ब्लग


महरा सरको थोत्रो रेडियो

महरा सरको थोत्रो रेडियो

उदय जीएम
साउन २४, २०८२ शनिबार १६:४२, काठमाडौँ

रात ढलेर दिन उठ्ने समय भइसकेको थियो। चराचुरुङ्गीहरूको चिरबिर रातलाई भने झिँजो लाग्न थालिसकेको थियो। चराहरूको चिरबिर चिरबिर निद्रालाई पनि कहाँ मन परेको थियो र? मान्छेहरूमा निद्रादेवीको बैँस बाक्लिँदै गर्दा आँखाका परेलीहरू जोडिन खोज्दै थिए।

‘दिन आफ्नो रात अर्काको। बाहिरतिर ननिस्कनू है।’

बाहिरतिर हेर्दै मावली बज्यै हामीलाई सुताउने प्रयास गरिरहनुभएको थियो। मामा हुनुहुन्थेन हाम्रो। जेई जेठी र उहाँका तीन बहिनीहरू। अघिपछि मावली बाजे र मावली बज्यै मात्र बस्ने त्यो घरमा बारपर्वहरूमा चार दिदीबहिनीका दर्जनबढी भान्टाङभुन्टुङहरू कोलाहल मच्चाउँथ्यौं। चराचुरुङ्गीहरूको चिरबिर रातलाई झिजो लागेझैं बज्यैलाई पनि हाम्रो चकचक, उछलकुद र होहल्लाले झिँजो लागिसकेको हुनुपर्छ। बज्यैलाई नातिनातिनीहरूको झिजो सहनु नै थियो, सहिरहनुभएको थियो। हामी केटाकेटीको भने सुत्ने कुनै छेकछन्दै थिएन। 

सायद कुनै पर्वको समय थियो त्यो। त्यही भएर हामी मामा नै नभएको मामाघरमा जम्मा भएका थियौँ। हाम्रो मामाघर तत्कालीन करेटी गाउँ विकास समिति वडा नं १ सिवाङधारा गाउँमा थियो। यतातिर मूलगाउँलाई घर, अर्को सहायक गाउँलाई गोठ भनिन्छ। घर सिवाङधारा भए तापनि गोठ मरबाङ भन्ने गाउँमा थियो हाम्रा मावली बाजेबज्यैको। जेई, माइली सान्जेई र कान्छी सान्जेईको बिहेचाहिँ एउटै गाउँमा भएको थियो, वडा नं. ९ को हुङदुङमा। साइँली सान्जेईको भने मामाघरकै गाउँमा बिहे भएको थियो। 

हाम्रो पनि घर र गोठ थियो। घर हुङदुङ, गोठ सिउँडीचौर। सिवाङखोलाको उत्तरमा रहेको वडा नं १ को सिवाङधारा हुँदै सिवाङखोलाको दक्षिण तरेर फनक्कै घुमेर वल्लोपट्टि वडा नं ९ को हाम्रो गाउँ थियो। त्यसैले वडा १ र ९ भए तापनि मामाघर र हाम्रो घरको बीचमा सिवाङखोला मात्र। त्यसैमाथि हाम्रो गोठ सिउँडीचौर र बाजेबज्यैको घर मरबाङ त झन् करिब आधा घण्टाको दूरी मात्रै। हिउँदमा गोठमा र बर्खामा घरमा बस्ने प्रचलन। गोठ पनि घरैजस्ता, घर पनि गोठैजस्ता। खै किन घर र गोठ भनिएको हो कुन्नि?

हिउँदको याम थियो त्यो। बर्खामा दुवै गाउँले माथि लेकतिरको घरवाला गाउँमा हुँदा मामाघर टाढा हुन्थ्यो। हिउँदमा दुवै गाउँले फेदमा गोठवाला गाउँमा झर्दा मामाघर नजिकै हुन्थ्यो। मेरो गोठवाला गाउँ सिउँडीचौरदेखि मामाघरको गोठवाला गाउँ मरबाङ भने नजिकै हुन्थ्यो। त्यही भएर सबै गोठवाला गाउँमा रहँदा मामाघर जानेक्रम बाक्लिन्थ्यो।

हो।

त्यो दिन कुनै पर्व थियो। हामी केटाकेटीहरूको सुत्ने कुनै छेकोछन्द थिएन। त्यस्तैमा रातको सन्नाटालाई चिर्दै एउटा आवाज सुनियो। ओहोहो! त्यो आवाज थियो, रेडियोको। हामी त्यो बेलामा रेडियोलाई ‘रिरी’, रिरिबाजा भन्थ्यौँ। मैले यसअघि एकजना कालापारेको रिरीबाजा देखेको/सुनेको थिएँ। चकमन्न अँध्यारोमा टर्चलाइट देखिइरहेको थियो र पूरा खोलिएको रिरीबाजाको आवाज सुनिइरहेको थियो। अझ महत्त्वपूर्ण कुरा, त्यो टर्चलाइट र रिरीबाजाको आवाज हामी भएतिरै अर्थात् मामाघरतर्फ सर्दै थियो– बाटैबाटो, जङ्गलैजङ्गल। त्यसै त निद नलागेका हाम्रा आँखा, त्यैमाथि रिरीबाजा घन्किएपछि हामी केटाकेटीका मनमा कौतुहल र उत्सुकताले सीमा नाघिहाल्यो। हामी केटाकेटी बार्दलीमा झुम्मियौँ र आँखाकान फालिरह्यौँ टर्चलाइट बलिरहेतिरै।

टर्चको उज्यालो र रिरीबाजाको आवाज सर्दैसर्दै मामाघरको गाउँ छिर्‍यो। हेर्दाहेर्दै उज्यालो र आवाज मामाघरमै पो छिर्‍यो।

यस्तो उल्कै रमाइलो लिएर मामाघर छिर्ने को होलान्? उहाँहरू हुनुहुँदोरहेछ– मेरै बा र ठूल्बा। दाङ–देउखुरीतिर बाटो बनाउने काममा जानुभएका बा र ठूल्बा घर फर्किनुभएको रैछ। घरमा कोही नदेखेपछि पर्वको समयमा मामाघरमै गएका होलान् भन्ठानेर सिधै मामाघरतिर हानिनुभएको रैछ। 

मेरा बाको नाम निजमान घर्तीमगर अनि ठूल्बाको नाम पूर्णबहादुर घर्तीमगर। बाले जेठी अर्थात् मेरो जेई र ठूल्बाले मेरी माइली सान्जेईलाई बिहे गर्नुभएको थियो। त्यसैले हाम्रो पहिलो साइनो नै कायम थियो, ठूल्बा र माइली सान्जेई। पर्वको बेलामा बा र ठूल्बा आउनुभयो, त्यैमाथि रिरीबाजा लिएर। ओहोहो! त्यो बेलाको खुसी! कुरा गरेर साध्यै थिएन। बिछट्टै रमाइलो। मामाघरको त्यो गाउँमा भित्रिएको पहिलो रिरीबाजा। सानै बेग्लै, मानै बेग्लै! हामी केटाकेटीलाई त उधुमै भो। जेई, सान्जेईहरू पनि रिरीबाजा देखेर/सुनेर तीनछक।

मावली बाजेकी एकमात्र बहिनी हुनुहुन्थ्यो। उहाँको बिहे लिवाङ गाउँ विकास समिति वडा नं. १ हरिगातिनामा भएको थियो। उहाँको श्रीमान् भारतीय सेनामा भर्ती हुनुभएछ। चारबहिनी छोरीहरू पनि जन्मिए। छोराको लोभमा दार्जिलिङमै बिहे गरेर उतै घरजम गर्नुभएछ। आजभोलिको समाजमा त छोरा नभएको बहानामा विभिन्नखाले घटनाहरू हुन्छन् भने त्यो समयमा छोरा अनिवार्य र अपरिहार्यजस्तै थियो। दोस्रो घरबारबाट छोरो जन्मियो र उहाँ दार्जिलिङकै स्थायी बसोबासीजस्तै हुनुभयो। 

तैपनि उहाँले पहिलो घरबारलाई चटक्कै माया मार्नुभएन। बेलामौकामा नेपाल आउने गर्नुभयो र पहिलो परिवारलाई दाङ–देउखुरीको तत्कालीन गोबरडिहा गाविस सुपैलामा बसाइँसराइ गराउनुभयो। उहाँ भारतको दार्जिलिङबाट पहिलो परिवार भेट्न नेपाल आउँदा जेठान अर्थात मेरा मावलीबाजेलाई त्यो फिलिप्स रेडियो ल्याइदिनुभएको रैछ। मावलीबाजेका लागि ल्याइदिएको रिरीबाजा देउखुरीमै रह्यो केही समय। बाटो बनाउने काममा रोल्पाबाट दाङ–देउखुरी पुग्नुभएका मेरा बा र ठूल्बा सान्जेई भेट्न सुपैला पुग्नुभएछ। (मावलीबाजेको बहिनीलाई बा र ठूल्बाले सान्जेई भन्नुहुन्थ्यो।) मावली बाजेकी बहिनी अर्थात् बज्यैले दाइका लागि आएको त्यो रिरीबाजा बा र ठूल्बाको हातमा रोल्पा पठाइदिनुभएको रैछ।

रिरीबाजा त आयो तर त्यसलाई चलाउने कसरी? बजाउने कसरी? जेई, सान्जेईहरूका त के कुरा भए र? मावलीबाजे पनि हेरेको हेर्‍यै। जेठी छोरीको जेठो छोरा म। त्यसमा पनि स्कुल जाने मै मात्रै। जेठोबाठो र स्कुल जाने भएकाले हरेक कुरामा मेरो दादागिरी चल्ने नै भयो। रिरीबाजामा पनि मेरै हैकम र दादागिरी चल्ने छाँटकाँट आयो। मैले अर्को बिहानमै रिरीबाजा चलाउन सिकिहालेँ। अरुलाई रिरीबाजा छुनछाम्नै प्रतिबन्ध लाग्यो। मावलीबाजे भन्नुहुन्थ्यो, ‘जेठो नातिले जानेको छ।’ म फुरङ्ग हुन्थेँ।

रिरीबाजाको आगमनपछि त झन् मामाघरको आउजाउ ह्वात्तै बाक्लियो। जुन फ्रिक्वेन्सीमा रेडियो नेपाल बज्थ्यो, त्यही फ्रिक्वेन्सीमा सुई राखिदिएर म घर जान्थेँ। खोल्न, बन्द गर्न, आवाज घटाउन र बढाउन भने मावलीबाजेलाई सिकाएको थिएँ। केहीगरी त्यो सुई अलिकति लर्कियो कि फसाद! अहिलेजस्तो सञ्चारका साधन भए पो फोन गरेर बोलाउनु। कहिले नाति आउला र बनाइदेला भन्दै बस्नुहुन्थ्यो उहाँ। म जान्थेँ, बनाइदिन्थेँ फेरि सुई अन्यत्रै लर्किन्थ्यो फेरि ठण्डाराम। यस्तै क्रम चलिरह्यो निरन्तर। 

आखिरमा मावलीबाजे रेडियोसँग आजित हुनुभयो। त्यसपछि रिरीबाजाप्रतिको मेरो रहर, लगाव र समर्पण देख्नुभएका मावलीबाजेले आफ्नो रहर पुगेपछि रिरीबाजा नै मलाई दिनुभयो। रिरीबाजा मलाई दिनुको अर्को पनि कारण छ। मावलीबाजे त्यो गाउँ आसपासको चलेको साहु हुनुहुन्थ्यो। उहाँ आफ्नो गाउँ र आसपासका गाउँमा ‘लागत’ लगाउनुहुन्थ्यो। त्यहाँ ऋण दिने कामलाई ‘लागत लगाउने’ भनिन्थ्यो। लागत लगाउँदा तमसुक लेख्नुपर्थ्यो। ‘लेखौनी’ दिएर उहाँले अरुलाई तमसुक लेखाउनुपर्थ्यो। म बोलाएको समयमा मामाघर जान्थेँ र सित्तैमा तमसुक लेखिदिन्थेँ। त्यही भएर मावलीबाजे मसँग औधी खुसी हुनुहुन्थ्यो। जेहोस्, आहा! त्यो दुई सेले रिरीबाजा त्यसपछि मेरो आफ्नै भयो।

त्यसपछि? त्यसपछि के चाहियो र? दाउराघाँसको भारी बोक्दा रेडियो घाँटीमै झुण्डिएको हुन्थ्यो। पढ्दा छेउमा रेडियो हुन्थ्यो। लेख्दा छेउमा रेडियो हुन्थ्यो। कार्यक्रम रोदी, लोकगीत, बाल कार्यक्रम, समाचार, चौतारी, इत्यादि रेडियो कार्यक्रम मलाई औधी मन पर्थे। कुन बार, कतिबजे, के कार्यक्रम बज्छ? मलाई सबै कण्ठस्थ हुन्थे। रोल्पाबाट बाटो बनाउने श्रमदान गर्न गाउँलेहरूसँगै दाङ झरियो। पञ्चायतकालीन त्यो समयमा बाटो खन्न ‘झारा’ लगाइन्थ्यो। हरेक घरकुरियाबाट एकजना अनिवार्य जानुपर्थ्यो। नजाने वा जाने मान्छे नहुनेले ‘झारा’ तिर्नुपथ्र्यो। मेरा बा कामले अन्तै हुँदा धेरैपटक म त्यो ‘झारा’ फाल्न गएको छु। 

झारा फालिसकेपछि घोराही पुगी नुन, भेली, सिद्रा, लत्ताकपडा इत्यादि लैजाने चलन थियो। डोकोभरि नुन, चलाइखाने पकाइखाने भाँडाकुँडा, ओढ्ने ओछ्याउने कपडाको भारी। फाटेको र मैलिएको जाङे। उस्तैपरे नाकमा लेफ्र्याक्क सिँगान हुँदो हो। भारीले बटारिएको मुन्टो र बाङ्गिएको टाउको, त्यै टाउकोमाथि रिरीबाजा हालेर पूरा आवाजमा घन्काएको देखेर घोराहीबजारका मान्छेहरूले चाख दिएर मैतिर हेरेको आजैजस्तो लाग्छ। त्यो सम्झिँदा कताकता लाज पनि लागेर आउँछ।

अँ। महरा सरको रेडियोको कुरा। महरा सरको थोत्रो रेडियो भन्ने त शीर्षकै छ। हो, मेरो त्यै प्यारो रिरीबाजामाथि भिलेन बनेर भित्रिन्छ, महरा सरको थोत्रो रेडियो। उहाँको रेडियो नयाँ थियो कि थोत्रो? मैले देखिनँ। तर, यहाँ मैले ‘थोत्रो’ लेखेँ। किनकि त्यो मेरा लागि थोत्रो नै थियो।

घटना मैनबत्तीसँग सम्बन्धित छ। त्यो बेला मट्टितेल पाइँदैनथ्यो। मट्टितेल नपाइनुको कारण थियो– नेपालमाथि भारतको नाकाबन्दी। नाकाबन्दीका कारणले मट्टितेलको टुकीको सट्टा मैनबत्ती बालेर पढ्नुपर्थ्यो त्यो बेला। नाकाबन्दी भएको हुनाले त्यो समय सायद २०४६ सालतिर हुनुपर्छ।

त्यो समय म कक्षा १० मा पढ्थेँ, महरा सर अर्थात् कृष्णबहादुर महराले हामीलाई विज्ञान पढाउनुहुन्थ्यो। म छात्रावासमा बस्थेँ र उहाँ छात्रावासको वार्डेन(?)। महरा सर अरु दिन छात्रावासमै बस्नुहुन्थ्यो र शुक्रबारका दिन आफ्नो घर नजिकैको गाउँ मेबाङ जानुहुन्थ्यो। हामी विद्यार्थीचाहिँ खर्च (आटोपिठो वा नगद) सकिएकाहरू शुक्रबारको बिदापछि खर्च लिन आआफ्नो घर जान्थ्यौँ भने अरु छात्रावासमै बस्थ्यौँ।

एक दिन। एक शुक्रबार म खर्च लिन घर गएँ। महरा सर पनि हाफटाइमपछि स्कुलको अध्यापन सकेर आफ्नो घर मेबाङ जानुभएछ। बेलुकी छात्राबासमा बस्ने केटाहरूमध्ये केही महरा सरको कोठामा छिरेछन्। उनीहरू महरा सरकै कोठामा बसेर तास खेल्न थालेछन्। तास खेल्दा उज्यालो त चाहियो। उनीहरूले मैनबत्ती बालेर महरा सरको रेडियोमाथि राखेछन्। तास खेल्दाखेल्दै उनीहरूलाई के भयो कुन्नि? एकएक गरेर सबै उठेर बाहिर निस्केछन्। उनीहरू अरु नै कोठामा गएर तास खेल्न थालेछन्। विचरा मैनबत्ती जल्दैजल्दै सकिएछ। मैनबत्ती सकिएर आगो रेडियोमा सल्किएछ। रेडियोले पनि कति थेगोस्? रेडियो पनि स्वाहा भएछ। धन्न, आगो टेबुलमा सल्किएनछ र अझ ठूलो दुर्घटना हुनबाट बच्यो।

महरा सरको रेडियोमा शुक्रबार आगो लाग्यो। आइतबार महरा सर छात्रावास पुगेर आफैँ आगो हुनुभएछ। रिसले आगो बनेर आगो बाल्नुभएका महरा सरले सबैलाई गाली गर्नुभएछ। सबैलाई थुक्नु भएछ। यस्ता विद्यार्थीको गुरु हुनुपरेकोमा ग्लानि व्यक्त गर्नुभएछ। विद्यार्थी, त्यैमाथि आफूसँग बस्ने विद्यार्थी। तिनैले आफ्नै कोठामा गएर तास खेलेको र आफ्नै रेडियो स्वाहा पारेको थाहा पाएपछि आगो ओकलिरहनुभएका महरा सरलाई शान्त पार्न विद्यार्थीहरूले पनि निकै कोसिस गरेछन्। अन्तमा, महरा सरले एउटा सर्त राख्नुभएछ। ‘अरु मलाई केही थाहा छैन, रेडियोको ठाउँमा रेडियो नै ल्याएर देओ,’ उहाँले यही अड्डी कस्नुभएछ। 

म आइतबार छात्रावास नपुग्दै यो लफडा चलिरहेको रैछ। जहाँ पनि रेडियो बोकेर हिँड्ने बहादुर त म छँदैथिएँ। समस्यामा परेका ती साथीहरूले झट्ट मलाई सम्झेछन्। र, उनीहरूले महरा सरसमक्ष वाचा कसम खाएछन्, हजुरलाई रेडियोको ठाउँमा रेडियो नै दिन्छौँ।

घरबाट फर्किएर म छात्रावास छिरेँ, समस्या मेरो मथिङ्गलमा छिर्‍यो। तास खेल्ने साथीहरूले आफ्नो टाउकोमाथिको सबै समस्याको थुप्रो मेरै टाउकोमा खन्याइदिए। विकल्पहीन विकल्प भनेकै त्यत्रो माया गाँसिएको मेरो प्यारो रेडियो महरा सरलाई दिनु बन्यो। मनले मानेको थिएन तर टाउको हल्लियो सहमतिमा। ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍याछ’ भनेजस्तै हाँसेँ। त्यस दिनदेखि मेरो रेडियो महरा सरको भयो। साथीहरूले मेरो रेडियोको मूल्य ६ सय तोकेका थिए। अहिले पुगनपुग ३६ वर्ष भएछ तर त्यो ६ सय रूपैयाँ मैले अझैसम्म देख्न पाएको छैन। लामो समयसम्म ताकेता गरेकै हो तर व्यर्थ भए सबै प्रयास।

स्थानीय निर्वाचन २०४९ को प्रचारप्रसारको समयमा फेरि लिवाङको टुँडीखेलमा भेट भयो, महरा सरसँग। त्यो भेटसम्म आइपुग्दा म अर्कै पार्टीको भ्रातृ संगठनतिर लागिसकेको थिएँ। खासमा लिवाङको बालकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्दा साथीहरूले मलाई पनि संगठित गरेका थिए। उतिबेला संगठनको नाम ‘अखिल (छैटौँ) भन्थे। ढुंगाले छाएको छात्रावासको उपल्लो तलामा कहिलेकाहिँ ‘मित्रमणि दिवस’ मनाइन्थ्यो र मलाई पनि सहभागी गराइन्थ्यो। त्यो बेला ‘दिवस’, ‘मित्रमणि’ केही थाहा पाउँदैन थिएँ म। अरुले ‘लालसलाम’ भन्दा ‘लालसलाम’ भन्ने र अरुले ताली बजाउँदा ताली बजाउनेसम्म सीमित थियो मेरो काम। 

एसएलसी दिएर म भारतको पञ्जाब पुगेँ। त्यहाँ अखिल भारत नेपाली एकता समाजका साथीहरूसँग भेट भयो। म त्यही संगठनमा क्रियाशील भएँ। म त्यो संगठनमा लाग्नुको एउटा कारण थियो। म रोल्पामा अखिल (छैटौँ)मा लाग्दा त्यसको विधान पढेको थिएँ। त्यो विधानमा ‘भारतमा हाम्रो भाइचारा संगठन अखिल भारत नेपाली एकता समाज हुनेछ’ यस्तै केही लेखिएको सम्झना थियो। त्यही कारणले म एकता समाजमा सक्रिय हुन थालेको थिएँ। बुझ्दै जाँदा थाहा भयो– त्यहाँ त एकता समाज पनि दुईवटा रैछन्। नेपालमा पार्टी विभाजन भएर ‘नेपाल कम्युनिस्ट पार्टी (मसाल)’ र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बनेको रहेछ। पार्टी विभाजित भएपछि भारतमा पनि मोटो मशालको ‘अखिल भारत नेपाली एकता समाज (कलकत्ता पक्ष)’ र पातलो मसालको ‘अखिल भारत नेपाली एकता समाज (दिल्लीपक्ष)’ बनेका रहेछन्। मचाहिँ पातलो मसालवाला ‘अखिल भारत नेपाली एकता समाज (दिल्लीपक्ष)तिर संगठित भएछु। त्यहीँनेर बाटो ‘फेर’ परेछ। उहाँको बाटो अलग, मेरो बाटो अलग। 

टुँडीखेलको त्यो भेट हुँदा महरा सर संयुक्त जनमोर्चा, नेपालको तर्फबाट रोल्पाबाटै सांसद बनिसक्नुभएको थियो। बाटो फरक परेपछि कुरा पनि फरक हुने भए। टुँडीखेलमै दह्रो तरिकाले भिडेछु म त। कहाँको पाको र सांसद बनिसकेको मान्छे, कहाँको म बबुरो। तैपनि हाम्रो बहस सुनेर सानोतिनो भीड नै जम्मा भइसकेछ। खासमा माओवादीको दबदबा रहेको रोल्पा अनि सदरमुकाम लिवाङमा सांसद भइसकेको मान्छेसँग ‘मुख लाग्ने’ फुच्चे को रहेछ भनेर उनीहरू जम्मा भएका रैछन्। आज त्यो दिन सम्झिँदा भित्रैदेखि लाज लागेर आउँछ। महरा सरप्रतिको श्रद्धा र आदरका कारण अहिले पनि म उहाँसँग त्यति खुलेर बोल्न गाह्रो लाग्छ। त्यो बेला मलाई कुन्नि के भएको थियो? अचम्म!

हो, त्यो भेटमा पनि अन्त्यमा महरा सरले उस्तै शान्त स्वभावमा सोध्नुभयो– ‘ती केटाहरूले तपाईंको रेडियोको पैसा दिए कि दिएनन्?’ मैले ‘नाइँ’ को संकेत गर्दै टाउको हल्लाएँ। त्यसपछि महरा सरसँग बीचमा कहिल्यै भेट भएन। २०५२ सालमा माओवादीले सशस्त्र संघर्षको रूपमा ‘जनयुद्ध’ सुरु गरेपछि उहाँ भूमिगत हुनुभयो। समाचारमा, किंवदन्तीका रूपमा, अन्तर्वार्ताहरूमा उहाँसँग भेट हुन्थ्यो तर प्रत्यक्ष भेट भयो, दाङको हापुरेमा। त्यो बेला पनि साथीभाइ, विद्यालय जीवनका समय र राजनीतिक विषयमा उहाँसँग कुरा भए। त्यहाँ पनि अन्तिममा बिदा हुँदैगर्दा उहाँले सोध्नुभयो, ‘रेडियोको पैसा त दिएनन् है ती केटाहरूले?’ 

‘अहँ’ भन्दै हापुरेमा महरा सर बसेको घरबाट बाहिरिएँ म।

माओवादी शान्तिप्रक्रियामा आएसँगै महरा सरले मन्त्रीका रूपमा धेरै मन्त्रालय सम्हाल्नुभयो। त्यसमध्ये एक थियो, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। यो मन्त्रालयमा रहँदा उहाँले ‘हातहातमा मोबाइल : घरघरमा इन्टरनेट’को नारा र कार्यक्रम अगाडि सार्नुभयो। त्यतिबेला अलि महत्त्वाकांक्षी र अपत्यारिलोजस्तो लाग्ने त्यो नारा अहिले साँच्चिकै घरघरमा सार्थक बनिसकेको छ। उहाँले नेपाल पत्रकार महासंघको संस्थागत विकासका लागि जिल्ला शाखाहरूका भवन निर्माणमा पनि उत्तिकै पहलकदमी लिनुभएको थियो। सञ्चारक्षेत्रको विकासका लागि उहाँको योगदान महत्त्वपूर्ण रह्यो।

महरा सरको त्यो थोत्रो रेडियो त २०४६ सालको नाकाबन्दीको मैनबत्तीले स्वाहा पारिसकेको थियो। साथीहरूले मलाई ‘मुर्गा’ बनाएर दिएको मेरो थोत्रो रेडियोलाई महरा सरले कहाँसम्म पुर्‍याएर फाल्नु भो कुन्नि? कहाँ गयो होला महरा सरको त्यो थोत्रो रेडियो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad