ब्लग


‘राजनीतिमा रुचि छैन’ भन्नेहरूले नै जब राजनीति बदलिदिए...

‘राजनीतिमा रुचि छैन’ भन्नेहरूले नै जब राजनीति बदलिदिए...

सुरेश भट्ट ‘आश्रिन’
भदौ २७, २०८२ शुक्रबार १६:६, काठमाडौँ

जेनजी अर्थात् नयाँ पुस्ता। सन् १९९० को दशकको अन्त्यतिर र सन् २००० दशकको सुरुतिर जन्मिएका मानिसहरूलाई 'जेनरेसन जी' अर्थात्‌ 'जेन जी' भन्ने गरिएको छ। यो पुस्ताकाले राजनीतिमा खासै चासो राख्दैनन् भन्ने गरिन्छ। किनभने उनीहरूको दिनचर्या स्कुल, कलेज र मोबाइल-ल्यापटपमा बित्छ। बाहिरको कुरामा दिमाग लगाउनुभन्दा प्रविधिमा रमाउनमा खुसी हुने पुस्ता हो जेनजी। धेरैजसोले भन्ने पनि गर्थे, 'हामी राजनीति बुझ्दैनौँ।'

तर, त्यसो भन्ने युवाहरूले देशमा अभूतपूर्व राजनीतिक उथलपुथल ल्याइदिएका छन् र उनीहरू आफैँ पनि राजनीतिमा सक्रिय रूपमा प्रवेश गरेका छन्। यो स्वागतयोग्य कुरा हो।

'नेपो बेबी' अथवा हुनेखाने व्यक्तिका छोराछोरीले सामाजिक सञ्जालमा प्रदर्शन गरेको तुजुकले यो पुस्तालाई यसपालि राजनीतिमा तानेको थियो। बाबुआमाको कारण दु:खै नगरी सफल र प्रसिद्ध भएकाहरूबारे केही दिन अगाडिदेखि 'जेन जी' पुस्ताले सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका थिए। कतिपय नेताका एवं प्रसिद्ध व्यक्तिका छोराछोरी र गरिब जनताका सन्तानका तस्बिरहरू सँगै राखेर तिनीहरूको तुलनात्मक हैसियतबारे भिडिओ बनाइएको थियो।

'जेन जी' पुस्तालाई सामाजिक सञ्जालबाट सडकसम्म ल्याउने श्रेय सोही अभियानलाई दिन सकिन्छ। जनतालाई सेवा प्रदान गर्नुपर्ने ठाँउमा बसेर देशको स्रोतको दुरूपयोग गरी नातागोता र आसेपासे पोसेको आरोप लाग्दै आएको थियो।

जेन जी प्रदर्शनलाई विभिन्न कोणले अर्थ्याइँदै छ। एकथरीले सो पुस्तामा राजनीतिक चेत देखिएको भनिरहेका छन् भने अर्कोथरीले गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणमा आउन नमानेका सामाजिक सञ्जाल प्ल्याट्फर्महरूलाई निष्क्रिय बनाउने निर्णयले पैदा गरेको विस्फोट भन्दैछन्।

यो पुस्तासँग उभिएर हेर्दा दुवै दृष्टिकोणले उनीहरूको माग सही नै देखिन्छन्। यद्यपि नयाँ पुस्तासँग विरोध गर्ने नयाँ तरिका र मास ह्यान्डल गर्ने क्षमता भने कम देखियो।

११ र १२ कक्षामा पढ्ने भाइबहिनीहरूमा राजनीतिक चरीत्र र संस्कारको विकास नहुनुलाइ सामान्य नै लिन सकिन्छ। तर देशको राजनीति नै परिवर्तन गर्ने आन्दोलनको यो किसिमको झिनो पूर्वतयारीले पाका नेताहरूलाई फाल्न कठिन देखिन्छ। तथापि उनीहरूले जेजति परिवर्तन ल्याए, त्यो आफैँमा असाधारण हो।

जेन जी आन्दोलन हामी मिलेनियल्स अर्थात् उनीहरूको दाइ पुस्तालाई पनि चुनौतीको विषय हो। अहिलेको अवस्थामा नवयुवाहरूले के सोचिरहेका छन्, उनीहरूको सपनाको नेपाल कस्तो हो, मुलुक कता गइरहेको छ, भन्ने कुरा नबुझे हामीले पनि राजनीतिबाट विश्राम लिनुपर्ने अवस्था आउन सक्छ।

नेपालको राजनीतिमा लामो समयदेखि एउटा महत्त्वपूर्ण मुद्दाका रूपमा यो रहँदै आएको रोजगार, सुशासन, जवाफदेही र स्थिर सरकार युवापुस्ताको माग बनेको छ। परम्परागत राजनीतिक पार्टीबाट यथास्थितिमा यो सम्भावना छैन। हाम्रो निर्वाचन प्रणालीअनुसार पनि कुनै एक दलको बहुमतको स्थिर सरकार बन्ने छैन। तसर्थ पार्टीगत राजनीतिक विचारधाराबाट माथि उठेर तानाशाही सरकारविरुद्ध साहस, प्रतिबद्धता, र इमानदारीका साथ एक भएर यो जेनजी आन्दोलनबाट नयाँ नेतृत्वको उदय गराउन सकेमात्र आन्दोलनमा ज्यान गुमाएकाहरूको बलिदानको अर्थ रहन्छ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको ५० वर्षपछि आरक्षण प्रणाली पुरानो भइसकेको र यसको सट्टा त्यस्तो सुविधा विपन्न समुदायमा केन्द्रित हुनुपर्ने माग गर्दै आन्दोलनमा होमिएका विद्यार्थीहरूले आफ्नो सुनौलो भविष्यको लडाइँ लड्न लाखौँ विद्यार्थीहरूलाई एकसाथ ल्याउन सफल भएका थिए। जुन विद्यार्थी आन्दोलनको जगमा शेख हसिनाले आफ्नो १५ वर्षे शासनकाललाई इतिहास बनाउनु पर्‍यो।

डा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको घोषणा भएयता बंगलादेशमा पुन असन्तुष्टिको आगो बलेको छ। बंगलादेशी जनताको केही हिस्साले सेनालाई नेतृत्व सुम्पनु पर्ने विचार राख्दै आएका छन्। यसरी नागरिकहरू फरकफरक कित्तामा विभाजन हुँदै जाँदा झनै राजनीतिमा विभाजनको रेखा कोरिँदै जान्छ। जहाँ देशको र युवाहरूको भविष्य अन्योलग्रस्त हुन्छ।

राजनीतिमा रुचि नभएका युवाहरू राजनीतिमा आउनुपर्ने बाध्यात्मक परिस्थिति निर्माण हुँदा त्यो देशको सत्ता ढलेको ऐतिहासिक घटनाक्रमहरू प्रशस्तै छन्। नेपालको हकमा पनि त्यो साबित गर्ने पालो यही नवयुगका नवयुवाहरूको हो। तर अघिल्लो पुस्ताको अनुभव र भोगाइबाट पाठ सिकेर उनीहरूलाई सम्मानपूर्वक बिदाइ गरेर अघि बढ्न सके मात्रै जेनजी आन्दोलनको सार्थकता रहन्छ।

जेनजी सहितको बलियो नागरिक सरकार निर्माण गरी संवैधानिक बाटोबाट अन्तरिम सरकारको नेतृत्व चुनी शासन सत्ताको निरन्तरता दिने, त्यो सरकारले चुनाव गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने कार्यमा ढिलाइ हुनुहुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad