राजनीति


दमन र भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाउन दृढ छौँ : गगन थापा

दमन र भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाउन दृढ छौँ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १६:०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनमा भएको दमन र विरुद्ध एउटा र भ्रष्टाचारविरुद्ध अर्काे शक्तिशाली आयोग बनाउन तयार रहेको बताएका छन्। 

उल्लिखित आयोग बनाउन ठूला तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र) का नेता नमानेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री बन्न अस्वीकार गरेको दाबीसहितको समाचार आएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले त्यसको खण्डन गरेका हुन्।  

त्यस्तो समाचार झुटो भएको दाबी गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी दमन र विध्वंसविरुद्धको एउटा र भ्रष्टाचारविरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ।’

साथै उनले ‘यो संवेदनशील अवस्थामा कम्तीमा भ्रमको खेती नगर्दिनुहोला’ भन्ने आग्रहसमेत गरेका छन्।

मूलत: भ्रष्टाचारको विरोध गर्दै जेन-जी (नयाँ पुस्ता) को नेतृत्वमा यही भदौ २३ गते काठमाडौँको बानेश्वरलगायत देशका विभिन्न सहरमा गरिएको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना मारिएका थिए। त्यसको भोलिपल्ट आन्दोलनले उग्र रूप लिँदा संसद् भवन, सिंहदरबार सर्वोच्च अदालतमा समेत तोडफोड र आगजनी भए। 

दुवै दिन गरेर अहिलेसम्म जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगिसकेको छ। १ हजार ८७२ जना घाइते भए। अझै २९९ जना अस्पतालमै छन्।

पहिलो दिन १९ युवा मारिँदासमेत राजीनामा नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो दिन प्रदर्शनकारीले घरभित्रै पसेर नेता कुट्न थालेपछि बाध्य भएर पद छाडेका थिए। त्यसपछि मुलुकमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। 

गएराति अबेरसम्म शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्व तथा प्रधानसेनापति अशोकराज सिग्देलको सहजीकरणमा जेन-जीसहितको वार्तामा पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने सहमति जुटे पनि यसको प्रक्रियाका विषयमा कुरा मिलिसकेको छैन। 

यसबीच कार्कीले जेनजी आन्दोलनमा सरकारले गरेको दमन छानबिन र संसद् विघटनलाई मुख्य सर्त बनाएको कुरा बाहिरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad