१७ असोज २०८१। देशलाई दसैँले छोपिसकेको छ। नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना। अधिकांशको घरमा जमरा राख्ने तरखर गरिँदै थियो।
अरू बेला मानिस नै नभएझैँ लाग्ने पहाडका लेकपाखा अबका केही दिनमा पाइलाहरूले भरिनेवाला थिए। वर्षभरि प्रायः एकदुईजना मात्र देखिने घरहरू भरिभराउ हुनेवाला थिए। सन्तानलाई यो मन पर्ने र त्यो नपर्ने छनोटमा बुढा बाआमा व्यस्त थिए।
विविधि काममा घर छोडेर बाहिर बसेका सन्तानलाई कसैले स्वागत गरिसकेका थिए, कोही छिट्टै स्वागतको प्रतीक्षामा थिए।
यसरी नै कमाउन परदेशिएका लमजुङका उपेन्द्र पनि दसैँ लागेकै दिन अर्थात् घटनास्थापनाको राति घर फर्किए। घर त फर्किए तर अरूहरूले झैँ खुसी लिएर फर्केनन्।
घरको दैलोमा टेकेर ‘आमा’ भनेनन्। श्रीमतीलाई सन्चै छौ नि? भनेर सोधेनन्। आफ्नो अनुपस्थितिमा पसल कस्तो चल्दैछ भनेर पनि सोधपुछ गरेनन्। काखका छोरीलाई अँगालोमा बेरेनन्। ठूली छोरीको पढाइबारे जिज्ञासा राखेनन्।
उनी किन यति निर्दयी भए? पहिले–पहिले पनि उनी धेरैपटक विदेश–आउजाउ गरेकै थिए। घर पुग्नुभन्दा १०० मिटर अघिबाटै छोरी–छोरी भन्दै कराउने उनले यसपटक एक शब्द पनि बोलेनन्! के पर्यो उनमा त्यस्तो बज्रपात? जसले उनको आवाज खोसेको छ।
***
‘मामु हाम्रो बाबा त बित्नुभयो रे नि?’ स्कुलबाट फर्केकी १२ वर्षे छोरीले आमालाई यो जिज्ञासा राख्दा उनको होसहवास् उड्यो।
नउडोस् पनि कसरी! घरव्यवहार मिलाउँदा लागेको ऋण तिर्न भनी श्रीमान् विदेश हिँडेको बल्ल चौथो महिना टेक्दै थियो। झन्डै डेढ दशक परदेशलाई कर्मथलो बनाएका श्रीमान् ५/६ वर्षअघि ‘अब विदेश पुग्यो, घरगाउँमै केही उद्यम गर्छु’ भनी फर्केका थिए।
उद्यम पनि सुरु गरे– स्टेसनरी पसल। ठिकठिकै चलेकै थियो। तर, यतिले मात्र पुग्ने छाँटकाँट देखेनन्। ऋणमामिला बाँकी नै रह्यो। अनि, फेरि केही वर्ष तातोभूमिमै कर्म गर्ने निष्कर्ष निकाले। अनि घुमाउन थाले संयुक्त अरब इमिरेट्स (दुबई) दुबईतिर रहेका आफन्त र साथीभाइलाई फोन।
एक समय उनलाई दुबई पानी–पँधेरो जस्तै थियो। नहोस् पनि किन? १४/१५ वर्ष त उनले त्यतै बिताएका हुन् नि! साथीभाइ कमाएकै थिए। केही चिनजानका कम्पनी पनि हुँदा हुन्।
विदेश नै हानिने भएपछि उनलाई उचित गन्तव्य त्यतै लाग्यो। तीन महिनाको ‘भिजिट भिसा’ पाइहालिन्थ्यो। उतै पुगेपछि बाँकी प्रक्रिया पुर्याएर कमाउने मेलो कस्ने सुर कसे।
देशको मायाले भनुँ कि परदेशको कठिनाइ? ६ वर्षअघि अन्तिमपटक छोड्दा उनले अब पनि फेरि यहीँ आउँछु भनेर सायदै सोचेका थिए। देशमा युवा अड्याउन नसक्नु कसको कमजोरी? प्रश्न गम्भीर छ।
नफर्कने निर्णयसहित आएपछि उनले गाउँमै सानोतिनो स्टेसनरी पसल खोलेका थिए। यहाँ छँदा आफैँले सम्हाल्ने उक्त पसल उता पुगेपछि पनि अनलाइनमार्फत श्रीमतीलाई सहजीकरण गरिरहेका थिए।
तर, एकहप्तादेखि उनी सम्पर्कमा नहुँदा यता श्रीमती हायलकायल थिइन्। मनमा ढ्याङ्ग्रो ठोकिइरहेकै थियो। त्यसमाथि छोरीको प्रश्नले उनको मनमा थेगिनसक्नुको छटपटी बढ्यो। आँखामा कालो बादल मडारिन थाल्यो।
तुरुन्त काठमाडौँमा रहेका देवरलाई फोन घुमाइन्। ‘सडक दुर्घटनामा परेर अस्पतालमा भर्ना भएको खबर आफूले सुनेको’ जवाफ पाइन्।
यता गाउँमा भने ‘गाडी दुर्घटनामा परी फलानाको अन द स्पट डेथ भयो रे’ भन्ने खबर फैलिइसकेको थियो।
देवर राजीवले आफूले पाएको पूरा खबर भाउजूलाई सुनाएनन्। उनले सुनेको समाचार पनि गाउँलेले फैलाएको हल्लाभन्दा कम थिएन। उनी आधिकारिक सूचनाको लागि दौडधुपमा थिए।
दुबईस्थित ‘लमजुङ समाज यूएई’ गठन गरी लमजुङ जिल्लावासीहरू पहिल्यैदेखि एकत्रित थिए। दुर्घटनामा परे भनिएका उपेन्द्रकुमार घिमिरे पनि सोही संस्थामा आबद्ध भएकोले समाजले चासोपूर्वक घटनाको खोजी गर्न राजीवलाई सहयोग गर्यो।
लगभग एक हप्ताका यो अवधिलाई पंक्तिकारले पनि नजिकबाट नियालिरहेको थियो। पीडितका भाइ राजीवको फेसबुक म्यासेन्जरमा दुबईका नेपालीले पठाएका सन्देशमा मृत्यु लगभग पक्का जस्तै देखिन्थ्यो तर पुष्टि भइसकेको थिएन।
केही दिनको प्रयासपछि उनी त्यहाँस्थित नेपाली दूतावासका कर्मचारीसँग टेलिफोन पहुँचमा पुगे। दूतावासको रेकर्डमा निधन भएको देखियो।
दुबईबाट आवुधाबी जाने क्रममा भएको सडक दुर्घटनामा परी उनको निधन भएको र मृत शरीर आबुधावी प्रहरीमा रहेको जानकारी दूतावासको थियो।
दूतावासले त्यहाँको प्रहरीलाई सम्बोधन गरी लेखेको पत्र जारी गरिदियो। पत्र बुझेर प्रहरीकोमा जाने काममा समाजले सहयोग गर्यो। प्रहरीले मृतकसँगको नाता सम्बन्ध (ब्लड रिलेसन) खोज्यो।
एकपछि अर्को उल्झन पाखा लगाएपछि २७ भदौमा (१२ सेप्टेम्बर)मा मृत्यु प्रमाणपत्र म्यासेन्जरमा आयो। प्रमाणपत्रमा मृत्यु उल्लेख भएको मितिअनुसार यतिन्जेलसम्म ९ दिन बितिसकेको थियो।
अब चुनौती थियो शवलाई नेपाल ल्याउने। नेपालस्थित वैदेशिक रोजगार विभाग, दुबईस्थित नेपाली दूतावासले शव नेपाल झिकाउने कार्यमा सहजीकरण गरे। यसमा समाजको भूमिका पनि अग्रपंक्तिमा छँदैथियो।
***
घटस्थापनाको दिन। अधिकांश घरमा जमरा राख्ने तयारी चलिरहेको थियो। यता राजीवलाई भने बेलुका साढे ७ बजे एयरपोर्टमा शव बुझ्न जानुथियो।
हिमालयन एयरलाइन्सको उडानले तोकिएको समयभन्दा डेढ घण्टा ढिलो उपेन्द्रलाई नेपाली माटोको स्पर्श दिलाइदियो।
वैदेशिक रोजगार विभागको सहजीकरणले काठमाडौँ उतारिएका उनलाई विभागकै वाहनले सोही राति लमजुङको माटोमा स्पर्श गर्न पुर्यायो।
हो, यतिखेरै हो उनी अत्यन्तै निर्दयी बनेको। न आमा भनेर बोलाए, न श्रीमतीको सन्चोबिसन्चो सोधे, न छोरीहरूलाई अँगालोमा बेरे।
दसैँ सुरु भएकै दिन चिरनिद्रामा घर आइपुगेका उनलाई अब भोलि खरानी बनाइँदै थियो।
लमजुङको मध्यनेपाल नगरपालिका–४ स्थित घर नजिकैको मादी नदी। जहाँ उनी बाल्यकालमा पौडिँदै हुर्किए। त्यहीँ उनको भौतिक शरीर खरानी बन्नेवाला थियो।
भर्खर ४० टेकेका उपेन्द्र घरमा आमा, श्रीमती र दुई छोरीलाई छोडेर कमाउनका लागि विदेशिएका थिए। तर, उडेको ३ महिनामै उनको देह दैवले टिप्यो।
देशका आम युवालाई झैँ घरको औसत आर्थिक अवस्थाले उनलाई लामो समय परदेशी बनायो। परदेशी जीवन त्यागेर स्वदेशमै उद्यम गरे। तर, युवालाई स्वदेशमा अड्याउन नसक्ने देशको परिस्थितिको शिकारमा फेरि पनि परे।
३ महिने ‘भिजिट भिसा’लाई भर्खर ‘वर्किङ भिसा’मा परिणत गरे। कमाउने मेलो सुरु गर्दैथिए दैवका प्यारा भए।
उनी त सकिए नै। उनकै भरथेगमा चलेको परिवारमाथि पनि बज्रपात पर्यो। घरको मियो ढल्यो। ढलेको मियोमा सान्त्वना पाउने आधार पनि अलपत्र रह्यो।
दसैँमा गाउँ फर्केका अरू रौनक लिएर छिरे, हर्षोल्लासका साथ चाड मनाउन। उपेन्द्र पनि दसैँमै घर फर्के, कफिनभित्र बसेर। अरूका घरमा बडादसैँको रौनक छ, रंगीचंगी माहौल छ। उनको परिवार सेतो पहिरनले उजाडिएको छ।
Shares

प्रतिक्रिया