ब्लग


अब पनि चुप लाग्नु भनेको अपराधमा हिस्सा लिनु हो

अब पनि चुप लाग्नु भनेको अपराधमा हिस्सा लिनु हो

प्रा डा सुनिलकुमार शर्मा ढकाल
भदौ २४, २०८२ मंगलबार १३:३३, काठमाडौँ

नयाँ बानेश्वरमा सुरू भएको साधारण विरोध प्रदर्शनपछि  जुन स्तरमा हिंसा र हत्या भयो, यो अत्यन्त हृदयविदारक र साह्रै नै लज्जास्पद छ। १९ जवानको ज्यान गएको छ। यी निर्दोष केटाकेटीहरूको मृत्युको जिम्मेवारी कसले लिन्छ? हो, उनीहरू निषेधित क्षेत्रमा प्रवेश गरे। हो, तर हामीले यो बिर्सनु हुँदैन- सार्वजनिक सम्पत्ति जनताको हो। यो हामीले तिरेको करले बनेको हो। यो कुनै पनि सरकार वा राजनीतिक दलको होइन।

कसले गोली चलाउने आदेश दियो? के यो शीर्ष नेतृत्वबाट आयो? सीडीओबाट? प्रहरीबाट? र यदि प्रहरीबाटै थियो भने उनीहरूले कसरी यस्तो तरिकाले काम गर्न सके? उनीहरूले गोली हाने, ती उनीहरूका आफ्नै दाजुभाइ, सहनागरिक, एउटै राष्ट्रका सदस्य थिए! के उनीहरूले एक क्षण पनि सोचेनन्- उनीहरू कसैको छोरा, कसैको भाइलाई मार्दैछन् !

सर्वोच्च अधिकारीदेखि एसएसपी, एसपी, डीएसपी र सीडीओसम्म— उनीहरूमध्ये कसले विवेक देखायो? वा के उनीहरू केवल शक्तिका दास, प्रधानमन्त्रीका 'चम्चा' मात्र थिए? यो भ्रष्टाचारको सबैभन्दा खराब रूप हो— पैसाको भ्रष्टाचार मात्र होइन, शक्ति र नैतिकताको भ्रष्टाचार।

हामी पेसाकर्मीहरू—डाक्टर, वकिल, इन्जिनियर, शिक्षक, पाइलट, पत्रकार हामी सबैले पनि आत्ममूल्यांकन गर्नैपर्छ। हामीमध्ये धेरैले आफ्नो पद केवल योग्यताले होइन, यो देशमा व्याप्त नातावाद र भ्रष्टाचारका कारण पाएका छौँ। यदि हामी अब पनि चुप रह्यौं भने हामी पनि सहअपराधी बन्न पुग्नेछौं।

अब उठ्ने समय आएको छ। यो त्रासदीले हामी सबैलाई जागृत गर्नुपर्छ। हामीले हाम्रो पेसा र समाजको सीमालाई पार गरेर एकजुट भई यो सर्वसत्तावादी शासनको अन्त्यको आवाज घन्काउनु पर्छ । सरकारले तत्काल नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिनुपर्छ। आम नरसंहारको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कानूनी कारबाहीको प्रत्याभूति गर्नुपर्छ र निष्पक्ष अनि समयमै निर्वाचन गराउन सक्ने तटस्थ संयत्रको पुनर्स्थापना गर्नुपर्छ।

हामीले यी बालबालिकाको रगतलाई व्यर्थ जान दिनुहुँदैन। विरोध हिंसा होइन; विरोध प्रजातन्त्रको आधारभूत खम्बा हो। यो हाम्रो नैसर्गिक अधिकार हो, र यो नै अगाडि बढ्ने बाटो पनि  हो।

हामी यो शान्तिपूर्ण भूमिका नागरिकहरू, कुनै पनि प्रकारको सर्वसत्तावाद— न त राजतन्त्र, न त अधिनायकवादी पार्टी शासन- अन्तर्गत बस्न चाहँदैनौँ। हामी प्रजातन्त्रमा विश्वास गर्छौं, र नेपालको भाग्यलाई प्रजातन्त्रले नै मार्गदर्शन गर्नुपर्छ भन्ने ठान्छौँ। शान्ति पुनः स्थापित होस्, तर हामीलाई यो याद रहोस्: साना समूहमा कुराकानी गर्न वा घरभित्रै निराशा आदानप्रदान गरेर मात्र पर्याप्त हुनेवाला छैन। अब एकजुट भएर यो घोषणा गर्ने समय हो- अब त अति भयो !

हामी भ्रष्टाचारलाई अस्वीकार गर्छौं— चाहे त्यो नातावादमा होस्, ठेक्कापट्टामा होस्, नीति निर्माणमा होस्, उद्योगपति, बैंकर, वा राजनीतिक सहयोगीहरूप्रति पक्षपातमा होस्। हामी हाम्रा आफ्नै पेसाहरूमा पनि भ्रष्टाचारलाई अस्वीकार गर्छौं, जहाँ चिकित्सा, कानून, उड्डयन, इन्जिनियरिङ, र न्यायपालिकामा पनि अयोग्य नियुक्तिहरू धेरै पटक भएका छन्। यो कुशासन, दण्डहीनता र भ्रष्टाचारको अन्त्य हुनैपर्छ।

यो देश युवा पुस्ताको हो। उनीहरूको भविष्यको लागि हामी, नेपालका शिक्षित र जिम्मेवार नागरिकहरू एकजुट भएर परिवर्तनको माग गर्नुपर्छ। र यदि हाम्रा राजनीतिज्ञहरूले यो परिवर्तन ल्याउन सक्दैनन् भने, हामी जनताले नै त्यो जिम्मेवारी लिनुपर्छ।

हामी शान्तिको निम्ति एकजुट होऔं! हामी न्यायको निम्ति एकजुट होऔं! हामी प्रजातन्त्रको निम्ति एकजुट होऔं!

(मेडिसिटी अस्पतालमा कार्यरत प्राध्यापक ढकाल शल्यचिकित्सक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad