ब्लग


‘सतीले सरापेको देश’ र सतीप्रथा उन्मूलन भएको त्यो दिन

‘सतीले सरापेको देश’ र सतीप्रथा उन्मूलन भएको त्यो दिन

वाशुदेव मिश्र
असार २५, २०८२ बुधबार २०:१, पोखरा

इतिहासकार बालकृष्ण शर्माका अनुसार तत्कालीन कान्तिपुर राज्यका राजा लक्ष्मीनरसिंह मल्लसँग विवेकवान्, तीक्ष्ण बुद्धि तथा व्यावसायिक कौशलयुक्त काजी–भीम मल्ल थिए। कान्तिपुरलाई शक्तिशाली बनाउने क्रममा भीमले नै तत्कालीन भोट (तिब्बत)सँग व्यापार बढाएका थिए। उनी उपत्यकाका सबै राज्यलाई कान्तिपुरमा गाभ्न चाहन्थे।

तर, विरोधीलाई उनको योजना सह्य भएन। उनीहरूले राजा लक्ष्मीनरसिंह मल्ललाई चुक्ली लगाए। भोटमा रहेका भीम मल्ललाई कान्तिपुर बोलाइयो। मल्ल राजाकी कुलदेवता तलेजु भवानीको दर्शन गरेर दरबार पस्दै गर्दा उनको हत्या भयो।

निर्दोष पतिको हत्या भएपछि भीम मल्लकी धर्मपत्नी भुवनलक्ष्मी ‘येँ लायकु (काठमाडौँ दरबार) मा भलाइ गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै पनि राम्रो नहोस्’ भन्ने श्राप दिँदै सती गइन्। यो घटना १७०७ सालतिरको भएको अनुमान गरिन्छ।

भीम मल्लको हत्या कसले र कहिले गरियो भन्नेमा इतिहासकारहरू एकमत छैनन्। इतिहासकार चित्तरञ्जन नेपालीलगायत केही इतिहासकारले लक्ष्मीनरसिंहका छोरा प्रताप मल्लको पालामा भीमको हत्या गरिएको बताएका छन्।

तिथि–मिति एउटा कुरा, भीम मल्लकी धर्मपत्नीलाई सम्झँदै ‘सतीले सरापेको देश’ भन्न छाडिएको छैन। त्यसो त, राजा मानदेव (शासनकाल वि.स. ५२१ देखि ५६३) ले आमा राज्यवतीलाई सती नजान आग्रह गरेको प्रसंगले सतीप्रथा नेपालमा पुरानै रोग भएको मानिन्छ।

विभिन्न धर्मग्रन्थको सहारा लिँदै नारीलाई क्रूरतापूर्वक सती जान बाध्य पार्ने कुप्रथाको अन्त्य चाहिँ १९७७ साल असार २५ गते मात्र भएको थियो। तत्कालीन श्री ३ चन्द्र शमशेरले यो प्रथाको अन्त्य गरेका थिए। उनले महिलालाई सती जान बाध्य पार्नेलाई ज्यान मुद्दा लगाउने कानुनी व्यवस्था गरेका थिए। त्यस्तै उक्साउनेको हकमा पनि सोही व्यवस्था थियो। चन्द्र शमशेरको यो सुधारवादी कदमको प्रशंसा उनको मृत्यमा पनि भएको थियो। प्रसिद्ध  अंग्रेजी पत्रिका टाइम्सले सन् १९२० जुलाई २७ को अंकमा समाचार नै छापेको थियो।

सुजित मैनालीद्वारा लिखित ‘सती– इतिहास र मिमांसा’ पुस्तकका अनुसार जंगबहादुर राणाले १९१० सालतिरै सतीप्रथा उन्मूलनको प्रयास थालेका थिए। तर, उनी सफल भएनन्। उनले १६ वर्षभन्दा कम उमेरका सती जान नपाउने, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले सती जान नपाउने, दुई जीउ भएकाले सती जान नपाउने, छोराको मृत्यृमा सती जान नपाउने, दासीहरू सती जान नपर्नेजस्ता केही नियमहरू चाहिँ बनाएका थिए। तर, उनको मृत्यु हुँदा उनकै तीन रानीहरू सती गए।

पुरुषोत्तम शमशेर राणाको पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ मा जंगबहादुरको शिर काखमा राखी पहिलो चितामा बडामहारानी हिरण्यगर्भदेवी, टोपी र खराउ काखमा राखी दोस्रो चितामा पुतली महारानी तथा  भोटो र सुरुवाल आफ्नो काखमा राखी मिस्री महारानी तेस्रो चितामा बसेको उल्लेख गरिएको छ। १९४४ सालमा वीर शमशेरले सती जाँदा नारीको स्वीकृति चाहिने, छोराछोरी हुर्केको हुनुपर्नेलगायतका नियम तर्जूमा गरेका थिए।

चन्द्र शमशेर राणाहरूमध्ये पहिलो म्याट्रिक मात्र थिएनन्, अक्सफोर्ड विश्वविद्यालयबाट पहिलो मानार्थ डक्टरेट उपाधि पाउने नेपाली पनि थिए। राममणि आदीको ‘पुराना सम्झना’ पुस्तकमा उनले गरेका काम र बानीबारे उल्लेख छ।

नेपालमा सतीप्रथा उन्मूलन भएको १०५ वर्ष पुगेको छ। तर, यसका अवशेषहरू बाँकी नै छन्। भारतमा चाहिँ १८८६ सालमै सतीप्रथामाथि बन्देश लगाइएको थियो। भारतको लागि बेलायतका पहिलो गभर्नर लर्ड विलियम बेनटिङ्कले सतीप्रथालाई मानवीय रूपले घृणित तथा दुष्टकार्यको दर्जा दिँदै त्यस्तो कार्यमा सामेल हुनेलाई हत्याराको अभियोग लगाउने घोषणा गरेका थिए।

भाङ खुवाइन्थ्यो, क्रूरतापूर्वक जलाइन्थ्यो
मोहनकुमार थापाद्वारा लिखित ‘ती सैनिक’ भन्ने पुस्तकमा सती जाने बेला महिलालाई दिइने पीडाबारे उल्लेख गरिएको छ। पुस्तकमा भनिएको छ– ‘पुरुष अर्थात् श्रीमानको मृत्युपछि मृतककी श्रीमतीलाई भाङलगायतका बेहोस हुने जडीबुटीबाट बनेका पदार्थ खुवाइन्थ्यो। बेहोस पारिएकी श्रीमतीलाई मृतक श्रीमानको शवसँगै चितामा सुताइन्थ्यो। मलामीहरू हातमा बलिया लाठा बोकेर तैनाथ रहन्थे। पुरेतहरू धार्मिक विधि वाचन गर्न खडा रहन्थे। चितामा आगो बल्न थालेपछि जीवित रहेकी महिला भाङको नसाबाट ब्यूँझिएर कराउन थाल्दथिन्। चिच्याउँदै सहयोगका लागि गुहार माग्थिन्। तर, नारीको त्यो चिच्याहट र आक्रोश अरु मानिसले नसुनून् भन्नाका खातिर बाजाहरू बजाइन्थे। दमाहा, शंख र घण्ट ठूलो आवाजका साथ बजाइन्थे। सतीको चित्कार सुने पाप (श्राप) लाग्नेछ भन्ने मान्यता थियो।'

मृत श्रीमानसँग बाँधेको डोरी जब आगोले डढाएर टुटाउँछ तब नारी आगोको ज्वालाको ताप खप्न नसकेर छट्पटाउँदै हाम्फाल्ने असफल प्रयास गर्दथे। तर वरिपरि बलिया लाठाहरू बोकेर तैनाथ रहेका मलामीहरू पण्डितको आदेशसँगै नारीलाई चिताबाट उठ्न नसक्ने गरी ती लाठाले जोडले प्रहार गर्दथे। ती असहाय महिलामाथि अनेकन अपशब्द बोल्थे। आगोको ज्वाला र लाठाको प्रहारबाट थिलथिलो बनेकी नारीलाई क्रमशः आगोले भष्म पार्दै जान्थ्यो। जीवित र निर्दोष नारीको शरीर सतीप्रथाका नाममा क्षणभरमा खरानीमा परिणत हुन्थ्यो।

कतिपय स्थानमा ठूला काठका मुढाहरूमा फलामको साङ्लोले महिलालाई बाँधेर चिता बनाएर आगोमा जलाइन्थ्यो। ती नारीले जतिसुकै प्रयास गरे तापनि त्यो फलामको साङ्लो चुँडाएर उम्कने सम्भावना हुँदैन थियो। एकभन्दा बढी श्रीमतीहरू हुने सबैलाई जिउँदै जलाइन्थ्यो। यदि श्रीमानको मृत्यु हुँदा श्रीमती गर्भवती छ भने बच्चा जन्मेपछि सती पठाउने भन्दै मृतक श्रीमानको कुनै कपडा राखेर त्यो सँग जीवितै जलाइन्थ्यो। श्रीमती घरबाहिर टाढा भए पनि त्यहीँ ल्याएर वा केही दिनपछि भए पनि सती पठाउने नाममा जीवितै जलाइन्थ्यो।

सामन्त, शासक, राजा, महाराजाहरूका श्रीमतीका अलावा निजी सेविका, कमारी, यौनदासीहरू समेतलाई सती पठाउने नाममा जीवितै जलाइन्थ्यो। सती जानु अर्थात् मृतक श्रीमानसँग जीवितै चितामा जल्नुलाई सतीधर्म भन्दै पण्डित र पुरेतहरू यसको महिमा गाउने गर्दथे।

त्यसैले नेपाली मनमस्तिष्कमा सतीप्रथाको निकै भयंकर चित्र कुँदिएको छ। जसका कारण क्रूर राणा शासक भए पनि सतीप्रथा उन्मूलन गर्ने चन्द्र शमशेरलाई धेरैले सम्मानसहित सम्झिने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad