नेपालमा गणतन्त्र ल्याउन जनताले ठूलो संघर्ष गरे। २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो। तर अहिले पनि केही समूहहरू अझै राजतन्त्र र पुराना शासकहरूलाई आदर्श मानेर वंशको गुणगान गाइरहेका छन्। र, त्यो प्रयत्न कहिले सौन्दर्यको प्रशंसा त कहिले आलोचना थाम्न नसक्ने असहिष्णुताको रूपमा देखा पर्दछ।
भर्खरै अभिनेत्री सुरक्षा पन्तले एक अन्तर्वार्तामा हृदयन्द्र शाहबारे भनेकी थिइन्, ‘उहाँ गुड लुकिङ हुनुहुन्छ, आउनुस् फिल्म इन्डस्ट्रीमा स्वागत छ। आई होप अभिनय पनि सक्नुहुन्छ होला, कुनै आर्टतिर लाग्नुभयो भने राम्रो हुन्छ।’ उनको यो अभिव्यक्तिले अनपेक्षित तरिकाले विवाद सिर्जना गर्यो। सामाजिक सञ्जालमा उनीमाथि संगठित गालीगलौज र चरित्रहत्या गर्ने अभियान चलाइयो।
एक सामान्य अझिव्यक्तिमाथि यति आत्रोश किन? के अब हामीले आफनो विचार राख्न पनि डराउनुपर्ने हो?
सुरक्षा पन्तमाथिको आक्रमण केवल एक अभिनेत्रीप्रति भएको व्यक्तिगत आक्रमण होइन। यो लोकतान्त्रिक संस्थाहरू, विचारको स्वतन्त्रता र समानताको मूल्यप्रति आक्रोश हो। यसले नेपालमा अझै नागरिक स्वतन्त्रता कति नाजुक छ भन्ने देखाउँछ।
सुरक्षाको उक्त अभिव्यक्ति सामान्य थियो। उनले कसैलाई होच्याएको पनि थिएन। उनको त्यो भनाइमा एउटा स्पष्ट लोकतान्त्रिक अपेक्षा लुकेको छ। विगतका विशेषाधिकार प्राप्त व्यक्तिहरूले अब गणतान्त्रिक युगमा कर्मशील नागरिकको भूमिकामा प्रवेश गर्नुपर्छ। र हरेक नागरिकले कर्म गरेर पहिचान बनाउनुपर्छ।
यदि कुनै दिन कसैले भन्छ- ‘हृदयन्द्र शाह सुन्दर छन्, चलचित्र वा अन्य सामाजिक क्षेत्रमार्फत कर्ममा लाग्न सकून्।’ त्यसमा के आपत्ति? आखिर उनी पनि सर्वसाधारण नागरिक नै हुन्।
सुरक्षा पन्तले त सजिलो शब्दमा मात्र भनेकी थिइन्—‘कर्म गर्नुहोस्।’ तर राजावादीहरूलाई त्यो कुरा मन परेन। र त्यो वृत्तले त्यसको मनगढन्ते व्याख्या गर्दै उनीमाथि खनिए।
लोकतन्त्रको मर्म भनेको प्रत्येक नागरिक विचार राख्न, असहमति जनाउन, र शक्तिशाली पात्रहरूको मूल्याङ्कन गर्न स्वतन्त्र हुनु हो। के पूर्व राजसंस्थाका सदस्यहरूलाई कर्म गर्न जोड दिन मिल्दैन?
हाम्रो संविधानले धारा १७ मा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। जसले जे विषयमा होस्, विचार राख्न सक्छ। पूर्वराजपरिवारका सदस्यहरू अब सर्वसाधारण नागरिक हुन्, उनीहरूबारे खुलेर टिप्पणी गर्नु नागरिकको अधिकार हो।
तर सुरक्षा पन्तले कुनै राजनैतिक टिप्पणी पनि गरेकी थिइनन्। उनले व्यक्तिको रूपमा हृदयेन्द्रलाई कर्ममा लाग्न सुझाव दिइन्। हाम्रो समाजमा एउटी महिलाले कुनै अभिव्यक्ति दिँदा उसलाई अनैतिक, अश्लील, वा पाखण्डी ठहर गरिन्छ। जबकि यही कुरा पुरुषले भनेको भए गालीगलौज फरक हुन्छ। यसले हाम्रो समाजको चेतना महिलाप्रति कस्तो छ भन्ने पनि उजागर गर्छ।
सामाजिक सञ्जालमा राजावादी हुलले सुरक्षामाथि जुन प्रकारको हमला गर्यो, त्यो नागरिक असहिष्णुताको खतरनाक रूप हो। विचारको विविधिता नै लोकतन्त्रको सौन्दर्य हो, तर कुनै विचार राखेकै आधारमा सार्वजनिक रूपमा व्यक्ति टार्गेट हुनु भनेको नागरिक स्वतन्त्रताको क्षय हो। यो प्रवृत्तिले नेपालको लोकतन्त्रको लागि खतरा छ।
फ्रान्सेली क्रान्तिपछि लुई १६ औँको राजवंश, वा भारतको स्वतन्त्रता आन्दोलनपछि भारतका नरेश र रजवाडाहरूका वंशजहरू पनि सामान्य नागरिक बने। तिनीहरूको मूल्यांकन अब वंशको हैसियतले होइन, तिनले समाजमा गरेका कार्य र योगदानले हुन्छ।
इतिहासले हामीलाई सिकाएको छ। विचार स्वतन्त्रता मरेपछि लोकतन्त्र केवल नाममात्रको शासन हुन्छ।
यदि हृदयेन्द्र शाहले कला, साहित्य, समाजसेवा वा अन्य कुनै क्षेत्रमा उल्लेखनीय योगदान दिन्छन् भने तिनलाई त्यसै आधारमा सम्मान गरिनेछ। तर केवल पूर्वराजाको वंशज भनेर विशेष आदर र पवित्रताको आवरण दिनु लोकतन्त्रको आत्मामाथि अपमान हुनेछ।
सुरक्षा पन्तमाथिको हमलाले नेपालको सामाजिक चेतनामा अझै अधिनायकवादी अवशेष बाँकी रहेको देखाउँछ। गणतन्त्रमा वंशको महिमा होइन, कर्मको मूल्य हुन्छ। जुन विचार सुरक्षा पन्तले बोलीमार्फत व्यक्त गरिन्, त्यो गणतन्त्रको मूल आदर्शसँग मेल खाने विचार हो।
आज सुरक्षाको अझिव्यक्तिमा आत्रोश पोख्नेहरू भोलि अरू कसैको स्वतन्त्र विचारलाई पनि सहन सक्दैनन्। यसले संविधानले प्रत्याभूत गरेको नागरिक स्वतन्क्रता, समावेशिता, र बहुलवादमाथि आत्रमण गर्छ।
फ्रान्सेली क्रान्तिको समयमा राजसंस्थाको आलोचना गर्दा मानिसहरू जेल जान्थे। नेपालमा पनि राजसंस्थाको आलोचना गर्दा मानिसहरू जेल जाने र मारिने गरिन्थ्यो। तर त्यो आलोचनामाथिको दमनबाटै गणतन्त्रको जग बन्यो। अब युग परिवर्तन भइसकेको छ। गणतन्त्र स्थापनाको अर्थ नै वंशवादी सोचबाट नागरिक चेतनातर्फको रूपान्तरण हो। तर जब नागरिक चेतना वंशीय अन्धभक्तिको दबाबमा चुप लाग्न बाध्य हुन्छ, त्यहाँ संविधानको आत्मा मर्छ।
आज पनि ज्ञानेन्द्र शाह र पारस शाह कुनै सार्वजनिक कार्यमा संलग्न हुँदा त्यो स्वतः खबर बन्छ। तिनको विगतको गतिविधि जस्तोसुकै रहे पनि केही वर्गले तिनलाई ‘राजा आउने छन्’ भन्ने मोहले हेर्छन्। यस्तो मनोवृत्तिले परिवर्तन होइन, तानाशाह जन्माउँछ।
लोकतन्त्रको मूल्य भनेको विकल्पको स्वतन्त्रता हो। जब त्यही विकल्पको अभिव्यक्ति गर्न नदिने मानसिकता हाबी हुन्छ, त्यहाँ अधिनायकवादको खतरा सुरु हुन्छ। आज सुरक्षालाई गाली गर्नेहरू भोलि अर्को सचेत नागरिकको आवाज बन्द गर्न उद्यत हुनेछन्।
त्यो आत्मसमीक्षा गर्ने समय हो। नत्र, हामी आलोचनाको साटो कुण्ठा र डरको समाज निर्माण गर्नेछौँ, जहाँ विचार राख्न डर लाग्नेछ।
यदि हामी गणतन्त्रमा विश्वास गर्छौं भने, सुरक्षा पन्तले व्यक्त गरेको ‘कर्मको अपेक्षा’लाई अपमान होइन, लोकतान्त्रिक निगरानीको रूपमै लिनुपर्छ। र हामी सुरक्षा पन्तको पक्षमा उभिनु, केवल उनको समर्थन होइन, हाम्रो आफनै अभिव्यक्तिको अधिकारको रक्षा हो।
सुरक्षा पन्तले जुन कुरा भनिन्, त्यो नयाँ पुस्ताको चेत हो। त्यो चेत भन्छ, अब वंशको होइन, कर्मको मूल्यांकन गर।
Shares

प्रतिक्रिया