‘अस्ट्रेलियाका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्कन भने...’, ‘अस्ट्रेलियामा नेपाली विद्यार्थी खानै नपाउने अवस्थामा पुगे...’, ‘अस्ट्रेलियाका नेपाली विद्यार्थी रुँदै...।’
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसको संक्रमणका कारण सिर्जना भएको संकटकालीन परिस्थितिमा आफ्नो अस्ट्रेलिया बसाइको खर्च र व्यवस्था मिलाउन सकिँदैन भने विकल्पका लागि आफ्नो देश फर्कन सुझाएपछि नेपाली ‘साइबर स्पेस’ यस्तै हल्ला र ट्रोलमा खित्का छाडिरहेको छ।
एकातिर नेपालमा ‘लकडाउन’का कारण फुर्सदिला बनेका मानिस अस्ट्रेलियामा विद्यार्थीका रूपमा आएका युवालाई ‘खुच्चिङ’ शैलीमा उडाउन व्यस्त छन् भने अर्कातिर यस्तै हल्लाले छोराछोरी अस्ट्रेलिया पठाएका अभिभावकमा डर, आशंका, चिन्ता र तनाव थुप्रिरहेको छ।
तर न अधिकतर नेपाली मिडियामा आएजस्तो, न त युट्युब र अन्य सामाजिक सञ्जालमा ‘सेयर’ भएजस्तो छ- अस्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था। न अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई घर जाऊ भनेर पठाउन नै लागेको हो। कोरोना भाइरसको संक्रमण बढ्न नदिन नागरिकका केही स्वतन्त्रता र व्यावसायिक गतिविधिमा नियन्त्रण गरिएको भए पनि अस्ट्रेलिया सतर्कतासाथ सञ्चालनमा छ।
सार्वजनिक सवारीसाधन बस, रेल चलिरहेका छन्, घरबाट काम गर्न नसकिने प्रकृतिका पेसामा रहेका मानिस दिनहुँ काममा गइरहेका छन्। किराना तथा अत्यावश्यक सामग्रीका पसल खुलिरहेका छन र खरिद-बिक्री पनि जारी छन्।
मात्र त्यसमा थपिएको छ- सावधानी। अहिले मानिस ‘सामाजिक दूरी’ राखिरहेका छन् र हात धुने र सेनिटाइजर लगाउने बढी गर्न थालेका छन्। बढिरहेको संक्रमणको संख्यासँगै थप सतर्क भएर अस्ट्रेलियाको दिनचर्या चलिरहेको छ र नेपालीका दिन पनि पहिलेझैं बितिरहेका छन्।
सबैको काम गुमेको होइन
कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले सार्वजनिक जमघट, धेरै भिडभाड हुने व्यवसाय तथा सेवा बन्द गर्न आदेश दिएका कारण धेरैले आफ्ना काम घरबाट गर्ने वा स्थगन गर्नुपर्ने अवस्था छ।
योग्यता पुगेका ‘पीआर’ पाएका तथा अस्ट्रेलियन नागरिकलाई सरकारले न्यूनतम आयको ग्यारेन्टी गरेको भए पनि विदेशी विद्यार्थीलाई त्यस्तो सुविधा छैन।
विदेशी विद्यार्थीले रोजगार पाइरहेको ‘हस्पिटालिटी’ क्षेत्र बढी प्रभावित भएकाले अरू देशसँगै नेपालबाट आएका विद्यार्थीले पनि रोजगारी गुमाएका छन्। होटल, रेस्टुरेन्ट, पब, सिनेमालगायत क्षेत्रमा काम गर्ने विद्यार्थीको रोजगारी गुमेको भए पनि डेलिभरी, उद्योगधन्दा, कलकारखाना, सुपरमार्केट, स्वास्थ्यसम्बन्धी सेवा चलिरहेका छन्।
स्वास्थ्य क्षेत्रमा कार्यरत नर्स तथा सुपरमार्केटमा काम गर्ने विद्यार्थीलाई नियमित ‘स्टुडेन्ट भिजा’को सर्तको बन्देजभन्दा धेरै समय काम गर्न दिइएको छ। जसले गर्दा नेपाली विद्यार्थीको ठूलो हिस्सा संक्रमणको संकटमा सतर्कतासाथ काम गरिरहेको छ। रेस्टुरेन्ट तथा ‘क्लिनिङ’, ‘हाउसकिपिङ’लगायत क्षेत्रमा काम गर्नेको भने रोजगारी गुमेको छ।
सचेत, सतर्क र सुरक्षित
अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममै छ। दिनहुँ नयाँ संक्रमित भेटिने क्रम रोकिएको छैन, तर जुन मात्रामा विश्वमा भयावह रूपमा संक्रमतिको संख्या बढिरहेको देखिन्छ, अस्ट्रेलियामा त्यस्तो छैन।
संक्रमणपछि निको हुनेको संख्या पनि बढ्दो छ। सरकारले सामाजिक व्यवहारमा गरेको कडाइको सकारात्मक प्रभाव देखिन थालेको छ। अस्ट्रेलियालीले कोरोना प्रकोप रोक्न देखाएको सचेतताले यसको संक्रमण, अस्ट्रेलियामा पश्चिमा मुलुकमा जस्तो खतरनाक नहुने संकेत मिलेको देखिन्छ।
अरू जसरी नै यहाँका नेपाली संक्रमणको शंका लाग्दा ‘आइसोलेसन’मा बसिरहेका छन्। यसरी छुट्टै बस्नेलाई यहाँका नेपाली संघ/संस्था तथा व्यक्तिगत तवरमा खाने/बस्नेलगायत कुरामा सहयोग मिलिरहेको छ।
समूहमा ‘युनिट सेयर’ गरेर बस्ने भएकाले संक्रमणको खतरा भए पनि सचेतताका कारण धेरै चिन्ता लिनुपर्ने अवस्था छैन। हात धुने, मास्क लगाउने र सेनिटाइजर प्रयोग तथा घरकाे सफाइमा दोब्बर ध्यान दिन थालेका छन्, विद्यार्थीले पनि।
अस्ट्रेलियामा २०-२२ नेपालीमा कोरोना संक्रमण भएको अनुमान गरिए पनि कसैको अवस्था चिन्ताजनक छैन। एकजना त संक्रमणलाई जितेर स्वस्थ भइसकेको सार्वजनिक नै छ। अस्ट्रेलियाका विभिन्न राज्यले कोरोना संक्रमणको उपचार निःशुल्क गरिरहेका छन् भने कतिपय अवस्थामा विद्यार्थीको बिमाले नै धेरै उपचारका विषय बेहोर्छन्।
त्यसो त अस्ट्रेलिया- स्वास्थ्य सेवा राम्रो भएको देशमा पर्छ। यसैकारण यहाँ रोग र उपचार नपाएकै कारण कोही तलमाथि हुने अवस्था आउँदैन। नेपालको भन्दा सय गुणा राम्रो स्वास्थ्य उपचार मिल्न सक्ने भएकाले छोराछोरी अस्ट्रेलिया हुने नेपाली अभिभावकले कोरोना संक्रमण सन्दर्भमा चिन्ता लिनु पर्दैन। नेपालमा आफू सचेत र सुरक्षित भए हुन्छ।
विद्यार्थीलाई छ सहयोग
नेपाली- अरू बेला राजनीति, जात, भेगलगायत अनेक विषयका आधारमा विभाजित भए पनि संकटका बेला एक ढिक्का हुने जाति हो। संसार कोरोनाको संकटमा फसेको समयमा अस्ट्रेलियामा रहेका नेपालीबीच अभूतपूर्व एकता देखिएको छ।
सक्नेले गर्ने हो, दिने हो र सबैलाई जोगाउने हो भन्ने भावना यहाँका नेपालीमा छ। जसका कारण अस्ट्रेलियामा कुनै पनि नेपाली विद्यार्थी बेखर्ची हुने अवस्था छैन। त्यसको कल्पना पनि नगर्दा हुन्छ।
खान/बस्न पनि कुनै समस्या छैन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा नेपाली दूतावास, नेपाली संघ/संस्था साथै स्वतस्फूर्त रूपमा आम व्यक्ति भर्खर आएका विद्यार्थी तथा समस्या/जोखिममा रहेकाको सहयोगमा दिनरात खटिइरहेका छन्।
भर्खर आएका, जागिर गुमेकालाई खानाको व्यवस्था व्यक्तिगत तथा संस्थागत मात्र नभएर विभिन्न रेस्टुरेन्टले पनि गर्न थालेका छन्। त्यसो त आपत् नै परेको अवस्थामा यहाँका सरकारी निकाय, स्थानीय सरकारले त्यसको व्यवस्था गर्ने भनेकै छन्।
कतिपय स्थानमा प्रहरीले घरघरमा खानेकुरासमेत लगिदिएको छ। सरकारले घरभाडा तिर्न नसक्नेलाई घरबाट निकाल्न नमिल्ने भनिसकेको छ भने घरभाडामा लगाउने घरबेटी आफैँ पनि विद्यार्थीलाई कसरी भाडा तिर्न सजिलो गराउन सकिन्छ भनेर सम्पर्क गरिरहेका छन्।
विश्वविद्यालय तथा कलेजले कोरोना प्रकोपका कारण पढाइलाई अनलाइन मात्र बनाएका छैनन्, विद्यार्थीलाई पर्ने आर्थिक दबाब पनि विचार गरी शुल्कमा सहुलियत र छुटको व्यवस्था पनि गरेका छन्। विद्यार्थीले अनुरोध गर्ने हो भने विश्वविद्यालय तथा कलेजले कोरोना प्रकोपका कारण परेको मानसिक तथा आर्थिक तनावमा धेरै सहयोग गर्न सक्छन्। जसका लागि विद्यार्थी आफैं सक्रियतासाथ लाग्नुपर्छ।
अस्ट्रेलियामा १ वर्ष बिताइसकेको विद्यार्थीले काम गर्दा जम्मा भएको सञ्चय-कोष (सुपर) बाट १० हजार डलरसम्म निकाल्न पाउने व्यवस्था गरेर अस्ट्रेलिया सरकारले समेत विद्यार्थीलाई आर्थिक रूपमा सहयोगी वातावरण बनाइदिएको छ। १० हजार डलर सञ्चय-कोष झिक्न पाएका खण्डमा विद्यार्थीले १ वर्षसम्म खाने/बस्ने व्यवस्था मिलाउन सक्छन्।
भर्खर आएकालाई अभिभावककै भरथेग
तपाईंका छोरा वा छोरी भर्खर अस्ट्रेलिया आएका छन् भने उनीहरूले छिट्टै पैसा कमाएर पठाउँछन् भन्ने आशा राख्नु हुँदैन। सामान्य अवस्थामा पनि विद्यार्थीका रूपमा आउने सन्तानलाई अस्ट्रेलियामा काम खोज्न र कमाइको आधार बनाउन तीन/चार महिना लाग्छ भने कोरोना प्रकोपको यो समयमा उनीहरूलाई थप समय चाहिन्छ।
अस्ट्रेलिया जानेबित्तिकै छोराछोरीले लाख/लाख कमाउँछन् भनेर आशा राख्नु नै गलत हो। किनभने अस्ट्रेलिया आउने छोराछोरीले पहिले पढाइ सकेर करिअर बनाउने हो, अनि मात्र पैसा कमाउने हो।
छोराछोरी अस्ट्रेलिया पठाउने अभिभावकले त्यसै पनि अस्ट्रेलियाको पढाइलाई छिट्टै प्रतिफल दिने लगानीका रूपमा लिएका हुँदैनन्। कोरोनाको प्रकोप शान्त नहुँदासम्म कम्तीमा अर्को ट्राइमेस्टर सक्दासम्मको कलेज तथा विश्वविद्यालयको शुल्क र खान/बस्न (आवश्यक परेका खण्डमा मात्र) आवश्यक पर्ने रकम व्यवस्थाका लागि नेपालमा अभिभावकले तयारी गर्दै गर्नुपर्छ। यो संकटको समयमा भर्खर अस्ट्रेलियाको अवस्था बुझ्दै/भोग्दै गरेका छोराछोरीलाई तपाईंको भरथेगको आवश्यकता छ।
(मदनमणि अधिकारी सिड्नीमा रहेर नेपालीपेजडटकममा नेपाली सामुदायिक विषयमा लेख्छन्।)

प्रतिक्रिया