ब्लग


विकट चेपाङ बस्तीमा बिजुली बालेका कुलमान काठमाडौँ पुग्न हतारिँदै थिए

विकट चेपाङ बस्तीमा बिजुली बालेका कुलमान काठमाडौँ पुग्न हतारिँदै थिए

सुनिता विष्ट
चैत १२, २०८१ मंगलबार ८:५३, काठमाडौँ

सोमबार मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका नागरिकको लागि सबैभन्दा खुसीको दिन। एकातिर पहिलोपटक गाउँमा बिजुली बत्ती बल्दै थियो। अर्कातिर उज्यालो नेपालका नायक भनेर चिनिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गाउँमा आउँदै थिए।

राक्सिराङको माहोल बिहानै देखि समाइलो थियो। अझ भनौँ, अघिल्लै दिनदेखि नै गाउँमा बिजुली बत्तीको उद्घाटन गर्ने तयारी भव्य रुपमा चल्दै थियो।

जसै कुलमान गाउँमा पुगे, चेपाङ जातीले पञ्चेबाजा र झाँकीसहित उनको भव्य स्वागत गरे। स्थानीयले मायाले उनेका सुन्दर फूलका माला कुलमानका गलामा सजिए।

सुरुमै बाजागाजासहित स्वागत गरिएका कुलमानलाई कार्यक्रम स्थलसम्म पुग्दा बीच बाटोमै रोकेर ५/६ ठाउँमा स्थानीयले भव्य स्वागत गरे। वर्षौंदेखि अध्यँरोमा जीवन गुजारिरहेका राक्सिराङका जनतालाई बिजुली बत्ती बाल्न पाउनु जतिको खुसी अरु के थियाे होला र?

चैतको पारिलो घाममा टाढा/टाढाबाट कुलमानलाई हेर्न आउनेको लर्को थियाे। ‘यत्तिका वर्षसम्म बिजुली नदिने सरकार भन्दा बिजुली दिने कुलमान नै हाम्रो सरकार हो,’ कार्यक्रम हेर्न आएका स्थानीय चेपाङ समुदाय गाइँगुइँ गर्दै थिए। 

‘यो मिटर किन्न परेको भए ५ हजार लाग्थ्यो रे, कुलमानले राहतमा देको भएर हाम्ले पैसा तिर्न नपरेको रे,’ उनीहरु यस्तै गन्थन गर्दै कार्यक्रमको प्रतीक्षा गरिरहेका थिए। 

तर, मञ्चमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेर बसेका कुलमानको मुहार भने उज्यालो थिएन। हुन त उनी त्यति बोलिरहने मान्छे पनि होइनन्। बोल्नको लागि त हाम्रा देशका नेता छँदैछन् नि! काम गर्नेले बोलिरहन आवश्यक देखेनन् पनि होला! 

कार्यक्रम चलिरहेकै थियो। शुभकामना मन्तव्य दिने क्रममा बागमती प्रदेश सभाका पूर्व सांसद ओम ग्लानले कुलमानले अनुहारमा हेर्दै भनेका थिए, ‘आज सिंहदरबारमा क्याविनेट बैठक बस्दै छ रे, अप्रिय घटनाको खबर सुन्न नपरोस्!’ 

उनले यति भन्दै गर्दा कुलमानको मात्रै होइन, कार्यक्रम स्थलमा उपस्थित भएका र उनको भनाइको तात्पर्यता बुझ्ने सबैको मुहार अध्याँरो बन्यो। 

हाम्रा ऊर्जामन्त्री ‘अब लोडसेडिङ हुन्छ’ भनिरहेका छन्। ओम ग्लानको भनाईले कार्यक्रम स्थलको माहोल एकाएक ग्रहण लागेजस्तो बन्यो। 

कुलमानलाई काठमाडौँ फर्कनुपर्ने हतारो थियो। दुर्गम गाउँमा पुगेका उनी कतिबेला चितवनको भरतपुर विमानस्थल पुगौँ भनेर हतारिँदै थिए। करिब दुई घण्टाको अन्तरालमा कार्यक्रम सकियो। बिजुली ल्याउन सहयोग गरेको भन्दै गाउँपालिकाले कुलमानलाई सम्मान गर्‍याे। 

हतारिदैँ काठमाडौँ हिडेँका कुलमान बीच बाटोमा पुग्दा नपुग्दै मन्त्रीपरिषद्ले उनलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने निर्णय गरिसकेछ।

कार्यक्रम स्थलमा कुलमानको स्वागतमा बजाइएका गीतहरुमध्ये प्रिती आलेको स्वरमा रहेको एउटा गीत थियो, ‘हो...यस्तो केटो त थुप्रै पाइया छ, हो...कुलमान घिसिङ जस्तो छोरो देशलाई चाहिया छ।’ 

यहि गीतमा स्वर मिसाउँदै उफ्रिरहेका नागरिकको थकान नमेटिँदै कुलमानले राष्ट्रसेवक बनेर काम गरेको पदबाट अपमानपूर्वक बिदा लिनुपर्ने स्थिती सिर्जना भएकाे छ। यो भन्दा दु:खद् परिस्थिति अरु के होला र?

गणतन्त्रमा नागरिको वाक स्वतन्त्रता हुन्छ। नागरिककै चाहना अनुसारको सभ्य समाज निर्माण हुन्छ भन्ने थाहा नभएका कमै होलान्। यसैले त होला, नागरिकले नचाहेकै निर्णय सरकारको मन्त्रीपरिषद्‍मार्फत गर्दा यतिबेला सामाजिक सञ्जाल तातेको छ। 

जुनसुकै दलका भए पनि कुलमानको पक्षमा स्टाटस लेख्नेको कमी छैन। अनि सरकारलाई गाली नगर्ने मान्छे भेट्न पनि मुस्किल नै छ यतिबेला।

सरकारले गलत गर्‍याे भन्ने आवाज नागरिकले उठाइरहेका छन्। 

हुन त सधैँ उज्यालाेमा बसेकाहरुले अध्याँरोको अत्याँस कसरी जानुन्? झलमल्ल उज्यालो सिंहदरबारबाट राक्सिराङ जस्ता विकट गाउँमा बिजुली पुगे/नपुगेको कसरी देखुन्? 

प्राधिकरण नाफामा गएकाे र अन्य देशमासमेत विद्युत् निर्यात गरिरहेको कुलमानको भाषणमा राक्सिराङको चेपाङ समुदायले गड्गढाहट ताली पिटेका थिए। अब यदि उनको पद गएर अन्य कार्यकारी निर्देशक भएपछि यस्तै गर्वले ताली बजाउन पाइएला कि नपाइला? 

कुलमानले मकवानपुरको राक्सिराङमा मात्रै होइन, यहाँको ९ नम्बर वडामा पर्ने अत्यन्तै विकट गाउँ खैराङमा बिजुली बत्ती पुर्‍याउने योद्धा भने कुलमान नै भएको यहाँका जनप्रतिनिधि दाबी गर्छन्।

बजेट अभावका कारण कहिल्यै विद्युतको पोल विस्तार गर्न नसकेको गाउँपालिकाले उनकै सहयोगमा विद्युत पुगेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad