ब्लग


फिल्म र क्यान्सरपछि म जीवनको तेस्रो घुम्तीमा आइपुगेकी छु

‘मृत्युको बोध गर्नेलाई धेरै कुराले बाँध्दैन’
फिल्म र क्यान्सरपछि म जीवनको तेस्रो घुम्तीमा आइपुगेकी छु

मनीषा कोइराला
फागुन १५, २०८१ बिहिबार १९:४७, पोखरा

मेरो जीवनका तीन घुम्तीहरू छन्। जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म उद्योग जहाँ मैले कसैलाई चिनेकी थिइनँ। जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन। नयाँ ठाउँ, नयाँ वातावरणमा गएर त्यहाँ संघर्ष गर्नु मेरा लागि नयाँ मोड थियो। 

दोस्रो मोड, जब मलाई क्यान्सर भयो, त्यो पनि एकदमै नयाँ वातावरण थियो। मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर। त्यो दोस्रो घुम्ती भयो।

तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षकी भएँ। मेरो कोसिस के छ भने नौलो जिन्दगी हुने छ। मसँग यत्रो वर्षको भोगाइ, पीडा र दुःख–सुःखको एउटा अनुभव छ। त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने भनेर अहिले तेस्रो घुम्तीमा छु। 

जवान हुँदा मसँग असाध्यै ऊर्जा थियो। त्यसैको प्रभावले कहिले निकै उचाइमा पुगेँ, खस्दा पनि छर्लंग नै खसेँ। 

क्यान्सरले ग्रसित हुनु मेरो जीवनको एउटा महत्त्वपूर्ण समय थियो। त्यसैले जहिल्यै पनि सम्झन चाहन्छु। जीवन भएपछि मृत्यु हुन्छ, हुन्छ, हुन्छ। र त्यतिखेर म मृत्युको बोधले या भयले घेरिएको थिएँ। एक्लोपनले गिजोलेको थियो। मृत्यु, मलाई लाग्छ हामी सबैको एक न एक दिन हुन्छ। कसैको छिटो, कसैको ढिला। तर, हामीले एक दिन भोग्नु नै पर्छ। 

मैले बाँच्न पाएँ भने कस्तो जीवन बाँच्ने भनेर मैले त्यतिखेर नै सोचेको थिएँ, ल यस्तो, यस्तो, यस्तो गर्छु भनेर। बाँच्न पाएँ। अहिले त्यही बाटोमा म हिँडिरहेको छु।

क्यान्सरको उपचार गर्न अस्पतालमा बस्दा आशावादी त म थिइनँ। म निराश थिएँ। लाग्यो, यही मेरो जीवनको अन्तिम क्षण हो। अन्तिम दिनहरू हो। 

असाध्यै हीनताबोध के भइरहेको थियो भने मैले जीवन पाएँ तर त्यसको भरपूूर उपयोग गर्न सकिनँ। त्यसको दुरुपयोग गरेँ। म क्यान्सरले ग्रसित हुँदा ४१ वर्षको थिएँ। मैले ४१ वर्षसम्म बाँच्न पाएको थिएँ। उपयोग आफैँले बाँच्न गरेँ भनेर असाध्यै हीनताबोध भएको थियो। 

हस्पिटलको बेडबाट धेरै कुरा सिक्न पाएँ त्यतिखेर। आफन्त को हो भनेर, आफन्त देखिने भनेको को रहेछ? जीवनमा के महत्त्वपूर्ण रहेछ? के संवेदनशील छ? के संवेदनशील छैन भनेर। 

क्यान्सर हुनुभन्दा पहिले मलाई लाग्थ्यो, ‘जीवन अनन्त छ, मेरो अन्त्य छैन भनेर। अहंकार जस्तो थियो।’ हामीले आफ्नो मृत्युको बारेमा सोचेकै हुँदैनौँ। अब त कहिले मर्ने थाहा भएन। मर्ने त निश्चित छ भनेर धेरै कुरा मनमा आयो। एक्लोपन असाध्यै भयो। डर असाध्यै लाग्यो। बाँच्छु, जिउँछु? कतिसम्म बाँच्छु र कहिलेसम्म कुन हालतमा बाँच्छु? किमो लिइसकेपछि मेरो जिउ कस्तो खाले हुन्छ भन्ने पनि थाहा थिएन। अपांग भएर बाँच्छु कि भन्ने सोचहरू मनमा आएको थियो। भगवानको कृपा हो, अहिले म जे छु, जस्तो छु। 

जब हस्पिटलमा थिएँ, त्यतिखेर मैले सोचेको मान्छेहरू, माया गरेको मान्छेहरू मसँग कोही आएनन्। मेरो आमाबुवा र निकट साथीहरूभन्दा बाहेकका एउटा-दुइटा आए। मेरो त जमातै हुन्थ्यो, ठूलो सर्कलमा साथीहरू थिए। त्यतिखेर कोही भएन। म एक्लो निराश भएर हस्पिटल बेडमा बसिराखेको हुन्थेँ। 

एकजना डाक्टर हुनुहुन्थ्यो। हरेक आइतबार मकहाँ आउनुहुन्थ्यो। पूरा दिन मसँग बस्नुहुन्थ्यो। एकचोटि बस्नुभो। दुुईचोटि बस्नुभो। मेरो मनमा धेरै प्रश्नहरू आउन थाले। एक दिन त मैले आफूलाई रोकेर सोधेँ, ‘तपाईँ आइतबार यहाँ आएर बस्नुहुन्छ। न्युयोर्कको राम्रो हस्पिटलको डाक्टर हुनुहुन्छ। त्यहाँ तपाईं यति व्यस्त हुनुहुन्छ हप्तैभरि। आइतबार एक दिन पाउनुहुन्छ त्यो आफ्नो परिवार, आफूलाई रिल्याक्स गर्ने दिन हो। तर, तपाईं मकहाँ आउनुहुन्छ। तपाईँ मेरो फ्यान पनि होइन। साथी पनि होइन। किन आएर मसँग बस्नुहुन्छ। आफ्नो महत्त्वपूर्ण समय मर्ने व्यक्तिलाई किन दिइरहनुभएको छ?’

उहाँले भन्नुभयो, ‘मनीषाजी सो द्याट यु डु दिस समबडी एल्स्।’

म अवाक् भएँ। उहाँले आफूलाई भनेर होइन कि थाहा रहेछ म एक्लो छु भनेर। र मलाई साथको खाँचो छ भनेर। त्यसैले उहाँ आउनुभो। उहाँलाई इच्छा रहेछ मैले पनि त्यसै गरिदिऊँ, कसैलाई परेको बेलामा। 

हरेक मान्छेहरूको सोच फरक हुन्छ। तपाईंसँग एकजना होस्, दसजना होस्, कोही नहोस्। तर, तपाईं शान्त हुनुहुन्छ भने केही हुँदैन। हामीलाई गाह्रो कहाँनेर हुन्छ भने जब हामीले अपेक्षा राख्छौँ। यसले माया गर्देला, मलाई दुःख परेको बेलामा यो मान्छे उभिन्छ होला भनेर अपेक्षा गर्छौं। तर, उभियो भने ठीकै छ नउभिए पनि ठीकै छ नि त भनेर स्वीकार गर्न सक्नुपर्छ। माया प्रेम पाए पनि राम्रो नपाए पनि राम्रो। ब्यालेन्ससिटको फर्मुलामा गयो भने गाह्रो हुन्छ। 

उचाइमा पुग्दा पनि मान्छेको दृष्टिकोणमा भर पर्छ। म युवा हुँदा नाक आकाशतिर फर्काएर हिँड्थेँ। इगो धेरै बुस्ट हुन्छ। मेरो सेकेन्ड इनिङमा मैले सफलता पाएँ र यसमा रमाएँ। किनभने मैले असाध्यै मेहनत गरेँ, त्यसमा सफल भएँ। मैले आफैँलाई असाध्यै आशीर्वाद दिएँ। मैले आफैँले स्याबास् भनेँ पनि। तर, मलाई यति थाहा छ- यी सबै सकिने रहेछ। जिन्दगीको सत्य अस्थायी हो। भोलि के हुन्छ थाहा हुँदैन।

उचाइमा पुग्दा सीमितता हुन्छ। अब यो पछि के गर्ने भन्ने हुन्छ। त्यो क्षण नै अपेक्षा गर्ने तर सँगै बग्ने होइन। हामी मनुष्य हरेकको जीवनमा साझा सत्य के हुन्छ भने निराशा, सफलता। हामी सफल पनि देख्छौँ, ओरालो झरिरहेका पनि हुन्छौँ। सानो होस् या ठूलो कुरा होस्, कहीँ हामीलाई धेरै माया, इज्जत दिइन्छ। त्यो सधैँभरका लागि हुँदैन। भोलि गएर कहीँ अपमान, बेइज्जती सहनुपर्ला। म धेरै नै ओरोलोमा झर्न चाहिनँ र धेरै नै उचाइमा पुगेर पागल पनि हुन चाहँदिनँ भन्ने मानवीय स्वभाव रहेछ। 

जब मैले जिन्दगीलाई बुझ्दै गएँ धेरै बुझ्ने भएँ। युवा अवस्थामा म पनि सानो कुराले चित्त दुख्दा म ओहो! मीनाकुमारी भन्थेँ। एकदम निराश हुने। हरेक चिज परिवर्तन हुन्छ। अहिले जब उमेर बढ्दै गयो लाग्छ– हरेक चिज परिवर्तनशील छन्। जिन्दगी बुझेर बाँचेको राम्रो। 

क्यान्सर भएर बेडमा हुँदा मैले सोचेको थिएँ– जिन्दगीलाई सुधार गर्छु। जसले मलाई साँचो माया गरेको छ, जो अहिले मसँग उभिएको छ त्यो सम्बन्धलाई अपनत्व महसुस गराउँछु, झन् सुदृढ गराउँछु, मेरो करियरलाई पहिलाको ठाउँमा ल्याउँछु। त्यो सबै एकएक गर्दै हिँडिराख्या छु अहिले। धेरै मान्छेले बम्बईमा फेरि करिअर सुरू हुन्छ भनेर सोचेका थिए। किनभने मलाई सिनेमा मन पर्छ। अभिनय, कथाहरू भन्न, सुन्न, हेर्न मन लाग्छ। तर, मेरो अर्को पाटो खुलिसकेको छ। अब म जिन्दगी बाँच्न चाहन्छु। जहाँ मेरो आत्माले भन्छ, जहाँ मलाई खुसी लाग्छ, त्यो बाटो हिँड्दै जान्छु जहाँ मलाई दिमागले नबाँधोस्। म जिन्दगीलाई खुला गर्दैछु। 

मनमा एउटा सोच थियो, म जुन उचाइमा थिएँ। फेरि त्यही उचाइमा लगेर म निर्णय लिन्छु। निरन्तर गर्छु कि गर्न चाहँदिनँ। किनभने, जो मान्छेले मृत्युको बोध गरेको हुन्छ त्यसलाई धैरै कुराले बाँध्दैन। म पहिले पनि त्यतिसारो बाँधिएको मान्छे होइन। तर, एउटा फ्लोमा करिअर थियो। मैले कडा मिहिनेत गरेपछि म राम्रो काम गर्न सक्दो रहेछु र राम्रो काम गरेपछि एक्कासि जिन्दगीले जोडले मलाई लगेको थियो। एकदमै महत्त्वाकांक्षी भएर म अगाडि बढेको होइन। पहिला पनि म त्यस्तो महत्त्वाकांक्षी होइन, अहिले पनि छैन। 

मलाई अनुभव हुन्छ मैले केही महत्त्वाकांक्षा प्रयोग गरेँ, जब केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेँ। तर, पूर्ण क्षमतावान् थिएँ, महत्त्वाकांक्षी हुनका लागि।  

मेरो राजनीतिक व्यक्तिको जस्तो दिमाग छैन। म धैरै कलात्मक, सिर्जनशील, जिप्सी छु। राजनीतिक परिवारमा हुर्किएपछि केटाकेटीदेखि नै राजनीतिको बारेमा सुन्दासुन्दा रुचि कम छ। राजनीति सजिलोसँग बुझिन्छ। 

नेपाली सिनेमाको अहिले राम्रो समय छ। ‘पूर्णबहादुरको सारङ्गी’ भन्ने सिनेमा छ नि, पहिलो ५० करोड बढी कमाउने। यो सुरुआत हो। किनकि, पहिलेपहिले नेपाली सिनेमाको बजेट र निर्माताले पाउने बजेट ३० लाख मात्रै हो। अहिले सय करोडमा पुगेपछि सम्भावनाका ढोकाहरू खुलेका छन्। 

हामीले सिर्जनशीलता दिनुपर्छ। नेपाली समाजमा किताब पढ्नेहरू बढी छन्। त्यसको मतलब यदि कसैले सिर्जनशील फिल्म बनाउँछ भने हाम्रो आफ्नो माटो, परम्परा, कथाहरू फिल्ममा हालेर विश्वस्तरको बनाउन सक्छौँ। त्यस्ता फिल्म निर्माताहरू युवापुस्ताहरूमा देखिएका छन्। 

(क्यान्सरलाई पराजित गरेकी अभिनेत्री मनीषा कोइरालासँग पत्रकार विजय कुमारले पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिवलमा गरेको संवादमा आधारित)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad