इटलीमा केही सातायता कोरोना भाइरस संक्रमितको संख्या उच्च दरमा वृद्धि भइरहेको छ। हालसम्म ९० हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १० हजार नाघिसकेको छ। तर, इटलीको एउटा सानो सहरमा भने अवस्था ठिक उल्टो छ। सो सहरले कोरोना भाइरस उन्मूलन गरिसकेको दाबी गरेको छ।
३३ सय जनसंख्या भएको वो आइखानियो नामक यो सहर कोरोनाबाट सबैभन्दा बढी संक्रमित उत्तरी इटलीमा पर्छ। फेब्रुअरीको तेस्रो साता यहाँ एकै पटक थुप्रै संक्रमित फेला परेका थिए। फेब्रुअरी २१ मा यहाँ भाइरसबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो।
तर, त्यसयता यो सहरले भाइरसलाई यसरी नियन्त्रण गर्यो, जुन विश्वकै लागि उदाहरण बन्न सक्छ। भाइरस रोक्न संघर्ष गरिरहेका संसारका अन्य मुलुकले यो सानो सहरबाट सिक्न सक्छन्।
भाइरसबाट पहिलो व्यक्तिको मृत्यु भएपछि पूरै सहरलाई लकडाउन गरियो। सहरमा कसैलाई आउन र त्यहाँबाट कसैलाई जान दिइएन। केन्द्र सरकारको प्रतिनिधिले मात्र खाद्यान्न र औषधिलगायतका अत्यावश्यक सामग्री सहरमा लैजान पाउँथे।
त्यसपछि मार्च ६ बाट सहरका सबै नागरिक, अर्थात् ३३ सय जनाकै परीक्षण सुरु गरियो। लक्षण देखिए पनि, नदेखिएपनि परीक्षण अनिवार्य थियो।
परीक्षणपछि जो जो व्यक्ति संक्रमित थिए, उनीहरुलाई क्वारन्टिनमा पठाइयो। जसले भाइरस फैलिन दिएन।
१४ दिनभित्र पूरै सहरबाट भाइरस उन्मूलन भयो। समग्र जनसंख्याको परीक्षणबाट थाहा भयो, सहरका करिब ३ प्रतिशत मानिस संक्रमित भएका थिए। जसमध्ये आधामा कुनै लक्षण देखिएको थिएन। तर, परीक्षणमा पोजिटिभ पाइएको थियो।
पूरै सहरमा दुई साताको कडा लकडाउन र संक्रमितजतिलाई क्वारन्टिनमा राखिसकेपछि मात्र ०.२५ प्रतिशत बासिन्दा संक्रमित रहे। मार्च १३ देखि वो आइखानियोमा नयाँ संक्रमित फेला परेका छैनन्।
पहिलो चरणको परीक्षणमा वो आइखानियोमा ८९ जना पोजिटिभ देखिएका थिए। दोस्रो चरणको परीक्षणमा संक्रमितको संख्या ६ मा झरेको थियो।
समग्र परीक्षण र लकडाउनका कारण सो सहरमा भाइरस अनियन्त्रित हुन पाएन। जसका कारण परीक्षण, उपचारजस्ता स्वास्थ्य सेवामा भार पनि थपिएन। अर्को शब्दमा भन्ने हो भने भाइरसको लहरो फैलिन नपाउँदै निमोठ्ने काम भयो।
त्यसमाथि पहिले संक्रमित भएकाहरु पनि सबै जना निको भएका छन्।
‘गत दुई सातामा यहाँ एउटा आसलाग्दो पूर्वअध्ययनले गतिलो नतिजा दिएको छ, जुन भाइरस नियन्त्रणका लागि अन्य मुलुकका लागि पनि काम लाग्न सक्छ,’ युनिभर्सिटी अफ पादुवामा माइक्रोबायोलोजीका प्राध्यापक एन्ड्रिया क्रिस्टानी र इटालियन इन्स्टिच्युट अफ हेल्थको संक्रामक रोग विभागका पूर्व निर्देशक एन्टोनियो क्यासोनले लेखेका छन्।
तर, इटलीका अन्य क्षेत्रमा भने जजसको लक्षण देखिएको छ, तिनको मात्रै परीक्षण गर्ने निर्णय अधिकारीहरुले गरेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कै सुझावमुताबिक इटलीका सार्वजनिक स्वास्थ्य विज्ञहरुले यस्तो निर्णय गरेका हुन्। तर, संक्रमितमध्ये करिब ७० प्रतिशतमा लक्षण नदेखिने र सामान्य लक्षण मात्र देखिने हुनाले तिनले भाइरस फैल्याउने जोखिम रहने क्रिस्टानी र क्यासोन बताउँछन्।
वो आइखानियोमा जस्तो समग्र परीक्षण गर्दा त्यसले भाइरसको स्थितिको स्पष्ट तस्बिर दिने गर्दछ। तर, लक्षण देखिनेको मात्रै परीक्षण गर्दा धमिलो तस्बिर मात्रै देखिन्छ, जसले गलत तथ्यांक समेत दिने गर्छ।
त्यसैले अन्य मुलुकले पनि वो आइखानियोको उदाहरणलाई नजिकबाट हेर्न जरुरी छ।
ठूला सहर र अत्यधिक जनसंख्या भएका मुलुकमा यो सहरमा जस्तै सबैको परीक्षण गर्न मुस्किल हुनसक्छ। तर, भाइरसबाट आक्रान्त केही पकेट एरियामा यो रणनीति अपनाउन सम्भव हुन्छ। जसले तीव्र गतिमा फैलिरहेको भाइरसलाई रोक्न ठूलो सहयोग पुर्याउन सक्छ। जसले अस्पताल बेडको उच्च मागलाई घटाउन सहयोग गर्छ।
खोप उपलब्ध नहुन्जेल संक्रमित सबै (लक्षण देखिएका र नदेखिएका)को पहिचान गर्नु नै महामारी रोक्ने सबैभन्दा प्रभावकारी उपाय हो। यसलाई डब्लुएचओको पछिल्लो अभिव्यक्तिले पनि समर्थन गरेको छ।
‘सबै मुलुकलाई हाम्रो, सीधा सन्देश छ–परीक्षण, परीक्षण, परीक्षण,’ डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रिससले गत साता भनेका छन्, ‘सबै मुलुकले शंकास्पद केस परीक्षण गर्नुपर्छ। आँखा चिम्लेर उनीहरु यो महामारीसँग जुध्न सक्दैनन्।’
(अल जजिराबाट। मालभिल लन्डनस्थित मिडिया कन्सल्टेन्सी इस्ट प्वाइन्ट्स वेस्टका प्रबन्ध निर्देशक हुन्।)
प्रतिक्रिया