकारात्मक स्मृतिले मनलाई चङ्‍गा बनाउन पुग्छन्। यस्ता स्मृतिमा यात्रा गर्न, तरङ्गीत हुन बेग्लै आनन्द हुन्छ। मान्छे यसैमा हराउँछ र रमाउँछ।

अझ भनौँ, सुखका स्मृतिले ऊर्जा दिन्छन्, स्मृति स्पर्श गर्छन् वा स्मृति स्नेह गराएको अनुभूति दिन्छन् र स्मृति वर्षा नै गराउँछन्। नकारात्मक घटनाका स्मृतिले बेलाबेलामा चसक्क घोच्न पुग्छन्। पीडा दिन्छन्, चिन्ता दिन्छन् र विगतमा भएका भूलले ग्लानि सिर्जना गर्छन्। यी दु:खका स्मृति विस्मरण गर्न नि निकै समय लाग्ने हुन्छन्।

स्मृति वास्तवामा के हुन्, किन स्मरणशेष हुन्छन् त भन्ने पनि रहस्य नै छ। विगतमा भएका घटना, परिवेश, कार्य आदिका मस्तिष्कमा शेष अभिलेख नै स्मृति हुन्। मान्छेले गरेका कामका अभिलेख सबै स्मृतिका रूपमा नरहन पनि सक्छन्। जुन भुलिन्छ, ती विस्मृतिमा रूपान्तरित हुन पुग्छन् र सपनाकृत हुन सक्ने सम्भावना रहन्छ भनी मनोपरामर्श शास्त्रले भन्छ रे। तर जुन स्मृति स्मरणमा रहन्छन्, ती विपना र सपना दुवैमा पछ्याइरहन्छन्। स्मृतिले कुनै न कुनै रूपमा मान्छेलाई डोर्‍याइरहन्छन्। खुसी, सफलता, दु:ख, असफलता लगायतका हरेक अवस्थाका क्षणक्षणमा झलझली आइरहुनु नै स्मृति जीवन्तता हुनु हो।

बाल्यकालका सम्झना, विद्यालयका सम्झना, विश्वविद्यालयका सम्झना, कुनै घटना-परिघटनाका सम्झना वा जीवनका हरेक क्षणमा गरेका कार्यका सम्झनाका मतिष्कमा अभिलेख भइरहनु र बेलाबेलामा विविध प्रसंगमा सम्झनु नै स्मृति हुन्। राम्रो काम, राम्रो नतिजा, असल व्यवहारबाट सिर्जना भएका स्मृतिले ऊर्जाशील वातावरण निर्माण गर्छन्।

यस्ता स्मृतिले अहिलेको जीवनचर्यामा रौनकता थप्छन् भने विगतमा भएका कमीकमजोरी, गल्तीबाट सिर्जित स्मृतिले डस्छन्, पोल्छन्, चिमोट्छन र पश्चाताप उत्पन्न गर्छन् भनिन्छ। यसलाई नै स्मृति-दंश भन्न सकिन्छ। जसरी सर्पले डस्छ, त्यसरी नै विगतले डस्छ। सर्पले आफूमाथि खतरा छ भन्ने महसुस गरेपछि मात्र डस्छ। उसलाई चलाए वा जिस्काए डस्छ तर स्मृतिहरूले नचलाएरै मस्तिष्कमा फ्याट्ट आएर डस्छन्, दंश गर्छन्।

जे होस्, स्मृति सकारात्मक हुन् वा नकारात्मक हुन्, यिनलाई शिक्षाको रूपमा ग्रहण गर्नुपर्छ। भविष्यको योजना, मार्गनिर्देशका लागि पाठको रूपमा लिनुपर्छ र आधारको रूपमा प्रयोग गर्नुपर्छ। स्मृति होसियारीका सूचक हुन्, जोखिम न्यूनीकरणका उपाय हुन्। विवेकशील कार्यका हतियार हुन्। भविष्यमा गल्ती नगर्ने नैतिक दर्शन हुन्। जीवन अनुशासित बनाउने खम्बा हुन्। अबका कार्य, पहल र जीवन मर्यादित बनाउने सशक्त औजार हुन् स्मृति।

जीवनका गीता हुन्, महाभारत हुन् र हुन्- नीतिशास्त्र। अत: स्मृति-दंशबाट पाठ सिकी आउँदो कार्य प्रतिफलयुक्त बनाउनुपर्छ। स्मृतिलाई अवसरमा रूपान्तरित गर्नुपर्छ। स्मृति-दंश होइन, स्मृति-स्नेहमय हुने वातावरण निर्माण गर्नुपर्दछ।

मान्छे नकारात्मक स्मृतिग्रास भएमा प्रतिकूल अवस्थातिर जान सक्छ। तनाव, निराशा, कुण्ठा, असन्तुष्टि, वैराग्यतिर गई जीवन व्यवस्थापन गर्न कठिन हुन जान्छ। अत: सकारात्मक स्मृतिबाट उत्साहित भई नकारात्मक स्मृतिलाई विस्मृतिमा रूपान्तरण गर्नुपर्दछ।

मैले माथि उल्लेख गरेका युवकका गफ विगतका स्मृतिमा आधारित थिए। कलेज जीवनमा भएका रमाइला क्षण, विभिन्न साथीहरूका बानी व्यहोरा, आचारव्यवहार, युवास्थामा एकले अर्कोलाई मनपराएका, कति व्यक्त प्रेम त कतिका अव्यक्त प्रेमका कथा थिए। कलेजमा घनिष्ट भएर पनि विविध कारणले हाल सँगसँगै हुन नसकेका, अहिलेसम्म पनि त्यतिखेर मनपराएका साथीका सम्झना आइरहने लगायतका मीठा कथा थिए। त्यस्तै कुनै कुनै साथीसँग विभिन्न कारणले सम्बन्ध प्रगाढ हुन नसकेका व्यथा थिए।

उनीहरूले छोटो समयमै धेरै गफ गरे। उनीहरू विगतका गफमा खुलस्त थिए, एक किसिमले छरफस्ट भएका थिए। उनीहरूका गफले हामीलाई पनि रोमाञ्चित बनाउन पुग्यो। एकजनाले त आफूले मनपराएकी साथीलाई जीवनसाथी बनाउन नसकेको, अन्जानमा एकजना साथीको चित्त दुखाएको कुराले पिरोल्ने गरेको कुरा व्यक्त गर्दै थिए। उनलाई अहिले त्यसो नगरेको भए हुन्थ्यो भन्ने लाग्दो रहेछ।

विगतका स्मृतिले केही चिमोटे जस्तो, डसेजस्तो अनुभव साटासाट गरिरहेका थिए। यी उनीहरूका स्मृति कथा-व्यथा थिए। उनीहरूका यी गफ सबैका विगतका प्रतिनिधि स्मृति थिए। कसैले स्मृति व्यक्त गर्लान् त कसैले अव्यक्त रूपमै सुसुप्त राख्लान्।

विविध क्षेत्र, अवस्था, परिस्थिति आदिका स्मृति सबैमा हुन्छन् नै। यिनै स्मृतिले उच्च कोटिका सिर्जना दिन सक्छन् वा महान् दर्शन दिन सक्छन्। अनुभव, सिकाइ र असल पाठ दिन सक्छन्।

ती युवकका कुराकानी, स्मृति सबैका प्रतिनिधि कथा र व्यथा भएकोले उनीहरूका गफका आधारमा सन्दर्भ मिलाएर मैले यसरी केही गीति हरफ पङ्क्तिवद्ध गर्न पुगेँ-

हिजो हामी नजिक थियौँ आज भयौँ टाढा
फेरि अब हुन्न होला माया हाम्रो गाढा।

पहिले पहिले भन्ने गर्थ्यौँ बाँचे मेरै लागि
कुन वैरीले भाँजो हाल्यो गयौ आज भागी।
भने हुन्थ्यो गल्ती भए माग्थेँ मैले माफी
कोमल मन भाँचियो नि सबै सीमा नाघी।।
हिजो............

तिम्रो मनमा के के थियो मेरोमा नि थियो
भन्नै नपाई मनका कुरा सम्बन्ध चुँडियो।
अब फेरि जोडिएला र मायाको त्यो तार
नजोडेरै मन मुटु भइयो वार पार।।
हिजो............

         

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .