ब्लग


परम्परा तोडेर बिहे गरेकी छोरीलाई पूर्वमन्त्री पोखरेलको चिठी

परम्परा तोडेर बिहे गरेकी छोरीलाई पूर्वमन्त्री पोखरेलको चिठी

गिरिराजमणि पोखरेल
जेठ ४, २०८२ आइतबार १४:५७, काठमाडौँ

प्रिय समीक्षा,

सायद २६ फागुन, २०५१ मा हुनुपर्छ, तिम्रो बाबा मुरारीमणि पोखरेल र तिम्रो मामु लक्ष्मी गौतमको अदालती विवाह (कोर्ट म्यारिज) गर्ने योजना बनाए पनि कानुनी प्रक्रियाको समयावधिको कारणले फुलमालामा परिणत गरिएको थियो। मुरारी मेरो भाइ मात्र होइन, मेरो राजनीतिक यात्राको अभिन्न हिस्सा हो। लक्ष्मी बर्माबाट नेपाल आउदा बीएस्सी पास गरेकी थिइन्। दाजु शिव गौतमको प्रेरणाले उनी पनि समर्थक शुभेच्छुक हुँदै संगठित हुन थालेकी थिइन्।

परिवार र पार्टीगत छलफल गरेर उनीहरूको विवाह समारोह टुंगियो। काठमाडौंको डिल्लीबजारमा डेरा घरको छतमा विवाह समारोह फूलमाला लगाई, श्याम श्रेष्ठको कविता र हरिगोविन्द लुइँटेलजीको भूमिकामा सम्पन्न भएको थियो।

आज समयक्रममा ३१ वर्षपछि त्यही दृश्य दोहोरिएको छ। तिमी र सुवास अहिले केन्द्रविन्दुमा छौ। जिल्ला अदालत मोरङले तिमी र सुवासको प्रेम सम्बन्धलाई विवाहको रूपमा कानुनी मान्यता दियो। म तिमीहरूसँगै थिएँ। म असाध्यै चापको अवस्थामा पनि उपस्थित भएको थिएँ। म पार्टी कामको लागि डडेलधुरा हिँडिसकेको मान्छे बाटैबाट फर्किएको हुँ। फर्किने कि नफर्किने भन्नेमा मभित्र तीव्र द्वन्द्व थियो।

पार्टीको काम र मध्यपहाडी लोकमार्गको अभियानको आवश्यकताले म गइरहेको थिएँ र हृदयले असहज महसुस गरिरहेको थियो। मैले पार्टी नेताहरू खगराज भट्ट, लक्ष्मणदत्त जोशी र जगत पार्कीलाई विषय राखेपछि उहाँहरूले अभियानको तयारीको जिम्मा लिनुभयो र मलाई तिमीहरूको विवाहमा भाग लिने वातावरण बनाउनुभयो। उहाँहरूप्रति म आभारी छु।

ठुल्दाइ पुष्पमणिको स्वास्थ्यमा असहजता, साँल्दाइ डा. नारायण र विमला भाउजू क्यानडा एवं कान्छो भाइ सुदु र डिना बेल्जियम रहेको अवस्थामा उहाँहरू सबै तिमीहरूको कार्यक्रममा कुनै न कुनै ढंगले सहभागी हुन नै चाहनु हुन्थ्यो । यस्तो स्थितिमा सबैको प्रतिनिधिको हैसियतले पनि म त्यहाँ उपस्थित हुन जरुरी थियो र भएँ।

तिमीहरूले न्यायाधीशको इजलासमा उभिएर विवाह गर्ने प्रस्ताव गर्‍यौ। न्यायाधीशले साक्षी को भनेर सोध्नुभयो। बेहुला र बेहुलीका आमा दुवैजना सुरक्षा कवचको भूमिकामा प्रस्तुत भएर हामी साक्षी भन्नुभयो। न्यायाधीशले दाम्पत्य जीवनको शुभकामना दिएपछि विवाह सम्पन्न भयो। अदालतबाहिर विवाह भएको प्रमाणपत्र प्राप्त भयो। १० मिनेटमा विवाह सकियो। कति सहज र छिटो छ, यो प्रक्रिया!

अदालतबाहिर पार्टी नेताहरू क. अनिता परियार र क. निर्मल बराल आउनु भएको रहेछ। उहाँहरूले दुबोका माला ल्याउनु भएको रहेछ। खुसी लाग्यो। विवाहमा किन दुबोकै माला लाउँछन्? तिमीहरूले एकअर्कोलाई माला लगाइदिएपछि मात्र विवाह भएको अनुभूति गरे सहभागीले। विवाहमा रूपपक्षको पनि महत्त्व हुन्छ। हामी परिवारजन र प्रियजनहरूले पनि खादामाला लगाउन पायौँ। विवाहले सामाजिक मान्यता प्राप्त गर्‍यो।

अदालतबाट निस्किएपछि मुरारीका साथीहरू दीपक प्रधान, सुवास रिजाल, मनोज दाहाल, देवी बाँस्कोटा, कुलप्रसाद दाहालले शंकरपुर सोमबारे हाटको एउटा होटेलमा खाजाको व्यवस्था गरे। ५२ जनाले खाजा खाएछन्। पारिवारिक मित्रताको असली परिचय उनीहरूबाट प्राप्त भयो। छुट्ने बेलामा सुवासको आमा र परिवारका सबैको अनुहार उज्यालो थियो। छोराको विवाह यो रूपमा भएकोमा प्रसन्न थिए।

परम्पराभन्दा भिन्न र उपभोक्तावादको आतङ्कबाट मुक्त नेपाली समाजले अवलम्बन गर्नै पर्ने विवाहको मोडेल अपनाएकोमा समीक्षा र सुवास दुवैलाई बधाई। कतिलाइ यो विवाहजस्तो पनि लागेन। तर यो साँच्चै सरल, मितव्ययी र तामझामबाट मुक्त थियो। लक्ष्मी र मुरारीको हेरचाह र शिक्षादीक्षा एवं समीक्षाको अनुशासनपूर्ण जीवनले यो सबै सम्भव बनायो। साथै, सुवास र परिवारको साथबिना पनि यो सम्भव हुने थिएन।

छोरी, कहिलेकाहीँ मलाई तिमी चिकित्सा विज्ञानकै लागि जन्मिएको भान हुन्छ। पढाइप्रतिको अनुराग, छात्रवृत्ति प्राप्ति, पढाइको सफलता र सुवास जस्तो आफ्नै कार्यक्षेत्रको साथी पाउनुले तिम्रो सपनालाई सार्थक बनाउने सुअवसर मिलेको छ। तिम्रो विवाहसम्मको यो यात्रा मुरारी र लक्ष्मीको मेहनत र लगनशीलताको सफलताको परिणाम हो। कतिसम्म भने लक्ष्मी स्वास्थ क्षेत्रमा काम गर्छिन्। विज्ञानमा स्नातक गरिसकेकी उनले फेरि अनमी पढिन् र तिमी र छोरा सफललाई पढाइन्। तिमी जस्तो एउटा संवेदनशील र समझदार मान्छे निर्माण गर्न कति गाह्रो छ?

यही विन्दुमा आएर सारा शिक्षा प्रणाली र शिक्षण संकटमा छन्। तिमी मुरारीको पदचिन्हमा हिँडेकी छौ, तर तिमी बाबुआमा भन्दा तेज छौँ। यो नै मुरारीको हुर्काइको विशेषता हो। तिमीले तिम्रो भाइ सफललाई पनि थप जिम्मेवार हुन चुनौती थपिदिएकी छौ।

अबको तिम्रो यात्रा के? के तिमी अबको नयाँ पुस्ताको रोल मोडेल बन्न सक्छ्यौ? पेसागत दक्षताको अभिवृद्धि, समाजसेवा, देशप्रति गौरव, प्रविधिमैत्री, पर्यावरणीय चेत र मानवताप्रति गम्भीर चासोले मात्र त्यो सम्भव छ। त्यो दायित्व तिमी र सुवासले पूरा गर्छौ भन्ने विश्वास लिएको छु।

अन्त्यमा, साँल्दाइ डा. नारायण पोखरेलले सामाजिक सञ्जालमा राख्नुभएको प्रसंग, आजभोलि मिलेनियल, जेनजीहरूले दिलको कुरा मात्र सुन्छन् र माया अनि भावनादाई मात्र प्राथमिकता दिन्छन् भनिन्छ। तर समाज त्यतिले मात्र बनेको छैन। बाबुआमा, आफन्त र समाजसँग जोडिइरहनू, अन्धश्रद्धा−रूढिवाद−धर्मान्धता−कठमुल्लावाद एवं पश्चगामी−कट्टरता आदिका विरूद्द आफूले सकेसम्मको योगदान गर्न सफल व्यक्तिमा पर्नु। सबैलाई सकेसम्म राम्रो र असल व्यवहार गर्नु।

छोरी, तिमी दुईको यो कदमले आत्मनिर्णयको शक्ति मात्र देखाउँदैन, कुसंस्कृति र देखावटीपनबिना पनि सरलता साथ अघि बढ्न सकिन्छ भन्ने सन्देश दिएको छ। यो सन्देश गर्व गर्नलायक पनि छ। तिमी दुवैको जीवन प्रेम, समझदारी र सहअस्तित्वले भरिपूर्ण होस्। त्याग, समर्पण र दृढताले व्यक्तित्व निर्माण गर्छ, त्यसमा तिमीहरूलाई सफलता मिलोस्। भावी पुस्ताका लागि तिमीहरूको विवाहले प्रेरणा देओस्। शुभकामना!

(गिरिराजमणि पोखरेल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad