ब्लग


बेलायत आएपछि बुझेको कुरा : छुट्टी लिँदा त घाटा लागिहाल्छ नि!

बेलायत आएपछि बुझेको कुरा : छुट्टी लिँदा त घाटा लागिहाल्छ नि!

विज्जका घिमिरे
साउन १३, २०८२ मंगलबार ७:५३, लन्डन

बेलायत— संसारका उत्कृष्ट शिक्षालयहरू, अनुशासित समाज, कानुनी संरक्षण र अवसरहरूको देश।

जब पहिलोपटक लन्डनको चिसो हावाले अनुहार छोयो, त्यो क्षण स्वप्नजस्तै लाग्यो। आँखाभरि सपना, मनमा जोस र हृदयमा थोरै डर। यी सबै लिएर मैले यस अपरिचित देशमा पाइला टेकेँ, मेरा श्रीमान्— मेरा सहयात्रीका साथ।

नेपालमा हुँदा बेलायत जाने सपना बनाउनु सजिलो थियो।

सोच्थेँ— अहिले गएँ भने सबै ठीकै हुन्छ। काम गर्छु, पैसा कमाउँछु, पढाइ पनि हुन्छ, भविष्य सुनौलो बन्छ। तर, यहाँ आइपुगेपछि बल्ल बुझेँ— सपना जति रङ्गीन छ, त्यो पूरा गर्ने बाटो त्यति नै उकालो।

सुरुका दिनहरू सबैभन्दा कठिन लाग्छन्— जसरी बीज अङ्कुरण हुन, त्यसमा पालुवा लाग्न, फल्न–फुल्न, मलजल र स्याहार चाहिन्छ। नयाँ ठाउँमा आत्मबलबिना बस्न सकिँदैन। न संस्कार मिल्ने, न त आमा–बुबाको आत्मीयता। मन थाक्छ तर थाकेको देखाउने ठाउँ हुँदैन। श्रीमान् साथ हुनुभएकाले भावनात्मक साथचाहिँ दह्रो हुने रहेछ। बिरानो सहरमा दुईजना साथै हुँदा भने एकअर्कालाई हेर्दै, साथ दिँदै मानसिक रूपमा दह्रो हुँदै गइने रहेछ र यति टाढा त्यत्रो खर्च गरेर आइपुगेपछि फिर्ता जाने कुरा सोच्न पनि डर लाग्ने रहेछ।

बेलायतमा जीवन बचाइको मूल्य धेरै महँगो छ। एक कप कफी नै चार–पाँच पाउन्ड पर्छ। तर, हामी नेपालीमा हिसाब गरिहाल्छौँ— झण्डै आठ सय रूपैयाँ। घरभाडा, यात्रा, बिमा, किस्ता इत्यादि साह्रै महँगो।

काम गर्न पाइए पनि त्यसका आफ्नै सर्तहरू छन्— विद्यार्थीको हकमा सीमित घण्टा मात्र। काम पाउन सजिलो छैन र भेटिएका काम झन् अप्ठ्यारा। दिनमा १४÷१६ घण्टा उभिएर गर्नुपर्ने। शरीर थाक्छ तर महिनाको अन्त्यमा खातामा आएको रकम देख्दा मन अलिक शान्त भने हुन्छ।

बचत! यो शब्द नै भारी लाग्छ। जम्मा हुने रकम कर काटेरै आउने, घरभाडा, बिजुली, पानी, इन्टरनेट, गाडीभाडा, खानपिन सबैमा व्यवस्थापन गर्नै पर्‍यो।

हावा, हुरी, चिसो मौसम, पानी पनि परेको पर्‍यै भए पनि सोचिन्छ, यसो घुम्न निस्किने कि! फेरि सोचिन्छ— खर्च यति जोगाउँदा अर्को महिना १÷२ दिन काममा जान नसके पनि घर भाडा तिर्न त पुग्ला कि! 

‘गेट टुगेदर’ हुन्छ। बोलाएको ठाउँमा कसरी नजाने? जाने तर ‘सेयरिङ’ गर्ने प्रस्ताव सुरुमै राख्ने कि? कहिलेकाहीँ महीनावारीमा अलि गाह्रो हुन्छ। एक मनले भन्छ— ‘होइन, आज छुट्टी लिऊँ कि! श्रीमानले पनि आराम गर भन्नुभएको छ। होस्, आज जाँदिनँ।’ अर्को मनले यसो हिसाब गरिहाल्छ— ‘यत्ति घाटा लाग्छ, होस् जान्छु।’

यस्तै–यस्तै मिश्रित सोचबीच अस्वस्थतामा पनि दुवैजना सकी–नसकी काममा जान्छौँ। एकअर्काले गरेको दुःख, पसिनाको मूल्य बुझ्ने भएकाले भावनात्मक सामीप्यसँगै समानुभूति पनि बढ्दै जाने रहेछ।

बेलायतको महँगो शुल्क पाउन्डमा तिरेर आउँदाको खर्च सम्झेर मन त्यसै आत्तिन्छ। हप्तामा दुईजना सँगै हुँदा यसो हिसाब निकाल्यो अनि लामो सुस्केरा काढ्यो अनि भन्यो— ‘अब दुवैको फुलटाइम काम सुरु भएपछि तिर्न थाल्ने नि।’ अनि फेरि सम्झ्यो— ‘उता ब्याज तिरिरहनुभएको छ, कति गाह्रो भएको होला!’

अनि फेरि बचत? विद्यार्थी जीवन सकिएपछि असम्भव त होइन तर कडा अनुशासन चाहिन्छ।

बेलायत गएपछि पढाइ, बाहिरका काम तथा घरका सम्पूर्ण कामका लागि समय व्यवस्थापन गर्ने बानीको विकास भयो। श्रीमानको मिहिनेत देखेर अनि दुवै बाहिरी काममा संलग्न हुनुपर्ने भएकाले घरका काममा उहाँले दिने साथ र सहयोगले उहाँप्रति झन् आस्थापूर्ण प्रेम बढायो।

शिक्षा प्रणाली नेपालको भन्दा एकदम पृथक छ— प्रश्नका लागि प्रोत्साहित गर्ने, नयाँ विचार राख्न प्रेरित गर्ने, व्यावसायिक अभ्यासमा जोड दिने। यहाँ सिकेका ज्ञानले केवल डिग्री मात्र होइन, सोच्ने तरिकामा नै परिवर्तन ल्याउँछ भन्ने भरोसा दिलाएको छ।

यहाँ आएर विविधतामा निहित सौन्दर्यलाई थप चिन्ने मौका पाएकी छु। साथीहरू भारत, चीन, ब्राजिल, नाइजेरिया, टर्कीदेखि बेलायतसम्मका छन्। उनीहरूसँगको सान्निध्य र संवादले संसारप्रतिको बुझाइ फराकिलो भएको महसुस गर्छु। तर, नेपाल सम्झिँदा मन यस्सैयस्सै भक्कानिन्छ।

आमा, बाबाको याद नआएको त क्षण नै हुँदैन। कक्षा १२ पछि उच्च शिक्षा हासिल गर्न भारत गएकी थिएँ। त्यतिखेर ‘सेमेस्टर ब्रेक’ होस् या एक हप्ताकै लागि बिदा किन नहोस् नेपाल आइहाल्ने म, अहिले यति टाढा! ‘होम सिक’ नहुने त कुरै भएन। भावनात्मक रूपमा नाजुक हुँदा श्रीमानको मायाले नै मन बलियो भएको होजस्तो लाग्छ, यो विदेशी भूमिमा।

दसैँ आउँदा फोनको स्क्रिनमा टीका लगाउँदै गरेकी आमाको अनुहार देख्छु, मन शून्य हुन्छ। साथीहरूको बिहे, घर सल्लाह, पारिवारिक अप्ठ्यारा सब ठाउँमा म टाढा भएँजस्तो लाग्छ। कहिलेकाहीँ लाग्छ— यो बसाइ अनि यी सब केका लागि?

नेपालको वर्तमान परिस्थिति हेर्दा धेरै नेपाली युवा रोजगारी, शिक्षा र राम्रो भविष्यको खोजीमा विदेसिन बाध्य भएका छन्। देशमा रोजगारीका अवसरको सीमितता, राजनीतिक अस्थिरता र विकासको सुस्त गतिले धेरैलाई आफ्नो क्षमता विदेशमै प्रयोग गर्न प्रेरित गरेको छ। तर, आफ्नो मातृभूमि त्यागेर बाहिरै सेटल हुन चाहनु गौरवका कुरा होलान् कि लज्जास्पद कुरा? बिरानो देशमा श्रम पसिना खन्याउनु साँच्चै नै हाम्रो सफलता कि बाध्यता? बुढ्यौलीतिर प्रवेश गर्दै गरेका बा– आमालाई सहारा दिनुपर्ने बेला बाहिरको ‘पीआर’ लिएँ भन्नु इज्जतको कुरा होला त?

परदेशको बसाइ सजिलो र सुखद हुँदै होइन। यहाँको जीवन रङ्गीन, चम्किलो देखिन्छ तर त्यस चमकभित्र निरन्तर बौद्धिक र शारीरिक श्रमको गहिरो वेदना लुकेको छ, त्यागै–त्यागका अदृश्य चाङ लागेको छ; अनि छ— त्यहाँभित्र लुकेका आँसुका कथा। धेरैभन्दा धेरै नेपालीको रहर होइन, बाध्यता बनिरहेको छ— देशबाहिरको बसाइ।

अनि, देशभित्रको बसाइ? हामीजस्ता युवालाई सकसपूर्ण भएरै बाहिर हेलिएको अवस्था छ। जे होस्, समयको कदर गर्न सिकाउने देश बेलायत— परिवारजन र देशको मायालाई तीव्र र जीवन्त बनाउने यो भूमि— मेरो यात्राको हिस्सा बनेको छ, सफलताको परिभाषालाई पटकपटक मूल्याङ्कन गराइरहने आधार बनेको छ र त यो विदेशको यात्रा मेरो आत्मबोधको यात्रा बन्न पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad