बीपी कोइराला—यो नाम नेपाली राजनीतिक चेतनाको बहसमा केवल एक विषयवस्तु मात्र होइन, बरु दिशाबोधक स्रोतका रूपमा स्थापित छ। नेपालमा जब लोकतन्त्रको पहिलो सुवास फैलिएको थियो, त्यसका केन्द्रीय सूत्रधार बीपी नै हुनुहुन्थ्यो। आज, उहाँको ४३औँ स्मृति दिवसमा हामी उहाँलाई सम्झिरहँदा यो केवल श्रद्धाञ्जली अर्पण गर्ने औपचारिकतामा सीमित हुनुहुँदैन। यो त बीपीको जीवन, विचार, व्यवहार र भविष्यप्रतिको दूरदृष्टिलाई आत्मसात् गर्ने एक गहन क्षणका रूपमा लिनु आवश्यक छ।
किनभने बीपी कुनै एक कालखण्डका पात्र मात्रै होइन, उहाँ समयभन्दा परको सोच, दर्शन र दृष्टिकोणका सशक्त संवाहक हुनुहुन्छ।
नेपालमा राजनीतिक चेतनाले छटपटाइरहेका दिनहरूमा बीपीले नेतृत्वको बागडोर सम्हाल्नुभएको थियो। भारतमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्किनुभएका बीपी नेपाली जनताको पीडा र आकांक्षासँग एकाकार भई राजनीतिक यात्रामा होमिनुभयो। भारतीय स्वतन्त्रता आन्दोलन, विशेषतः महात्मा गान्धी, जवाहरलाल नेहरू र सुभाषचन्द्र बोसको वैचारिक प्रभावले बीपीको चेतनामा गहिरो छाप पारेको पाइन्छ। भारतमा रहँदा उहाँ प्रजापरिषद्का सदस्यहरूसँग सम्पर्कमा आएर पछि नेपाली कांग्रेसको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभयो।
बीपीले देख्नुभएको सपना स्पष्ट थियो—जनताको शासन, राज्यको जवाफदेही संरचना र समृद्ध राष्ट्रको आधारमा उभिएको लोकतान्त्रिक नेपाल।
जनताको शासन हुनुपर्ने, राज्यशक्ति जनताबाटै प्रवाह हुनुपर्ने र समृद्ध राष्ट्र निर्माणको मूल आधार जनता नै हुनुपर्ने अडानका कारण उहाँले सत्ताभन्दा विचारलाई प्राथमिकता दिनुभयो। वि.सं. २०१५ सालको आमनिर्वाचनमा नेपाली जनताको अभूतपूर्व समर्थन प्राप्त गरी बीपी प्रधानमन्त्री बन्नुभयो। तर, त्यो सरकार लामो समय टिक्न सकेन। बीपीले परिकल्पना गर्नुभएको लोकतन्त्रलाई तत्कालीन सत्ताले आत्मसात् गर्न सकेन। फलस्वरूप, वि.सं. २०१७ सालमा पञ्चायती व्यवस्था लादियो र बीपी पुनः आन्दोलनको अग्रमोर्चामा फर्किनुभयो।
बीपीका लागि राजनीति भनेको वैचारिक क्रान्ति थियो। विचार, संवाद र सहिष्णुताको बलमा व्यवस्था परिवर्तन सम्भव छ भन्ने दर्शनका प्रतिपादक हुनुहुन्थ्यो बीपी। त्यसैले, वि.सं. २०३३ सालमा उहाँले राष्ट्रिय मेलमिलापको नीति अगाडि सारेर जेलको ढोकाबाट बाहिर निस्किई राजासँग संवादको बाटो रोज्नुभयो। यो त्यो क्षण थियो जब धेरैले उहाँलाई कमजोर ठान्न खोजे, तर समयले प्रमाणित गर्यो कि उहाँको निर्णय शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा थियो।
बीपीले प्रतिपादन गर्नुभएको 'लोकतान्त्रिक समाजवाद' नेपाली समाजको यथार्थमा आधारित एउटा उपयुक्त मोडल थियो। उहाँ भन्नुहुन्थ्यो —'म मार्क्सवादी होइन, तर समाजवादी छु।' उहाँले समाजमा आर्थिक समानताको आवश्यकता महसुस गर्नुभयो, तर त्यो समानता हिंसाबाट होइन, जनताको सहभागिता र सशक्तिकरणबाट आउनुपर्छ भन्नेमा दृढ हुनुहुन्थ्यो। त्यसैले उहाँले उत्पादनका साधनहरू जनताको हितमा परिचालित हुनुपर्छ भन्नुभयो, तर निजी सम्पत्तिको स्वतन्त्रतालाई पूर्णरूपमा खारेज गर्नु हुँदैन भन्ने सन्तुलित दृष्टिकोण राख्नुभयो। यो विचार आजको दिनमा पनि उत्तिकै सान्दर्भिक र सशक्त छ, जहाँ राष्ट्र सुदृढीकरण र समानताको बहस चलिरहेको छ।
बीपीलाई राजनीतिमा मात्रै सीमित गर्नु उहाँमाथिको अन्याय हुनेछ। उहाँ साहित्यमा पनि उत्तिकै बलियो हस्ताक्षर हुनुहुन्थ्यो। उहाँका कथा, उपन्यास र निबन्धहरूमा नेपाली समाजको गहिरो मनोविश्लेषणात्मक विश्लेषण पाइन्छ। 'तीन घुम्ती', 'सुम्निमा', 'मोदीआइन' जस्ता कृतिहरूले नेपाली समाजको अन्तरद्वन्द्व, महिला चेतना, प्रेम र राजनीतिक सोचलाई गहिरो रूपमा उतार्नुभएको छ। बीपीका लागि साहित्य राजनीति मात्र होइन, चेतनाको अर्को आयाम थियो। उहाँले मनोविश्लेषणात्मक ढंगमा पात्रहरू र समाजलाई हेर्ने प्रयास गर्नुभयो, जसले नेपाली साहित्यलाई एक नवीन दिशा प्रदान गर्नुभयो।
बीपीका दृष्टिमा 'जनता' नै सबैभन्दा ठूलो शक्ति हुन्। उहाँ सधैँ भन्नुहुन्थ्यो—'राज्य जनताको सेवक हुनुपर्छ, मालिक होइन।' यही सोचको जगमा उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकतामा राख्नुभयो। प्रधानमन्त्री बनेपछि उहाँले ग्रामीण क्षेत्रमा विद्यालय खोल्न थाल्नुभयो, शिक्षक तालिम कार्यक्रम ल्याउनुभयो र त्रिभुवन विश्वविद्यालयजस्ता संस्थाहरूको जग हाल्नुभयो। स्वास्थ्य क्षेत्रमा पनि उहाँले उपेक्षित वर्गसम्म पहुँच पुगोस् भनेर आधारभूत स्वास्थ्य सेवा राज्यले दिनुपर्छ भन्ने धारणा अगाडि सार्नुभयो।
यी सबै कदमहरूले नेपाली जनताको जीवनमा सकारात्मक प्रभाव पार्नुभयो।
बीपीको व्यक्तिगत जीवन संघर्ष र त्यागले भरिएको छ। उहाँ बारम्बार जेल पर्नुभयो, विभिन्न आरोप लाग्यो, यातना भोग्नुभयो, तर कहिल्यै प्रतिशोधको भावना लिनुभएन। उहाँले राजनीतिक विरोधीहरूलाई पनि सम्मानका साथ हेर्नुभयो, संवादमा विश्वास गर्नुभयो। यही कारणले गर्दा उहाँले विचार र व्यवहारको अनुपम नमुना प्रस्तुत गर्न सक्नुभयो। उहाँ एक नेता मात्र हुनुहुन्थेन, एकजना संयमी साधक हुनुहुन्थ्यो जसको आँखामा देशप्रतिको सुन्दर सपना झल्कन्थ्यो। नेपालका समकालीन राजनीतिज्ञहरू जसरी सत्ताको लागि जोसुकैसँग सम्झौता गर्छन्, बीपीले चाहिँ जनताको बल, विचारको बल र निष्ठाको बलमा राजनीति गर्नुभयो। बीपी र अहिलेका नेतामा फरक यही हो।
उहाँको अन्तिम जीवन अझ मार्मिक थियो। क्यान्सरले ग्रसित शरीर, निरन्तर राज्यको निगरानी, तर पनि चेतनामा कहिल्यै थकाइ थिएन। वि.सं. २०३९ सालमा निधन हुनुअघि उहाँले अस्पतालको शय्याबाट पनि राष्ट्र र जनताप्रति गहिरो चिन्ता प्रकट गर्नुभयो। अन्तिम शब्दहरूसम्म उहाँ एक राष्ट्रसेवक भएर बाँचिरहनुभयो। आज पनि तिनै शब्दहरू झल्झल्ती गुञ्जिरहेका छन्— 'राजनीति पदका लागि होइन, आदर्शका लागि हो।'
आज हामीले भोगिरहेको लोकतन्त्र, कमजोर संस्थागत संरचना र जनता तथा नेतृत्वबीच बढ्दै गएको दूरीको सन्दर्भमा बीपीको विचार फेरि सम्झनुपर्छ।
Shares

प्रतिक्रिया